एमाले महासचिव पोखरेलको ब्याटल ग्राउन्ड : हारलाई उल्टाउने अन्तिम प्रयत्न

काठमाडौँ । सोमबार विहान ९ बजे काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गतको चण्डोल गिताञ्जली मार्गमा पुग्दा ‘मै पनि एमाले, सही पनि एमाले’ चुनावी गीत घन्किरहेको थियो । केहि व्यक्ति एमाले र माओवादी केन्द्रको चुनाव चिन्ह अंकित झण्डासहित बाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेललाई जिताउन चुनावी प्रचारमा थिए ।
एमालेका महासचिव ईश्वर पोखरेल, काङ्ग्रेसका नेता प्रकाशशरण महत र विवेकशिल साझाका संयोजक उज्जवल थापा चुनावी मैदानमा भएकोले काठमाडौं क्षेत्र नम्वर ५ ले धेरैको ध्यान पनि खिचेको छ । एमालेका प्रभावशाली नेता पोखरेल विगतको हारलाई उल्टाउने प्रयत्नमा छन् । गत निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यसंगको पराजय बेहोरेका पोखेरेल आसन्न निर्वाचनमा जित निकाल्ने सुरमा छन् ।
चुनावी प्रचारका लागि घरदैलोलाई प्राथमिकता दिएका पोखरेलको विहानी प्रचारको गति तीव्र थियो । पाइला छिटो छिटो चालेका उनी अलि हतारमा पनि देखिन्थे ।
चुनावी प्रचारका क्रममा गिताञ्जली मार्गमा पोखरेलको भेट शुरुमा एक बृद्धसँग भयो । ९१ वर्षिय बृद्धले जितको शुभकामना दिए । एमाले नेता पोखरेलको चुनावी प्रचारमा बोली स्पष्ट थियो । भेटेका सवैलाई उनी ‘भोट सूर्यमा है’ भन्दै मत मागिरहेका थिए । पोखरेलको अर्को विशेषता महिला मतदाता भेटे भने ‘तपाईंको माइती कहाँ ?’ सोधिहाल्ने ।
काठमाडौ महानगरपालिकाको वडा नम्बर ४ को लागि तय गरिएको घरदैलोमा पोखरेलको ब्यस्तताले प्रसार प्रसारलाई सीमित क्षेत्रमा मात्रै खुम्चाइएको थियो । चुनावी प्रचार टोलीका सदस्यले ‘आयो एमाले’ भन्दै धेरैको ढोका घचघच्याउँथे । अपार्टमेन्ट र हाउजिङको क्षेत्र रहेको उक्त क्षेत्रलाई ‘हुने खानेको थलो’का रुपमा चिनिने रहेछ ।
भित्री क्षेत्रमा मत माग्दै हिँडेको टोलीले भेट फेरि एक वृद्धासँग भयो । प्रचार टोलीका मध्य एकले भने ‘बृद्धभत्ता दिने दललाई भोट दिनपर्यो है ।’
उनले अझ थपे ‘अब पाँच हजार बनाउने हो ।’ वृद्धा खुसी देखिइन् । हुन्छ बावु भन्दै भोटको आश्वासन दिइन् ।
साँघुरो गल्लीबाट भित्र छिरेको प्रचार टोली दुई दृष्टिविहिन दम्पत्ती भएको घरमा पुग्यो । टोलीका एकले भने ‘ईश्वर पोखरेल आउनु भएको छ, भोट सूर्यमा है ।’
दृष्टिविहिन पुरुषले ‘हुन्छ’ भने । पोखरेल विदा भएर हिँड्न लागेका मात्र थिए । दृष्टिविहिन महिलाले भनिन् ‘अपाङ्गता भत्ता पाइएको छैन । भोट पनि दिने किन दिने ?’
पोखरेलले तुरुन्तै बडा अध्यक्षलाई प्रश्न गरे ‘के हो मोहनजी ?
काठमाडांै महानगरपालिका वडा नम्वर ४ मा एमालेबाट जितेका मोहन विष्टले जवाफ दिए–‘अपाङको पनि श्रेणी हुने रहेछ । सोही कारण हो । फेरि आएर आवेदन दिनुस्, म सिफारिस गर्छु ।’
प्रचारको सानो टोली लिएर घरदैलो गरिरहेको टोली दुई महिला भएको घरमा पुग्यो । पोखरेलले ‘बैनी भेट्न आइयो, भोट सूर्यमा है’ भन्दै नमस्ते गरे । महिलाले नेता प्रति गुनासो राख्दै भनिन् ‘तपार्ईंंहरुलाई भेट्न पाइने चुनावको बेलामात्रै त हो ।’
पोखरेलले आइरहने बचन दिए ।
मिटिङमा जानुछ भन्दै हतारिएका पोखरेललाई गिताञ्जली चोकमा भेट भएका स्थानीयले मतको आश्वासन दिए । एक व्यक्तिले ‘शतप्रतिशत तपार्ईंंलाई’ नै भन्दै ढुक्क बनाए ।
घरदैलो सकेर फर्कने हतारोमा रहेका पोखरेललाई एक स्थानीय कार्यकर्ताले डोराएर एक घरको दोश्रो तलामा पुर्र्याए । उक्त घर भारतीय न्यूज च्यानल जीन्यूजका नेपाल सम्वाददाता एन्जिना कार्कीको रहेछ ।
कार्कीले जित सुनिश्चित भएको आशय व्यक्त गरिन् । उनले थपिन् ‘हाम्रो घरमा ८ भोट हो । ढुक्क हुनुस् । ८ ले १६–२० पनि बनाउन सक्छ ।’
महासचिवसँगै खाना खाने आशामा रहेका प्रचार टोलीलाई समय नभएको बताउँदै पोखरेल अझ हतारिए । अर्का कार्यकर्ताले उनलाई एक घरको तेश्रो तलामा पुर्र्याए । प्रौढ दम्पत्ती रहेको घरमा बृद्धले ‘भोट हाल्ने प्रक्रिया थाहा नभएको’ पोखरेललाई बताए ।
एमाले कार्यकर्ताले नमुना मतपत्र वृद्धलाई थमाए ।
चुनावी कामले ब्यस्तता बढेको बताउँदै हतारिएका पोखेरेलसँग दौडधुप र घरदैलोका विषयमा छोटो कुरा गर्न समय पाइएको थियो ।
जित्ने आधार धेरै छन् : पोखरेल
घरदैलो चुनावी प्रचारले व्यस्तता बढेको रहेछ । तपार्ईंको अवस्था कस्तो पाउनुभयो ?
हाम्रो पक्षमा जनताको समर्थन पाएका छौं । अहिलेका विषयमा जनतालाई वुझाउने प्रयास जारी छ । जनता हामीप्रती सकरात्मक हुनुहुन्छ ।
स्थानीय तहको मत परिणाम र बाम गठबन्धनले एमाले अलि बढी हौसिएको हो?
हामी किन हौसिने ? हौसिन जरुरत नै छैन । स्थानीय निकायको निर्वाचनमा पनि हाम्रो स्थान देखायौं । अहिले बामगठबन्धन निर्माण भएको छ । मुलुकमा स्थिर सरकार बनाउनुपर्ने आवश्यकता छ । त्यही उद्देश्य लिएर हिँडेको हो । त्यसका लागि बाम गठबन्धन बनेको हो । पार्टी ठुलो बनाउने मात्रै उद्देश्य होइन । देश बनाउने कुरा हो ।
अघिल्लो निर्वाचनमा थोरै मतले पराजय भयो । अहिले जित्ने आधार के–के छन्?
आधार जनताको समर्थन । एउटा आधार त्यहीँ हो । हामी निरन्तर यहाँका जनतासँग भइरह्यौँ ।
जनताका वीच काम गरिरह्याँै । जित्ने आधार यिनै हुन् । हामीले उठाएका राष्ट्रियता र जनजिविकाका मुद्दा जनताले मन पराएका छन् ।
अघिल्लो पटकको निर्वाचनमा कतिपय कुरामा हामीले ध्यानदिन नसक्दा निर्वाचन हार्यौँ । हाम्रा कतिपय आन्तरिक कमजोरी भए । अब ती कमि कमजोरी दोहोरिँदैनन् ।
घरदैलो मार्फत चुनावीप्रचार गर्दा जनताका समस्या के कस्तो पाउनुभयो ?
हामीले घरदैलो मात्रै गरेका छैनौँ । क्लस्टर मिटिङ पनि गर्दै आएका छौँ । टोल टोलमा हाम्रा मिटिङ हुन्छन् । जनतासँग अन्तक्रिया हुन्छ । विहानमात्रै दुइटा कार्यक्रम गर्यौ । जनताका प्रतिक्रिया सुनेर उहाँहरुको समस्या सम्वोधन गर्ने गरेका छौं । जनतासँग सम्वादमा पनि छौं ।
तपार्ईं नेकपा एमालेको उच्चतहको नेता, तपार्ईंसँग जनताको आशा अलि बढी हुन्छ । तपाईं विजयी हुनुभयो भने जनताकापक्षमा के के गर्र्नुहुन्छ ?
स्थिर सरकारका लागि, बहुमतको सरकारको लागि हामी लाग्ने हो । मेरो उम्मेदवारी र मेरो जित त्यसकै लागि हो । यो क्षेत्रका जुन समस्या छन्, ती समस्याका समाधानका लागि हामी अगाडि बढ्छौं । समाधान गर्नको लागि दुई स्टेप हुन्छ ।
एउटा स्थानीयतहमा २० वर्ष देखि निर्वाचन भएको थिएन । ती जनप्रतिनिधिले गर्ने काम छन् । प्रदेश सरकारको तर्फबाट गर्ने काम छन् । ती स्थानबाट नभएका काम हामी माथिल्लो तहबाट गर्छौं ।
स्थानीय तहको निर्वाचनमा बामगठबन्धन बलियो
काठमाडौ क्षेत्र नम्वर ५ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर २,३,४ र ५ रहेका छन् । त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका वडा नम्वर ३,४,५,६ र ७ पर्दछन् । टोखानगरपालिकाका २,३,४,५,६ र ७ पनि काठमाडौं ५ नम्बर क्षेत्रमा पर्दछन् ।
स्थानीयतहको मतलाई हिसाव गर्दा एमालले १७हजार ४५९ मतका साथ अग्र स्थानमा छ । दोश्रोमा रहेको काङ्ग्रेसको मत १५ हजार ४६१ छ ।
वामगठबन्धनका कारण पोखरेललाई मतथपिने सम्भावना छ । स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको तीन हजार २८४ जोड्दा गठबन्धनको पक्षमा २० हजार ७४३ मत हुन्छ ।
स्थानीयतहको मतको आधारमा काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काङ्ग्रेस ५ हजार २८२ मतले पछि परेको छ ।
२०७० को संविधान सभा निर्वाचनमा काङ्ग्रेस नेता नरहरी आचार्यले १५ हजार ३५३ मतल्याई विजयी भएका थिए भने पोखरेलले १४ हजार ७२३ मत ल्याएका थिए ।