बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड: बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

शुक्रबार, ०१ मङ्सिर २०७४, २० : २७
शुक्रबार, ०१ मङ्सिर २०७४

ढिकुरे (नुवाकोट)— नुवाकोटमा शुक्रबार बिहान भएको  वम विष्फोट पछि   क्षेत्र नम्बर १ का उम्मेदवार आरोप—प्रत्यारोपमा उत्रिएका छन् । नुवाकोटको ककनीस्थित चियाबगानबाट चतुरालेतर्फको कार्यक्रममा जाँदै गर्दा कांग्रेस नेता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार रामशरण महत र  प्रदेशसभा १(ख)का उम्मेदवार रमेश महतलाई लक्षित गरेर ककनीकै काउलेथोक डाँडागाउँमा अज्ञात समूहले बम विस्फोट गराएसँगै रामशरण र  वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।  

बम विस्फोटसँगै  महतले यो घटनामा विप्लव समूहको नभई विपक्षी गठबन्धनले घटाएको हुन सक्ने आरोप लगाएका छन् ।  महतले विपक्षी गठबन्धनका उम्मेदवार हितबहादुर तामाङको नामै नलिइ आफ्नो पक्षमा लहर देखिएपछि चुनाव भाँड्न विपक्षीले  घटना घटाएको हुनसक्ने आरोप लगाए । उनले विप्लव समूहले समेत  घटना नघटाएको भनिरहेको  आफूले सुनेको भन्दै  घटना कसले घटाएको हो भन्ने त्यत्तिकै प्रष्ट हुने  दाबी गरे । 


शुक्रबार बहिान १० बजेतिर बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा अज्ञात समूहको एम्बुसमा परेको थियो । घटनामा ६ जना घाइते भएको  प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए । ‘एम्बुसमा परी उपेन्द्र मिश्र, भेष कुमार तामाङ,  रामकुमार राई, सविन लामा, लिला घर्ती र  रमेश राई  घाइते भएका छन्,’ प्रजिअ बरालले रातोपाटीसँग भने, ‘गम्भीर घाइते ३ जनालाई नेपाली सेनाको र श्री एयरलाइन्सको हेलिकप्तरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ।’
 गम्भीर घाइते ३ मध्ये २ जनालाई  त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र एक जनालाई ग्राण्डी अस्पताल धापासी पठाइएको पनि बरालले जानकारी दिए । घटनापछि आक्रामक बन्दै महतसहितका कांग्रेसले  वाम गठबन्धनको   घटना घटाउन हात रहेको भनि आरोप लगाएको हो ।


तर, वाम गठबन्धनका सोहि क्षेत्रका उम्मेदवार हितबहादुर तामाङले भने आधारहीन आरोप नलगाउन चेतावनी दिँदै घटनामा पार्टीको कुनै संलग्नता  नरहेको बताए । ककनीमा घटना घट्दा  लिखु गाउँपालिका २ ढिकुरेबजार आसपासका क्षेत्रमा   घरदैलो गरेका तामाङले महत हार्ने देखिएपछि  लाञ्छना लगाएको अराोप लगाए ।  उनले कांग्रेस देशैभर हार्ने निश्चित भएपछि चुनाव नै नगराउने खेलमा लागेको भन्दै सोहि   उद्देश्यले आफैले घटना घटाएको हुन सक्ने समेत दाबी गरे । 
यद्यपी  चुनाव प्रचारप्रसारका क्रममा   यस्ता घटना घट्नु निन्दनीय भएको भन्दै उम्मेदवारको सुरक्षामा सरकार गम्भीर हुनुपर्नेमा तामाङले जोड दिए । यसैबीच तामाङले हार्ने देखिएपछि  कांग्रेस गलत हल्ला फैलाउन लागिपरेको समेत आरोप लगाएका छन् । ‘वाम गठबन्धन बनेपछि  महत हार्ने निश्चित भइसकेको छ’, तामाङले रातोपाटीसँग भने, ‘त्यही भएर उहाँहरु एमालेले हितबहादुरलाई भोट  नहाली  कांग्रेसलाई  भोट हाल्छ भन्ने हल्ला चलाउन व्यस्त हुनुहुन्छ ।’  कांग्रेसले एमालेले प्रतिनिधिसभामा  महतलाई भोट हाल्ने र  कांग्रेसले प्रदेशसभामा एमालेका बद्री मैनालीलाई भोट हाल्ने सहमति भनि गलत हल्ला फैलाएको आरोप लगाए । 


सूर्यगढी गाउँपालिका वडा नम्बर ४  स्थित हल्देकालिकाको मन्दिर आसपासको स्थानीयसँग   भलाकुसारीपछि आयोजित कोणसभामा बोल्दै उनले यस्तो हल्ला फैलाउनु भनेको  कांग्रेसले हार्ने निश्चित भएको प्रमाण भएको दाबी गरे ।  ‘रामशरणले  आफ्ना भतिजालाई हराएर कहिल्यै बद्रीजीलाई जिताउन लागिपर्लान् ?’ तामाङको भनाई थियो, ‘यो सरासर रामशणको पराजित मानसिकताको उपज हो । यसलाई जनताले राम्ररी बुझेका छन्।’ यस्तै  प्रदेशसभाका एमाले उम्मेदवार बद्री मैनालीले पनि  एमालेले कांग्रेससँग कुनै सम्झौता नगरेको भन्दै भ्रममा नपर्न आह्वान गरे । 
 

आरोप प्रत्यारोपको खेल


बम विस्फोटसँगै  तामाङ— महत आरोप प्रत्यारोपमा उत्रिनु राजनीतिक स्वार्थको लागि भएको सो  क्षेत्र नम्बर १ का स्थानीयको प्रतिक्रिया छ  । 
लिखु गाउँपालिका २ स्थित लब्दुकी स्थानीय सुशीला लामिछानेले घटनाबारे पुष्टि नभई आरोप लगाउनु भनेको एकअर्कालाई लगाउने  खेल बाहेक अरु केहि नभएको प्रतिक्रिया दिइन् । उनले वाम गठबन्धन एकातिर र कांग्रेस एक्लै हुँदा  महतले  जनमत प्रभावित पार्न आधारहिन आरोप लगाएको समेत आरोप लगाइन् ।  
 स्थानीयबासी समेत रहेका  नेविसंघका केन्द्रीय सदस्य तथा जयराम दाहालले गाडी पूरै उत्तानो परेको जानकारी आएको भन्दै  यस्ता घटना कांग्रेसको पक्षमा आएको लहरलाई देखिनसहनेहरुले घटाएको दाबी गरे । स्थानीयका अनुसार अहिले दुबै समूह अनेक बहाना बनाएर एकले अर्कालाई कमजोर पार्ने रणनीतिमा लागेका छन् । सोहि रणनीतिअनुसार महतले वाम गठबन्धनलाई  घटनामा मुछेका हुन् । 


प्रहरीले अहिलेसम्म घटनाबारे केहि नखोल्नुले पनि घटनामा आरोप प्रत्यारोप पटाक्षेप हुन सहयोग पुगेको छ। नुवाकोट  प्रहरीले घटनामा अहिलेसम्म कसैको संलग्नता पुष्टि हुन नसकेको बताएको छ ।  ‘हामीले अहिले सम्भावित सर्च अपरेशन जारी राखेका छौं’, जिल्ला प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्यालले रातोपाटीसँग भने, ‘घटनास्थलमा हामीले ४० प्रहरी र त्यतिनै संख्यामा सशस्त्र प्रहरीका साथै म्यादी प्रहरी परिचालन गरेका छौं ।’  बस्यालले पर्याप्त सुरक्षाको व्यवस्था गरिँदा पनि घटना घट्न पुगेको भन्दै घटनापछि  सुरक्षा व्यवस्थालाई मतबुत पारेर लगिने बताए ।

यस्तो छ क्षेत्र नम्बर १ को तथ्यांकः


नुवाकोट क्षेत्र नं १ का ७ स्थानीय तहमा गएको निर्वाचनमा बाम गठबन्धनले ३६ हजार ९ सय ६२ मत ल्याएको थियो भने नेपाली काँग्रेसले २२ हजार ६ सय ५२ मत ल्याएको थियो । यस आधारमा हेर्दा नुवाकोट क्षेत्र नं १ मा नेपाली कांग्रेसको भन्दा बाम गठबन्धनको १४ हजार बढी मत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप