बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

बिहीबार, ३० कात्तिक २०७४, १२ : ५६
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौँ ।  बुधवार साँझ नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई मावलीकहाँ गए । काँग्रेसका जिल्ला नेता रहेका मामा चन्द्रप्रसाद न्यौपानेसँग भेट गरेर भोट मागे । गोरखा २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका डा.भट्टराईलाई काँग्रेसको समर्थन छ । तर, चन्द्रप्रसाद न्यौपानेसहितका काँग्रेसका जिल्ला नेताहरुले पत्रकार सम्मेलन गरेर बाबुरामलाई भोट नहाल्ने बताएपछि यो विषय गोरखामा चर्चामा थियो । 

बाबुराम र उनका मामावीचको संवाद यस्तो थियो

डा.बाबुराम – मामा नमस्कार

चन्द्रप्रसाद– नमस्कार भान्जा बाबु, २०५२ सालमा टिका लगाएर पठाएपछि आउनु भएको थिएन । यहाँलाई मावली घरमा स्वागत छ । (यतिकैमा चन्द्रप्रसादले पत्नीलाई बोलाए, भान्जा आउनु भएको छ । बाहिर आउँ ।)

माइजु बाहिर आएपछि बाबुरामले नमस्कार गरे ।

त्यसपछि मामा भान्जाको कुराकानी शुरु भयो । 

चन्द्रप्रसाद– यस्तो अध्यारोमा किन हिँडेको ? चुनावको बेला छ । तपाईंलाई खतरा पनि छ । केही भैहाल्यो भने बर्बाद हुन्छ । यसरी चुनावको बेला राती हिड्नु भएन । 

बाबुराम – मामा दिनभर कार्यक्रममा व्यस्त भइन्छ । भेटन आउछु भनेको धेरै भएको थियो । समय नमिलेर गा्रहो भएको थियो । आज नजिकै कार्यक्रम भएको बेला मामा माइजुलाई भेटेर आउछु भनेर आएको । 

चन्द्रप्रसाद – ए ए ल ल ठिक छ । ध्यान दिनुहोला ।

बाबुराम – ल भन्नुस् के छ नयाँ । म त मावल आर्शीवाद माग्न आएको हो । 

चन्द्रप्रसाद – अस्ती जे भएपनि (बाबुरामलाई भोट नदिने भनेर विज्ञप्ती निकालेको विषय) भोट हाल्ने बेला विवेक लगाउछौँ । आवेगमा आएर गलत निर्णय हुन्न । तपाईंलाई जितको आर्शीवाद छ ।

बाबुराम – मावलीमा आएको बेला आर्शीवादले मात्र हुँदैन । दक्षिणा चाहिन्छ । दक्षिणा भनेको अव १० गते मलाई भोट दिने हजुरहरुले । 
 

चन्द्रप्रसाद -हुन्छ । दक्षिणा नै दिन्छौँ । हामी विवेक प्रयोग गर्छौँ । 

बाबुराम – हस्, म ढुक्क छु । मलाई मावलीको माया र सद्भाव छ । 

चन्द्रप्रसाद – भान्जालाई मेरा तीनवटा सुझाव छन् ।

बाबुराम – भन्नुस् 

चन्द्रप्रसाद – यहाँ चुनावमा पैसाको खेलो हुँदैछ । यो ध्यान दिनु । तपाईंका प्रतिस्पर्धीसँग धेरै पैसा छ । तपाईंसँग छैन । पैसाको बेलामा चुनाव प्रभावित नहोस् । चुनावमा गुण्डागर्दी पनि हुन्छ । यसमा पनि ध्यान दिनुहोला । अर्को सुझाव भनेको द्वन्द्वपीडितका समस्या हल गर्ने कुरा हो । उहाँहरुको चिक्त बुझाउनुहोला । त्यसो भयो भने तपाईंलाई राम्रो हुन्छ । 

बाबुराम – हस् मामा मैले कुरा बुझेको छ । जनताको मतमाथि कसैले खेलवाड गर्न पाउँदैन । जनता महान छन् । विवेक प्रयोग गर्छन् ।

चन्द्रप्रसाद– त्यहीँ भनेको ।

बाबुराम – हुन्छ मामा, अव हामी जान्छौँ । २ गते पालुङटारमा सभा छ । त्यहाँ आउनुहोला ।

चन्द्रप्रसाद– काँग्रेसको को नेता आउँदैछन् ?

बाबुराम – रामचन्द्र पौडेल । 

चन्द्रप्रसाद– हुन्छ । 

दुधको चिया पनि सकियो । र मामा भान्जाको कुराकानी पनि । 

चन्द्रप्रसाद २०६४ मा काँग्रेसबाट संविधानसभाका लागि उम्मेदवार थिए । मामा भान्जाका लडाईंमा बाबुरामले जित भएको थियो । चन्द्रप्रसाद जिल्ला विकास समितिका पूर्वसभापति पनि हुन् ।

यस अघि गत आइतवार उनीसहितका गोरखा २ का काँग्रेस कार्यकर्ताले पत्रकार सम्मेलन गरेर प्रत्यक्षतर्फ मतदान नगर्ने घोषणा गरेका थिए । 

उनीहरुले पार्टीको दर्शन र विचार विपरित तालमेल भएको भन्दै असन्तुष्टि जनाएका थिए । यहीँ कारण समानुपातिकमा भोट हाल्ने बताएका थिए । 

चन्द्रप्रसादले भनेका थिए – 
गोरखा २ मा काँग्रेसको उम्मेदवार छैन । त्यहाँ न हाम्रो रुख छ, न मुख छ । अनि किन भोट हाल्ने ? 
उनले बाबुराम सूर्य चिन्ह लिएर लड्न तयार हुने तर रुख चिन्ह लिएर लड्न तयार नहुने कारण खोजेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप