बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

बुधबार, २९ कात्तिक २०७४, १५ : ५६
बुधबार, २९ कात्तिक २०७४

लिलु डुम्रे

काठमाडौँ– यतिबेला आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका उम्मेदवारहरू सबैभन्दा बढी व्यस्त छन् । यस निर्वाचनमा पहिला जितेका र चर्चित अनुहार झनै तनावमा छन् ।
 
सोमबार कपन क्षेत्रका मतदाताको घरघर पुगेका गगन थापा मङ्गलबार भने नक्साल आसपासका क्षेत्रमा  घरदैलो गर्दैगरेको अवस्थामा  भेटिए । उनी मतदातालाई नमस्ते, कुराकानी र आशीर्वाद लिँदै उनी चुनावी प्रचारमा थिए ।
 
गगनसँग एमालेका युवा नेता डा. राजन भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । २०७० मा यो क्षेत्रमा गगनले जिते तर स्थानीय चुनावको हिसाब–किताब अलि फरक छ । यही हिसाब किताबको बलमा चुनाव जित्ने राजनको योजना छ । गगन आफ्नो व्यक्तित्व र विगतको विरासतका भरमा चुनाव जित्न चाहन्छन् ।
 
दुई युवा नेता प्रतिस्पर्धी भएका कारण चर्चामा रहेको काठमाडौँ क्षेत्र नम्बर ४ का दुवै उम्मेदवारलाई चुनावी कार्यक्रम गर्न भ्याइनभ्याई छ ।
 
बिहानको ९ बजेबाट नागपोखरीबाट  सुरु भएको चुनावी घरदैलो टोली नागपोखरीबाट उत्तरतिर लाग्यो । अधिकांश युवा रहेको प्रचार टोलीमा केही महिला र प्रौढ पनि सहभागी थिए ।
 
हातमा प्लेकार्ड र नेपाली काङ्ग्रेसको झण्डा बोकेका प्रचार टोलीले नेपाली काङ्ग्रेसका पक्षमा माइकिङ गर्दै थिए । ‘काङ्ग्रेसको नेतृत्वमा शान्ति र संविधान, काङ्ग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ रहेको चुनावी नारालाई उनीहरू विशेष जोड दिएर भट्याउँथे ।


 
लाउड स्पिकरबाट ‘दिदीबहिनी, दाजुभाइ, भोट फर गगन थापा’ बोलको र्याप गीत चर्को आवाजमा घन्किरहेको पाइन्छ भने युवाका आशाका केन्द्रविन्दु भन्दै प्रचार टोलीले गगनको पक्षमा मत मागिरहेका थिए । नागपोखरीबाट उत्तरतिर लागेको टोली नारायणहिटी सङ्ग्रहालयको पूर्वी गेट (जहाँ गणतन्त्र स्मारक बनिरहेको छ¬) को विपरीतदिशामा रहेका सर्वसाधारणका घरमा  प्रवेश गरे ।
 
घरको गेट खोलेर प्रवेश गरेको प्रचार टोलीको पहिलो भेट ४० वर्ष कटेका एक पुरुषसँग भयो । घरको दोस्रो तलामा रहेका उनलाई गगनले नमस्कार गरे । उनले नमस्कार फर्काउँदै भने ‘मेरो मतदाता नामावली ५ नम्बर क्षेत्रमा छ । तपाईंलाई शुभकामना ।
 
व्यापारिक प्रयोजनका लागि बनेका मूल सडकका घरमा मतदाता कमै मात्रामा भेट भए । बाटामा भेटिएका अधिकांशसँग गगनले हात मिलाउँथे ।


 
गगन थापासँगै क्षेत्र नम्बर ४ को प्रदेश क बाट उम्मेदवार बनेको नरोत्तम वैद्यसहितको प्रचार टोली अझ अघि बढ्यो । स्थानीय नेपाली काङ्ग्रेसका कार्यकर्ताले प्रचार टोलीलाई मतदाताको परिचय गराउँदै गगनसँग भेट गराइरहेका थिए ।
 
गगनसँगको भेटमा एक वृद्ध आमाले  भनिन्– ‘बाटो विस्तारले  गर्दा क्षति भयो ।’ गगनले आश्वास्त बनाउदै भने– ‘अब बाटो विस्तार हुँदैन, ढुक्क हुनुस् ।
 
र्याप गीतबाट सुरु भएको प्रचारमा अब भने लोकगीतले पनि स्थान लियो  । राधिका हमालले नेपाली काङ्ग्रेसको चुनावी प्रचारका लागि गाएको गीतमा प्रचार अभियानका सहभागी  नाच्न सुरु गरे । बिहान करिब ५० जनाबाट सुरु भएको प्रचार टोलीमा सहभागीहरूको सङ्ख्या बढ्दै  गएको थियो ।
 
मूल बाटोबाट घरदैलोका लागि प्रचार टोली सानो भित्री गल्लीमा छिर्यो । भूकम्पले क्षतिग्रस्त घरहरूमा पुगेको टोलीले रैथाने नेवारी समुदायका वृद्धहरूलाई भेट्यो । गगनले आशीर्वाद लिए । प्रचार टोलीमध्येका एकले भने ‘बुबा भोट यताउता होइन । रूखमा है ।’ वृद्धले स्विकारेको पारामा टाउको हल्लाए ।
 
नेवारी समुदायलाई भेटेको अवस्थामा स्थानीय प्रचार टोलीका सदस्यले नेवारी भाषामा मत माग्थे । विगतमा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षको जिम्मेवारीमा रहेका नरोत्तम वैद्यले नेवारी समुदायसँग आफ्नै मातृ भाषामा आफ्ना कुरा राख्थे ।
 
भित्री गल्लीमा प्रचारकै क्रममा एक दम्पत्तिले गगन थापासँग माग राखे ‘अरू केही गर्न पर्दैन, पानी ल्याइदिनुस ।’
 
गगनले पानी आपूर्तिको आश्वासन मधुरो स्वरमा दिए ।

घरदैलोको क्रममा स्थानीयले गगनसँगको भेटलाई प्राथमिकता दिएका थिए । पानीको समस्यामा कतिपय मतदाताले माग राखे । गगन सामु मतदाताले  शिक्षा, स्वास्थ्य, यातायात, बाटो र धुलाम्मे सडकलगायतका समस्याका कुनै माग तेर्साएनन् ।


 
नारायण चौरबाट पश्चिम गल्लीमा छिरेका गगनसामु तीन वृद्धाले पानीकै माग राखे । भूकम्पपश्चात जारको पानीमा निर्भर रहेको दुखेसो वृद्धाहरूले पोखे । गगनले समाधानको आश्वासन दिए । प्रचार टोली अलि अघि बढेपछि एक वृद्धले भने ‘गगनलाई तीन पटक भनिसकियो । हुन्छ भन्छन्, तर पानी आउँदैन । खानेपानी संस्थान धाइयो, गगनलाई भनियो सुनुवाइ भएन ।’
 

मतदाता भेट्नै मुस्किल
मूल सडकमा रहेका अधिकांश घर व्यापारिक प्रयोजनमा प्रयोग हुने भएकाले मतदाता भेट्न प्रचार टोलीलाई केही गाह्रो भएको थियो । साँघुरा भित्री बाटाबाट मतदाताको घरमा पुगेको गगनको टोलीले केही घरमा मतदाता नभेटी फर्कनुपरेको थियो ।
 
गगनलाई भेटेका वृद्धवृद्धाले गगनलाई आशीर्वाद दिन्थे भने केहिले शतप्रतिशत जित तपाईंको भनी गगनलाई ढुक्क बनाएका थिए । घरदैलोको क्रममा गगनलाई र नरोत्तम वैद्यलाई स्थानीयले माला तथा खादाले सम्मान गरेका थिए । 
 
सामान्यतयाः सांसदलाई भेट्न सर्वसाधारणलाई सहज छैन । तर घरदैलोमा पुगेका गगनलाई घरको माथिल्लो तलाबाट हाइहेल्लो मात्रै गर्ने पनि स्थानीय थिए । प्रचारमा जुटेका थापाको टोलीले घरबेटीलाई तलबाट नमस्ते गर्दा तीन तलामाथिबाट हात मात्रै हल्लाउने स्थानीय पनि थिए ।


 
प्रचार टोली नेपाल प्रहरीको प्रधान कार्यालयबाट पूर्वतिर लाग्यो । स्थानीय एक महिलाले पति दुर्घटनामा परी ट्रमा सेन्टरमा रहेकाले गगनको सहयोगको आशा राखिन् । गगनले सहयोगीलाई विवरण टिप्न लगाए । महिलाले गगनलाई सुनाइन्– ‘हामी सोच्छौँ ।’ गगनले मन्द मुस्कान छोडे ।
 
बिहानी समय घरदैलो प्रचारका लागि छुट्याइएको समय सकेर प्रचार टोली एक बजे खानाको तयारीमा जुट्यो । टेन्ट टाँगेर बनाइएको मेसमा प्रचार सहभागीहरूले पेट भरे ।
खानाको समयमै गगनले राष्ट्रिय ट्रमा सेन्टरका  उच्च तहका एक डाक्टरलाई फोन गरे । घरदैलो प्रचारका क्रममा नक्सालमा भेटेकी मतदाताको  पतिलाई उपचारमा प्रवन्ध  मिलाउन थापाले डाक्टरलाई आग्रह गरे  ।
 

कुनै दलको गढ भन्ने हुँदैन(अन्तर्वार्ता )

चुनावी प्रचारका लागि घरदैलोमा व्यस्त हुनुहुन्छ । चुनावी घरदैलोबाट आफ्नो अवस्था कस्तो पाउनुभयो ?
मेरा लागि यो दोस्रो निर्वाचन हो । धेरैजसो मतदातालाई म चिन्छु । मलाई पनि मतदाताले चिन्छन् । घरदैलो कार्यक्रममा खासै अन्तक्रिया हुँदैन । खास गरी इम्प्रेसनको कुरा हो । उहाँहरूको जनप्रतिनिधि भएर आएको अवस्थामा मसँग गुनासो नहुने त कुरै भएन । कति गुनासाहरू जायज छन्, स्वभाविक छन् । मैले मतदाताहरूलाई यो जनप्रतिनिधिलाई मत दिएर गल्ती गरेको छु भन्ने पारेको छैन । मेरो मतदातालाई परेको पनि छैन । मेरो इम्प्रेसन त्यही हो ।

घरदैलो कार्यक्रममा धेरैले पानीको मुख्य समस्या उठाउनुभयो । तपाईंसँग पटक पटक कुरा गरेको सुनुवाइ नभएको भन्नुभयो नि ?
हो, हाम्रो यो एरिया नै पानीको समस्या भएको एरिया हो । म आफैँ नै पानीको समस्या भएको घरको बासिन्दा हो । यसमा हामीले केही वैकल्पिक प्रयास पनि गर्यौँ । कुनै पनि उपाय लागेन । अब हामीसँग मेलम्चीबाहेक अर्को उपाय नभएर पनि हो । यहाँ म आउने जाने क्रममा प्रत्येक पटक पानीको छलफल भइरहन्छ । हामीसँग अरू विकल्प नै छैन, तत्कालका लागि । अहिले हामीले मेलम्ची कुर्नेबाहेक अर्को विकल्प अहिले छैन । समयमै मेलम्ची सक्नु नै मेरो जोड रह्यो ।

स्थानीय तहको निर्वाचनमा एमालेले यो निर्वाचन क्षेत्रमा धेरै स्थानमा जितेको तथा एमालेको बलियो प्रतिस्पर्धी भएका कारणले तपार्इंलाई यस पटक जित निकाल्न पहिले जति सहज छैन भनिन्छ नि ?
अघिल्लो निर्वाचनमा जाँदैगर्दा पनि नन्दकिशोर पुन पासाङ एकदमै बलियो उम्मेदवार हुनुहुन्थ्यो । आफ्नै पार्टीको  सुप्रभा दिदी बागी उम्मेदवार हुनुहुन्थ्यो । नेकपा एमालेको निर्मल कुइँकेल पनि सङ्गठनमा  असाध्यै पकड भएको व्यक्ति हुनुहुन्थ्यो । त्यो निर्वाचन पनि मेरा लागि प्रतिकूल नै थियो । तर मतदाता नै हो ठूलो आधार हो । अनुकूलको निर्वाचन त्यो पनि थिएन ।  मैले १३ हजारको फरक मतले जितेको हुँ । केही समयपछिको निर्वाचनमा मेरो पार्टी हार्यो । गढ भन्ने नहुने रहेछ नि । त्यसकारण स्थानीयमा फलानोले जित्यो भनेर हाल पनि त्यस्तै हँुदैन ।

यो संसदको निर्वाचन हो, स्थानीयमा वडाध्यक्ष, वडा सदस्य छान्नुभएको हो । केन्द्रको संसदमा कसलाई देख्न चाहने भन्ने हो नि ।

सडक, पानीका गुनासा बढेकाले तथा तपार्इंको निर्वाचन क्षेत्रअन्तर्गत तीनवटा वडा मात्रै नेपाली काङ्ग्रेसले जितेकाले प्रतिकूल अवस्था त हो नि ?
म यहाँको जनप्रतिनिधि भएकाले मतदाताका मप्रति गुनासो स्वभाविक नै हो । मतदाताले मलाई राम्रोसँग चिन्नुभएको छ । मैले चार वर्षमा गरेको हेर्नुभएको छ । गुनासो र घृणामा फरक हुन्छ । अझ बढी काम गर, अझ बढी अग्रसरता लेऊ भन्ने हो । कतिपय मैले गर्ने क्रममा चुकेको अवस्था छ । यहाँको बाटो, सडक हेरेर जनप्रतिनिधिप्रति मतदाता रुष्ट छन् भन्ने निष्कर्ष निकालियो भने बडो सतही हुन्छ । बाहिर जसरी जबरजस्त गरी कुरा ल्याइएको छ । त्यो नियोजित छ । अन्यत्र ध्यान दियो आफ्नो क्षेत्रमा हेरेन भन्ने सन्दर्भमा मैले सन्तुलित भएर समय दिएको छु ।

चुनावी प्रचारका क्रममा मेरो विरुद्धमा अफवाह फैलाएको भन्नुभएको थियो, त्यो क्रम रोकियो ?
हरेक दिनजसो केही न केही समाचार अनलाइन तथा सामाजिक सञ्जाल मार्फत सङ्गठित ढङ्गले प्रयोग गरिएको पाउँछु । त्यसलाई सामाना गर्दै जानेभन्दा अरू कुनै उपाय नै छैन ।  बीचमा एक दुई कम्प्लेन अफिसियल्ली पनि गरँे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप