रातोपाटी @ ब्याटल ग्राउन्ड : काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली

राजेश भण्डारी/बिजु महर्जन
लमजुङ । माओवादी नेता देव गुरुङको पुख्र्यौली थातथलो मनाङ भए पनि उनी अहिले लमजुङका कुना–कन्दरामा भोट माग्दै हिँडेका छन् ।
एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका गुरुङको लमजुङसँग खास साइनो छ । त्यो साइनो के भने लमजुङको बेँसीसहर उनको मावली हो ।
बाल्यकाल बेँसीसहरमै बिताएका गुरुङले औपचारिक शिक्षा–दीक्षाको सुरुवात पनि लमजुङबाटै गरेका थिए ।
मङ्गलबार लमजुङको पुरानो सदरमुकाम सुन्दरबजार नगरपालिका–१ कुन्छा पुग्दा माओवादी नेता गुरुङ ‘मिनी सभा’ गर्दै थिए । मञ्चमा रहेका गुरुङलाई उद्घोषक भीमबहादुर तामाङले ‘भाञ्जा’ सम्बोधन गर्दा धेरैलाई अनौठो लागेन, किनकि उनी लमजुङबासीका ‘भाञ्जा’का रूपमा स्थापित भइसकेका छन् ।
गुरुङसँगको चुनावी प्रतिस्पर्धामा छन्, काङ्ग्रेस नेता दिलबहादुर घर्ती । काङ्ग्रेसको पुरानो गढ मानिएको लमजुङमा चारतारे झण्डाको बिरासत जोगाउन लागिपरेका घर्ती यतिबेला लेकसाईमा घरदैलो गरिरहेका छन् । मङ्गलबार कोलसोथर गाउँपालिकास्थित सिउरुङमा घरदैले गरेका घर्तीले बुधबार सिंदी, पसगाउँ, भोजेलगायतका गाउँमा घरदैलो गर्ने कार्ययोजनाको प्रिन्टेड कपी बोकेर हिँडेका छन् ।
लमजुङ सदरमुकाम बेँसीसहरस्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालय सुनसान देखिन्छ । एक दुई पार्टी कार्यकता फाट्टफुट्ट आउँछन्, नेता नहुँदा कार्यालयमा चुनावी रौनक छाएको अनुभूति खासै हुँदैन ।
‘अहिले हामी ग्रामीण क्षेत्रको चुनावी प्रचारमा जुटेका छौँ’ बेँसीसहरमा रहेको नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा भेटिएका विमल श्रेष्ठले भने– ‘लमजुङको सहरी क्षेत्रमा त्यति चुनावी माहोल तातेको छैन, ग्रामीण क्षेत्रको प्रचार सकेपछि सहरी क्षेत्रमा केन्द्रित हुन्छौँ ।’
बेँसीसहर नगरपालिका र त्यसँगै जोडिएको सुन्दरबजार नगरपालिका क्षेत्रमा वामपन्थी गठबन्धनले भने आफ्नो प्रचार आक्रामक बनाएको छ । माओवादी नेता देव गुरुङ र एमाले नेता पृथ्वी सुब्बा गुरुङ सँगसँगै चिर्वाचन प्रचारमा खटिएका छन् ।
मङ्गलबार मध्यान्ह नेकपा एमालेको पार्टी कार्यालयमा पुग्दा माओवादी केन्द्रका इन्चार्ज पारशमणी पौडेल र एमालेका जिल्ला इन्चार्ज मायानाथ अधिकारीसहितका पदाधिकारी निर्वाचन जित्ने रणनीति बुन्दै थिए । पार्टी कार्यालय आउनेजानेको भीड बाक्लै देखिन्थ्यो ।
काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली
वामपन्थी विचारधारा बोक्नेहरूले नेपाली काङ्ग्रेसलाई सधैँ लगाउने आरोप केहो भने– ‘काङ्ग्रेस सामन्त, दलाल र नोकरशाही हो ।’ मङ्गलबार उज्यालो भुइँमा खस्नासाथ कुन्छामा आयोजित सभामा माओवादी नेता देव गुरुङले यही आरोप लगाए । उनले भने– ‘पुँजीवादी धरातल भएकाले काङ्ग्रेसबाट देशको विकास हुँदैन, काङ्ग्रेसको धरातल भनेको सामन्त, दलाल र नोकरशाही नै हो ।’
गुरुङले यस्तो सङ्गीन आरोप लगाउँदै गर्दा दर्शकदीर्घामा रहेका उनकै कार्यकर्ताले पनि ताली ठोक्ने जाँगर देखाएनन् ।
‘नेपाली काङ्ग्रेसको नेतृत्वमा मुलुक गयो भने मुलुकको अस्मिता नै गुम्छ’– गुरुङले प्रश्न गरे, ‘त्यसपछि संवृद्धि खोज्न कहाँ जाने ?’
गुरुङले चुनाव प्रचारमा दुई खाले शैली अपनाएका छन्, पहिले उनी काङ्ग्रेसलाई गाली गर्छन्, त्यसपछि विकासको सपना बेच्छन् ।
आफूले चुनाव जितेपछि सुन्दरबजार हुँदै पोखराको ताल्चोक छिचोलेको कच्ची बाटो पिच गरिदिने आश्वासन दिँदै नेता गुरुङले भने, ‘सुन्दरबजार–ताल्चोक
सड्कखण्ड कसरी पिच गर्ने, यहाँ उत्पादित वस्तुका लागि बजारको व्यवस्थापन कसरी गर्ने भन्नेबारे हामी व्यवस्थित योजनाका साथ लागिपर्ने छौँ ।’
पृथ्वी सुब्बाको मुख्यमन्त्री सपना
नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका पृथ्वी सुब्बा गुरुङ लमजुङबाट लगातार टिकट पाउने नेतामा पर्छन् । पञ्चायतकालदेखि नै लगातार लमजुङको चुनावी मैदानमा उत्रिँदै आएका गुरुङ कोलासोत्तार गाउँपालिकास्थित लुङ्दाका स्थानीय हुन् ।
०६४ सालको संविधानसभा निर्वाचनमा लमजुङ–२ बाट निर्वाचित गुरुङ यसपटक वाम गठबन्धको तर्फबाट ‘प्रदेशसभा–ख’ तर्फका उम्मेदवार हुन् ।
यस पटकको निर्वाचनमा गठबन्धनले उनलाई प्रदेश नम्बर–४ को भावी मुख्यमन्त्रीका रूपमा प्रचार गर्दै आएको छ ।
देव गुरुङ र पृथ्वी सुब्बाको प्रचार शैली लगभग मिल्छ । देव गुरुङ जस्तै पहिले काङ्ग्रेसलाई गाली गर्ने पृथ्वी सुब्बा भाषणको उत्तराद्र्धमा मुख्यमन्त्री बनेर विकास गर्ने सपना बेच्छन् ।
‘अबको निर्वाचनपछि बन्ने प्रदेश सरकार समक्ष ५० अरबभन्दा बढी बजेट निकासा हुन्छ’ मङ्गलबार कुन्छामा आयोजित सभामा उनले भने– ‘त्यो ढुकुटी सम्हाल्ने अवसर आयो भने सानातिना आमा समूहका भवन बनाउने कुराको चिन्ता नगर्नुस् ।’
दुई तिहाई बहुमतका साथ चार नम्बर प्रदेशको सरकार निर्माण गर्ने उद्घोष गरेका गुरुङले नेपाली काङ्ग्रेसको पैसामा नबिक्न मतदाताहरूलाई आग्रह गर्दै आएका छन् ।
‘अहिले १ लाखमा नभुल्नुस, सुन्दरबजार–ताल्चोक सडक पिच गर्न बीस करोड चाहिन्छ’, मतदातालाई नबिक्न आग्रह गर्दै उनले भने– ‘अरू पार्टीले एक लाख बाँड्लान् तर बाटो पिच गर्ने हामीले हो ।’
लमजुङको भोटको अङ्कगणित
लमजुङमा वाम गठबन्धनका तर्फबाट माओवादी नेता देव गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट दिलबहादुर घर्ती चुनावी मैदानमा छन् ।
लमजुङमा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङग्रेस पहिलो दल बनेको थियो । काङ्ग्रेसले ३२ हजार ३३७, एमालेले २४ हजार ७०६, माओवादीले ९ हजार ९२७, राप्रपाले ५ सय २८, नयाँ शक्तिले ४ सय ६१ मत ल्याएको थियो ।
यस आधारमा यहाँ वाम दलको ३४ हजार ६ सय ३३ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा २ हजार २ सय ९६ मत बढी हो । लमजुङमा नयाँ शक्तिको ४ सय ६१, फोरम लोकतान्त्रिकको १७ सङ्घीय समाजवादी फोरमको ४३ र राप्रपाको ५ सय २८ मत छ । यदि यी दलहरूको मत काङ्ग्रेसमा मिसाउँदा ३३ हजार ४ सय ३२ मत हुन्छ । यो मत वाम दलको कूल मतभन्दा १२ सय १ मत कम हो ।
यस आधारमा हेर्दा लमजुङमा वाम दल र नेपाली काङ्ग्रेसबीच चुनौतीपूर्ण भिडन्त हुने देखिन्छ । प्रतिनिधि सभा निर्वाचनका लागि १ क्षेत्र रहेको लमजुङमा १ लाख १५ हजार ४ सय ५६ मतदाता रहेका छन् ।