शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो चरणको चुनाव : प्रतिनिधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

बुधबार, ०८ कात्तिक २०७४, ११ : ५४
बुधबार, ०८ कात्तिक २०७४

काठमाडौं– पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । यसका लागि मनोनयन भैसकेको छ र उम्मेद्वारहरु चुनावी प्रचारमा लागेका छन् ।

स्थानीय तहमा पाएको मतलाई आधार मानेर बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी रणनीति तयार पार्दैछन् । यस्तो अबस्थामा अहिले हुन थालेका ३७ प्रतिनीधिसभा क्षेत्रमा १० हजार भन्दा बढी मत अन्तर भएका निर्वाचन क्षेत्र कहाँ–कहाँ  छन्, रातोपाटीले तथ्याङ्क केलाउने कोशिष गरेको छ ।
 
पहिलो चरणमा प्रदेश नम्वर १ का सात जिल्लामा प्रदेशसभा र प्रतिनीधिसभाको चुनाव हुँदैछ । सोलुखुम्वु, ओखलढुङ्गा, ताप्लेजुङ, संखुवासभामा, पाँचथर, भोजपुर र खोटाङमा पहिलो चरणमा चुनाव हुँदैछ ।
 
 
१–  पाँचथरमा बामगठबनधनको १२ हजार ६ सय मत बढी
 

पाँचथरमा एमाले माओवादी गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ् र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे चुनावी प्रतिष्पर्धामा छन् ।

स्थानीय तहको निर्वाचनमा यहाँ बाम गठबन्धनले ४० हजार ४ सय १८ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ७ सय ७६ मत पाएको थियो ।

यहाँ राप्रपाको १५ सय र संघीय समाजबादी फोरमको ११ सय हाराहारी मत छ । अन्य दलहरुको उपस्थिति नगन्य छ । यहाँ बामगठबन्धन दलको १२ हजार ६ सय ४२ मत बढी देखिन्छ । प्रतिनिधी सभा निर्वाचनका लागि एक क्षेत्र रहेको पाँचथरमा १ लाख २५ हजार २ सय २२ मतदाता रहेका छन् ।
 
२– भोजपुरमा बामगठबन्धनको १७ हजार मत बढी
 
भोजपुरमा प्रतिनिधीसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादीका नेता सुदन किँराती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझीबिच प्रतिष्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनमा भोजपुरमा बाम गठबन्धनले ३८ हजार ४ सय ५४ मत पाएको थियो भने नेपाली कांग्रेसले २० हजार ५ सय ६१ मत पाएको थियो । जुन बाम दलले पाएको मत भन्दा १७ हजार ८ सय ९३ मत कम हो ।

पछिल्लो विवरण अनुसार भोजपुरमा १ लाख १३ हजार ८ सय ९६ मतदाता रहेका छन् ।
 
३– धादिङ १ मा बामगठबन्धनको ३३ हजार ६ सय बढी मत

धादिङमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । आगामी प्रतिनिधी सभा निर्वाचनका लागि धादिङ–१ बाट माओवादी केन्द्र र एमालेको संयुक्त बाम गठबन्धनबाट भूमि त्रिपाठी र कांग्रेस तर्फबाट विश्व अर्याल चुनावी मैदानमा छन् ।

क्षेत्र नं –१ मा प्रमुख ५ राजनीतिक दल अन्र्तगत नेपाली कांग्रेसले २६ हजार २ सय ३१, नेकपा एमालेले ३६ हजार १ सय ४७, माओवादी केन्द्रले २३ हजार ७ सय २१, नयाँ शक्तिले ४ सय ७३ र राप्रपाले १ हजार ४ सय १४ मत ल्याएका थिए ।
 
यो क्षेत्रमा बाम दलको कूल ५९ हजार ८ सय ६८ मत पाएको  थियो, जुन कांग्रेसले पाएको मत भन्दा ३३ हजार ६ सय ३७ मत बढी हो ।
 
४– धादिङ–२ मा बामगठबन्धनको ११ हजार  मत बढी
धादिङ क्षेत्र नं–२ मा रुवीभ्याली, गंगाजमुना, नेत्रावती, खनियाबास, त्रिपुरासुन्दरी, ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिका गरी ७ स्थानीय तह रहेका छन् ।

७ स्थानीय तह मध्ये नेपाली कांग्रेस ३, एमाले ३ स्थानीय तहमा र राप्रपा १ तहमा विजयी भएका थिए ।

यो क्षेत्रमा प्रमुख ५ राजनीतिक दल अन्र्तगत नेपाली कांग्रेसले ३० हजार २ सय, नेकपा एमालेले २३ हजार ८ सय २६, माओवादी केन्द्रले २२ हजार २ सय २८, नयाँ शक्तिले १ हजार १२ र राप्रपाले ३ हजार ३ सय ६९ मत ल्याएको थियो ।
 
यहाँ बामगठबन्धनले ४६ हजार ५४ मत पाएको थियो । यो मत नेपाली कांग्रेसले पाएको मत भन्दा १५ हजार ८ सय ५४ बढी हो ।
 
यदि धादिङ–२ मा नयाँ शक्ति र राप्रपाले नेपाली कांग्रेसलाई सघाए भने ४ हजार भोट कांग्रेसको बढ्नेछ । कांग्रेसले गठबन्धन बनाएपनि झन्डै ११ हजार भोटले पछाडि छ ।
 
आगामी निर्वाचनका लागि धादिङका दुई क्षेत्रमा गरेर २ लाख ३३ हजार ४ सय ७५ मतदाता रहेका छन् ।
 
५– सिन्धुपाल्चोक १ मा बामगठबन्धनको १७ हजार मत बढी
 
मंसिर १० गतेको पहिलो चरणमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ निर्वाचन क्षेत्र रहेका छन् । यी दुई निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच चुनावी तालमेल भएको छ ।
 
क्षेत्र नं. १ मा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारवीच प्रतिष्पर्धा हुने भएको छ भने क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार र राप्रपाका उम्मेदवारवीच प्रतिष्पर्धा हुँदैछ ।
 
क्षेत्र नं. १ अन्र्तगत त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल गाँउपालिका पर्दछन् भने बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा रहेका छन् ।
 
सिन्धुपाल्चोक–१ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा र  लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतवीच प्रतिष्पर्धा हुँदैछ ।
 
गएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. १ मा बाम गठबन्धनले ४३ हजार २ सय ८३ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २२ हजार ४ सय ३७ मत ल्याएको थियो । यस्तै राप्रपाले ३  हजार ८ सय ६९ मत ल्याएको थियो ।
 
यस आधारमा लोकतान्त्रिक गठबन्धनको मत २६ हजार ३ सय ६ मत रहेको छ । अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन भन्दा बाम दलको १६ हजार ९ सय ७७ मत बढी छ ।
 
६–सिन्धुपाल्चोक २ मा बामगठबन्धनको १० हजार मत बढी
 
सिन्धुपाल्चोक क्षेत्र–२ अन्र्तगत पाँचपोखरी थाङपाल गाँउपालिका, हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाँउपालिका, चौतरा साँगाचोकगढी नगरपालिका वडा नं. १, ५, ६, ७, ८, ११, १२, १३, १४ पर्दछन् ।
 
क्षेत्र नं. २ मा बाम गठबन्धनबाट एमालेका नेता शेरबहादुर तामाङ र नेपाली कांग्रेस र राप्रपाको गठबन्धनबाट पशुपतिशमशेर राणावीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
 
गत स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ मा बाम गठबन्धनले कुल ४० हजार ७ सय ९० मत पाएका थिए । नेपाली कांग्रेसले २१ हजार ९ सय ८० मत पाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ४ सय ५७ मत पाएको थियो ।
 
यस अधारमा हेर्दा यहाँ लोकतान्त्रिक गठबन्धनको ३० हजार ७ सय ३७ मत रहेको छ, जुन बाम गठबन्धनको मत भन्दा १० हजार ३ सय ५३ मत कम हो ।
 
सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रमा २ लाख२६ हजार ५ सय ३३ मतदाता रहेका छन् ।
 
७– दोलखामा बामगठबन्धनको २२ हजार मत बढी
नेपाली कांग्रेसबाट रुद्रबहादुर खड्का र बाम गठबन्धनबाट एमालेका पार्वत गुरुङवीच प्रतिष्पर्धा हुँदैछ ।

गएको स्थानीय तहको निर्वाचनमा दोलखामा बाम दलले कूल ५१ हजार ६ सय ४८ मत पाएको थियो भने नेपाली कांग्रेसले २९ हजार १ सय ८२ मत पाएको थियो । यस आधारमा दोलखामा कांग्रेस २२ हजार ४ सय ६६ मतल पछाडि रहेको छ । यहाँ १ लाख ४७ हजार ८ सय ७८ मतदाता रहेका छन् ।

८– रामेछापमामा बामगठबन्धनको २९ हजार मत बढी
रामेछापमा आगामी प्रतिनिधीसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कान्छाराम तामाङबिच प्रतिष्पर्धा हुँदैछ । स्थानीय तहको निर्वाचनमा रामेछापमा बाम गठबन्धनले कूल ५६ हजार ६ सय ६४ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ३ सय ५४ मत पाएको थियो ।

यस आधारमा यहाँ नेपाली कांग्रेस बाम गठबन्धन भन्दा २९ हजार ३ सय १० मतले पछाडि छ । प्रतिनिधि सभा निर्वाचनका लागि एक क्षेत्र रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ६१ मतदाता रहेका छन् ।
 
९– नुवाकोट १ मा बामगठबन्धन १४ हजार मत बढी
 
नुवाकोटमा प्रतिनिधीसभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं. १ मा शिवपुरी गाँउपालिका, दुप्चेश्वर गाँउपालिका, पन्चकन्या गाँउपालिका, तादी गाँउपालिका, सुर्यगढी गाँउपालिका, लिखु गाँउपालिका, ककनी गाँउपालिका रहेका छन् ।
 
क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट हितबहादुर तामाङ र नेपाली कांग्रेसका तर्फबाट डा. रामशरण महतवीच प्रतिष्पर्धा हुँदैछ । नुवाकोट क्षेत्र नंंं. १ का ७ स्थानीय तहमा गएको निर्वाचनमा बाम गठबन्धनले ३६ हजार ९ सय ६२ मत ल्याएको थियो भने नेपाली काँग्रेसले २२ हजार ६ सय ५२ मत ल्याएको थियो ।
 
यस आधारमा हेर्दा नुवाकोट क्षेत्र नं. १ मा नेपाली कांग्रेसको भन्दा १४ हजार ३ सय १० मत बढी रहेको छ । यसअघिका संसदीय निर्वाचनमा विजयी हुँदै आएको नेपाली कांग्रेसलाई आउदो चुनावमा जित निकाल्न कठिन पर्ने देखिएको छ ।
 
१०– नुवाकोट २ मा बामगठबन्धनको १४ हजार मत बढी १७ हजार ८ सय मत बढी
 
नुवाकोट क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाँउपालिका, बिदुर नगरपालिका, मेघाङ गाँउपालिका र किस्पाङ गाँउपालिका रहेका छन् । यो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा र नेपाली कांग्रेसका तर्फबाट अर्जुननरसिंहवीच केसीवीच प्रतिष्पर्धा हँुदैछ ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा दुई बाम दलले ३९ हजार ३ सय २५ मत पाएको थियो भने नेपाली कांग्रेसले २१ हजार ४ सय ६६ मत पाएको थियो । यसआधारमा यहाँ १७ हजार ८ सय ५९ धेरै मत बामदलको पक्षमा रहेको छ ।
 
नुवाकोटका दुई क्षेत्रमा २ लाख ०८ हजार १ सय ७४ मतदाता रहेका छन् ।
 
 
११– म्याग्दीमा बामगठबन्धन १० हजार मतले अगाडि
 
म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट भूपेन्द्रबहादुर थापा र नेपाली काङ्ग्रेसबाट गम्भीर गर्बुजा चुनावी मैदानमा रहेका छन् । गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले १६ हजार १ सय ३९, नेकपा एमालेले २० हजार २ सय ५२, माओवादी केन्द्रले ६ हजार ७४, राप्रपाले ४ हजार १ सय ३४ मत पाएका थिए । यहाँ नेकपा एमालेले नेपाली काङ्ग्रेसले भन्दा ४ हजार हाराहारी बढी मत ल्याएर पहिलो दल बनेको थियो । यसआधारमा यहाँ बाम गठबन्धनको २६ हजार ३ सय २६ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १० हजार १ सय ८७ मतले बढी हो । म्याग्दीमा ७५ हजार ५ सय ३८ मतदाता छन् । 
 
१२– रुकुम (पूर्वी भाग) मा बामगठबन्धन ११ हजार मतले अगाडि
रुकुम जिल्ला पूर्वी भागमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कमला रोका र नेपाली काङ्ग्रेसका नेता अमरसिंह पुनबीच प्रतिष्पर्धा हुँदैछ ।

स्थानीय तहको निर्वाचनमा यस जिल्लाबाट वाम गठबन्धनले कुल १३ हजार ९ सय ५ मत पाएको थियो भने नेपाली काङ्ग्रेसले २ हजार ८ सय ८८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धन ११ हजार १७ मतले अगाडि रहेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।
 
१३– रूकुम (पश्चिम भाग) मा बामगठबन्धन १६ हजार ७ सय मतले अगाडि
रुकुम जिल्ला पश्चिम भागमा प्रतिनिधि सभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी नेता जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका गोपालजीजङ्ग शाह चुनावी मैदानमा भिड्दैछन् ।

स्थानीय तहको निर्वाचनमा पश्चिम रुकुममा माओवादी केन्द्र पहिलो दल बनेको थियो । स्थानीय तहका प्रमुख पदका लागि प्राप्त मतका आधारमा माओवादी केन्द्रले २७ हजार ४ सय ३१ मत ल्याएको थियो ।

दोस्रो दलका रूपमा नेपाली काङ्ग्रेसले १९ हजार ६७ मत ल्याएको थियो । रुकुम पश्चिममा वाम दलको मत ३५ हजार ८ सय ३५ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसको भन्दा १६ हजार ७ सय ६८ मत बढी हो । यो जिल्लामा राप्रपाले जम्मा १ सय ९२, राष्ट्रिय जनमोर्चाले ४३ र नयाँ शक्ति नेपालले १ सय ६४ मत ल्याएका छन् । यहाँ नेपाली काङ्ग्रेसले अन्य दलसँग तालमेल गर्ने हो भने पनि वाम दलसँग प्रतिष्पर्धा गर्न कठिन छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ८४ हजार ३० मतदाता छन् ।

१४– जाजरकोटमा बामगठबन्धन १८ हजार ६ सय मत बढी
जाजरकोटमा वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र नेपाली काङ्ग्रेसका राजिव विक्रम शाहीबीच चुनावी प्रतिष्पर्धा हुँदैछ । यद्यपि एमालेका गोविन्द विक्रम शाहले पूर्व गृहमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध बागी उम्मेदवारी दिएका छन् । यो समाचार तयार पार्दासम्म शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । यदि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् भने बस्नेतले सङ्कटकको सामना गर्नुपर्ने देखिन्छ ।
 
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जाजरकोटमा नेपाली काङ्ग्रेसले १९ हजार ४ सय ३९, नेकपा एमालेले २० हजार ६०० र माओवादी केन्द्रले १७ हजार ४ सय ६१ मत ल्याएको थियो । यस्तै राप्रपाले २ सय ८५ मत ल्याएको थियो । यहाँ वाम पन्थी दलको ३८ हजार ६१ मत रहेको छ, अर्थात नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १८ हजार ६ सय २२ मत बढी छ । यो जिल्लामा अन्य दलहरूको खासै राम्रो उपस्थिति छैन । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोेटमा १ निर्वाचन क्षेत्र रहेको छ भने यहाँ ८३ हजार ९ सय ३६ मतदाता रहेका छन् ।

१५–जुम्लामा बामगठबन्धनको १३ हजार ५ सय ७० मत बढी

जुम्लामा बाम गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत र नेपाली काङ्ग्रेसका तर्फबाट देवेन्द्र शाही चुनावी मैदानमा छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त कुल मतका आधारमा माओवादी केन्द्र पहिलो पार्टी बनेको थियो । माओवादी केन्द्रले १३ हजार ९ सय ५२ मत ल्याएको थियो भने जिल्लाको दोस्रो दल नेपाली काङ्ग्रेसले १२ हजार १ सय २७ मत ल्याएको थियो भने नेकपा एमालेले ११ हजार ७ सय ४५ मत ल्याएको थियो ।

दुई वाम एक ठाउँ भएर चुनाव लड्दा यहाँ पनि नेपाली काङ्ग्रेसलाई चुनौती थपिएको छ । यहाँ वाम गठबन्धनसँग २५ हजार ६ सय ९७ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १३ हजार ५ सय ७० मत बढी छ ।  प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको जुम्लामा यो अवस्थामा १४ हजार मत बढाउनुपर्ने छ । यहाँ ५९ हजार ५८ मतदाता रहेका छन् ।

१६– कालिकोटमा बामगठबन्धनको १६ हजार ७३ मत बढी
कालीकोटमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाही चुनावी मैदानमा रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले अन्य दलभन्दा धेरै मत ल्याएको थियो । माओवादीले १५ हजार १ सय १६ मत ल्याएको थियो भने नेकपा एमालेले १३ हजार २ सय ३१ मत ल्याएको थियो । यस्तै नेपाली काङ्ग्रेसले १२ हजार २ सय ७४ मत ल्याएको थियो । राप्रपाले भने ९ सय ७३ मत ल्याएको थियो ।

यहाँ बामदलले २८ हजार ३ सय ४७ मत पाएको छ, जुन नेपाली काङ्ग्रेको तुलनामा १६ हजार ७३ मत बढी हो । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको कालीकोटमा ६४ हजार ९ सय ६१ मतदाता रहेका छन् ।

१७– बझाङमा बामगठबन्धनको १४ हजार ८ सय मत बढी
बझाङमा वाम गठबन्धनका तर्फबाट एमाले नेता भैरवबहादुर सिंह र नेपाली काङ्ग्रेसकातर्फबाट पृथ्वीबहादुर सिंह चुनावी मैदानमा छन् ।

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख ४ हजार २ सय ७५ मतदाता रहेको बझाङमा  प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २६ हजार १ सय २२ मत ल्याएको थियो । नेकपा एमालेले २८ हजार ७० मत र माओवादी केन्द्रले १२ हजार ९ सय ३० मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको ४१ हजार मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा १४ हजार ८ सय ७८ मत बढी हो । एक निर्वाचन क्षेत्र रहेको बझाङमा आफ्नो जित निकाल्न नेपाली काङ्ग्रेसलाई वाम गठबन्धनले चुनौती थपेको छ ।
 
१८– बैतडीमा बामगठबन्धनको पक्षमा १६ हजार मत बढी
 

बैतडीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका दामोदर भण्डारी र नेपाली काङ्ग्रेसका नरबहादुर चन्द बीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा नेपाली काङ्ग्रेसले २७ हजार ६ सय ८० मत ल्याएको थियो । नेकपा एमालेले २५ हजार ६ सय ४१ र माओवादी केन्द्रले १८ हजार १ सय ६६ मत ल्याएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको ४३ हजार ८ सय ७ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १६ हजार १ सय २७ मत बढी हो ।

यस आधारमा बाम गठबन्धनलाई हराउन यहाँ पनि नेपाली काङ्ग्रेसलाई कठिन पर्ने देखिन्छ । प्रतिनिधि सभा निर्वाचनका  लागि १ मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३ सय १७ मतदाता छन् ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप