शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

आइतबार, २९ असोज २०७४, १७ : २७
आइतबार, २९ असोज २०७४

काठमाडौँ । समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचि बुझाँउने निर्वाचन कार्यक्रम शूरु भएसँगै आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधी सभा र प्रदेशसभा चुनाव शूरु भएको छ । यससँगै दलहरुले चुनावी प्रचारको कार्यक्रम समेत शुरु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा जित निकाल्न दलका नेताहरु सक्रिय हुँदैछन् । यसै सन्र्दभमा हामीले प्रदेश नं. ७ मा राजनीतिक दलको अवस्थाबारेमा खोजी गरेका छौँ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश नं. ७ का जिल्लामा राजनीतिक दलले पाएको कुल मतका आधारमा हामीले विश्लेषण गर्ने प्रयास गरेका छौँ । 

प्रदेश नं ७ का कुन जिल्लामा कुन दलको अवस्था कस्तो छ 

१) बाजुरा 
स्थानीय तहको निर्वाचनमा बाजुरामा नेपाली काङ्ग्रेसले २३ हजार २ सय ३ मत पाएको थियो । यस्तै एमालेले २२ हजार ५ सय ६९ मत पाएको थियो भने माओवादी केन्द्रले ३ हजार ९ सय ५६ मत ल्याएको थियो । यो जिल्लामा बाम गठबन्धनको मत जोड्दा २६ हजार ५ सय २५ हुन्छ जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ३ हजार ३ सय २२ मत बढी हो । यो जिल्लामा माओवादी केन्द्रको उपस्थिति निकै कमजोर देखिन्छ । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता रहेका छन् । बाजुरामा प्रतिनिधी सभा निर्वाचनका लागि एक क्षेत्र रहेको छ । 

२) अछाम 
७ नंबर प्रदेशको अछाममा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ३२ हजार ७ सय २९ मत ल्याएको थियो । यहाँ एमालेले ३५ हजार ३१ मत र माओवादी केन्द्रले १५ हजार २२७ मत ल्याएको थियो । अछाममा एमाले र माओवादी केन्द्र गठबन्धनको कूल मत ५० हजार ३१ हुन्छ जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा १७ हजार ३ सय २ मत बढी हो । अछाममा प्रतिनिधी सभाका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ निर्वाचन क्षेत्र छन् । यहाँ १ लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् । 

३) बझाँङ 
बझाँङमा प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख ४ हजार २ सय ७५ मतदाता रहेका छन् । यहाँ प्रतिनिधी सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २६ हजार १ सय २२ मत ल्याएको थियो । नेकपा एमालेले २८ हजार ७० मत र माओवादी केन्द्रले १२ हजार ९ सय ३० मत ल्याएको थियो । यहाँ गठबन्धनको ४१ हजार मत छ जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा १४ हजार ८ सय ७८ मत बढी हो । एक निर्वाचन क्षेत्र भएका कारण नेपाली काङ्ग्रेसलाई जित निकाल्न बझाँङमा निकै कठिन देखिन्छ । 

४) डोटी 
डोटीमा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २८ हजार ५ सय ४२ मत पाएको थियो । यस्तै नेकपा एमालेले २७ हजार ८ सय ८९ मत ल्याएको थियो भने माओवादी केन्द्रले ७ हजार ८ सय ६४ मत ल्याएको थियो । यहाँ बाम गठबन्धनको कूल मत ३५ हजार ७ सय ५३ मत छ जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ७ हजार २ सय ११ मत बढी हो । प्रतिनिधी सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको डोटीमा १ लाख ६ हजार  ५ सय ४३ मतदाता छन् । स्थानीय तहमा पाएको मतका आधारमा यहाँ पनि गठबन्धन दलले जित निकाल्ने आंकलन गर्न सकिन्छ । 

५) कैलाली    
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा नेपाली काङ्ग्रेसले ७० हजार ६ सय ३८ मत ल्याएको थियो । नेकपा एमालेले ६३ हजार ६ सय १४ मत पाएको थियो भने माओवादी केन्द्रले पनि एमालेकै हाराहारीमा ६३ हजार १ सय २१ मत ल्याएको थियो । यहाँ बाम गठबन्धन दलले १ लाख २६ हजार ७ सय ३५ मत ल्याएको थियो जुन नेपाली काङ्ग्रेसको भन्दा ५६ हजार ९७ मत बढी हो । 

तर यहाँ नेपाली काङ्ग्रेससँग मिसिएको फोरम लोकतान्त्रिकको पनि राम्रो मत रहेको छ । विजय कुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकले यहाँ ३० हजार १ सय ९५ मत ल्याएको छ । नेपाली काङ्ग्रेसले पाएको मतसँग जोड्दा १ लाख ८ सय ३३ मत हुन्छ । बाम गठबन्धनसँग तुलना गर्दा २५ हजार ९ सय २ मतले बाम गठबन्धन अगाडि देखिन्छ । 

कैलालीमा प्रतिनिधी सभा निर्वाचनका लागि ५ क्षेत्र र प्रदेशसभा निर्वाचनका लागि १० क्षेत्र रहेका छन् । यहाँ ४ लाख ६० हजार ५ सय ८० मतदाता छन् ।  

६) दार्चुला 
दार्चुलामा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २१ हजार ७ सय ६८ मत पाएको थियो । यस्तै नेकपा एमालेले २० हजार ४ सय ४५ मत र माओवादी केन्द्रले १० हजार ५१ मत ल्याएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको ३० हजार ४ सय ९६ मत छ जुन नेपाली काङ्ग्रेसको भन्दा ८ हजार ७ सय २८ मत बढी हो । दार्चुलामा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि ७८ हजार ५ सय १२ मतदाता रहेका छन् । यहाँ प्रतिनिधी सभा निर्वाचनका लागि १ मात्र क्षेत्र रहेको छ । स्थानीय तहमा यी दलहरुले पाएको मतको विश्लेषण गर्दा बाम गठबन्धनलाई पराजित गर्न दार्चुलामा नेपाली काङ्ग्रेसलाई कठिन पर्ने देखिन्छ । 

७) बैतडी  
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २७ हजार ६ सय ८० मत ल्याएको थियो । नेकपा एमालेले २५ हजार ६ सय ४१ र माओवादी केन्द्रले १८ हजार १ सय ६६ मत ल्याएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको ४३ हजार ८ सय ७ मत रहेको छ जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा १६ हजार १ सय २७ मत बढी हो । यस आधारमा बाम गठबन्धनलाई हराउन यहाँ पनि नेपाली काग्रेसलाई कठिन पर्ने देखिन्छ । प्रतिनिधी सभा निर्वाचनका  लागि १ मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३ सय १७ मतदाता रहेका छन् । 

८) डडेल्धुरा 
स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा नेपाली काङ्ग्रेसले १९ हजार ५ सय २३ मत ल्याएको थियो । नेकपा एमालेले १६ हजार ९ सय १५ मत र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत ल्याएको थियो । यहाँ गठबन्धन दलको २७ हजार ८ सय ६० मत छ जुन नेपाली काङ्ग्रेसले ल्याएको मत भन्दा ८ हजार ३ सय ३७ बढी हो । 
प्रतिनिधी सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको डडेल्धुुरामा ८१ हजार ७ सय ३२ मतदाता रहेका छन् । 

९) कञ्चनपुर : 
कञ्चनपुरमा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ५० हजार ६ सय ६९ मत ल्याएको थियो । नेकपा एमालेले ५३ हजार ३ सय ९९ र माओवादी केन्द्रले ३४ हजार ६ सय ८४ मत ल्याएको थियो । यस आधारमा यहाँ बाम गठबन्धन दलको ८८ हजार ८३ मत छ जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ३७ हजार ४ सय १४ मत बढी हो । 

कञ्चनपुरमा फोरम लोकतान्त्रिकको २ हजार २ सय ७६ र राप्रपाको ८ हजार ८ सय ९८ मत जोड्दा ११ हजार १ सय ७४ हुन्छ । यो मत नेपाली काङ्ग्रेसको मतमा मिसाँउदा ६१ हजार ८ सय ४३ हुन्छ । यसो गर्दा पनि बाम गठबन्धन २६ हजार २ सय ४० मतले अगाडि देखिन्छ । 
प्रतिनिधी सभा निर्वाचनका लागि ३ क्षेत्र रहेको कञ्चनपुरमा २ लाख ६४ हजार ९ सय ७५ मतदाता रहेका छन् । 

समग्र ७ नंबर प्रदेशमा यस्तो छ दलहरुको अवस्था  

प्रदेश नं. ७ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि खसेको मतमध्ये कूल ८ लाख ६६ हजार १ सय ४१ मत सदर मत थियो । स्थानीय तह प्रमुखलाई खसेको मतका आधारमा हामीले यो विश्लेषण तयार पारेका हौँ । यस आधारमा विभिन्न राजनीतिक दलले प्रदेश नं. ७ मा पाएको मत विवरण र प्रतिशत यस्तो छ । 

१) नेपाली काङ्ग्रेसको ३४ दशमलव ७३ प्रतिशत अर्थात ३ लाख ८ सय ७४ मत

२) नेकपा एमालेको ३३ दशमलव ८९ प्रतिशत अर्थात २ लाख ९३ हजार ५ सय ७३ 

३) माओवादी केन्द्रको २० दशमलव ४२ प्रतिशत अर्थात १ लाख ७६ हजार ९ सय ४४ मत

४) राप्रपाको ३ दशमलव ३६ प्रतिशत अर्थात २९ हजार १ सय ८६

५) संघीय समाजवादी फोरमको ० दशमलव ४२ प्रतिशत अर्थात ३ हजार ६ सय ७७ मत 

६) फोरम लोकतान्त्रिकको ३ दशमलव ७५ प्रतिशत अर्थात ३२ हजार ४ सय ८१ मत 

७) नयाँ शक्तिको ० दशमलव ७५ प्रतिशत अर्थात ६ हजार ५९ मत 

८) राष्ट्रिय जनमोर्चाको ० दशमलव ४२ प्रतिशत अर्थात ३ हजार ६ सय ६१ मत 

प्रदेश नं. ७ मा कुल मतको हिसाव गर्दा नेपाली काङ्ग्रेस पहिलो स्थानमा छ । दोश्रो स्थानमा रहेको एमाले भन्दा काङ्ग्रेस ७ हजार ३ मतले अगाडि रहेको छ । तर ७ नंबर प्रदेशमा बाम गठबन्धनको कूल मत भने ४ लाख ७० हजार ५ सय १७ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसको कूल मत भन्दा १ लाख ६९ हजार ६ सय ४३ मत बढी छ । यस आधारमा हेर्दा नेपाली कांग्रेलाई आगामी निर्वाचनमा बाम तालमेलको ठूलो झड्का लाग्ने देखिन्छ । यद्यपी प्रत्यक्ष निर्वाचनमा दलले उठाएका उम्मेदवारको ब्यक्तित्वका कारण पनि केही भोटमा तलमाथि हुने आंकलन गर्न सकिन्छ । 

यो पनि पढ्नुहोस्

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप