प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

काठमाडौं– प्रदेश नम्बर ५ मा मङ्सिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि दुई जिल्ला मात्र परेका छन् ।
रुकुम (पूर्वी भाग) र रोल्पामा हुने चुनावका लागि उम्मेदवारहरू चुनावी प्रचारमा सक्रिय भइसकेका छन् ।
यी दुई जिल्लामा वाम गठबन्धनबाट पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोका र पूर्व अर्थमन्त्री वर्षमान पुनसँग नेपाली काङ्ग्रेसका उम्मेदवारसँग रोचक चुनावी भिडन्त हँुदैछ ।
रुकुम (पूर्वी भाग)
रुकुम जिल्ला पूर्वी भागमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कमला रोका र नेपाली काङ्ग्रेसका नेता अमरसिंह पुनबीच प्रतिष्पर्धा हुँदैछ ।
स्थानीय तहको निर्वाचनमा यस जिल्लाबाट वाम गठबन्धनले कुल १३ हजार ९ सय ५ मत पाएको थियो भने नेपाली काङ्ग्रेसले २ हजार ८ सय ८८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धन ११ हजार १७ मतले अगाडि रहेको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।
रोल्पा
रोल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका वर्षमान पुन र नेपाली काङ्ग्रेसकातर्फबाट अमरसिंह पुनबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
रोल्पामा गत स्थानीय तहको निर्वाचनमा रोल्पामा वाम गठबन्धनले कुल २५ हजार २ सय ३९ मत पाएको थियो भने नेपाली काङ्ग्रेसले १६ हजार ५ सय ९६ मत पाएको थियो ।
यस आधारमा यो जिल्लामा वाम गठबन्धन नेपाली काङ्ग्रेसभन्दा ८ हजार ६ सय ४३ मतले अगाडि रहेको छ ।
निर्वाचनका लागि रोल्पामा १ लाख २७ हजार ६ सय ६८ मतदाता छन् ।