शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड : हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

शुक्रबार, ०१ मङ्सिर २०७४, १९ : ०७
शुक्रबार, ०१ मङ्सिर २०७४

नुवाकोट— उम्मेदवारको अघिपछि दर्जनबढी गाडीको लस्कर । सँगसँगै मोटरसाइकलको लस्कर र झण्डावाला कार्यकर्ता ।   जहाँ उम्मेदवार पुग्छन्, त्यहाँ  हात जोड्दै नम्र बनेर भोट मागिहाल्छन्  । आफ्ना गुनासो सुनाउँछन् ।  हात जोडिरहेका  उम्मेदवार  सबै समस्या समाधान गर्ने भन्दै आफूलाई भोट हाल्न अनुरोध गर्छन् ।


 २ क्षेत्र रहेको  नुवाकोटका  उम्मेदवारहरु आजभोलि  यस्तै दैनिकी छ । बिहानदेखि बेलुकीसम्म घरदैलो गर्ने, स्थानीयका गुनासा सुन्ने, समस्या समाधानको आस्वासन दिने र स—साना कोणसभामा सहभागि हुने । राष्ट्रियस्तरका प्रभावशाली नेताहरुको उम्मेदवारी रहेकाले नुवाकोटको चुनावी माहोल तातिएको मात्रै छैन, धेरैको ध्यान यतै तानिएको छ ।


नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट  कांग्रेस प्रभावशाली नेता रामशरण महतको उम्मेदवारी रहेको छ  भने क्षेत्र नम्बर २ बाट  अर्जुन नरसिंह केसीको उम्मेदवारी परेको छ ।   प्रभावशाली नेताहरु भएपनि  अन्य जिल्लामा जस्तै नुवाकोटमा पनि वाम गठबन्धनबाट  साझा उम्मेदवार तय गरिएकाले उनीहरुलाई चुनाव जित्न कडा चुनौति देखिएको छ ।  

वाम गठबन्धनले  क्षेत्र नम्बर १ मा  माओवादी केन्द्रका नेता हितबहादुर तामाङलाई  उम्मेदवार बनाएको छ भने  क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडालाई उम्मेदवार बनाएको छ । कांग्रेस र वाम गठबन्धनले एकअर्कालाई हराउने लक्ष्यका साथ प्रचार अभियानलाई आक्रामक बनाइरहेका छन्   । यहीबेला ककनीमा अप्रिय घटनासमेत हुन पुग्नुले  सुरक्षा  चुनौति स्पष्ट रुपमा अगाडि आएको छ ।


घटना कसले घटायो भन्नेमा प्रशासनले अहिलेसम्म बाहिर नल्याइसकेको भएपनि अब नुवाकोटमा चुनावी अभियानमा सुरक्षा चुनौति  प्रष्ट रुपमा देखिएको छ ।
 नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले  सुरक्षा चुनौति थपिएको स्वीकार गर्दै  अब यस्ता घटनालाई रोक्न  आफूहरु नयाँ रणनीतिका साथ अघि बढ्न लागिएको बताए । जिल्ला समितिको बैठक बसेर नयाँ रणनीतिका साथ अघि बढिने उनको भनाई छ ।


चुनावी अभियानका क्रममा भोजपुर, रुकुम, रोल्पा, गोरखालगायतका जिल्लामा  उम्मेदवार लक्षित अब आक्रमण  भएसँगै नुवाकोट प्रहरी पनि सम्भावित घटनाप्रति चनाखो हुँदाहुँदै ककनीस्थित  चिया बगानमा  क्षेत्र नम्बर १ ख का प्रदेशसभा उम्मेदवार  रमेश महतको चुनावी प्रचार टोली चढेको  बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको हो । घटनामा ६ जना घाइते भएको  प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।


‘एम्बुसमा परी उपेन्द्र मिश्र, भेष कुमार तामाङ,  रामकुमार राई,  सविन लामा, लिला घर्ती र  रमेश राई  घाइते भएका छन्,’ प्रजिअ बरालले  रातोपाटीसँग भने, ‘गम्भीर घाइते ३ जनालाई नेपाली सेनाको र श्री एयरलाइन्सको हेलिकप्तरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ।’
  गम्भीर घाइते ३ मध्ये २ जनालाई  त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र एक जनालाई ग्राण्डी अस्पताल धापासी पठाइएको पनि बरालले जानकारी दिए ।


कसले घटायो घटना ?


दुई ओटा प्रेसर कुकर बम उम्मेदवारलाई लक्षित गरेर हानिएपनि प्रचार टोली पर्न पुगेको कांग्रेस युवा नेता तथा  क्षेत्र नम्बर १ ख का प्रदेशसभा उम्मेदवार रमेश महतले  बताए ।  रमेशका अनुसार उनी   र रामशरण महतसहितका उम्मेदवार पछाडि रहेको  गाडी एम्बुसमा परेको हो ।  प्रहरीका अनुसार बम प्रहार गरेको नभई एम्बुसमा गाडी पारिएको थियो ।  घटनास्थलमा  बम विस्फोट हुँदा ठूलो खाल्डो बनेको छ भने गाडी उछिट्टिएर पूर्ण रुपमा ध्वस्त भएको छ ।
  स्थानीयबासी समेत रहेका  नेविसंघका केन्द्रीय सदस्य तथा जयराम दाहालले गाडी पूरै उत्तानो परेको जानकारी आएको भन्दै  यस्ता घटना कांग्रेसको पक्षमा आएको लहरलाई देखिनसहनेहरुले घटाएको दाबी गरे ।


तर  प्रहरीले भने घटनामा अहिलेसम्म कसैको संलग्नता पुष्टि हुन नसकेको बताएको छ ।  ‘हामीले अहिले सम्भावित सर्च अपरेशन जारी राखेका छौं’, जिल्ला प्रहरी प्रमुख बस्यालले रातोपाटीसँग भने, ‘घटनास्थलमा हामीले ४० प्रहरी र त्यतिनै संख्यामा सशस्त्र प्रहरीका साथै म्यादी प्रहरी परिचालन गरेका छौं ।’
 बस्यालले पर्याप्त सुरक्षाको व्यवस्था गरिँदा पनि घटना घट्न पुगेको भन्दै घटनापछि  सुरक्षा व्यवस्थालाई मतबुत पारेर लगिने बताए । उनका अनुसार  घटनाको ४० मिनेटमै जिप्रकाका डिएसपी  रमेश राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको  थियो भने उनी स्वयम् पनि घटनास्थलमा पुगेका थिए ।


चर्चित उम्मेदवारमाथि नै लक्षित गरेर आक्रमणको प्रयास भएकाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृहसचिवदेखि लिएर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समेत प्रजिअ बराललाई सम्पर्क गरेर घटनाबारे चासो व्यक्त गरेका छन् ।   जिप्रका विदुरमा रातोपाटी पुग्दा बराल  पर्याप्त सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि घटना  हुन पुगेको भन्दै यस्ता खाले घटनापछि थप  सुरक्षा रणनीति बनाएर अघि बढ्न आफू लागिपरेको भनि सम्बन्धित निकायहरुमा रिपोर्टिङ गरिरहेका थिए । प्रहरीले अहिलेसम्म कसैको संलग्नताबारे मुख नखोलिसकेको तथा घटनाको जिम्मा पनि कसैले नलिएकाले  सहस्यमै लुगेको छ । यद्यपी  कांग्रेस नेता रामशरण महतले भने आफ्नो पक्षमा देखिएको जनमतलाई रोक्न विपक्षीले घटना घटाएको आरोप लगाए ।
 

 उम्मेदवारले अहिलेसम्म मागेनन् सुरक्षा


    प्रहरी प्रमुख बस्यालले अहिलेसम्म कुनै उम्मेदवारले  पनि सुरक्षा थ्रेट रहेको भनि  सुरक्षाको लागि  निवेदन नदिएको बताएका छन् । उनले प्रहरीले सभाहरुमा  सुरक्षा दिने गरेपनि  कुनैपनि उम्मेदवारले सुुरक्षाका लागि छुट्टै प्रहरी माग नगरेको बताए । रामशरण महत र अर्जुन नरसिंह केसीको आफ्नै पिएसओ रहेका छन् । अरु  उम्मेदवार नारायण खतिवडा हितबहादुर तामाङसहित प्रदेशसभातर्फका कुनै पनि उम्मेदवारले सुरक्षा लिएका छैनन् । यसविषयमा क्षेत्र नम्बर एकका उम्मेदवार हितबहादुर तामाङले आफू जनताको मनमनमा रहेको भन्दै कुनै थ्रेट नरहेकाले  सुरक्षा माग नगरिएको बताए ।  बरु  जिप्रकाले भने  गम्भीरता देखाउँदै सुरक्षा आवश्यक भए  कार्यालयमा आएर निवेदन दिन  उम्मेदवारलाई अनुरोध गर्दै आएको छ ।

 विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’सम्मको थ्रेट


 नुवाकोटमा अन्य जिल्लामा जस्तै चुनाव विरोधी गतिविधिमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सक्रिय रहेको बताइन्छ । त्यसैले प्रशासनले विप्लव  समूहका हरेक गतिविधिको शुक्ष्म निगरानी गरिरहेको बताएको छ । यसो त   प्रहरी चुनावमा दलका उम्मेदवारले  युवाहरु परिचालन गर्दा उनीहरुले गर्न सक्ने अराजक गतिविधि प्रति पनि सचेत देखिएको छ ।


बाहिरी जिल्लाबाट समेत चुनावका लागि ‘चुल्ठेमुन्द्रे’ टाइपका युवाहरु जिल्ला झिकाइएकाले सुरक्षा चुनौति बढेको   सम्बन्ध सुरक्षा स्रोतले बतायो ।
स्रोतका अनुसार  कांग्रेस तथा वाम गठबन्धन दुबैले यस्ता युवाहरु परिचालन गरेको पाइएको भन्दै तिनिहरुप्रति निगरानी बढाइएको छ ।
प्रजिअ बरालले चुनावमा युवाहरु परिचालन हुन स्वाभाविक भएपनि उनीहरुप्रति सचेत रहेको संकेत गरे ।  त्यही भएर प्रहरीले पछिल्ला दिनमा  चेकजाँचमा कडाई गरेको समेत बताइएको छ ।


ककनीको साइड इफेक्ट रानीपौवामा


बिहान १० बजे ककनीस्थित चियाबगानमा महतको काका भतिजमाथि बम आक्रमणको प्रयास भएसँगै कांग्रेस आक्रोशित देखिएको छ । घटनालगत्तै कांग्रेसका युवाहरुले वाम गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेका गरेका छन् । कांग्रेस कार्यकर्ताले ककनीकै रानीपौवामा वाम कार्यकर्ताको एउटा मोटरसाइकल समेत तोडफोड गरेका छन् ।   मोटरसाइकल तोडफोडसँगै दुई पक्षीय झडपले उग्र रुप लिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप