शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

शुक्रबार, २४ कात्तिक २०७४, १६ : ०३
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौँ । माओवादी केन्द्रका नेता मातृका यादव धनुषा–१ बाट बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । विद्यार्थी जीवनबाहेक उनको यो पहिलो चुनाव हो । नेकपा माओवादी केन्द्रका कार्यालय सदस्यसमेत रहेका यादव वामगठबन्धनबाट उम्मेदवार बनेपछि धनुषामा चर्चाको विषय बनेको छ ।
उनको जुझारुपन, इमान्दारिता र क्रान्तिकारीता स्पिरिट धनुषामा सधै चर्चामा रह्यो । तर, मतदातावीच उनी परीक्षण हुन गएका थिएनन । धेरैले उनीमाथि विश्वास पनि गर्छन । उनीमाथि मधेशी जनताको विश्वास भोटमा कसरी देखिन्छ, यो चुनाव उनका लागि परीक्षण हुनेछ ।
 
मधेशका उनी चर्चित नेता हुन् । मधेशमा उनलाई सम्मानको नजरले हेर्छन् । तर, त्यो नजर देखावटी हो कि साँच्चिकैको हो यसको फैसला मंसिर २१ गते हुनेछ । धनुषा–१ मा मातृका यादवसँग नेपाली काँग्रेसका आनन्दप्रसाद ढुगांना र संघीय समाजवादी फोरम नेपालका दीपक कार्की प्रतिस्पर्धामा छन् । त्रिपक्षीय भिडन्तमा गोल कसले हान्ने हो, यकिन गर्न कठिन छ ।
 
यहाँ यी तीनै जनाबीच कडा प्रतिस्पर्धा छ । दीपक कार्की फोरम नेपाल र राजपा नेपालको साझा उमेदवार हुन् भने ढुङ्गाना काँग्रेसबाट चुनाव लडेका छन्, उनीसँग कुनै गठबन्धन छैन ।
 
धनुषा–१ मा गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी, सबैला र हंशपुर नगरपालिका गरी सातवटा स्थानीय तह छन् । त्यसमध्ये गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकामा माओवादी केन्द्रले उपमेयर मात्र जितेको छ । अरु केही वडाहरुमा जितेको छ । अरु बाँकीमा काँग्रेस र मधेशवादी दल जितेका छन् । यहाँ स्थानीय तहमा काँग्रेसले बढी सीट जितेका छ ।
 
स्थानीय तहमा काँग्रेसले जुन मत ल्याएको छ, त्यसले मातृका यादवलाई अप्ठ्यारो पार्न सक्थ्यो । तर, राजनीतिकले नयाँ कोर्स लिएपछि मातृकालाई राहत भएको छ ।
किनभने उनी माओवादीका मात्र नभएर वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
 
टिकट लिनुभन्दा एक हप्ता अगाडि काँग्रेसबाट फोरम नेपाल प्रवेश गरेका दीपक कार्की काँग्रेसका लागि चिन्ताको पात्र बनेका छन् । उनी फोरम नेपाल प्रवेश गर्दा थुप्रै कार्यकर्ताका साथ लिएर आएका थिए । यद्यपी आउँदा आउँदै टिक दिएको भनेर मधेशवादी दलमा शुरुदेखि लागेका नेता तथा कार्यकर्ता असन्तुष्ट छन् ।
 
यस्तो असन्तुष्टि राजपा र फोरमका लागि चिन्ता हुन सक्छ । यहिँ मातृकाले नजर लगाएजस्तो देखिन्छ । राजपा नेपालका एक स्थानीय नेताले भने, ‘पार्टीबाट आन्दोलन गर्ने हामी । जब अवसरको समय आउँछ, अनि कुनै आयातित व्यक्तिले हामीमाथि शासन चलाउँछ ।’
 
दीपक कार्कीलाई टिकट दिएकोमा राजपा र फोरमका थुप्रै कार्यकर्ता असन्तुष्ट छन् । त्यसमा पनि कार्की पहाडी समुदायबाट आएका उम्मेदवार भएको भन्दै मधेशी समुदायको भोट आफूतर्फ आउने मातृकाको बुझाई छ ।
 
तर, मातृका यादव पनि सहज ठाँउमा छैनन् । उनलाई एमालेबाट समस्या छ । एक डेढ वर्ष पहिले स्थानीय स्तरमा माओवादी र एमाले कार्यकर्ताबीच झडप हुँदा मातृका यादवले त्यसमा निकै हस्तक्षेप गरेका थिए । अहिले एमालेका स्थानीय नेता योगनारायण यादव सोही घटनाका कारण जेलमा छन् । स्रोतहरु भन्छन्, ‘यदि एमाले पक्षबाट यो कुरा मिलाउन सकिएन भने मातृका यादवलाई असर गर्न सक्छ, योगनारायण पक्षका मत मातृका यादवलाई नजान सक्छ ।’
 
मातृका यादव पुराना घटनाहरु बिर्सेर सवैले बामगठबन्धनको मर्म अनुसार चुनावी अभियानमा काम गरेको बताउँछन् । ‘पुराना घटना हो, कुरा मिलिसक्यो, यस विषयमा एमालेका नेताहरुसँग कुराकानी भइरहेको छ । घरदैलो कार्यक्रममा एमालेका नेताहरुले पनि सघाई रहनु भएको छ ।’
 
मातृका यादवका अुनसार सो क्षेत्रमा काँग्रेसभन्दा दश हजार बढी मत वामगठबन्धनसँग रहेको छ । उनले आफ्नो प्रतिस्पर्धा काँग्रेससँग भएपनि आफू कतिले जित्छु भन्दा काँग्रेस थुप्रै मतले हार्ने उनले दावी गरे ।
 
उनको भनाई छ , ‘मधेशमा काँग्रेसलाई रुचाउँदैनन्, नेता यादवले भने, काँग्रेस पार्टी समान्तीहरुको पार्टी हो र यसले मधेशी, आदिवासी जानजातिमाथि जहिले शासन गरेको कारणले मधेशी जनतले काँग्रेस मुक्त मधेश बनाउन खोजेको छ ।’
मधेश आन्दोलन होस् या माओवादीको जनयुद्ध होस्, आन्दोलनकारीलाई हत्या गर्ने, थुन्न लगाउने काम काँग्रेसबाट भएको दावी गर्दै उनले मधेशमा काँग्रेस कमजोर नभएसम्म मधेशी जनताले मुक्ति नपाउने बताए ।
पहिला क्याम्पस पढ्दा दुईपटक सभापतिमा चुनाव जितेको अनुभव मात्र आफूसँग रहेको बताउँदै उनले यसरी प्रत्यक्ष चुनाव लडेको पहिलो भएको बताए । आफ्नो यो चुनाव पहिलो भएपनि चुनावका अनुभव रहेको सुनाए । ‘जनताको मुद्दा र एजेण्डाहरु सबै थाहा छन्’ उनले भने, ‘म चुनावमा भाग लिएपनि–नलिएपनि जहिले पनि जनताकै माझमा रहेँ । जनताकै दुखसुखमा रमाएँ । त्यसैले अहिले मलाई यो चुनावमा भाग लिनु कुनै नौलो लाग्दैन ।’
आफू राजनीतिकमा आएदेखि मधेशी जनताको अपार माया पाएको उनको भनाई छ । माया चुनावमा पनि पाउने विश्वास रहेको उनले बताए ।
राजनीतिक यात्रा
२०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विस २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थी उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो ।
विस २०३८ मा विद्यार्थीको सातौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका भूमिगत थियो, संगठन । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे । उनी विद्यार्थी भन्दापनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटव्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गिय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।
२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखेको थियो । त्यहाँ उनले ठूलो संघर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नु पर्ने माग राख्दा जेलका नाइकेहरु मातृका यादवमाथि आक्रमण भएको थियो । त्यतिबेला मातृका यादवहरुले जेलको गेट कब्जामा लिएको थिए ।
विस २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विस २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रिय सदस्य र पार्टीमा क्षेत्रिय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आईपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रुपमा पार्टीमा सक्रिय भइसकेका थिए ।
२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यसताका मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसंख्यकको माग थियो । त्यस्ताका मातृका क्षेत्रिय व्यूरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण शुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरी उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।
पार्टी पातलो मसाल, मोटो मसाल हुदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रिय समितिमा ल्याउने कुरा भयो । उनी रामबृक्ष यादव मास्टर साहेबलाई केन्द्रिय सदस्य बनाउनु पर्ने अडान राखे र आफू गएनन् ।
 
२०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतिको उपचारका क्रममा काठमाडौ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई वेपत्ता पारियो । २०५८ मा फेरी उनी जेलमा परे । २०५९ मा सरकारसंग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरी दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे  ।
 
उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजिनामा दिएर हिडेका थिए । २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने । सभासद् भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजिनामा दिए । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे ।
 
मधेश आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेशमा आन्दोलन शुरु गरेका थिए । मधेशवादी दलहरुले आन्दोलन शुरु गर्दा उनी त्यसअघि देखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन । उनले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेशवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानु पर्छ भनि उनले निकै प्रयास गरेका थिए त्यही प्रयास स्वरुप एकपटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन ।
 
एक मधेश एक प्रदेशको मुद्दा हालसम्म नछाडेका मातृका यादवले डेढ वर्ष अगाडि माओवादी केन्द्रसँग एकीकरण गरेका हुन् । पार्टीसँग एकीकरण गरेपछि पार्टीको कार्याल्य सदस्य सहित उनी मधेशका इन्चार्ज पनि भए ।
 
शिक्षा
मातृकाप्रसाद यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र( आईएड) सम्मको शिक्षा हासिल गरेका छन् । परिवारको आर्थिक स्थितिका कारण उनको विद्यालयको शिक्षा नियमित रुपमा पुरा गर्न सकेनन् ।
 
झण्डै पाँच वर्षजति उनले आफ्नो नियमित बढाई छाड्नु प¥यो । पछि फेरी विद्यालयमा भर्ना भएर एसएससी सिद्धयाए, उनले । डा.श्रीकृष्ण यादवको सल्लाहमा उनी सिरहा क्याम्पसबाट आईएड गरे । त्यहाँ उनी हेमनारायण यादवको आफन्तको घरमा बालबालिकाहरुलाई टियुशन पठाएर आफू पनि पढ्थे ।
 
एसएलसी पास भएपछि कीर्तिपुर आएका थिए, उनी । त्यहीँ उनको भेट श्रीकृष्ण यादवसंग भएको थियो । उनी पक्लिहवा क्याम्पसमा पढ्न गएका थिए । श्रीकृष्ण यादवले त्यहाँ कार्यरत जगत नारायण यादवसँग भेट्न पठाएका थिए । पक्लिहवामा पहिलो सूचीमा उनको नाम निस्केको थियो तर घर गएकाले अन्तिम दिनमा मात्रै इण्डिया हुँदा उनी त्यहाँ पुगेका थिए । भनाई नभएपछि उनी काठमाडौ फर्के । त्यसपछि उनी आईएडका लागि सिरहा क्याम्पसतिर लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप