शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

मङ्गलबार, ०७ कात्तिक २०७४, १० : ४८
मङ्गलबार, ०७ कात्तिक २०७४

काठमाडौं– आगामी मङ्सिर १० गते हुने पहिलो चरणको निर्वाचनमा प्रतिनिधि सभातर्फ प्रदेश नं. ४ का ६ जिल्लामा निर्वाचन हुँदैछ ।

प्रदेश नं. ४ बाट हेभिवेटका रूपमा हेरिएका नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकाली मुस्ताङबाट चुनाव लड्दैछन् भने गोरखामा क्षेत्र नं. २ मा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिष्पर्धामा छन् ।

लमजुङमा माओवादी देव गुरुङ चुनावी मैदानमा छन् । मनाङमा नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ बाग्लुङमा नयाँ शक्तिबाट माओवादी प्रवेश गरेका देवेन्द्र पौडेल रहेका छन् । तर, पौडेललाई भने आफ्नै पार्टीका बागी उम्मेदवारले सताउने अवस्था सिर्जना भएको छ । यिनै चर्चित नेताहरूका कारण पहिलो चरणको चुनावमा रोचकता थपिएको छ ।

हामीले स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीका स्थानीय तह प्रमुखले पाएको मतलाई आधार बनाएर दलले पाएको कुल मत तयार पारेका छौँ ।
 
मुस्ताङ
प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा वाम गठबन्धनबाट एमालेका प्रेमप्रसाद तुलाचन र नेपाली काङ्ग्रेसबाट रोमी गौचन थकाली चुनावी प्रतिष्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा मुस्ताङमा नेपाली काङ्ग्रेसले २ हजार ६ सय ५ मत ल्याएको थियो भने नेकपा एमालेले १ हजार ७ सय ६१ र माओवादी केन्द्रले २ सय ६२ मत ल्याएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको २ हजार २३ मत छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ५ सय २८ मत कम हो । यहाँ आगामी निर्वाचनमा काङ्ग्रेस र बाम गठबन्धनको कडा टक्कर हुने देखिएको छ ।

मुस्ताङमा अगामी निर्वाचनका लागि ५ हजार ८ सय ८० मतदाता रहेका छन् ।

स्थनीय तहमा पाएको मत सुरक्षित गर्न सके मुस्ताङमा काङ्ग्रेसले जित निकाल्ने सम्भावना रहन्छ ।

गोरखा
आगामी निर्वाचनमा गोरखामा रोचक चुनावी भिडन्त हुने देखिएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

श्रेष्ठ एमाले–माओवादी गठबन्धनबाट र भट्टराई नयाँ शक्ति–काङ्ग्रेस गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा गोरखामा नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो दल बनेको थियो । माओवादी केन्द्रले दोस्रो स्थान हासिल गरेको थियो भने नेकपा एमाले तेस्रो स्थानमा थियो ।

काङ्ग्रेसले ३८ हजार ५ सय ५६ मत पाएको थियो भने माओवादी केन्द्रले ३५ हजार २७ मत पाएको थियो । यस्तै नेकपा एमाललेले १७ हजार ८ सय ४६, नयाँ शक्ति नेपालले १४ हजार २ सय ६३, राप्रपाले ६ सय र सङ्घीय समाजवादी फोरमले ५१ मत ल्याएको थियो ।

गोरखाका दुई क्षेत्रमध्ये क्षेत्र नं. १ काङ्ग्रेसले लिने र क्षेत्र नं. २ नयाँ शक्तिलाई दिने सहमति भएको छ । जिल्लामा माओवादी र एमालेलेको मत एकै ठाउँमा मिसाउँदा ५२ हजार ८ सय ७३ हुन्छ भने नेपाली काङ्ग्रेस र नयाँ शक्तिको मत मिसाउँदा ५२ हजार ८ सय १९ हुन्छ । यस आधारमा नयाँ शक्ति र काङ्ग्रेस ५४ मतले पछाडि छ  । तर, यो स्थानीय नेताका लागि प्राप्त मत हो । प्रतिनिधि सभा निर्वाचनमा उठ्ने उम्मेदवारको व्यक्तित्वका कारण पनि यो मत तलमाथि हुन सक्छ ।  

गोरखा १ मा नयाँ शक्तिले नेपाली काङ्ग्रेसलाई सघाउने र २ मा काङ्ग्रेसले शक्तिलाई सघाउने सहमती बनेको छ । जसअनुसार क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका तर्फबाट चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट माओवादीका हरि अधिकारी प्रतिस्पर्धामा रहेका छन् । गोरखामा आगामी निर्वाचनका लागि १ लाख ८९ हजार, ४ सय ३८ मतदाता रहेका छन् ।

गोरखा क्षेत्र  नं. २ मा नेपाली काङ्ग्रेसको १७ हजार ७० मत छ भने माओवादी केन्द्रको १७ हजार ८ सय ९४ मत रहेको छ । यस्तै नेकपा एमालेको ७ हजार २ सय ८ र नयाँ शक्ति नेपालको ७ हजार ९ सय मत रहेको छ ।

यहाँ एमाले र माओवादी केन्द्रको मत मिसाउँदा २५ हजार २५ मत हुन्छ भने नेपाली काङ्ग्रेस र नयाँ शक्तिले पाएको मत मिसाँउदा २४ हजार ९ सय ७० हुन्छ । यस आधारमा यहाँ ५५ मतले माओवादी एमाले गठबन्धन अगाडि देखिन्छ । तर उम्मेदवारको व्यक्तित्वका कारण पनि जनमत तलमाथि हुने हुँदा गोरखा २ मा रोचक चुनावी प्रतिष्पर्धा हुँदैछ ।

लमजुङ
लमजुङमा बाम गठबन्धनका तर्फबाट माओवादी नेता देव गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट दिलबहादुर घर्ती चुनावी मैदानमा रहेका छन् ।
लमजुङमा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । काङ्ग्रेसले ३२ हजार ३३७, एमालेले २४ हजार ७०६, माओवादीले ९ हजार ९२७, राप्रपाले ५ सय २८, नयाँ शक्तिले ४ सय ६१ मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम दलको ३४ हजार ६ सय ३३ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा २ हजार २ सय ९६ मत बढी हो । लमजुङमा नयाँ शक्तिको ४ सय ६१, फोरम लोकतान्त्रिकको १७ सङ्घीय समाजवादी फोरमको ४३ र राप्रपाको ५ सय २८ मत छ । यदि यी दलहरूको मत काङ्ग्रेसमा मिसाउँदा ३३ हजार ४ सय ३२ मत हुन्छ । यो मत वाम दलको कूल मतभन्दा १२ सय १ मत कम हो ।

यस आधारमा हेर्दा लमजुङमा वाम दल र नेपाली काङ्ग्रेसबीच चुनौतीपूर्ण भिडन्त हुने देखिन्छ । प्रतिनिधि सभा निर्वाचनका लागि १ क्षेत्र रहेको लमजुङमा १ लाख १५ हजार ४ सय ५६ मतदाता रहेका छन् ।

मनाङ
मनाङमा मङ्सिर १० गते हुने निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका पाल्देन गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी मैदानमा रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा यहाँ नेपाली काङ्ग्रेसले १२ सय १८, नेकपा एमालेले १३ सय ३९, माओवादी केन्द्रले ५ सय १६ मत पाएका थिए ।
यहाँ बाम गठबन्धनको १८ सय ५५ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ६ सय ३७ मत बढी हो । यसअनुसार बाम गठबन्धन दललाई पराजित गर्न काङ्ग्रेसका टेकबहादुर गुरुङले झन्डै ७ सय भोट बढाउनुपर्नेछ । मनाङमा सबैभन्दा थोरै मतदाता रहेका छन् । यहाँ आगामी निर्वाचनका लागि ५ हजार ८ सय ८० मतदाता छन् ।

बाग्लुङ
गत स्थानीय तहको निर्वाचनमा बाग्लुङमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । नेपाली काङ्ग्रेसले ४० हजार ८ सय ७३ मत ल्याएको थियो भने नेकपा एमालेले २७ हजार २ सय ७२ र माओवादी केन्द्रले ११ हजार ७ सय ४७ मत ल्याएको थियो । यस्तै तेस्रो दल बनेको राष्ट्रिय जनमोर्चाले १६ हजार ५ सय १४ मत ल्याएको थियो ।

यस आधारमा यहाँ माओवादी केन्द्र र नेकपा एमालेको मत एकै ठाउँमा मिलाउँदा ३९ हजार १९ हुन्छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १८ सय ५४ मत कम हो । यहाँ राष्ट्रिय जनमोर्चाको पनि राम्रो मत रहेको छ । राष्ट्रिय जनमोर्चा पनि एमाले र माओवादी केन्द्रको गठबन्धनमा सामेल भएको छ । जनमोर्चाले केन्द्रमा माओवादी–एमालेलाई सघाउने भएको छ भने प्रदेश सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको सहयोग लिने  भएको छ ।

बाग्लुङ क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभा निर्वाचनमा चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका डा. सूर्य पाठक प्रतिष्पर्धामा रहेका छन् । यस्तै क्षेत्र नं. २ मा वाम गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेल र नेपाली काङ्ग्रेसका नरबहादुर पुनबीच प्रतिष्पर्धा हुँदैछ ।  यहाँ पनि क्षेत्र नं. २ मा माओवादी केन्द्रबाट प्रत्यक्ष उम्मेदवारमाथि बागी उम्मेदवारी परेको छ भने क्षेत्र नं. १ मा प्रदेश सभा निर्वाचनका लागि बागी उम्मेदवारी परेको छ । आगामी निर्वाचनका लागि यहाँ १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेका छन् ।

म्याग्दी
म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट भूपेन्द्रबहादुर थापा र नेपाली काङ्ग्रेसबाट गम्भीर गर्बुजा चुनावी मैदानमा रहेका छन् । गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले १६ हजार १ सय ३९, नेकपा एमालेले २० हजार २ सय ५२, माओवादी केन्द्रले ६ हजार ७४, राप्रपाले ४ हजार १ सय ३४ मत पाएका थिए । यहाँ नेकपा एमालेले नेपाली काङ्ग्रेसले भन्दा ४ हजार हाराहारी बढी मत ल्याएर पहिलो दल बनेको थियो । यसआधारमा यहाँ बाम गठबन्धनको २६ हजार ३ सय २६ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १० हजार १ सय ८७ मतले बढी हो । म्याग्दीमा ७५ हजार ५ सय ३८ मतदाता छन् । 
 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप