मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

शनिबार, ११ कात्तिक २०७४, १२ : ०७
शनिबार, ११ कात्तिक २०७४

काठमाडौं–पहिलो चरणमा चुनाव हुन थालेको ३२ जिल्लामा प्रतिनीधिसभाका ३७ र प्रदेशसभाका लागि ७४ सिट छन् । चुनावमा एमाले नेतृत्वको बामगठबन्धन र काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनवीच मुख्य भिडन्त हुनेछ ।

आगामी चुनावका एमाले, माओवादी र जनमोर्चाको बामगठन्बनपछि यी निर्वाचन क्षेत्रमा दोस्रो संविधानसभामा सवैभन्दा ठूलो दल बनेको काँग्रेस निकै दवावमा देखिएको छ । यद्यपी काँग्रेसले पनि आफ्नै नेतृत्वमा राप्रपालगायतका शक्तिहरु समेटेर लोकतान्त्रिक गठबन्धनको कसरत जारी राखेको छ । तर, स्थानीय तहमा बाम गठबन्धनले पाएको मतलाई हेर्दा काँग्रेस ठूलै दवावमा देखिन्छ ।

यी ३७ सिटमध्ये केहीमा ‘हेवीवेट’ नेता पनि मैदानमा छन् । ‘हेवीवेट’ नेताका लागि यो चुनाव राजनीतिक भविष्यका लागि प्रतिष्ठाको विषय बनेको छ । मतदाताको रोजाईंमा को पर्ने हो, यकिन भन्न सकिन्न । तर, उम्मेद्वार स्थानीय तहको चुनावी परिणामको हिसाव–कितावलाई केन्द्रमा राखेर आफ्नो चुनावी रणनीति बनाईरहेका छन् ।

पहिलो चरणमा प्रदेश नम्वर १ का सात जिल्लामा प्रदशसभा र प्रतिनीधिसभाको चुनाव हुँदैछ । सोलुखुम्वु, ओखलढुङ्गा, ताप्लेजुङ, संखुवासभामा, पाँचथर, भोजपुर र खोटाङमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्वर २ का कुनै पनि जिल्लामा पहिलो चरणको चुनावी कार्यतालिका छैन ।

पहिलो चरणमा प्रदेश नम्वर ३ का ६ जिल्लामा प्रदशसभा र प्रतिनीधिसभाको चुनाव हुँदैछ । प्रदेश नम्वर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्वर ४ मा ६ जिल्लामा चुनाव हुँदैछ । चुनाव हुने जिल्लामा मुस्ताङ, म्याग्दी, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् ।
प्रदेश नम्बर ५ मा मङ्सिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि दुई जिल्ला मात्र परेका छन् ।रुकुम (पूर्वी भाग) र रोल्पामा हुने चुनावका लागि उम्मेदवारहरू चुनावी प्रचारमा सक्रिय भइसकेका छन् ।

प्रदेश नं. ६ का ७ जिल्लामा पहिलो चरणको चुनाव हुँदैछ । चुनाव हुने जिल्लामा रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा छन् ।

यसै गरी प्रदेश नम्बर ७ का ४ जिल्लामा मङ्सिर १० गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्नो पक्षमा चुनावी प्रचार प्रसार सुरु गर्न थालेका छन् ।


 
३७ वटा प्रतिनीधिसभाको निर्वाचन क्षेत्रमा कुन गठबन्धनको मत कति ?
 
१ सोलुखुम्बु, प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीवीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

गएको स्थानीय तहको निर्वाचनमा बाम दलले सोलुखुम्बुमा २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको मत कांग्रेसले पाएको भन्दा ८ हजार ९ सय ८१ मत भन्दा धेरै छ । यहाँ बाम गठबन्धनसँग लड्न काग्रेसले ठूलै कसरत गर्नुपर्ने देखिएको छ । प्रतिनीधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता रहेका छन् ।
 
२ ओखलढुङ्गा प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
 
ओखलढुङ्गामा प्रतिनिधी सभा निर्वाचनका लागि बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार र नेपाली कांग्रेसका तर्फबाट रामहरी खतिवडाका बिच प्रतिष्पर्धा हुँदैछ ।

२०७० को दोश्रो संविधान सभाको निर्वाचनमा एमालेका तर्फबाट ओखलढुङ्गा क्षेत्र नं. १ बाट बिजयी सांसद यज्ञराज सुनुवार र २ बाट निर्वाचित रामहरि खतिवडावीचको चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा यहाँ बाम गठबन्धन दलले ३३ हजार ५ सय ३१ मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यहअधारमा यहाँ बाम गठबन्धनको पक्षमा नेपाली कांग्रेसको भन्दा ७ हजार ४ सय २६ मत बढी छ ।

ओखलढुङ्गामा अन्य तीन दल राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम र नयाँ शक्तिले पाँच सय मत समेत पु¥याउन सकेका छैनन् ।

अहिले ओखलढुङ्गामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने १ लाख २ हजार २ सय ६३ मतदाता रहेका छन् । यही एक मात्र क्षेत्रमा दुई नेतावीच भीडन्त हुँदैछ ।
 
 
३ ताप्लेजुङ प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
ताप्लेजुङ्मा प्रतिनिधी सभा निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिष्पर्धा गर्दैछन् ।

यहाँ स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको २४ हजार ९ सय १७ मत आएको थियो भने नेपाली कांग्रेसको १९ हजार ५ सय ७२ मत आएको थियो । यसआधारमा यहाँ नेपाली कांग्रेसको भन्दा बाम गठबन्धनको  ५ हजार ३ सय ४५ मत बढी छ ।

ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १२ सय ७ मत रहेको छ । यहाँ अन्य दलहरुको अवस्था भने नाजुक रहेको छ । यसआधारमा यहाँ बाम गठबन्धनको चुनौती सामना गर्न कांग्रेसलाई सहज छैन् ।

प्रतिनिधी सभा निर्वाचाका लागि एक क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ४ सय ११ मतदाता रहेका छन् ।
 
४ संखुवासभा प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रतिनिधी सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ १ लाख ५ हजार ६१ मतदाता रहेका छन् ।
यहाँ माओवादी केन्द्र र एमालेको बाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् । खड्का पूर्वमन्त्री हुन् ।

गत स्थानीय तहको निर्वाचनमा संखुवासभामा बाम गठबन्धनले ३३ हजार ६ सय २४ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ४ सय ६१ मत ल्याएको थियो । यहाँ नेपाली कांग्रेसले भन्दा बाम गठबन्धनले ६ हजार १ सय ६३ बढी मत पाएको छ ।

संखुवासभामा राप्रपाको १ हजार मत छ भने अन्य दलको नगन्य उपस्थिति छ । बाम गठबन्धनलाई पराजित गर्ने हो भने यहाँ नेपाली कांग्रेसले कडा मिहिनेत गर्नुपर्ने देखिन्छ ।
 
५ पाँचथरमा प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
 
पाँचथरमा एमाले माओवादी गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ् र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे चुनावी प्रतिष्पर्धामा छन् ।
स्थानीय तहको निर्वाचनमा यहाँ बाम गठबन्धनले ४० हजार ४ सय १८ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ७ सय ७६ मत पाएको थियो ।
यहाँ राप्रपाको १५ सय र संघीय समाजबादी फोरमको ११ सय हाराहारी मत छ । अन्य दलहरुको उपस्थिति नगन्य छ ।
यहाँ बामगठबन्धन दलको १२ हजार ६ सय ४२ मत बढी देखिन्छ ।

प्रतिनिधी सभा निर्वाचनका लागि एक क्षेत्र रहेको पाँचथरमा १ लाख २५ हजार २ सय २२ मतदाता रहेका छन् ।
 
६  भोजपुरमा प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
 
भोजपुरमा प्रतिनिधीसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादीका नेता सुदन किँराती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझीबिच प्रतिष्पर्धा हुने भएको छ ।
 
स्थानीय तहको निर्वाचनमा भोजपुरमा बाम गठबन्धनले ३८ हजार ४ सय ५४ मत पाएको थियो भने नेपाली कांग्रेसले २० हजार ५ सय ६१ मत पाएको थियो । जुन बाम दलले पाएको मत भन्दा १७ हजार ८ सय ९३ मत कम हो ।
पछिल्लो विवरण अनुसार भोजपुरमा १ लाख १३ हजार ८ सय ९६ मतदाता रहेका छन् ।
 
७ खोटाङ प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
 
प्रतिनिधीसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख २५ हजार १ सय ७८ मतदाता छन् । यहाँ बाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराई र नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमयवीच प्रतिष्पर्धा हुँदैछ ।
 
खोटाङ्मा गएको स्थानीय तहको निर्वाचनमा बाम दलले ३३ हजार ५ सय ३१ मत पाएको थिए ।
नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यहाँ नेपाली कांग्रेसले पाएको मत भन्दा बाम गठबन्धनको पक्षमा ७ हजार ४ सय २६ मत बढी मत छ ।
 
खोटाङमा अन्य दलहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको छ उनीहरुले पाँच सय मत कटाँउन सकेका छैनन् ।
 
८ रसुवामा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
प्रतिनिनिधसभा निर्वाचनका लागि रसुवामा एउटा निर्वाचन क्षेत्र रहेको छ भने ३२ हजार ३ सय २२ मतदाता रहेका छन् ।
पहिलो चरणमा हुने मंसिर १० गतेको निर्वाचनका लागि रसुवामा बाम गठबन्धनबाट एमालेका जनार्दन ढकाल र नेपाली कांग्रेसका मोहन आर्चायवीच प्रतिष्पर्धा हुँदैछ ।
स्थानीय तहको निर्वाचनमा रसुवामा बाम गठबन्धनले ९ हजार ६ सय ५१ मत पाएको थियो भने नेपाली कांग्रेस अन्र्तगत रहेको राप्रपा र नयाँ शक्ति सहितको गठबन्धनले ११ हजार २ सय ७० मत पाएको थियो ।

यस आधारमा हेर्दा रसुवामा बाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धन १६ सय १९ मतले अगाडि छ ।
 
९ धादिङमा प्रतिनीधिसभाका लागि २ क्षेत्र (१नम्वर क्षेत्र)
 

धादिङमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं–१ अन्र्तगत धुनीबेसी नगरपालिका, थाक्रे गाँउपालिका, गल्छी गाँउपालिका, गजुरी गाँउपालिका, बेनीघाट रोराङ्ग गाँउपालिका र सिद्धलेक गाँउपालिका रहेका छन् ।
 
आगामी प्रतिनिधी सभा निर्वाचनका लागि धादिङ–१ बाट माओवादी केन्द्र र एमालेको संयुक्त बाम गठबन्धनबाट भूमि त्रिपाठी र कांग्रेस तर्फबाट विश्व अर्याल चुनावी मैदानमा छन् ।
 
गत स्थानीय तहको निर्वाचनमा धादिङ १ का ६ स्थानीय तह मध्ये ५ स्थानीय तहमा नेकपा एमाले र १ स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको थियो । क्षेत्र नं –१ मा प्रमुख ५ राजनीतिक दल अन्र्तगत नेपाली कांग्रेसले २६ हजार २ सय ३१, नेकपा एमालेले ३६ हजार १ सय ४७, माओवादी केन्द्रले २३ हजार ७ सय २१, नयाँ शक्तिले ४ सय ७३ र राप्रपाले १ हजार ४ सय १४ मत ल्याएका थिए ।
 
यो क्षेत्रमा बाम दलको कूल ५९ हजार ८ सय ६८ मत पाएको  थियो, जुन कांग्रेसले पाएको मत भन्दा ३३ हजार ६ सय ३७ मत बढी हो । यसकारण पनि यो क्षेत्रमा बाम गठबन्धनलाई टक्कर दिन काँग्रेसलाई धेरै मिहिनेतको खाँचो हुन सक्छ ।
 
१० धादिङमा प्रतिनीधिसभाका लागि २ क्षेत्र (२नम्वर क्षेत्र)
 
धादिङ क्षेत्र नं–२ मा रुवीभ्याली, गंगाजमुना, नेत्रावती, खनियाबास, त्रिपुरासुन्दरी, ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिका गरी ७ स्थानीय तह रहेका छन् ।
७ स्थानीय तह मध्ये नेपाली कांग्रेस ३, एमाले ३ स्थानीय तहमा र राप्रपा १ तहमा विजयी भएका थिए ।
यो क्षेत्रमा प्रमुख ५ राजनीतिक दल अन्र्तगत नेपाली कांग्रेसले ३० हजार २ सय, नेकपा एमालेले २३ हजार ८ सय २६, माओवादी केन्द्रले २२ हजार २ सय २८, नयाँ शक्तिले १ हजार १२ र राप्रपाले ३ हजार ३ सय ६९ मत ल्याएको थियो ।
 
यहाँ बामगठबन्धनले ४६ हजार ५४ मत पाएको थियो । यो मत नेपाली कांग्रेसले पाएको मत भन्दा १५ हजार ८ सय ५४ बढी हो ।
 
यदि धादिङ–२ मा नयाँ शक्ति र राप्रपाले नेपाली कांग्रेसलाई सघाए भने ४ हजार भोट कांग्रेसको बढ्नेछ । कांग्रेसले गठबन्धन बनाएपनि उ झन्डै ११ हजार भोटले पछाडि छ ।
 
आगामी निर्वाचनका लागि धादिङका दुई क्षेत्रमा गरेर २ लाख ३३ हजार ४ सय ७५ मतदाता रहेका छन् ।
 
 
 
११ सिन्धुपाल्चोकमा प्रतिनीधिसभाका लागि २ क्षेत्र (१नम्वर क्षेत्र)
 
 
मंसिर १० गतेको पहिलो चरणमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ निर्वाचन क्षेत्र रहेका छन् । यी दुई निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच चुनावी तालमेल भएको छ ।
 
क्षेत्र नं. १ मा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारवीच प्रतिष्पर्धा हुने भएको छ भने क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार र राप्रपाका उम्मेदवारवीच प्रतिष्पर्धा हुँदैछ ।

क्षेत्र नं–१
 
क्षेत्र नं. १ अन्र्तगत त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल गाँउपालिका पर्दछन् भने बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा रहेका छन् ।
 
सिन्धुपाल्चोक–१ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा र  लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतवीच प्रतिष्पर्धा हुँदैछ ।
 
गएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. १ मा बाम गठबन्धनले ४३ हजार २ सय ८३ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २२ हजार ४ सय ३७ मत ल्याएको थियो । यस्तै राप्रपाले ३  हजार ८ सय ६९ मत ल्याएको थियो ।
 
यस आधारमा लोकतान्त्रिक गठबन्धनको मत २६ हजार ३ सय ६ मत रहेको छ । अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन भन्दा बाम दलको १६ हजार ९ सय ७७ मत बढी छ ।
 
१२ सिन्धुपाल्चोकमा प्रतिनीधिसभाका लागि २ क्षेत्र (२ नम्वर क्षेत्र)
सिन्धुपाल्चोक क्षेत्र–२ अन्र्तगत पाँचपोखरी थाङपाल गाँउपालिका, हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाँउपालिका, चौतरा साँगाचोकगढी नगरपालिका वडा नं. १, ५, ६, ७, ८, ११, १२, १३, १४ पर्दछन् ।
 
क्षेत्र नं. २ मा बाम गठबन्धनबाट एमालेका नेता शेरबहादुर तामाङ र नेपाली कांग्रेस र राप्रपाको गठबन्धनबाट पशुपतिशमशेर राणावीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
 
गत स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ मा बाम गठबन्धनले कुल ४० हजार ७ सय ९० मत पाएका थिए । नेपाली कांग्रेसले २१ हजार ९ सय ८० मत पाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ४ सय ५७ मत पाएको थियो ।
 
यस अधारमा हेर्दा यहाँ लोकतान्त्रिक गठबन्धनको ३० हजार ७ सय ३७ मत रहेको छ, जुन बाम गठबन्धनको मत भन्दा १० हजार ३ सय ५३ मत कम हो ।
 
सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रमा २ लाख२६ हजार ५ सय ३३ मतदाता रहेका छन् ।
 
१३ दोलखामा प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
नेपाली कांग्रेसबाट रुद्रबहादुर खड्का र बाम गठबन्धनबाट एमालेका पार्वत गुरुङवीच प्रतिष्पर्धा हुँदैछ ।

गएको स्थानीय तहको निर्वाचनमा दोलखामा बाम दलले कूल ५१ हजार ६ सय ४८ मत पाएको थियो भने नेपाली कांग्रेसले २९ हजार १ सय ८२ मत पाएको थियो । यस आधारमा दोलखामा बाम दलभन्दा नेपाली कांग्रेस २२ हजार ४ सय ६६ मतले अगाडि रहेको छ । यहाँ १ लाख ४७ हजार ८ सय ७८ मतदाता रहेका छन् ।
 
१४ रामेछापमा प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
प्रतिनिधीसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कान्छाराम तामाङबिच प्रतिष्पर्धा हुँदैछ । स्थानीय तहको निर्वाचनमा रामेछापमा बाम गठबन्धनले कूल ५६ हजार ६ सय ६४ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ३ सय ५४ मत पाएको थियो ।
यस आधारमा यहाँ नेपाली कांग्रेस बाम गठबन्धन भन्दा २९ हजार ३ सय १० मतले पछाडि छ । प्रतिनिधि सभा निर्वाचनका लागि एक क्षेत्र रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ६१ मतदाता रहेका छन् ।
 
१५ नुवाकोटमा प्रतिनीधिसभाका लागि २ निर्वाचन क्षेत्र (१ नम्वर क्षेत्र)
 
नुवाकोटमा प्रतिनिधीसभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं. १ मा शिवपुरी गाँउपालिका, दुप्चेश्वर गाँउपालिका, पन्चकन्या गाँउपालिका, तादी गाँउपालिका, सुर्यगढी गाँउपालिका, लिखु गाँउपालिका, ककनी गाँउपालिका रहेका छन् ।
 
क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट हितबहादुर तामाङ र नेपाली कांग्रेसका तर्फबाट डा. रामशरण महतवीच प्रतिष्पर्धा हुँदैछ । नुवाकोट क्षेत्र नंंं. १ का ७ स्थानीय तहमा गएको निर्वाचनमा बाम गठबन्धनले ३६ हजार ९ सय ६२ मत ल्याएको थियो भने नेपाली काँग्रेसले २२ हजार ६ सय ५२ मत ल्याएको थियो ।
 
यस आधारमा हेर्दा नुवाकोट क्षेत्र नं. १ मा नेपाली कांग्रेसको भन्दा १४ हजार ३ सय १० मत बढी रहेको छ । यसअघिका संसदीय निर्वाचनमा विजयी हुँदै आएको नेपाली कांग्रेसलाई आउदो चुनावमा जित निकाल्न कठिन पर्ने देखिएको छ ।
 
१६ नुवाकोटमा प्रतिनीधिसभाका लागि २ निर्वाचन क्षेत्र (२ नम्वर क्षेत्र)
 
नुवाकोट क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाँउपालिका, बिदुर नगरपालिका, मेघाङ गाँउपालिका र किस्पाङ गाँउपालिका रहेका छन् । यो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा र नेपाली कांग्रेसका तर्फबाट अर्जुननरसिंहवीच केसीवीच प्रतिष्पर्धा हँुदैछ ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा दुई बाम दलले ३९ हजार ३ सय २५ मत पाएको थियो भने नेपाली कांग्रेसले २१ हजार ४ सय ६६ मत पाएको थियो । यसआधारमा यहाँ १७ हजार ८ सय ५९ धेरै मत बामदलको पक्षमा रहेको छ ।
 
नुवाकोटका दुई क्षेत्रमा २ लाख ०८ हजार १ सय ७४ मतदाता रहेका छन् ।
 
१७ मुस्ताङमा प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा वाम गठबन्धनबाट एमालेका प्रेमप्रसाद तुलाचन र नेपाली काङ्ग्रेसबाट रोमी गौचन थकाली चुनावी प्रतिष्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा मुस्ताङमा नेपाली काङ्ग्रेसले २ हजार ६ सय ५ मत ल्याएको थियो भने नेकपा एमालेले १ हजार ७ सय ६१ र माओवादी केन्द्रले २ सय ६२ मत ल्याएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको २ हजार २३ मत छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ५ सय २८ मत कम हो । यहाँ आगामी निर्वाचनमा काङ्ग्रेस र बाम गठबन्धनको कडा टक्कर हुने देखिएको छ ।

मुस्ताङमा अगामी निर्वाचनका लागि ५ हजार ८ सय ८० मतदाता रहेका छन् ।

स्थनीय तहमा पाएको मत सुरक्षित गर्न सके मुस्ताङमा काङ्ग्रेसले जित निकाल्ने सम्भावना रहन्छ ।
 
१८ गोरखामा प्रतिनीधिसभाका लागि दुई निर्वाचन क्षेत्र (क्षेत्र नम्वर १)

आगामी निर्वाचनमा गोरखामा रोचक चुनावी भिडन्त हुने देखिएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

श्रेष्ठ एमाले–माओवादी गठबन्धनबाट र भट्टराई नयाँ शक्ति–काङ्ग्रेस गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा गोरखामा नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो दल बनेको थियो । माओवादी केन्द्रले दोस्रो स्थान हासिल गरेको थियो भने नेकपा एमाले तेस्रो स्थानमा थियो ।

काङ्ग्रेसले ३८ हजार ५ सय ५६ मत पाएको थियो भने माओवादी केन्द्रले ३५ हजार २७ मत पाएको थियो । यस्तै नेकपा एमाललेले १७ हजार ८ सय ४६, नयाँ शक्ति नेपालले १४ हजार २ सय ६३, राप्रपाले ६ सय र सङ्घीय समाजवादी फोरमले ५१ मत ल्याएको थियो ।

गोरखाका दुई क्षेत्रमध्ये क्षेत्र नं. १ काङ्ग्रेसले लिने र क्षेत्र नं. २ नयाँ शक्तिलाई दिने सहमति भएको छ । जिल्लामा माओवादी र एमालेलेको मत एकै ठाउँमा मिसाउँदा ५२ हजार ८ सय ७३ हुन्छ भने नेपाली काङ्ग्रेस र नयाँ शक्तिको मत मिसाउँदा ५२ हजार ८ सय १९ हुन्छ । यस आधारमा नयाँ शक्ति र काङ्ग्रेस ५४ मतले पछाडि छ  । तर, यो स्थानीय नेताका लागि प्राप्त मत हो । प्रतिनिधि सभा निर्वाचनमा उठ्ने उम्मेदवारको व्यक्तित्वका कारण पनि यो मत तलमाथि हुन सक्छ ।  

गोरखा १ मा नयाँ शक्तिले नेपाली काङ्ग्रेसलाई सघाउने र २ मा काङ्ग्रेसले शक्तिलाई सघाउने सहमती बनेको छ । जसअनुसार क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका तर्फबाट चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट माओवादीका हरि अधिकारी प्रतिस्पर्धामा रहेका छन् । गोरखामा आगामी निर्वाचनका लागि १ लाख ८९ हजार, ४ सय ३८ मतदाता रहेका छन् ।
 
१९ गोरखामा प्रतिनीधिसभाका लागि दुई निर्वाचन क्षेत्र (क्षेत्र नम्वर २)

गोरखा क्षेत्र  नं. २ मा नेपाली काङ्ग्रेसको १७ हजार ७० मत छ भने माओवादी केन्द्रको १७ हजार ८ सय ९४ मत रहेको छ । यस्तै नेकपा एमालेको ७ हजार २ सय ८ र नयाँ शक्ति नेपालको ७ हजार ९ सय मत रहेको छ ।

यहाँ एमाले र माओवादी केन्द्रको मत मिसाउँदा २५ हजार २५ मत हुन्छ भने नेपाली काङ्ग्रेस र नयाँ शक्तिले पाएको मत मिसाँउदा २४ हजार ९ सय ७० हुन्छ । यस आधारमा यहाँ ५५ मतले माओवादी एमाले गठबन्धन अगाडि देखिन्छ । तर उम्मेदवारको व्यक्तित्वका कारण पनि जनमत तलमाथि हुने हुँदा गोरखा २ मा रोचक चुनावी प्रतिष्पर्धा हुँदैछ ।

२० लमजुङमा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र

लमजुङमा बाम गठबन्धनका तर्फबाट माओवादी नेता देव गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट दिलबहादुर घर्ती चुनावी मैदानमा रहेका छन् ।

लमजुङमा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । काङ्ग्रेसले ३२ हजार ३३७, एमालेले २४ हजार ७०६, माओवादीले ९ हजार ९२७, राप्रपाले ५ सय २८, नयाँ शक्तिले ४ सय ६१ मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम दलको ३४ हजार ६ सय ३३ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा २ हजार २ सय ९६ मत बढी हो । लमजुङमा नयाँ शक्तिको ४ सय ६१, फोरम लोकतान्त्रिकको १७ सङ्घीय समाजवादी फोरमको ४३ र राप्रपाको ५ सय २८ मत छ । यदि यी दलहरूको मत काङ्ग्रेसमा मिसाउँदा ३३ हजार ४ सय ३२ मत हुन्छ । यो मत वाम दलको कूल मतभन्दा १२ सय १ मत कम हो ।

यस आधारमा हेर्दा लमजुङमा वाम दल र नेपाली काङ्ग्रेसबीच चुनौतीपूर्ण भिडन्त हुने देखिन्छ । प्रतिनिधि सभा निर्वाचनका लागि १ क्षेत्र रहेको लमजुङमा १ लाख १५ हजार ४ सय ५६ मतदाता रहेका छन् ।

२१ मनाङमा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
मनाङमा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका पाल्देन गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी मैदानमा थिए । तर, अन्तिम समयमा आएर एमालेका उम्मेद्वारले नाम फिर्ता लिएर स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका दीपक मनाङ्गेलाई समर्थन गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा यहाँ नेपाली काङ्ग्रेसले १२ सय १८, नेकपा एमालेले १३ सय ३९, माओवादी केन्द्रले ५ सय १६ मत पाएका थिए ।

यहाँ बाम गठबन्धनको १८ सय ५५ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ६ सय ३७ मत बढी हो । यसअनुसार बाम गठबन्धन दललाई पराजित गर्न काङ्ग्रेसका टेकबहादुर गुरुङले झन्डै ७ सय भोट बढाउनुपर्नेछ । मनाङमा सबैभन्दा थोरै मतदाता रहेका छन् । यहाँ आगामी निर्वाचनका लागि ५ हजार ८ सय ८० मतदाता छन् ।
 

२२ बाग्लुङमा प्रतिनीधिसभाका लागि २ निर्वाचन क्षेत्र (क्षेत्र नम्वर १)

गत स्थानीय तहको निर्वाचनमा बाग्लुङमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । नेपाली काङ्ग्रेसले ४० हजार ८ सय ७३ मत ल्याएको थियो भने नेकपा एमालेले २७ हजार २ सय ७२ र माओवादी केन्द्रले ११ हजार ७ सय ४७ मत ल्याएको थियो । यस्तै तेस्रो दल बनेको राष्ट्रिय जनमोर्चाले १६ हजार ५ सय १४ मत ल्याएको थियो ।

यस आधारमा यहाँ माओवादी केन्द्र र नेकपा एमालेको मत एकै ठाउँमा मिलाउँदा ३९ हजार १९ हुन्छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १८ सय ५४ मत कम हो । यहाँ राष्ट्रिय जनमोर्चाको पनि राम्रो मत रहेको छ । राष्ट्रिय जनमोर्चा पनि एमाले र माओवादी केन्द्रको गठबन्धनमा सामेल भएको छ । जनमोर्चाले केन्द्रमा माओवादी–एमालेलाई सघाउने भएको छ भने प्रदेश सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको सहयोग लिने  भएको छ ।

बाग्लुङ क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभा निर्वाचनमा चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका डा. सूर्य पाठक प्रतिष्पर्धामा रहेका छन् ।

२३ बाग्लुङमा प्रतिनीधिसभाका लागि २ निर्वाचन क्षेत्र (क्षेत्र नम्वर १)

क्षेत्र नं. २ मा वाम गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेल र नेपाली काङ्ग्रेसका नरबहादुर पुनबीच प्रतिष्पर्धा हुँदैछ ।  यहाँ पनि क्षेत्र नं. २ मा माओवादी केन्द्रबाट प्रत्यक्ष उम्मेदवारमाथि बागी उम्मेदवारी परेको छ भने क्षेत्र नं. १ मा प्रदेश सभा निर्वाचनका लागि बागी उम्मेदवारी परेको छ । आगामी निर्वाचनका लागि यहाँ १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेका छन् ।
 
२४म्याग्दीमा प्रतिनीधिसभाका लागि १ निर्वाचन क्षेत्र
म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट भूपेन्द्रबहादुर थापा र नेपाली काङ्ग्रेसबाट गम्भीर गर्बुजा चुनावी मैदानमा रहेका छन् । गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले १६ हजार १ सय ३९, नेकपा एमालेले २० हजार २ सय ५२, माओवादी केन्द्रले ६ हजार ७४, राप्रपाले ४ हजार १ सय ३४ मत पाएका थिए । यहाँ नेकपा एमालेले नेपाली काङ्ग्रेसले भन्दा ४ हजार हाराहारी बढी मत ल्याएर पहिलो दल बनेको थियो । यसआधारमा यहाँ बाम गठबन्धनको २६ हजार ३ सय २६ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १० हजार १ सय ८७ मतले बढी हो । म्याग्दीमा ७५ हजार ५ सय ३८ मतदाता छन् । 
 
२५ रुकुम (पूर्वी भाग) प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
रुकुम जिल्ला पूर्वी भागमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कमला रोका र नेपाली काङ्ग्रेसका नेता अमरसिंह पुनबीच प्रतिष्पर्धा हुँदैछ ।

स्थानीय तहको निर्वाचनमा यस जिल्लाबाट वाम गठबन्धनले कुल १३ हजार ९ सय ५ मत पाएको थियो भने नेपाली काङ्ग्रेसले २ हजार ८ सय ८८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धन ११ हजार १७ मतले अगाडि रहेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।
 
२६ रोल्पामा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
रोल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका वर्षमान पुन र नेपाली काङ्ग्रेसकातर्फबाट अमरसिंह पुनबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

रोल्पामा गत स्थानीय तहको निर्वाचनमा रोल्पामा वाम गठबन्धनले कुल २५ हजार २ सय ३९ मत पाएको थियो भने नेपाली काङ्ग्रेसले १६ हजार ५ सय ९६ मत पाएको थियो ।

 यस आधारमा यो जिल्लामा वाम गठबन्धन नेपाली काङ्ग्रेसभन्दा ८ हजार ६ सय ४३ मतले अगाडि रहेको छ ।
निर्वाचनका लागि रोल्पामा १ लाख २७ हजार ६ सय ६८ मतदाता छन् ।
 
२७ रूकुम (पश्चिम भाग) प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
रुकुम जिल्ला पश्चिम भागमा प्रतिनिधि सभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी नेता जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका गोपालजीजङ्ग शाह चुनावी मैदानमा भिड्दैछन् ।

स्थानीय तहको निर्वाचनमा पश्चिम रुकुममा माओवादी केन्द्र पहिलो दल बनेको थियो । स्थानीय तहका प्रमुख पदका लागि प्राप्त मतका आधारमा माओवादी केन्द्रले २७ हजार ४ सय ३१ मत ल्याएको थियो ।

दोस्रो दलका रूपमा नेपाली काङ्ग्रेसले १९ हजार ६७ मत ल्याएको थियो । रुकुम पश्चिममा वाम दलको मत ३५ हजार ८ सय ३५ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसको भन्दा १६ हजार ७ सय ६८ मत बढी हो । यो जिल्लामा राप्रपाले जम्मा १ सय ९२, राष्ट्रिय जनमोर्चाले ४३ र नयाँ शक्ति नेपालले १ सय ६४ मत ल्याएका छन् । यहाँ नेपाली काङ्ग्रेसले अन्य दलसँग तालमेल गर्ने हो भने पनि वाम दलसँग प्रतिष्पर्धा गर्न कठिन छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ८४ हजार ३० मतदाता छन् ।
 
२८ जाजरकोटमा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र  
जाजरकोटमा वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र नेपाली काङ्ग्रेसका राजिव विक्रम शाहीबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जाजरकोटमा नेपाली काङ्ग्रेसले १९ हजार ४ सय ३९, नेकपा एमालेले २० हजार ६०० र माओवादी केन्द्रले १७ हजार ४ सय ६१ मत ल्याएको थियो । यस्तै राप्रपाले २ सय ८५ मत ल्याएको थियो । यहाँ वाम पन्थी दलको ३८ हजार ६१ मत रहेको छ, अर्थात नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १८ हजार ६ सय २२ मत बढी छ । यो जिल्लामा अन्य दलहरूको खासै राम्रो उपस्थिति छैन । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोेटमा १ निर्वाचन क्षेत्र रहेको छ भने यहाँ ८३ हजार ९ सय ३६ मतदाता रहेका छन् ।

२९ हुम्लामा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
हुम्लामा वाम गठबन्धनबाट माओवादी केन्द्रका चिमी लामा र नेपाली काङ्ग्रेसका मङ्गल शाहीबीच प्रतिष्पर्धा हुँदैछ । यद्यपि हुम्लामा माओवादी केन्द्रका दुई उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री समेत रहेका छक्कबहादुर लामा  सोनाम ग्लजेन लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगभग समान हाराहारीमा मत पाएका थिए । नेपाली काङ्ग्रेसले ६ हजार ८ सय ८६, नेकपा एमालेले ६ हजार ८ सय ६८ र माओवादी केन्द्रले ६ हजार २ सय ७७ मत ल्याएको थियो । यस आधारमा हेर्दा यहाँ बाम गठबन्धनको १३ हजार १ सय ४५ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय ५९ मत बढी हो । हुम्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र तोकिएको छ भने यहाँ २७ हजार ४ सय ३५ मतदाता रहेका छन् ।
 
३० मुगुमा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
मुगुमा वाम गठबन्धनका तर्फबाट एमाले नेता गोपाल बम र नेपाली काङ्ग्रेसका तर्फबाट हस्तबहादर मल्लबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

स्थानीय तहको निर्वाचनमा मुगुमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । काङ्ग्रेसले जिल्लामा ८ हजार ६ सय ६ मत पाएको थियो । यस्तै नेकपा एमालेले ८ हजार ५ सय ७९ र माओवादी केन्द्रले ३ हजार ३ सय ८२ मत ल्याएको थियो ।

यहाँ एमाले र माओवादी केन्द्र वाम दलको ११ हजार ९ सय ६१ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ३ हजार ३ सय ५५ मत बढी हो । प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा १८ हजार ७ सय ६७ मतदाता रहेका छन् ।

३१ जुम्लामा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र

जुम्लामा बाम गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत र नेपाली काङ्ग्रेसका तर्फबाट देवेन्द्र शाही चुनावी मैदानमा छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त कुल मतका आधारमा माओवादी केन्द्र पहिलो पार्टी बनेको थियो । माओवादी केन्द्रले १३ हजार ९ सय ५२ मत ल्याएको थियो भने जिल्लाको दोस्रो दल नेपाली काङ्ग्रेसले १२ हजार १ सय २७ मत ल्याएको थियो भने नेकपा एमालेले ११ हजार ७ सय ४५ मत ल्याएको थियो ।

दुई वाम एक ठाउँ भएर चुनाव लड्दा यहाँ पनि नेपाली काङ्ग्रेसलाई चुनौती थपिएको छ । यहाँ वाम गठबन्धनसँग २५ हजार ६ सय ९७ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १३ हजार ५ सय ७० मत बढी छ ।  प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको जुम्लामा यो अवस्थामा १४ हजार मत बढाउनुपर्ने छ । यहाँ ५९ हजार ५८ मतदाता रहेका छन् ।

३२ कालिकोटमा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
कालीकोटमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गाबहादुर रावत र नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाही चुनावी मैदानमा रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले अन्य दलभन्दा धेरै मत ल्याएको थियो । माओवादीले १५ हजार १ सय १६ मत ल्याएको थियो भने नेकपा एमालेले १३ हजार २ सय ३१ मत ल्याएको थियो । यस्तै नेपाली काङ्ग्रेसले १२ हजार २ सय ७४ मत ल्याएको थियो । राप्रपाले भने ९ सय ७३ मत ल्याएको थियो ।

यहाँ बामदलले २८ हजार ३ सय ४७ मत पाएको छ, जुन नेपाली काङ्ग्रेको तुलनामा १६ हजार ७३ मत बढी हो । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको कालीकोटमा ६४ हजार ९ सय ६१ मतदाता रहेका छन् ।

३३ डोल्पामा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
डोल्पामा वाम गठबन्धनका तर्फबाट एमाले नेता धनबहादुर बुढा र नेपाली काङ्ग्रेसका तर्फबाट अङ्गद बुढाबीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय तहको निर्वाचनमा डोल्पामा नेकपा एमाले पहिलो पार्टी बनेको थियो । एमालेले ५ हजार ९ सय ७०, नेपाली काङ्ग्रेसले ३ हजार १ सय ९५ र माओवादी केन्द्रले २ हजार ३ सय २६ मत ल्याएको थियो । यस आधारमा डोल्पामा वाम गठबन्धनको ८ हजार २ सय ९६ मत छ, जुन नेपाली काङ्ग्रेसको भन्दा ५ हजार १ सय १ मत हो । प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको डोल्पामा १८ हजार ७ सय ६७ मतदाता छन् । डोल्पामा अन्य दलको उपस्थिति खासै राम्रो छैन ।

३४ दार्चुलामा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र  
दार्चुलामा वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि गणेश ठगुन्ना र नेपाली काङ्ग्रेसका तर्फबाट विक्रम सिंह चुनावी मैदानमा छन् ।

स्थानीय तहको निर्वाचनमा दार्चुलामा नेपाली काङ्ग्रेसले २१ हजार ७ सय ६८ मत पाएको थियो । यस्तै नेकपा एमालेले २० हजार ४ सय ४५ मत र माओवादी केन्द्रले १० हजार ५१ मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको ३० हजार ४ सय ९६ मत छ, जुन नेपाली काङ्ग्रेसको भन्दा ८ हजार ७ सय २८ मत बढी हो ।

दार्चुलामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७८ हजार ५ सय १२ मतदाता रहेका छन् । यहाँ प्रतिनिधि सभा निर्वाचनका लागि १ क्षेत्र रहेको छ ।

दार्चुलामा स्थानीय तहमा यी दलहरूले पाएको मतको विश्लेषण गर्दा वाम गठबन्धनलाई पराजित गर्न नेपाली काङ्ग्रेसले मिहिनेत गर्नुपर्ने देखिन्छ ।

३५ बझाङमा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र
बझाङमा वाम गठबन्धनका तर्फबाट एमाले नेता भैरवबहादुर सिंह र नेपाली काङ्ग्रेसकातर्फबाट पृथ्वीबहादुर सिंह चुनावी मैदानमा छन् ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख ४ हजार २ सय ७५ मतदाता रहेको बझाङमा  प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २६ हजार १ सय २२ मत ल्याएको थियो । नेकपा एमालेले २८ हजार ७० मत र माओवादी केन्द्रले १२ हजार ९ सय ३० मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको ४१ हजार मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा १४ हजार ८ सय ७८ मत बढी हो । एक निर्वाचन क्षेत्र रहेको बझाङमा आफ्नो जित निकाल्न नेपाली काङ्ग्रेसलाई वाम गठबन्धनले चुनौती थपेको छ ।
 

३६ बाजुरामा प्रतिनीधिसभाका लागि एक निर्वाचन क्षेत्र  

बाजुरामा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका लालबहादुर थापा र नेपाली काङ्ग्रेसका कविराज पण्डित चुनावी मैदानमा छन् ।
गत स्थानीय तहको निर्वाचनमा बाजुरामा नेपाली काङ्ग्रेसले २३ हजार २ सय ३ मत पाएको थियो । यस्तै एमालेले २२ हजार ५ सय ६९ मत पाएको थियो भने माओवादी केन्द्रले ३ हजार ९ सय ५६ मत ल्याएको थियो ।

यो जिल्लामा बाम गठबन्धनको मत जोड्दा २६ हजार ५ सय २५ हुन्छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ३ हजार ३ सय २२ मत बढी हो ।

वाम गठबन्धन र नेपाली काङ्ग्रेसका बीचमा झिनो मत अन्तर रहेकाले नेपाली काङ्ग्रेसले अन्य साना दलहरूलाई साथमा लिएर मिहिनेत गर्ने हो भने वाम गठबन्धनका लागि चुनौती खडा गर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता रहेका छन् । बाजुरामा प्रतिनिधि सभा निर्वाचनका लागि एक क्षेत्र रहेको छ ।

३७ बैतडीमा प्रतिनीधिसभाका लागि एक क्षेत्र

बैतडीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका दामोदर भण्डारी र नेपाली काङ्ग्रेसका नरबहादुर चन्द बीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा नेपाली काङ्ग्रेसले २७ हजार ६ सय ८० मत ल्याएको थियो । नेकपा एमालेले २५ हजार ६ सय ४१ र माओवादी केन्द्रले १८ हजार १ सय ६६ मत ल्याएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको ४३ हजार ८ सय ७ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १६ हजार १ सय २७ मत बढी हो ।
यस आधारमा बाम गठबन्धनलाई हराउन यहाँ पनि नेपाली काङ्ग्रेसलाई कठिन पर्ने देखिन्छ । प्रतिनिधि सभा निर्वाचनका  लागि १ मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३ सय १७ मतदाता छन् ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप