शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

बिहीबार, १६ कात्तिक २०७४, १७ : ३७
बिहीबार, १६ कात्तिक २०७४

काठमाडौँ । मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज ४५ जिल्लाका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । यसक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेतापनि आफ्ना कार्यकर्तासहित आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

उम्मेदवारी दर्ता गर्न  धेरैजसो उम्मेदवारहरु बिहीबार बिहान मात्रै आ–आफ्नो क्षेत्रमा पुगेका थिए । प्रमुख दलका धेरैजसो शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचनमा प्रतिश्पर्धा गर्ने भएकाले उनिहरु टिकटको टुङगो लगाएर आजै आफ्नो जिल्लामा पुगेका थिए । यद्यपी, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गर्न आफु नगएर वारेसनामा मार्फत डडेलधुराको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिन लगाए । 

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उम्मेदवारी दर्ता गरे । यस्तै महामन्त्री शशांक कोइराला नवलपरासीको बर्दघाट पूर्व (नवलपुर) बाट उम्मेदवारी दर्ता गराए । कृष्ण सिटौला झापा ३, विजयकुमार गच्छेदार सुनसरी ३, मिनेन्द्र रिजालले मोरङ २ बाट उम्मेदवारी दर्ता गरे ।  

यस्तै पूर्व महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौलाले क्रमश: काठमाडौँ १ र झापा ३ बाट उम्मेदवारी दिए ।  देउवासँग बाम गठबन्धनका तर्फबाट खगराज भटटले प्रतिश्पर्धा गर्दैछन् । रामचन्द्र पौडेलसँग बाम गठबन्धकै केदार सिग्देलले प्रतिश्पर्धा गर्दैछन् । कृष्ण सिटौलासँग राप्रपाका राजेन्द्र लिङदेन तथा प्रकाशमानसिंहसँग गठबन्धनका अनिल शर्मा, तथा साझापार्टीका रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गरेसागै चुनावी प्रतिश्पर्धा गर्ने निश्चित भएको छ ।  

यस्तै, एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले झापा ५ बाट उम्मेदवारी दिए ओलीका  प्रतिश्पर्धीका रुपमा कांग्रेसका खगेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् । एमालेकै वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल इलाम १ र माधवकुमार नेपालले काठमाडौँ २ बाट उम्मेदवारी दर्ता गराए । एमालेकै उपाध्यक्ष बामदेव गौतम बर्दिया १, भीम रावल अछाम १ बाट मनोनयन दर्ता गरे ।

पूर्वसभामुख सुवास नेम्वाङ इलाम २, महासचिव ईश्वर पोखरेल काठमाडौँ ५ बाट उम्मेदवारी दर्ता गरेका छन् । एमालेका सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट क्रमशः १ र २ बाट तथा अर्का सचिव योगेश भट्टराई ताप्लेजुङबाट चुनावी प्रतिश्पर्धाका लागि उम्मेदवारी दर्ता गरेका छन् । अर्का नेता सुरेन्द्र पाण्डे चितवन १ बाट उम्मेदवार बनेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा कांग्रेस गठबन्धनबाट राप्रपाका विक्रम पाण्डेले प्रतिश्पर्धा गर्दैछन् । नेता कृष्णबहादुर महरा दाङ २, गिरिराजमणि पोखरेल महोत्तरी १, पम्फा भुसाल ललितपुर ३ बाट मनोनयन दर्ता गरेका छन् । यस्तै, धनुषा ३ बाट राजपाका राजेन्द्र महतो र कांग्रेसका विमलेन्द्र निधिले उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट मनोनयन दर्ता गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप