शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी @ ब्याटल ग्राउन्ड : विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

बुधबार, २९ कात्तिक २०७४, १२ : २८
बुधबार, २९ कात्तिक २०७४

राजेश भण्डारी/ बिजु महर्जन
 

बेँसीसहर– पूर्व सांसदसहित विप्लव माओवादीका दर्जनभन्दा बढी लडाकु लमजुङ पसेको खबर सुरक्षा निकायको कानमा परिसकेको छ । केही दिनअघि नै सविन ओलीको कमान्डमा केही युवाहरू लमजुङका विभिन्न गाउँमा घुमिरहेको सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय लमजुङले माओवादी नेता देव गुरुङको सुरक्षामा विशेष सतर्कता अपनाएको थियो ।

वाम गठबन्धनको तर्फबाट लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वमन्त्री देव गुरुङलाई टार्गेट गरेर पूर्व सांसद सावित्री दुराको कमान्डमा मङ्गलबार एक दर्जन युवा लमजुङ पुगेका छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा माओवादीको तर्फबाट समानुपातिक संसद बनेकी दुरा हाल विप्लव माओवादीको गण्डक क्षेत्रमा क्रियाशील छिन् । माओवादी नेता देव गुरुङलाई विप्लवबाट थ्रेट भएको सुरक्षा विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले उनलाई तीनजना अङ्गरक्षक उपलब्ध गराएको छ । जिल्लाबाट खटिएका तीनजनाबाहेक गुरुङलाई प्रहरी प्रधान कार्यालयले अरू दुईजना प्रहरी खटाएको छ ।

त्यति मात्रै हैन, गुरुङ सहभागी हरेक कार्यक्रममा प्रहरीले बाक्लो उपस्थिति जनाउने गरेको छ । गुरुङ र उनको टिम चुनाव प्रचारमा सहभागी हुँदा स्थानीय प्रहरीले हरक्षण उनलाई स्कर्टिङसमेत गर्ने गरेको छ ।

‘लमजुङमा देव गुरुङ र पृथ्वी सुब्बा गुरुङलाई थ्रेट भएको सुरक्षा विश्लेषणका आधारमा हामीले आवश्यक अङ्गरक्षक प्रदान गरेका छौँ’ लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले भने– ‘चुनाव विरोधी गतिविधि गर्नका लागि केही मान्छे पोखराबाट छिरेको सूचना आएको छ, खोजी गरिरहेका छौँ ।’

विप्लवले गण्डक क्षेत्रको निर्वाचनको मैदानमा उत्रिएका माओवादी नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ र नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई माथि मुख्य टार्गेट गरेको सुरक्षा विश्लेषण गरिएको छ ।

विप्लवले पोलिटब्युरो बैठकबाटै गण्डक क्षेत्रम तीनजना नेतामाथि भौतिक आक्रमण गर्ने निर्णय गरेको सूचना पाएसँगै ४ नम्बर प्रदेश प्रहरी कार्यालयले उल्लेख्य सङ्ख्यामा सादा पोसाकका प्रहरी गाउँगाउँमा परिचालन गरेको छ ।

लमजुङमा देव गुरुङपछि दोस्रो टार्गेटमा छन् एमाले नेता पृथ्वी सुब्बा गुरुङ । उनलाई पनि अङ्गरक्षक बढाइएको छ भने पृथ्वी सहभागी हुने कार्यक्रममा प्रहरीको बाक्लो उपस्थिति देखिन्छ ।

प्रहरी स्रोतअनुसार लमजुङका लागि १२ जना विप्लवका लडाकु पोखरा हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए । ‘विप्लवको टार्गेट माओवादी र एमाले मात्र हो’– एक सुरक्षा अधिकारीले भने– ‘काङ्ग्रेसमाथि टार्गेट गरेको देखिँदैन ।’

विप्लव माओवादीमा आबद्ध सागर पुन, चिनकाजी रसाइली, प्रकाश बास्तोला र सुजन बिकलगायतका युवाहरू सावित्री दुराको कमान्डमा लमजुङ पुगेका छन् । सावित्री दुरा विप्लव माओवादीको गण्डक इन्चार्ज समेत हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङले विप्लव माओवादीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा मुद्दा दायर गरेको छ ।

वामपन्थी उम्मेदवारमाथि सुरक्षा थ्रेट बढे पनि काङ्ग्रेका उम्मेदवालाई सुरक्षा थ्रेट नरहेको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले  काङ्ग्रेस नेता दिलबहादुर घर्तीलाई अङ्गरक्षक दिएको छैन । दिलबहादुर घर्तीलाई अङ्रक्षक नदिएको स्वीकार गर्दै लमजुङका प्रजिअ मैनालीले भने– ‘थ्रेट विश्लेषणको आधारमा माग भई आएको बखत सुरक्षाकर्मी दिएका छौँ ।’

लमजुङका मतदान स्थलहरूमध्ये १८ स्थललाई अति संवेदनशील घोषणा गरिएको छ । सुरक्षा विश्लेषणका आधारमा अति संवेदनशीलको सङ्ख्या थपघट हुनेसक्ने प्रजिअ मैनालीले बताए ।

कास्की र मनाङमा दोस्रो चरणमा निर्वाचन हुने कारणले पनि चुनाव विरोधी तत्वहरू त्यहाँबाट आउनसक्ने आकलन गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी पदमबहादुर विष्टले भने– ‘जिल्ला प्रवेश गर्ने ६ वटा नाकाहरूमा चेकजाँच गरिरहेका छौँ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप