ब्याटल ग्राउन्ड : गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

गोरखा –दोस्रो जनआन्दोलन (२०६२/६३) मा काठमाडौँका सडकमा सारंगी रेट्ने रुविन गन्धर्व आजभोली गोरखाको पालुङटारतिर भेटिन्छन् । पहिले–पहिले राजनीति सरगर्मी बढेको बेला उनको छात्तिको देब्रे कुनामा सूर्य चिन्हको ट्याग झुण्डिएको हुन्थ्यो । तर, बुधबार पालुङटारमा भेटिएका रुबिनले गोलाकार भित्रको हँसिया हथौडा अंकित टी–शर्ट लगाएका थिए । एमाले निकट सारंगीबाज भनेर चिनिने गन्धर्व आजभोलि माओवादी नेता नारायणकाजीलाई भोट माग्दै छन् ।
‘छातीको देब्रे कुनामा हँसिया हथौडाको ट्याग लगाउँदा कस्तो लागेको छ ?’ एमालेप्रति गहिरो आस्था राख्दै आएका गन्धर्वले रातोपाटीसँग कुरा गर्दै भने, ‘हिजो छातीमा सूर्य चिन्ह लगाएपनि आज छात्तिमा हँसिया–हथौडा बाकेर हिँड्दा गर्व लाग्छ ।
‘गोरखा कम्युष्टिको किल्ला हो, अहिले बामगठबन्धनको पक्षमा जिल्लाभरी उत्साह छाएको छ’ उनले थपे, ‘यसपटक गन्धर्ब समुदायको भोट नारायणकाजीलाई जान्छ, हामी उहाँलाई जिताउँछौ ।’
गोरखामा रुविन र रुबिनजस्ता धेरै युवा मात्रै नारायणकाजी श्रेष्ठ र डा. बावुराम भट्टराईको पक्षमा विभाजित छन् । बृद्धाभत्ता खाने उमेरका बुढाबुढी पनि सचेत तवरले विभाजित भएका छन् ।
खोप्लाङकी बिकु कुमारी खत्री ६० पुग्दैछिन् । ‘अहिलेसम्म बावुरामलाई दियौं’ बिकु कुमारी भन्छिन्,‘त्यत्रो दरौंदिको पुल बनाए, बाबुरामकै कारण यहाँ विकास आयो त्यसैले यसपटक पनि बावुरामलाई नै जिताउँछौं ।’
पूर्व सहकर्मी डा.बावुराम भट्टराई र नारायणकाजी चुनावी मैदानमा होमिएको गोरखा–२ मा दुवै नेताले आफैँले जित्ने दावी गरेका छन् । गत बुधबार पालुङटार नगरपालिका–५ को ठाँटीपोखरीस्थित माझटारमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई उतारेर श्रेष्ठले भट्टराईबिरुद्ध धावा बोलिसकेका छन् । नयाँ शक्ति र काँग्रेसले मंसिर २ मा जवाफ दिन त्यहीँ कार्यक्रम आयोजना गरेका छन् ।
गोरखामा नारायणकाजी श्रेष्ठले आफ्नो प्रचारलाई अलि आक्रामक बनाएका छन् । २०७० सालमा गोरखा–२ बाटै निर्वाचित हितराज पाण्डेलाई साथै लिएर हिँड्ने श्रेष्ठले ठूला सभा र घरदैलो दुवैलाई प्राथमिकता दिएका छन् ।
उता डा. बावुराम भट्टराईले ठूला सभालाई भन्दा घरदैलो, कोणसभा र मतदाता भेटघाटलाई प्राथमिकता दिएका छन् ।
यसपटकको निर्वाचनमा नारायणकाजी श्रेष्ठको मुला नारा छ, ‘समृद्ध गोरखा, खुसी गोरखाली !’ श्रेष्ठको उक्त नारालाई भट्टराईले देखिसहेका छैनन् ।
बिहिबार पालुङटार नगरपालिका–२ स्थित चापाभञ्ज्याङ पुग्दा डा. भट्टराई मिनी सभामा भोट माग्दै थिए । उक्त सभामा नारायणकाजीप्रति कटाक्ष गर्दैै उनले भने, ‘सम्बृद्ध कसरी बन्छ, खुसी कसरी बन्छ ? हामीले लिएको सन्तुलित नीति अगाडि बढेमा मात्र समृद्धि आउँछ अन्यथा समृद्धि हावादारी गफ हो ।’
भट्टराईले अर्थमन्त्री र प्रधानमन्त्री हुँदा आफूले गोरखाको विकासका लागि शुरु गरेका धेरै काम पुरा गर्न अझै बाँकी रहेका भन्दै आफुलाई जिताउन आग्रह गरेका छन् । भट्टराईले जुन ठाउँका मतदातासँग जाँदा पनि फाल्ने अस्त्र, ‘मैले यहाँ विकासको लहर ल्याएको छु, आँखा चिन्हमा मतदान गरेर मलाई जिताउनुस्’ भन्ने छ ।
आँखा चिन्ह रोज्नुको कारण ब्याख्या गर्दै उनी फेरी थप्छन्, ‘पहिले लड्ने भिड्ने शक्तिका रुपमा हामी हँसिया हथौडा चिन्हमा चुनाव लड्ने गरेका थियौँ, अब लड्ने भिड्ने समय सकियो त्यसैले परसम्म (दुरदराज) देख्नका लागि आँखा चिन्ह लिएर आएका छौं ।’
गोरखाको चुनावको अर्को रौनक केछ भने, भट्टराई जहाँ–जहाँ ‘गोरखाको विकास मैले गरेको’ भन्दै भोट माग्छन्, उनलाई काउण्टर गर्न नारायणकाजी पुगिहाल्छन् ।
‘गोरखाको विकास बावुरामले गरेको हैन, जनता लाटा छन र ?’ रातोपाटीसँग कुरा गर्दै नारायणकाजी श्रेष्ठले भने, ‘उहाँलाई हाम्रो पार्टीले अर्थमन्त्री, प्रधानमन्त्रीको जिम्मेवारी दिएर यो काम गराएको हो, त्यति महत्वपुर्ण जिम्मेवारी दिँदा पनि विकासको जत्ति काम हुनुपर्ने थियो त्यति भएन भन्ने जनताको गुनासो छ ।’
कम्युनिष्ट आन्दोनलका यी दुइ हस्तीले आफैले जित्ने दाबी गर्दै आएपनि तटस्थ मतदाता ‘विकास गर्नेलाई भोट’ दिने बताउँछन् ।
तटस्थ मतदाता भन्छन्, ‘टावर बनाउनेले भोट पाउँछ ।’
पालुङटार नगरपालिकाको खोप्लाङ भञ्ज्याङको एउटा बस्तीमा पुग्दा केही पाका र केही युवा चुनावी गफमा मस्त थिए । घर अगाडि सड्कमा नयाँ शक्ति र बामगठबन्धन दुवैका झण्डा फहराइरहेको देखेपछि हामीले सोध्यौँ, ‘तपाईहरु बाम कि लोकतान्त्रिक ?’
‘अब झण्डा राख्नेलाई नराख भन्न मिलेन्, हामी स्वतन्त्र हौँ,’ स्थानीय रामकुमार प्रधानले भने, ‘जसले काम गर्छ, उसैलाई भोट दिन्छौँ ।’
खोप्लाङ भञ्ज्याङमा नेपाल टेलिकमको टावर छैन, भञ्ज्याङमै रहेको मन्दिर भूकम्पले झुरुप्पै बनाएको छ ।
‘हितराज पाण्डेलाई २०७० सालमा जिताएर पठायौँ, त्यत्रो भूकम्प जाँदा फर्केर आएनन्’ प्रधानले गुनासो गरे, ‘यसपाला चाहिँ मन्दिर जिर्णोदार र मोवाईलको टावर बनाउने बाचा गर्नेलाई मात्र भोट हाल्छौँ, बाचा गरेर मात्र हुँदैन पुरा गरेर देखाउनुपर्छ ।’
खोप्लाङ भञ्ज्याङ आसपासमा प्रहरी चौकी छैन । सामान्य झै–झगडा भएपनि प्रहरी खोज्न ठाँटीपोखरी या चोरकाटे पुग्नुपर्छ । ‘यहाँ जाँड खाएर होहल्ला गर्ने र सामाजिक विकृति बढाउनेको सङ्ख्या बढेको छ’ स्थानीय दुर्गा श्रेष्ठले भने, ‘हामी कुनै पार्टी भन्दैनौँ, यहाँ चौकी स्थापना जसले गर्छ, उसैलाई भोट हाल्छौं, नभए किन भोट हाल्नु ?’
यस्तो छ, भोटको हिसाब
गोरखा–२ मा गएको स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसले १० हजार ५८२ मत हाँसिल गरेको थियो । नयाँ शक्तिले ५ हजार ३७१ मत पाएको थियो । नेकपा एमालेले ४ हजार ८३७ मत हाँसिल गर्दा माओवादी केन्द्रले १० हजार ५ सय ७५ मत पाएका थियो । चारवटै दलको हिसाब जोड्दा डा. भट्टराईको लोकतान्त्रिक गठबन्धको पक्षमा १५ हजार ९५३ मत देखिन्छ भने, नारायणकाजी श्रेष्ठको बाम गठबन्धनले पएको भोट १५ हजार ४११ रहेको छ ।
जम्मा ५४२ मतमात्र अन्तर रहेको गोरखा–२ मा निकै कडा टक्कर हुने देखिएको छ । त्यस्तोमा दुवै उम्मेद्वारका लागि निर्णायक मत भनेको नेपाली काङ्ग्रेस नै हुनेछ । डा. बाबुराम भट्टराईसँग तालमेल गरेकोमा कत्तिपय काङ्ग्रेस कार्यकर्ताले असन्तुष्ट भएर विज्ञप्ती नै निकालेका छन् ।
त्यस्तोमा काङ्ग्रेसको असन्तुष्ट मत आफुतिर तान्न सकेमा नारायणकाजीलाई फाइदा हुन सक्छ । तटस्थ मतदातातिर बाबुरामको नजर छ ।
नारायणकाजीले ओली र प्रचण्डलाई गोरखामा लगेर चुनावलाई आफूतिर अनुकूल बनाउन खोजेका छन् । उता डा. बावुराम भट्टराईले पनि बीपी पुत्र शशांक कोइरालालाई गोरखा उतारेर घैरुङमा आमसभा गरिसकेका छन् ।
रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई गोरखा लगेर बामगठन्धनले ठुलो सभा गरेकै स्थानमा शक्ति देखाउने तयारीमा बाबुराम छ । काँग्रेसको मत जोगाईराख्न सके बाबुरामका लागि फाइदा हुन सक्छ ।
त्यसैले गोरखा–२ को निर्वाचनमा नेपाली काङ्ग्रेसको मत निर्णायक हुने देखिएको छ ।
(फोटो : बिजु महर्जन)