बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

बिहीबार, २३ कात्तिक २०७४, १२ : ४७
बिहीबार, २३ कात्तिक २०७४

काठमाडौं–आसन्न प्रतिनिधि सभा निर्वाचनमा वर्तमान सरकारका ४ उपप्रधानमन्त्री चुनावी मैदानमा  छन् । 
उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, कमल थापा र  कृष्णबहादुर महरा  आ–आफ्नो प्रचार प्रसारमा समेत जुटिरहेका छन् । 
 

१ विजयकुमार गच्छदार : सुनसरी ३ 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदार चुनावको मुखमा आफ्नो पुरानो पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । उनले आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सुनसरी ३ बाट उम्मेदवारी दिएका छन् । उनका मुख्य प्रतिस्पर्धीका रूपमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी रहेकी छिन् । 

गत स्थानीय तहमा उनको निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहमा पाएको मतका आधारमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो । 

यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनका पक्षमा २६ हजार २० मत छ भने काङ्ग्रेसको पक्षमा काङ्ग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको मत जोड्दा ४१ हजार १ सय ३९ मत देखिन्छ । अर्थात यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १५ हजार १ सय १९ मत रहेको छ । यस आधारमा हेर्दा यहाँ विजय गच्छदार पुनः निर्वाचित हुन सक्नेछन् । 

अगाामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् ।

१ कमल थापाः मकवानपुर १
ऊर्जा मन्त्रालय सम्हालिरहेका उपप्रधानमन्त्री कमल थापा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नं. १ बाट एमालेका कृष्णप्रसाद दाहालसँग चुनावी प्रतिस्पर्धामा छन् ।  

गत स्थानीय तहको निर्वाचनमा मकवानपुर १ का स्थानीय तहमा दलका वडाध्यक्षहरूले ल्याएको मतका आधारमा नेपाली काङ्ग्रेसले २३ हजार ५ सय ४८, एमालेले २७ हजार १ सय ४३, माओवादीले १४ हजार ५ सय २ र राप्रपाले १० हजार ८ सय ३५ मत पाएको थियो । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा ४१ हजार ६ सय ४५ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३४ हजार ३ सय ८३ मत रहेको छ । यहाँ ७ हजार ३ सय ३३ मतले वाम गठबन्धन अगाडि रहेकाले कमल थापाका लागि जित निकाल्न कठिन सङ्घर्ष गर्नुपर्ने देखिन्छ । 
     
३. कृष्णबहादुर महराः दाङ २
माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा आगामी प्रतिनिधि सभाको निर्वाचनमा  दाङ क्षेत्र नं. २ मा काङ्ग्रेसका उम्मेदवार राजु खनालसँग प्रतिस्पर्धा गर्दैछन् । 
गत स्थानीय तहको निर्वाचनमा स्थानीय तहका वडाध्यक्षहरूले पाएको मतका आधारमा दाङ क्षेत्र नं. २ मा काङ्ग्रेसले २१ हजार ३ सय ९, एमालेले १७ हजार ९ सय ६, माओवादीले १७ हजार ५ सय ३५ र राप्रपाले १ हजार ८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३५ हजार ४ सय ४१ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २२ हजार ३ सय ९७ मत रहेको छ । अर्थात यहाँ महरालाई आफ्नो जित निकाल्न कुनै कठिनाइ नहुने देखिन्छ ।  
 
४. गोपालमान श्रेष्ठ स् स्याङ्जा २
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं. २ बाट वाम गठबन्धनकी नेतृ पदमा अर्यालसँग प्रतिस्पर्धा गर्दैछन् । 
गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ३१ हजार ७ सय २९, नेकपा एमालेले ३१ हजार २५, माओवादीले ४ हजार १ सय १३, राप्रपाले ७ सय ९ मत पाएका थिए । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा ३५ हजार १ सय ३८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३२ हजार ४ सय ३८ मत रहेको छ । यहाँ वाम गठबन्धन २७ सय मतले अगाडि रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप