शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

शुक्रबार, २७ असोज २०७४, १४ : २५
शुक्रबार, २७ असोज २०७४

काठमाडौं– मङ्सिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउन २ दिन मात्र बाँकी रहेको छ ।

आयोगले असोज २९ गतेका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्यतालिका बनाएसँगै उम्मेदवार छनौटका लागि राजनीतिक दलहरू व्यस्त रहेका छन् । पाँच वर्षमा हुन लागेको चुनावपछि आफ्नो वर्चस्व कायम गर्न दलहरूबीच रस्साकस्सी र जोडघटाउ चलिरहेको छ । दलहरू आफ्नो शक्ति आर्जनका लागि तीव्र रूपमा ध्रुवीकरण भइरहेका छन् ।

धेरैजसो फुट प्रक्रियामा रमाउँदै आएका राजनीतिक दलहरू अहिले एकीकरण तथा ठूला दलमा विलय भइरहेका छन् । साथै उनीहरूले गठबन्धन बनाएर आफ्नो शक्तिलाई कडा बनाएर चुनावी मैदानमा भिड्ने योजनाका साथ तयारी गरिरहेका छन् ।
 
प्रदेश नं. १ का १४ जिल्लामा वाम गठबन्धन र नेपाली काङ्ग्रेसको यस्तो छ अवस्था :

प्रदेश नम्बर १ को ताप्लेजुङमा एमालेले २० हजार ५ सय ५१, नेपाली काङ्ग्रेसले १९ हजार ५ सय ७२, माओवादी केन्द्रले ४ हजार ३ सय ६६, नयाँ शक्तिले ८८, राप्रपाले ३७ र सङ्घीय लोकतान्त्रिक मञ्चले १२ सय ७ मत पाएको थियो ।

ताप्लेजुङमा बाम गठबन्धनले पाएको मत जोड्दा २४ हजार ९ सय १७ हुन्छ, जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ५ हजार ३ सय ४५ मत बढी हुन्छ । प्रत्यक्ष निर्वाचनतर्फ एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा आफ्नो विजय निकाल्न काङ्ग्रेसले ६ हजार नयाँ मतदाता तान्नुपर्ने देखिन्छ ।

प्रदेश र केन्द्रका चुनावका लागि ताप्लेजुङमा अहिले ७८ हजार ४ सय ११ मतदाता छन् ।

पाँचथरमा गठबन्धनले ४० हजार ४ सय १८ मत ल्याएको थियो भने नेपाली काङ्ग्रेसले २७ हजार ७ सय ७६ मत ल्याएको थियो । एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा काङ्ग्रेसभन्दा १२ हजार ६ सय ४२ मतले गठबन्धन दल अगाडि छ । यहाँ काङ्ग्रेसले अन्य दलको सहयोग लिए पनि यहाँ जित निकाल्न मुस्किल पर्ने देखिन्छ ।

प्रदेश र केन्द्रका चुनावका लागि पाँचथरमा अहिले १ लाख २५ हजार २ सय २२ मतदाता छन् ।

इलाममा एमाले माओवादी गठबन्धनको मत जोड्दा ७० हजार ६ सय ३९ मत छ भने नेपाली काङ्ग्रेसको ५२ हजार ९३ छ । यहाँ १८ हजार ५ सय ४६ मतले गठबन्धन अगाडि छ ।

प्रदेश र केन्द्रका चुनावका लागि इलाममा अहिले २ लाख ८ हजार ५० मतदाता छन् ।

झापामा बाम गठबन्धनको कूल मत १ लाख ७८ हजार ९ सय ८७ मत छ भने नेपाली काङ्ग्रेसको १ लाख १४ हजार ८ सय १ मत छ । गठबन्धन दलभन्दा काङ्ग्रेस ६४ हजार १ सय ८६ मतले पछाडि छ ।

प्रदेश र केन्द्रका चुनावका लागि झापामा अहिले ५ लाख ८५ हजार २ सय २२ मतदाता छन् ।
 
सङ्खुवासभामा बाम गठबन्धनको कूल मत ३३ हजार ६ सय ९१ छ भने नेपाली काङ्ग्रेसको २७ हजार ४ सय ६१ मत छ । यहाँ काङ्ग्रेसको भन्दा ६ हजार २ सय ३० बढी मत बाम गठबन्धनको पक्षमा छ ।

प्रदेश र केन्द्रका चुनावका लागि सङ्खुवासभामा  अहिले १ लाख ५ हजार ११  मतदाता छन् ।

तेह्रथुममा बाम गठबन्धनको कूल मत २१ हजार १ सय ७९ मत छ भने नेपाली काङ्ग्रेसको १८ हजार ४ सय ३१ मत छ । यहाँ २७४८ मतले गठबन्धन दल अगाडि छ ।

प्रदेश र केन्द्रका चुनावका लागि तेह्रथुममा अहिले ६६ हजार ७ सय ४१ मतदाता छन् ।

भोजपुरमा बाम गठबन्धनको ३८ हजार ४ सय ५४ मत छ भने नेपाली काङ्ग्रेसको २० हजार ५ सय ६१ मत रहेको छ । बाम गठबन्धनको काङ्ग्रेसको भन्दा १७ हजार ८ सय ९३ मत बढी छ ।

प्रदेश र केन्द्रका चुनावका लागि भोजपुरमा अहिले १ लाख १३ हजार ८ सय ९६ मतदाता छन् ।

धनकुटामा बाम गठबन्धनको ३९ हजार ९ सय ८६ मत छ भने नेपाली काङ्ग्रेसको १८ हजार १ सय ३२ मत छ, जुन बाम गठबन्धनको भन्दा २१ हजार ८ सय ५४ मत हो  ।

प्रदेश र केन्द्रका चुनावका लागि धनकुटामा अहिले १ लाख ५ हजार १ सय ९९ मतदाता छन् ।

मोरङमा वाम गठबन्धनको १ लाख ७३ हजार ९ सय २६ मत छ भने नेपाली काङ्ग्रेसको १ लाख ३२ हजार २ सय ९० मत रहेको छ । जुन गठबन्धन दलको भन्दा ४१ हजार ६ सय ३६ मत कम हो ।

प्रदेश र केन्द्रका चुनावका लागि मोरङमा अहिले ६ लाख ४४ हजार ७ सय ८५ मतदाता छन् ।

सुनसरीमा गठबन्धन दलको १ लाख २६ हजार २ सय ६२ मत छ भने नेपाली काङ्ग्रेसको ९६ हजार ९ सय ८० मत रहेको छ । यहाँ नेपाली काङ्ग्रेसको भन्दा गठबन्धन दलको २९ हजार २ सय ८२ मत बढी छ ।

प्रदेश र केन्द्रका चुनावका लागि सुनसरीमा अहिल ४ लाख ७४ हजार ३ सय मतदाता छन् ।

सोलुखुम्बुमा बाम गठबन्धनको २२ हजार ४३ मत छ भने नेपाली काङ्ग्रेसको १२ हजार ७ सय १८ मत छ । काङ्ग्रेसको मत बाम गठबन्धनको भन्दा ९ हजार ३ सय २५ बढी हो ।

प्रदेश र केन्द्रका चुनावका लागि सोलुखुम्बुमा अहिले ६९ लाख ४ सय २२ मतदाता छन् ।

खोटाङमा बाम गठबन्धनको ४१ हजार ४ सय ८० मत छ भने नेपाली काङ्ग्रेसको २२ हजार ७ सय ९३ मत छ, जुन बाम गठबन्धनको भन्दा १८ हजार ६ सय ८७ मत कम हो ।

प्रदेश र केन्द्रका चुनावका लागि खोटाङमा अहिले १ लाख २५ हजार १ सय ७८  मतदाता छन् ।

ओखलढुङ्गामा बाम गठबन्धनको ३३ हजार ६ सय १२ मत छ भने नेपाली काङ्ग्रेसको २६ हजार १ सय ५ मत रहेको छ । गठबन्धनको भन्दा नेपाली काङ्ग्रेसको ७ हजार ५ सय ७ मत कम छ ।

प्रदेश र केन्द्रका चुनावका लागि ओखलढुङ्गामा अहिले १ लाख २ हजार २ सय ६३  मतदाता छन् ।

उदयपुरमा बाम गठबन्धनको ६८ हजार ९ सय ९७ मत छ भने नेपाली काङ्ग्रेसको ३७ हजार ३ सय ५६ मत छ । उदयपुरमा गठबन्धन दल नेपाली काङ्ग्रेस भन्दा ३१ हजार ६ सय ४१ मतले अगाडि छ ।  

प्रदेश र केन्द्रका चुनावका लागि उदयपुरमा अहिले १ लाख ९३ हजार ९ सय १३  मतदाता छन् ।

समग्रमा प्रदेश नं. १ मा यस्तो छ दलहरूले पाएको मतको अवस्था

हामीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरूले पाएको मत परिणामको विश्लेषणको आधारमा उनीहरूले आगामी निर्वाचनमा ल्याउन सक्ने परिणामको आँकलन गरेका छौँ । स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरूले १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा पाएको कूल मत परिणाम यस्तो छ :

नेकपा एमाले : ६ लाख ६० हजार २६ प्रतिशत : ३७ दशमलव ९७
नेपाली काङ्ग्रेस : ६ लाख २७ हजार ६९  प्रतिशत : ३६ दशमलव ०७
माओवादी केन्द्र : २ लाख ५० हजार ४ सय ५९  प्रतिशत : १४ दशमलव ४१   
राष्ट्रिय प्रजातन्त्र पार्टी : ६१ हजार ७ सय ६६  प्रतिशत : ३ दशमलव ५५
सङ्घीय समाजवादी फोरम : ५८ हजार १ सय २७ प्रतिशत :  ३ दशमलव ३४
फोरम लोकतान्त्रिक : ४६ हजार ७ सय ४६  प्रतिशत : २ दशमलव ६८
सङ्घीय लोकतान्त्रिक मञ्च : ४ हजार ८ सय ३१  प्रतिशत :० दशमलव २७
नयाँ शक्ति : ४ हजार २ सय ७१ प्रतिशत : ० दशमलव २४

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश नं. १ का १४ जिल्लामा खसेको कूल सदर मत १७ लाख ३८ हजार ६४ मतमध्ये नेकपा एमालेले ६ लाख ६० हजार २६ मत ल्याएको छ । उसले झन्डै ३८ प्रतिशत मत ल्याएको छ । यस्तो दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसले ६ लाख २७ हजार ६९  मतसहित ३६ दशमलव ०७ मत ल्याएको छ । यो नेकपा एमालेको भन्दा झन्डै २ प्रतिशत कम मत हो ।

यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ लाख ५० हजार ४ सय ५९ मत ल्याएको छ । यो १४ दशमलव ४१ प्रतिशत मत हो । यस्तै चौथो स्थानमा    राष्ट्रिय प्रजातन्त्र पार्टीले ६१ हजार ७ सय ६६  मत ल्याएको छ । यो ३ दशमलव ५५ मत हो । यस्तै सङ्घीय समाजवादी फोरम नेपालले ५८ हजार १ सय २७ मत ल्याएको छ । यो ३ दशमलव ३४ प्रतिशत मत हो ।

यस्तै  फोरम लोकतान्त्रिकले २ दशमलव ६८ प्रतिशत अर्थात ४६ हजार ७ सय ४६ मत ल्याएको छ भने सङ्घीय लोकतान्त्रिक मञ्चले ० दशमलव २७ प्रतिशत अर्थात ४ हजार ८ सय ३१  प्रतिशत मत ल्याएको छ । नयाँ शक्ति नेपालले भने ४ हजार २ सय ७१ अर्थात ० दशमलव २४ मत ल्याएको छ ।

कति हुन्छ बाम गठबन्धनको मत ?
प्रदेश नं. १ मा बाम गठबन्धनका ३ दल नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालको मत कूल मत जोड्दा ९ लाख १४ हजार ७ सय ५६ हुन्छ । यो ५२ दशमलव ६३ प्रतिशत हुन्छ । यस आधारमा बाम गठबन्धन बीच पार्टी एकीकरण भयो भने नेपाली काङ्गे्रस दोस्रो दल बन्ने छ ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबन्धनले अझै पूर्णता पाएको छैन । नेपाली काङ्ग्रेससँग अन्य दलले गठबन्धन बनाउने हो भने प्रदेश नं. १ मा राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक र सङ्घीय लोकतान्त्रिक मञ्चसँग हुन सक्नेछ । काङ्ग्रेससँग मिल्ने सम्भावना रहेका यी दलहरूसँग १० प्रतिशत हाराहारीमा मत रहेको छ । यद्यपि यी दलहरूसँग नेपाली काङ्ग्रेसको गठबन्धन बन्नेमा अझै निश्चित भएको छैन ।
 
यो पनि पढ्नुहोस्

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

 

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप