मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

सोमबार, २७ कात्तिक २०७४, १६ : ५५
सोमबार, २७ कात्तिक २०७४

काठमाडौँ । सर्लाहीको आफ्नो चुनावी क्षेत्र छाडेर धनुषा पुगेपछि राजेन्द्र महतोको यो निर्णयमाथि तराई–मधेशमा बहस छ । केही प्रश्न छन् मतदातासँग, जस्तो कि, किन सर्लाही छाडे, किन धनुषा गए र धनुषामा बिमलेन्द्र निधिलाई हराउलान् ?

यी सवै प्रश्नको उत्तर मंसिर २१ गते हुने प्रतिनीधिसभाको चुनावबाट मिल्ने नै छ । तर, त्यस अगाडि महतोको कदमबारे मधेशमा देखिएको विमर्श सुन्न र पढ्न लायक छ ।

महतोलाई ननिकबाट जान्नेहरु महतोले आफू जित्ने सुनिश्चितताका लागि सर्लाही छाडेका हुन् । तर, उनका लागि अहिले धनुषा–३ पनि त्यति सजिलो छैन । कतिपय मान्छन् कि ‘निधिलाई हराउनु महतोका ‘फलामको च्युरा चपाउनु सरह’  छ । तर, राजनीतिमा असम्भव चाहीँ केही हुँदैन ।’

राजेन्द्र महतो धनुषा गए किन ? महतोसँग नजिक बसेर काम गरेका राजपाका एक नेता भन्छन्, ‘राजेन्द्रजी जातीय मत र मधेश आन्दोलनको प्रभावबाट सहजै चुनाव जित्न सकिने आँकलन गरी धनुषा पुगेका हुन् । त्यो क्षेत्र पनि सहज छैन । महतोले भावनामा बगेर हतारमा निर्णय लिएका छन् ।’

राजेन्द्र महतोको घर रहेको बबरगञ्ज सर्लाही–१ मा पर्छ । यसपाली यहीँ क्षेत्रबाट पनि राजेन्द्रले बाजी मार्न सक्ने सम्भावना थियो । टेलिफोन सम्पर्कमा आएका राजपाका सर्लाहीका एक जिल्ला नेताको भनाई छ, ‘यहाँ मेहनत गरेको भए जित्ने सम्भावना हुनसक्थ्यो । तर, धनुषा–३ मा गएपनि निधिसँगको लडाई त्यति सजिलो नहोला ।’

धनुषा–३ मा काँग्रेसका नेता निधिसँग प्रतिस्पर्धा गरिरहेका महतोले सर्लाही छाड्न नहुने प्रतिकृया सर्लाहीका केही मतदातामा देखिन्छ ।
 
सर्लाहीमा महतोको अवस्था कस्थो थियो ?

२०६४ सालको सविधानसभा चुनावमा सर्लाही–४ बाट महतोले चुनाव जितेका थिए । दोस्रो सविधानसभा चुनावमा उनी त्यहीँबाट हारे खाए ।
 
तराई–मधेशमा जातीय समीकरण र भोट चुनाव हारजीतको फ्याक्टर बन्ने गरेको छ । यसैको फाइदा पहिलो संविधानसभामा महतोलाई मिलेको सर्लाहीका राजनीतिक कार्यकर्ताहरु मान्छन् ।
 
२०६४ मा तत्कालिन तराई मधेश लोकतान्त्रिकबाट रामचन्द्र राय, मधेशी जनअधिकार फोरम नेपालबाट रामेश्वरराय यादव र सद्भावना पार्टीबाट राजेन्द्र महतो चुनाव लडेका थिए ।
 
‘दुईजना यादव चुनावमा नउठेको भए पहिलो संविधानसभामा महतोलाई जित्न कठिन हुने थियो । यादव जातीको भोट दुईजनामा बाँडिएपछि राजेन्द्र महतोलाई फाइदा भयो । साहुहरुको मतबाट उनले चुनाव जिते ।’
 
त्यसबेला खसेको ५२ हजार ३६५ मतमध्ये १७ हजार ७३ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी रामचन्द्रराय यादवले आठहजार ७५२ मत र रामेश्वर राय यादवले छ हजार ९३९ मत प्राप्त गरेका थिए ।
 
पहिलो संविधानसभामा झन्डै १० हजार मतले चुनाव जितेका महतोले त्यहीँ क्षेत्रबाट दोस्रो संविधानसभाको चुनावमा चाहिँ हार व्यहोर्नुपर्यो ।
 
यसका पछाडि पनि जातीय समीकरणले काम गरेको मानिन्छ । त्यसबेला तत्कालिन तराई मधेश सद्भावना पार्टीबाट महेन्द्रराय यादव र एमालेबाट राजनारायण साह र सद्भावना पार्टीबाट राजेन्द्र महतोले उम्मेदवारी दिएका थिए ।
 
साहुबाट दुईजना उम्मेदवार भए । यसको असर राजेन्द्र महतो पराजित भए । यादवका एक्ला उम्मेदवार महेन्द्रराय यादव विजय भए ।
 
यहाँको जातीय भोटको समीकरण हेर्दा पहिलो संविधानसभा चुनावमा दुईजना यादव जातीका नेता भिडे । साहु जातीबाट एक्ला उम्मेदवार महतोले जिते र दोस्रो सविधानसभा चुनावमा दुईजना साहु उम्मेदवारको फाइदा यादव जातीबाट चुनाव लडेका महेन्द्रराय यादवलाई भयो ।
 
दोस्रो संविधानसभा चुनावमा खसेको ४४ हजार ५९५ मतमध्ये राजेन्द्र महतोले आठ हजार ३४८ मत मात्र पाएका थिए । राजनारायण साहले पनि आठ हजारभन्दा माथि नै मत पाएका थिए । अर्थात राजेन्द्र महतोले पहिलो संविधानसभा चुनावमा पाएको १७ हजार मत नै यी दुईजनामा बाँडियो ।
 
धनुषामा राजेन्द्र महतोको हिसाब कस्तो ?
 
यसरी पहिला देखि जातीय हिसाब–किताब गरेर बसेका राजेन्द्र महतो त्यहीँ आँकलनको आधारमा धनुषा हानिए । धनुषामा जुन क्षेत्रमा उनी गएका छन्, त्यहाँ साहु महाजनको बर्चस्व छ ।

२०५२ सालको चुनावमा मात्र होइन, २०६४ र २०७० मा भएको संविधानसभा चुनावमा साहु समुदायबाट चुनाव जितेको इतिहास छ । दुईटै सविधानसभा चुनावमा संजय साह (जो अहिले जेलमा छन्) ले चुनाव जितेका थिए ।
 
असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा पनि साहु समुदायबाट लालकिशोर साह चुनाव जितेका छन् । राजपा नेपालकै लालकिशोर साह जनकपुर उपमहानगरपालिकामा चुनाव जितेपछि राजेन्द्र महतो झन् उत्साहित भएका हुन् । र, जातीय मतबाट जित्न सकिने आँकलनसहित काँग्रेस नेता विमलेन्द्र निधिलाई टक्कर दिने सोच बनाए ।
 
तर, राजेन्द्र महतोले सोचेको जस्तो जातीय समिकरण नहुन सक्छ, धनुषा–३ मा । सो क्षेत्रमा विदेह नगरपालिका (नौ नम्बर वडा मात्र), धनौजी गाउँपालिका, नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाँउपालिका, जनकपुर उपमहानगरपालिका (२५ वडामध्ये १७ वटा वडा मात्र) गरी पाँचवटा स्थानीय तह रहेका छन् ।
 
त्यसमध्ये जनकपुर उपमहानगरपालिकामा मात्र राजपाले जितेको छ । दुईटा काँग्रेस र एउटा एमाले तथा अर्को माओवादीले जितेको छ । धनौजी गाउँपालिकामा काँग्रेसका बद्री नारायण सिंह र नगरनाइन नगरपालिकामा प्रमेश्वर यादवले जितेका छन् ।
 
धनौजी गाउँपालिकाको पाँचवटा वडामा ११ हजार ३३६ मतदाता छन् । यहाँ पाँचवटा वडामध्ये काँग्रेसले दुईटा वडा जितेको छ भने राजपा, एमाले, र फोरमले एक–एकवटा वडा जितेका छन् ।
 
त्यहाँ राजपा नेपालका एकजना वडा अध्यक्षले जितेका छन्, उनी पनि साह जातीका हुन् । काँग्रेसले एकजना साह र अर्को साफी समुदायबाट जिताएको छ । फोरमले केवट र एमालेले मण्डललाई जिताएको छ ।
 
नगराइन नगरपालिकाको नौवटा वडामा १८ हजार ६७७ मतदाता छन् । यो नगरपालिकामा राजपा नेपालले एउटा पनि वडा जितेको छैन । यहाँ नौ वडामध्ये काँग्रेसले ५ र एमालेले चार वडा जितेका छन् ।   

राजपाले मेयर जितेको जनकपुर उपमहानगरपालिकाको १७ वटा वडा (जो तीन नम्बरमा पर्छ) मा ५९ हजार ८४१ मतदाता छन् । राजपा नेपालले १०, काँग्रेसले ६ र स्वतन्त्रले एउटा वडा जितेको छ ।

यहाँ जातीय हिसाब गर्ने हो भने राजपा नेपालले १० जना वडा अध्यक्षमध्ये सातजना साह समूदायबाट नै जिताएको छ । बाँकी तीनजनामा एकजना राजपूत, एकजना ब्राहमण र अर्को कायस्थ छन् ।
 
तर काँग्रेसका छजनामध्ये एकजना मात्र साह समुदायबाट जितेका छन् भने दुईजना यादव र एक–एकजना कायस्थ, चौधरी र पाण्डे रहेका छन् ।
 
एकजना स्वतन्त्र वडा अध्यक्ष साह थरकै हुन् । जनकपुर उपमहानगरपालिकाको १७ वटा वडामा कडा प्रतिस्पर्धा छ ।
 
यद्यपी यहाँ संजय साह (टकला) ले साथ दिएको कारण साहु महाजनको मत आउने विश्वास काँग्रेसले लिएको छ । दुई दिनअघि राजपा नेपाल र संजय साह पार्टीका केही नेता काँग्रेसमा प्रवेश गरेका छन् ।   
 
एमालेका मनोज यादवले जितेका मुखिया गाउँपालिकामा छवटा वडा छन् । जहाँ १३ हजार ६१६ मतदाता छन् । यो गाउँपालिकामा एमालेले नै कब्जा जमाएको छ । छवटा वडामध्ये एमालेले पाँचवटा जितेको छ भने एउटा स्वतन्त्र जितेको छ ।
 
माओवादी केन्द्रका वेचन दासले जितेको विदह नगरपालिकामा नौवटा वडा रहेका छन् जहाँ १७ हजार ६०३ मतदाता रहेका छन् । यो नगरपालिकाको नौ नम्बर वडा मात्र तीन नम्बर क्षेत्रमा परेको छ । जुन वडा माआवादी केन्द्रका राजकिशोर मण्डलले जितेका छन् ।
 
धनुषा–३ मा ३८ वटा वडा छन् । जसमा राजपा नेपालले ११ वटा वडा जितेको छ । काँग्रेसले १३, एमाले १० र माओवादी केन्द्र १, फोरम नेपाल १, स्वतन्त्र २ वटा वडा जितेका छन् । अर्थात मतकै हिसाब गर्ने हो भने त्यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन बराबर अवस्थामा छ ।
 
तर क्षेत्रमा काँग्रेस र राजपा–फोरमको प्रतिस्पर्धा देखिएको हुनाले काँग्रेस मतमा अगाडि देखिन्छ ।
 
यदि वाम गठबन्धनले आफ्नो मत आफ्नैमा हाल्यो भने राजपा–फोरम र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुनेछ ।
 
२१ गतेको मतदापछि राजेन्द्र महतोको धनुषा–३ मा जाने निर्णय ठिक वा बेठिक ? उत्तर पनि आउनेछ ।
 
क्षेत्रको मतदाता तथ्यांक
जकपुर उपमहानगरपालिका
मेयर–लालकिशोर साह, राजपा
वडा–१७ (राजपा–१०, काँग्रेस–६ र स्वतन्त्र–१)
मतदाता–५९८४१ (नयाँ यसमा छैन)
 
विदेह नगरपालिका
मेयर–बेचन दास, माआवादी केन्द्र
वडा–एउटा मात्र (माआवादी)
मतदाता–२३३८
 
नगरराइन नगरपालिका
मेयर–परमेश्वर यादव, काँग्रेस
वडा– नौ (काँग्रेस–५ र एमाले–४)
मतदाता–१८६७७
 
धनौज गाउँपालिका
अध्यक्ष–बद्रीनारायण सिंह, काँग्रेस
वडा–पाँच (काँग्रेस–२, एमाले–१, राजपा–१ र फोरम–१)
मतदाता–११३३६
 
मुखियापट्टी मुसहरनियाँ गाउँपालिका
अध्यक्ष–मनोजकुमार यादव
वडा–६ (एमाले–५ र स्वतन्त्र–१)

निधि र साहको यो दोस्ती राजेन्द्र महतोका लागि कति खतरानक छ ? जान्नका लागि पढ्नुहोस् यो समाचार : महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

महतोपनि गएका थिए जेल : सञ्जय साहको आशिर्वाद लिन राजेन्द्र महतो पुगे डिल्लीबजार जेलमा

विमलेन्द्रलाई जेलबाट ‘टक्ला’ को आर्शीवाद !

स्थानीय तहको चुनावमा रातोपाटीले जनकपुर ग्राउन्ड जिरोमा पुगेर गरेको समाचार : जनकपुरको चुनाव : जेलमा रहेका संजय ‘टकला’ यसरी बन्न सक्छन् निर्णायक

रातोपाटीको समाचार पुष्टी हुने गरी आएको जनपुर उपमहानगरपालिकाको नतिजा : जनकपुरमा काँग्रेस किन फेल ? संजय टकलाको मत नै भयो निर्णायक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप