रातोपाटी @ ब्याटल ग्राउन्ड : पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

तेजेन्द्र के.सी.
बुटवल । पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारी रूपन्देहीको ४ बाट चुनाव लडेका छन् । पटक–पटक पार्टी परिर्वतन गर्दै चुनावको मुखमा आएर वाम गठवन्धबाट मैदान उत्रेका छन् । १३ कात्तिकमा राजपाका वरिष्ठ उपाध्यक्ष छाडेर पूर्वमन्त्री गुल्जारी नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।
राजपाबाट टिकट नपाउने भएपछि उनी उम्मेदवारी दर्ताको तीन दिनअघि मात्रै एमाले प्रवेश गरेका थिए । अहिले उनी मर्चवार क्षेत्रमा चुनावी अभियानमा छन् ।
उनी जस्तै पार्टी प्रवेश गरेर चुनाव लड्नेहरूको सूचीमा छन्– कपिलवस्तु ३ मा अभिषेक प्रताप साह, सोही ठाउँमा ईश्वर दयाल मिश्र, नवलपरासी १ बाट हृदयेश त्रिपाठी ।
प्रतिनिधिसभा सदस्य यी नेताले पुरानो घर छाडेर नयाँ घरबाट आफ्नो राजनीतिक यात्रा खोजेका हुन् । नयाँ घरबाट चुनावी जुवा खालमा हामफालेका नेता कति सुरक्षित छन् ? चुनाव हारे उनीहरूको भविष्य के होला ?
पार्टी प्रवेश गरी चुनावी मैदानमा उत्रेका नेताहरूले जित्लान् या हार्लान्, धेरैले चासो राखेका छन् । चिया पसलदेखि सनातिना पार्टी वैकठमा समेत चर्चा हुने गरेको छ ।
त्रिपाठी ठाकुरलाई छाडेर सूर्यको तापमा
नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हृदयेश त्रिपाठी राजपा छाडेर सूर्य चुवान चिन्हका साथ चुनावी मैदानमा छन् । राजपा छोडेर त्रिपाठी स्वतन्त्र समूहको नाममा एमालेसँग मिलेर चुनावमा उठेका हुन् ।
सत्ता राजनीतिको वरिपरि रमाउन चाहने नेता त्रिपाठी राजपाबाट चुनाव लड्दा हार्ने डरले सुरक्षित हुन वाम गठबन्धनबाट चुनावमा भिडेका हुन् । पूर्वमन्त्री समेत रहेका त्रिपाठी पार्टी प्रवेश नगरे पनि सूर्य चिन्ह प्रिय लागेको हो । त्रिपाठीले चुनावी भाषणमा वाम गठबन्धनले नै देशको नेतृत्व गर्ने भन्दै मत माग्ने गरेका छन् ।
मधेस विरोधी पार्टीको आरोप लगाउने त्रिपाठी एमालेकै चुनाव चिन्हमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएपछि राजपा समर्थित नेता कार्यकर्ताले त्रिपाठीको चर्को आलोचना गरेका छन् । यसअघि काङग्रेसका देवकरण प्रसाद कलवारसँग त्रिपाठीले चुनाव हारेका थिए । अहिले पनि पुनः उनै कलवारसँग त्रिपाठीले प्रतिस्पर्धा गर्नेछन् । स्थानीय तहको चुनावमा वाम गठबन्धनको पक्षमा २५ हजार १ सय ९७ मत खसेको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ३ सय ४२ मत खसेको थियो । यस आधारमा यहाँ वाम गठबन्धन ८ सय ५५ मतले अगाडि रहेको छ ।
शुक्ला पुरानै, गुल्जारी र यादव नवप्रवेशी
राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष छाडेर रूपन्देही ४ मा एमालेबाट चुनाव लडेका पूर्वमन्त्री ओमप्रकाश यादव अहिले सूर्यचिन्ह अङ्कित झन्डा फहराउँदै मर्चवार घुमिरेहका छन् ।
चुनाव जित्नैकै लागि पार्टी छाड्ने गरेका गुल्जारीका लागि यसपटक भने चुनौतीको चाङमा छन् । विगतदेखि नै मधेस केन्द्रित दलले यो क्षेत्रमा जित्दै आएका छन् । यो क्षेत्रमा राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाको दबदबा रहेको क्षेत्र हो ।
प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही ४ मा वाम गठबन्धनबाट गुल्जारी, नेपाली काङ्ग्रेसका प्रमोद यादव र राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाबीच त्रिपक्षीय भिडन्त हुँदैछ ।
काङ्ग्रेसका यादव पनि हालसालै काङ्ग्रेस प्रवेश गरी टिकट पाउने नेता हुन् । यादवलाई प्रवेश गराउन प्रधानमन्त्री एवंम् पार्टी सभापति शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा. सशाङ्क कोइरालालगायतका दर्जनभन्दा बढी नेता एकैपटक रूपन्देही आएका थिए ।
व्यवसायमा आबद्ध यादव राजनीतिमा नयाँ अनुभव भएका कारण त्यति सजिलो छैन । पूर्वमन्त्रीद्वय शुक्ला र गुल्जारीसामु यादवलाई चुनाव जित्नु फलामको चिउरा चपाउनु जतिकै हुनेछ ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले १० हजार ५ सय ९, एमालेले २ हजार ३ सय ९, माओवादी केन्द्रले २ हजार २ सय ६४, सङ्घीय समाजवादी फोरमले १० हजार २ सय ६६, राप्रपाले १० हजार २ सय ६६ र फोरम लोकतान्त्रिकले ७ हजार ८ सय १ मत पाएका थिए । यो मतका आधारमा यहाँ लोकतान्त्रिक गठबन्धन अन्तर्गतको नेपाली काङ्ग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको मत जोड्दा २० हजार २ सय ८ मत छ ।
यस्तै एमाले र माओवादीको वाम गठबन्धनको ४ हजार ५ सय ७३ मत छ । यस्तै सङ्घीय समाजवादी फोरमको १० हजार २ सय ६६ मत छ । स्थानीय तहको दोस्रो चरणमा रूपन्देहीमा चुनावमा भएकाले राजपा चुनावमा सहभागी नभएका कारण उसको मत देखिएको छैन । यस अर्थमा यहाँ वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धन १५ हजार ६ सय ३५ मतले अगाडि रहेको छ । यो क्षेत्रमा राजपाको मत कति छ भन्ने आधार नभएको र समाजवादी फोरमको १० हजार हाराहारी मत रहेकाले यहाँ मुख्य रूपमा मधेसी मोर्चा र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
नवप्रवेशी अभिषेक र दयालबीच भिडन्त
फोरम उपमहासचिव छाडेर नेपाली काङ्ग्रेसम प्रवेश गरेका नेता कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाह । पुख्र्यौली राजनीतिक वातावरणमा हुर्किएका शाह ६४ र ७० सालमा कपिलवस्तुबाट संविधानसभा सदस्य चुनाव जितेका थिए ।
२०६४ सालामा सबैभन्दा कम उमेरमा संविधानसभा सदस्य निर्वाचित भएपछि अभिषेकको चर्चित भएका थिए । उनी अजयप्रताप शाहका छोरा हुन् । अजयप्रतापले राप्रपाबाट २०५६ सालमा सोही क्षेत्रबाट चुनाव जितेका थिए । सम्पत्तिका हिसाबले सम्पन्न शाह शक्तिकेन्द्रमा आफ्नो प्रभुत्व कायम राख्न चाहन्छन् । फोरमबाट चुनावमा टिकट नपाउने भएपछि उनी काङ्ग्रेस प्रवेश गरेका हुन् ।
उनै नवप्रवेशी शाहसँग भिड्दैछन्– राजपा छाडेर सूर्यको ओत लगाउँदै ईश्वर दयाल मिश्र । राजपा छाडेर वामपन्थीहरूको साथ लिएका मिश्र २०४९ सालमा कुसुहवा गाविसवाट अध्यक्ष हँुदै उदाएका हुन् । भारतको लखउनबाट स्नातक गरका मिश्राले ६४ सालमा तमलोपाबाट संविधानसभाका सभासद बनेका थिए ।
बाबुराम भट्टराईको पालमा भौतिक निमार्ण तथा योजना राज्य मन्त्री बनेका मिश्र सत्ताराजनीतिकै वरिपरि बस्न चाहन्छन । मतदातसँग छुट्टै परिचय बनाएका मिश्रले वामपन्थीहरूको साथ पाएपछि बलियो प्रतिस्पर्धी बनेका छन् । गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले १४ हजार ९ सय ९८, एमालेले १५ हजार ५ सय ७८, माओवादीले ६ हजार ८ सय ९८, राप्रपाले ४ हजार १ सय १८ र समाजवादी फोरमले ९ हजार १ सय ८० मत ल्याएको थियो । यहाँ लोकतान्त्रिक गठबन्धनको पक्षमा १९ हजार १ सय १६ मत रहेको छ भने वाम गठबन्धनको पक्षमा २२ हजार ४ सय ७६ मत रहेको छ ।
यहाँ ३ हजार ३ सय ६० मतले वाम गठबन्धन अगाडि रहे पनि यसअघि समाजवादी फोरममा रहेका र स्थानीय स्तरमा प्रभाव छोडेका युवा नेता अभिषेक प्रतापले राम्रो मत पाउने अनुमान गर्न सकिन्छ । यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
कपिलवस्तु २ का अर्का नवप्रवेशी गुप्ता
राजपको स्थानीय तहमा निर्वाचन बहिस्कार निणर्यविरुद्ध उभिएका नेता हुन् बृजेशकुमार गुप्ता । हृदयेश त्रिपाठीसँगै स्वतन्त्रको नाममा वाम गठबन्धनको टेकोमा कपिलवस्तु क्षेत्र नम्बर २ बाट चुनावमा भिड्दैछन् ।
गुप्ता पुख्र्यौली राजनीतिबाट उदयाएका हु्न । ०३८ र ४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित उनका बुबा भगवान दास गुप्ता देहन्तपछि राजनीतिकर्मी भए । इन्जिनियरिङ अध्ययन गरेको गुप्ता २०५६ सालको संसदीय निर्वानमा विजयी भई आफ्नो राजनीति सुरु गरेका थिए । त्यसपछि मधेस आन्दोलनको अगुवाइ नै गरेका थिए ।
गुप्ता कपिलवस्तु ३ बाट ६४ र ७० मा निर्वाचित भएका थिए भने उनले कानुन मन्त्री जिम्मेवारी समालेको अनुभव छ । उनले काङ्ग्रेसका सुरेन्द्रराज आर्चाय र समाजवादी फोरमका रामनरेस यादवको सामना गर्नुपर्नेछ । प्रचण्ड नेतृत्वको सरकारमा सिंचाइ राज्यमन्त्री बनेका नेपाली काङ्ग्रेसका आचार्यले गुप्तालाई कडा टक्कर दिँदैछन् ।
गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले २५ हजार ३ सय २९, एमालेले १२ हजार ३ सय ८९, माओवादीले ३ हजार ४ सय ३५, राप्रपाले २ हजार २ सय ७१ र समाजवादी फोरमले २ हजार ६ सय २९ मत ल्याएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा १५ हजार ८ सय २४ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २७ हजार ६ सय मत रहेको छ । अर्थात वाम गठबन्धन ११ हजार ७ सय ७६ मतले अगाडि रहेको छ ।
ठूला पार्टीले किन खोजे मधेसी नेता
स्थानीय तहको चुनावपछि एकाएक नेपालको राजनीति वाम र लोकतान्त्रिक गठबन्धनले धु्रवीकृत भयो । पार्टी एकीकरणदेखि तालमेल गरेका एमाले, माओवादी र काङ्ग्रेस र फोरम लोकतान्त्रिक एकीकरणले स्थानीय स्तरमा आफ्नो पकड बनाएका नेताहरूलाई कुनै कित्ता समात्न बाध्य बनायो ।
मधेस केन्द्रित दलमा संविधान संशोधनको आन्दोलनले थकित पारेको थियो । चुनावमा भाग लिने कि नलिने भन्ने विषयले विवाद लिएपछि एकअर्काविरुद्ध आलोचनामा उत्रेका राजपाका नेताहरूबीच अन्तत चुनावमा जाने भए । त्यसरी चुनावमा जाँदा एकातिर वाम र अर्कोतिर लोकतान्त्रिक गठबन्धनको सामना गर्नुपर्ने भएपछि सत्ता र शक्तिमा बस्न रुचाउने नेतालाई छटपटी भयो ।
पार्टी छाड्ने अधिकांश नेताहरू जसरी पनि आफैले टिकट पाउनुपर्ने र जित्न चाहने नेता भएकाले पार्टी नै छाड्ने गरेका हुन् । काङ्ग्रेस एमाले र माओवादीले मधेसमा विगतदेखि नै चुनाव जित्दै आएका नेतालाई रोज्दा पार्टी बलियो हुने मानेर नवप्रवेशीलाई टिकट दिएको राजनीतिक विश्लेषक बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. माधव पन्थी बताउँछन् । उनले ठूला पार्टीहरूले आफू कमजोर हुने ठाउँमा मात्रै नवप्रवेशीलाई टिकट दिएको बताए ।
ओमपकाश यादव गुल्जारी २०६४ सालको मधेस आन्दोलनपछि एकाएक राजनीतिको फ्रन्ट लाइनमा उदाएका हुन् । रूपन्देहीको खुर्दालोटन बाँध अवलोकन गरेको तत्तकालीन नेकपा माओवादीको वाईसीएल टोलीमाथि आक्रमण गरेपछि उनी उक्त क्षेत्रमा चर्चामा आएका थिए । एक दशकमै उनी राजनीतिबाट मन्त्री हुने नेता हुन् ।