सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : फुट्यो एमाले र जसपा, बागमतीमा मुख्यमन्त्री परिवर्तन

बुधबार, ०२ भदौ २०७८, २२ : ४५
बुधबार, ०२ भदौ २०७८

आज २०७८ भदौ २ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै फुट्यो एमाले र जसपा, एमाले विभाजनको असरः बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन, अध्यादेशको चौतर्फी विरोध, सरकारमा सम्मानजनक उपस्थिति जनाउने जसपा नेपालको निर्णय, प्रतिनिधिसभा विघटनविरुद्ध दायर २९ रिट निवेदन खारेज लगायत छन् ।

१. फुट्यो एमाले, माधव नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा एमाले विभाजन भएको छ । माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट अलग्गिएको समूहले नेकपा एमाले (समाजवादी) पार्टी गठन गर्दै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । पार्टी गठनपछि नेता नेपालले अपिल जारी गर्दै एमाले पुनर्गठन र रुपान्तरणको महाअभियानका क्रममा नेकपा एमालेबाट वैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) पार्टी गठन गरेको बताएका छन् । नेपाललाई उनी पक्षीय केही नेताले भने सुरुवातकालमा साथ दिएका छैनन्। 

 

२. जसपा पनि विभाजनसरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको फाइदा उठाउँदै महन्थ ठाकुर पक्षले जसपा विभाजन गराएको छ । बुधबार ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) गठन गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अन्तर्गत निवेदन दिइएको हो ।

 


३. राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण
आजै सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् ।  उनले अध्यादेश प्रमाणीकरण गरेसँगै दल विभाजनका लागि कानुनी सहजता भएको हो । अध्यादेशअनुसार कुनै पनि दल केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत सदस्यले चाहेमा विभाजन हुन सक्नेछ ।

४. अध्यादेशको विरोध
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा चौतर्फी विरोध र आलोचना खेप्नु परेको छ । तर कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको सहमतिमै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको दाबी गरेका छन् । सत्ता पक्षमै रहेको जसपा नेपालमा पनि अध्यादेशका बारेमा दुईथरी मत देखिएको छ ।

५. सरकारमा सम्मानजनक उपस्थिति जनाउने जसपा नेपालको निर्णय
जसपा नेपालको दुई दिने केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले सरकारमा सम्मानजनक उपस्थिति जनाउने निर्णय गरेको छ । बैठकले रेशम चौधरीको रिहाइ तथा थरुहट विद्रोहका क्रममा नेताहरुमाथि लगाइएका झुठा मुद्दा खारेजीको मागसमेत गरेको छ ।

६. कारवाहीमा परेका १४ सांसदले पठाए संसद सचिवालयमा पत्र
१४ सांसदलाई कारवाही गरेसँगै विकसित घटनाक्रमका बीच नेकपा एमाले कसरी अघि बढ्ला भन्ने चासो बढेको छ । माधवकुमार नेपालसहित एमालेले कारवाही गरेका १४ सांसदले आफूहरुमाथि गरिएको कारवाही अवैधानिक रहेको दाबीसहित संसद सचिवालयमा निवेदन दिएका छन् । उता, नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने पार्टी विभाजनलाई कुनै पनि अर्थमा उचित भन्न नसकिए पनि यसलाई जीवनको यथार्थका रुपमा लिइने बताए ।

७. अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशमा माधवकुमार नेपाल पक्षका नेताहरुलाई पार्टीभित्रै राख्ने प्रयासस्वरुप मुख्यमन्त्री परिवर्तन गरिएको हो । बुधबार बसेको बागमती प्रदेश एमाले संसदीय दलको बैठकले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो । शाक्यले बुधबार राति मुख्यमन्त्रीको शपथ लिएसँगै ३ सदस्सीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । शाक्य माधव नेपाल निकट मानिएपनि एकाएक ओली क्याम्पबाट मुख्यमन्त्री बनेकी हुन् । 

​८. क्रान्तिकारी रुपान्तरण नगरे पार्टी विसर्जन र विघटनको खतरा : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विचारलाई आत्मसमीक्षासहित क्रान्तिकारी रुपान्तरण नगरे विसर्जन र विघटनको खतरा रहेको बताएका छन् । उनले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेकोसमेत स्वीकार गरे ।

​९. प्रतिनिधिसभा विघटनविरुद्धका २९ रिट निवेदन खारेज
संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ वटा रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरोकारवाला शेरबहादुर देउवासहितको निवेदनमा सुनुवाई भएर फैसला भइसकेको भन्दै अन्य रिटलाई खारेज गरिदिएको हो ।

१०. कोरोना भाइरसबाट थप तीन हजार ४०३ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप तीन हजार ४०३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।

​११. र यो पनि,
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने खाँचो औंल्याएका छन् । उनले अहिले देखिएको समस्या कुनै एक व्यक्ति वा दलको नभई व्यवस्थाकै कमजोरीका कारण उत्पन्न भएको भन्दै यसको विकल्प खोज्नुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा केही दिन यता काठमाडौं दुर्गन्धित भएको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने ठाउँ बञ्चरे डाँडा जाने बाटो बिग्रिएका कारण केही दिनदेखि फोहोर उठाउन नसकिएको महानगरपालिकाले जनाएको छ ।

यो पनि..


लुम्बिनी प्रदेशसभाको बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ । नेकपा एमालेले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । पार्टीका तर्फबाट कारवाही गरिएका सांसदहरुको बारेमा संसद सचिवालयले प्रक्रिया अघि नबढाएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप