शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय व्यवस्थाको विकल्प खोज्न अपरिहार्य : सिपी गजुरेल

बुधबार, ०२ भदौ २०७८, १७ : १८
बुधबार, ०२ भदौ २०७८

जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले संसदीय व्यवस्थाको विकल्प खोज्न अपरिहार्य रहेको बताएका छन् ।

बुधबार जनकपुरधामस्थित विमानस्थलमा क्रान्तिकारी माओवादी धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले संसदीय व्यवस्था परिवर्तन नहुञ्जेलसम्म मुलुकको समस्याको समाधान नहुने बताए ।

संघीय जनगणतन्त्रका लागि भएको आन्दोलनबाट पुरानैखालको संसदीय व्यवस्था आएको हुनाले अहिले मुलुक गम्भीर मोडमा पुगेको बताए । संसदीय व्यवस्थामै आधारित संघीय लोकतान्त्रिक गणतन्त्र आएकाले मुलुक र जनताका समस्या सामाधान हुन नसकेको बताए ।

उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण नभएसम्म जनताको जिउज्यानको सुरक्षा र सतर्कता अपनाउन आवश्यक रहेकाले पनि जनतालाई अहिलेको व्यवस्थाविरुद्ध सडकमा उर्लन आह्वान नगरेको बताए । उनले कोरोना रोकथाम र नियन्त्रण भएपछि जनता सडकमा उर्लन तयार रहेकोसमेत बताए ।

‘कोभिडले जनतालाई नै सबैभन्दा बढी स्वास्थ्यको चुनौती छ,’ उनले भने, ‘जनस्वास्थ्यमा असर पर्ने भएकोले हामीले जनतालाई सडकमा उतार्नेगरी आन्दोलनको घोषणा गरेका छैनौँ । कोभिड रोकथाम र नियन्त्रण भएपछि जनता सडकमा उर्लन तयार छ ।’

उनले देशमा राजनीतिक र राष्ट्रिय स्वाधीनता लगायतमाथि संकट उत्पन्न भएको भन्दै संकटको समाधान कसरी गर्ने हो भन्नेबारे सबैको ध्यान केन्द्रित रहेको बताए ।

उनले भने, ‘कुनै एक व्यक्तिका कारण अहिलेको समस्या उत्पन्न नभई संसदीय व्यवस्थाको कारणले नै मुलुकमा समस्या उत्पन्न भएकोले यसको विकल्प खोज्नु आवश्यक छ ।’

संसदीय व्यवस्थाभित्रै रहेर संसदीय नेता वा कुनै एक व्यक्तिलाई प्रधानमन्त्री बनाएर अहिलेको समस्या समाधान नहुने उनको भनाइ छ । उनले संसदीय व्यवस्थाको विकल्पमा अग्रगामी परिवर्तन अपरिहार्य रहेको बताए ।

‘ओलीजी प्रधानमन्त्री हुँदा निरंकुशता र फाँसीवाद लाद्न खोज्नु भयो । हामीले पनि त्यसको विरोध ग¥यौँ,’ उनले भने, ‘ओलीलाई हटाएर समस्या समाधान हुँदैन । एउटा व्यक्तिलाई हटाएर अर्को व्यक्तिलाई राखेर समाधान आउने होइन ।’

उनले वर्तमान सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा समेत आपत्ति जनाए । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले सोही अध्यादेश ल्याउन खोज्दा व्यापक विरोध गर्नेहरुले नै अहिले २० प्रतिशतमा पार्टी गठन गर्ने सम्बन्धी अध्यादेश ल्याएको बताउदैँ अब मुलुकमा धेरै पार्टी खुल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप