महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक गठन, राजेन्द्र महतो वरिष्ठ नेता (भिडियो सहित)

उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो ।
सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिए ।
आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ।
दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताए । उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए ।
महन्थ ठाकुर पक्षका अर्का एक नेताले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावी गर्दै आगामी दिनमा थप सशक्त बनाउने बताए ।
निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महन्थ ठाकुर पक्षीय नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले आफ्नो पार्टी उपेन्द्र यादवको जसपा भन्दा शक्तिशाली भएको दावी गरेका हुन् । आगामी दिनमा पार्टी थप सशक्त बनाइने पनि उनले बताए ।
तत्कालीन राजपा र समाजवादी पार्टी एकता हतारमा गर्दा खल्तीका मान्छे धेरै समेटिएको भएपनि अहिले आफूहरुको पार्टीमा क्षमतावान नेताहरु रहेकाले जनताको विश्वास रहेको उनको भनाइ छ । ‘एउटा कुरा एक ध्यान दिनुपर्छ भने पार्टी बन्ने बेलामा रातारात घोषणा गरियो । धेरै गोजीका मान्छे समेटियो । कार्यकारिणीमा हेर्नुहुन्छ, वार्ड जित्ने क्षमता भएका कति जना हुनुहुन्छ ?’, उपेन्द्रको पार्टीका नेताहरु कमजोर रहेको दावी गर्दै उनले भने, ‘उपेन्द्रको पार्टीमा राम्रा मान्छे छैनन् ।’
नेताहरुका अनुसार पार्टीले तत्काल सरकारमा नजाने नीति बनाएको छ । आफूहरुको माग पुरा गरेको खण्डमा सरकारमा जान सकिने सो पार्टीको भनाइ छ ।
मधेस आन्दोलनका बन्दीको रिहाइ, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका मागमा सरकार प्रतिबद्ध भए यसबारे सोच्न सकिने ठाकुर पक्षको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु
-
दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा
-
सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो