आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी फुटाउन माधव र महन्थलाई बाटो ‘क्लियर’ !

बुधबार, ०२ भदौ २०७८, १४ : ०३
बुधबार, ०२ भदौ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेसँगै जसपाबाट आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्ने बाटो क्लियर भएको छ । यस्तै एमालेको माधव कुमार नेपाल समूहलाई पनि नयाँ पार्टी गठन गर्ने बाटो खुलेको छ । 
शेरबहादुर देउवा नेतृत्वको सरकारले जसपाको ठाकुर पक्ष र एमालेको माधव पक्षलाई नयाँ पार्टी बनाउन सहजता प्रदान गर्नकै लागि अध्यादेश ल्याएको हो । यद्यपि अध्यादेशको सत्तारुढ दलकै नेतालगायतले तिव्र विरोध गर्दै आएका छन् । 

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको रातोपाटीलाई जानकारी दिए । 

अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । 

​यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाअनुसार माधव पक्ष र महन्थ पक्षले सहजै नयाँ पार्टी गठन गर्न सक्छन् । 

आयोग जाने तयारीमा महन्थ
राष्ट्रपतिले अध्यादेश जारी गरेपछि निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी गठनमा जुटेका हुन् ।  महन्थ ठाकुर पक्षका एक नेताले भने, सबै डकुमेन्ट तयारी अवस्थामा छ, नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छौँ ।’ 

पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक रहने छ भने एकल अध्यक्ष प्रणालीमा पार्टी दर्ता हुने ती नेताले बताए । 

नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ । 

ठाकुर पक्षमा रहेका राजेन्द्र महतोले दुई अध्यक्ष हुनुपर्ने आवाज समेत उठाएका छन् । महन्थ ठाकुर पक्षमा राजेन्द्र महतो कमजोर रहेकाले सो आवाज कमजोर बनेको नेताहरुको भनाइ छ । 

निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिएपछि महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पनि अन्तरिम आदेश जारी गरेको थिएन । मन्त्रीपरिषद्ले अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्ष उत्साहित हुँदै नयाँ पार्टी दर्ता गराउने तयारीमा लागेको हो । 

माधवको एमालेसँग डिभोर्स ! 
अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएपछि एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । 

सो समूहका एक नेताका अनुसार नयाँ पार्टी गठनका लागि बेदुराम भुसाल, डा विजय पौडेल तथा अधिवक्ता गोविन्द बन्दीको सहयोगमा विधान र साङ्गठानिक संरचनालाई समेत अन्तिम स्वरूप दिइएको छ ।

‘हामी आफ्नो आन्तरिक तयारी पुरा गरेर आयोग जाने तयारीमै छौ’, ती नेताले भने, ‘मंगलबार नै राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएको भए मंगलबार नै आयोग जाने तयारी थियो तर भएन ।’

त्यसका लागि माधव नेपाल पक्षका नेताहरू मंगलबार दिनभर सिंहदरबार र बानेश्वरमा भेला भएर बसेका थिए । ‘नयाँ पार्टी गठनका लागि चाहिने आवश्यक सङ्ख्या र हस्ताक्षरसहित हामी तयारी नै थियौ । २५ जना सांसदसहित ५०–५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेका र पछि सोही सङ्ख्याका सांसद र केन्द्रीय सदस्य थपिने अवस्थामा हामी छौ’,आयोगको काममा खटिएका एक नेताले भने,‘ओली सुध्रने अवस्था नभएपछि हामी बाध्यतावश फरक बाटो समात्ने पक्षमा पुगेका हौ ।’ यता मंगलबार नै अध्यक्ष ओलीले नेता नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पुगेपछि त यो समूह थप आक्रोशित बन्न पुगेको थियो ।

माधव समूहले आफ्नो पार्टीको नामको अगाडि नेकपा र कोष्ठकमा (समाजवादी),(क्रान्तिकारी) या अन्य केही राख्ने तयारी गरेको छ । साथै चुनाव चिन्ह कलम प्रस्ताव गर्ने तयारी भएको नेताहरूको भनाइ छ । त्यस्तै नयाँ पार्टीको सांगठनिक संरचनामा तत्काल अध्यक्ष र महासचिवसहित केन्द्रीय सदस्य राख्ने सहमति पनि भैसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप