नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको जीवन : विदेशमा ‘वेटर’ गर्नेलाई स्वदेशमा ‘मेनेजर’ कै जागिर चाहिन्छ
विदेशमा जस्तोसुकै काम गर्न तयार नेपालीले स्वदेशमा त्यही काम गर्न लाज मान्छन् । नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी भन्छिन्, ‘विदेशमा ‘वेटर’ को जागिर खान तयार हुनेलाई स्वदेशमा ‘मेनेजर’ कै जागिर चाहिन्छ ।’ अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपाली स्वदेश फर्केर पसिनाको गीत गाउँदै आफ्नै देशमा रमाउने प्रयत्न गरे मुलुकको काँचुली फेरिन्छ भन्ने नर्भिक इन्टरनेसनल हस्पिटलकी निर्देशक मेघा चौधरीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानीः
मेरो खाना
सामान्यतया दालभात, तरकारी खाने गरेकी छु । नेपालीबाहेक थाई परिकारको पारखी हुँ । सबै खानेकुरा स्वाद मानेर खाए पनि ‘सी फुड’ बाट टाढै छु । पहिले धेरै गए पनि हिजोआज खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । रेष्टुरेन्ट पुगिहाल्दा रोजाइमा पर्ने स्न्याक्स भनेको अमिलो, पिरो नै हुन्छ । व्यस्त रहेकोबाहेक अन्य समय भान्छामा पस्छु । मैले पकाएको खानेहरूका अनुसार मैले इटालियन परिकार राम्रो पकाउँछु ।
मेरो पोसाक
लगाउँदा सहज हुने कपडा लगाउने गर्छु । ‘सेमिफर्मल’ कपडा नै लगाउँदै आएकी छु । सेतो र कालो रङको कपडा रोजाइमा पर्छन् । कपडा ‘रेडिमेड’ नै हुन्छन् । कपडाको ब्राण्डबारे ‘कन्सियस’ छैनँ ।
मेरो फिटनेस
पहिले–पहिले योगा गर्थें । त्यसपछि जिम जान थालें । जिम जान छुट्यो । फेरि जिम जाने सोच बनाएकी छु । डाइटिङ छ । पहिले–पहिले मर्निङवाक निस्कन्थें, त्यो पनि छुट्यो ।
मेरो अध्ययन
व्यस्त भएकीले पछिल्लो समय किताब पढ्न पाएको छैन ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रहर छ । रहर भए पनि त्यति धेरै घुम्न पाएकी छैन । सगरमाथा आधार शिविर अथवा अन्नपूर्ण आधार शिविरसम्म पुग्ने रहर छ । नेपालभन्दा विदेश धेरै घुमेकी छु । विदेशमा जहाँ जहाँ–पुगें, सबै ठाउँ रमाइलो लाग्यो । ‘सपिङ’ भन्दा ‘साइड सिन’ हेर्न मन लाग्छ ।
मेरो फुर्सद
फुर्सद हुँदैन । तर, निकाल्न जान्नुपर्छ । म पनि फुर्सद निकाल्छु । व्यस्त भएपछि शारीरिक तथा मानसिक थकाइ लाग्ने नै भयो । थकाइ लागे पनि मोबाइल ‘स्वीचअफ’ गरेर आराम गर्ने बानी छैन । फुर्सद भइहालेमा इन्टरनेटमा जीवनोपयोगी विषय खोज्ने, पढ्ने गर्छु । सबै आ–आफ्नै ठाउँमा व्यस्त रहे पनि परिवारसहित रेष्टुरेन्ट जाने, चलचित्र हेर्ने र घुम्न जाने गर्छौं ।
मेरो खेलकुद
विद्यालय तह पढ्दा बास्केटबल र टेबलटेनिस खेलेकी थिएँ । टेलिभिजनमा फुटबल, क्रिकेट हेर्न मन लाग्दैन ।
मेरो मोबाइल
मैले आइफोन एक्स प्रयोग गर्दै आएकी छु । यसको ९० हजार रुपैयाँ परेको थियो । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये ट्राभल, अफिसियललगायत एप्लिकेसन बढी प्रयोग गर्छु ।
मेरो टीभी
पहिले हेरे पनि टेलिभिजन हेर्न छाडेको धेरै भयो ।
मेरो चलचित्र
हलसम्म पुगेर चलचित्र हेरे पनि नाम सम्झना भएन । नेपालीमा मह जोडीको अभिनय जीवन्त लाग्छ । हेरेकामध्ये नेपाली चलचित्र ‘दर्पणछायाँ’ असाध्यै मन पर्यो । हिन्दी चलचित्रभन्दा ‘कमेडी शो’ हेर्न जाँगर चल्छ ।
मेरो रोग
अहिलेसम्म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । रगत परीक्षण गराइरहन्छु । तर, ‘होलबडी चेकअप’ चाहिँ गराएकी छैन । म घरबाहिरका खानेकुरा खान्न । स्वास्थ्यका लागि खानपानको भूमिका अहम् हुन्छ । खानेकुरा स्वस्थ भयो भने मानिस स्वस्थ हुने त हो नि ।
मेरो भाषणशैली
नर्भिक इन्टनेसनल हस्पिटलको निर्देशकको भूमिकामा छु । निर्देशकको नाताले समय–समयमा भाषण गर्नैपर्छ । आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा मैले अझै मिहिनेत गर्नुपर्छ । एक–दुईपटक स्वाभाविक भाषण गरेकी छु । तर, गाह्रो लाग्यो । त्यसपछि लेखेर भाषण गर्न थालेकी छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । भाषण गरेकै आधारमा अहिलेसम्म विवादमा परेकी छैन ।
मेरो मापसे
मादक पदार्थ खान्न । नेवार परिवारमा बिहे गरेकीले स्वाद थाहा नहुने कुरै भएन ।
मेरो संगीत
गीत–संगीत सुन्न मन पर्छ । समय नमिले पनि मिलाएर सुन्ने गर्छु । गायक–गायिकाको नाम थाहा नभए पनि गीतचाहिँ हेक्का छ ।
मेरो भूल
जान–अन्जानमा जोकोहीबाट गल्ती हुनु मानवीय स्वभाव नै हो । कतिपय अवस्थामा मैले पनि गल्ती गरेकी हुँला । म पनि त कमजोरीसहितको मानिस हुँ । कहिलेकाहीं गल्ती नगरी पनि सजाय पाइन्छ । त्यो मेरो जीवनमा पनि लागू हुन्छ ।
मेरो घर
म बस्दै आएको घरमा सरेको डेढ वर्ष भयो । यो घर बुवाले बनाइदिनुभएको हो । घडेरी किन्न र घर बनाउन १५ करोड खर्च भएको थियो । वास्तुशास्त्र हेराएरै घर बनाएकी हुँ ।
मेरो राशी
मेरो राशी मीन हो । त्यस्तो विश्वास नलागे पनि ममीले ग्रहदशा हेराइदिनुहुन्छ । मेरो जन्मदिनमा उहाँले नै पूजाआजासमेत गराइदिनुहुन्छ ।
मेरो सौन्दर्यचेत
कपालमा जेल, तेल केही लगाउँदिनँ । नुहाउँदा स्पाम्पो प्रयोग गर्छु । त्यत्ति हो । यदाकदा फेसियल गर्छु । दरबारमार्गमा मेरो आफ्नै पार्लर छ । केही समयअघि सात महिनामा पार्लर पुगेकी थिएँ । अनुहारमा हिमालयन बेबी क्रिम लगाउँछु ।
मेरो प्रेम
हामीले प्रेमविवाह गरेका हौं ।
मेरो सपना
अध्ययन र वैदेशिक रोजगारीमा विदेश जानेको लहर नै चलेको छ । नेपाली विदेश जान त्यत्तिकै लालायित छन् । तर, आफ्नै देशमा पसिनाको गीत गाउँदै रमाउने प्रयत्न गर्ने कमै होलान् । उच्चशिक्षा हासिल गरेकाले मात्रै पनि स्वदेश फर्केर केही गर्न खोज्ने हो भने नहुने कुरै छैन । त्यही नेपाली विदेश गएर जस्तोसुकै काम गर्न तयार छन् तर आफ्नै देशमा विदेशमा गर्ने काम गर्न लाज मान्छन् । विदेशमा ‘वेटर’ को जागिर खान तयार हुने तर आफ्नो देशमा चाहिँ उनलाई ‘मेनेजर’ कै जागिर चाहिन्छ ।
म आफूलाई भन्दा आफूसम्बद्ध नर्भिक अस्पताललाई नेपालकै ‘बेस्ट हस्पिटल’ बनाउन लागिपरेकी छु ।
मेरो मृत्यु
जन्मेपछि मर्नुपर्छ । कहिले मरिन्छ, थाहा छैन । तर, आफ्नो ख्याल राख्नुपर्छ । मृत्युदेखि डर लाग्छ । गोरखा भूकम्पताका मृत्युको नजिक–नजिक पुगेको अनुभूति गरेकी थिएँ । त्यो घटना अझै बिर्सन सकेकी छैन । मृत्युबारे केही सोचेकी छैन । तर, सबै काम सकिएको समयमा मृत्यु भए हुन्थ्यो भन्ने लोभ लाग्दोरहेछ ।
यो जीवनकथा पनि पढ्नुहोस्
सामाजिक अभियन्ता सावित्री सुवेदीको जीवन : महिला हिंसाबारे ‘स्टाटस’ लेख्दा पार्टीबाट निष्कासित
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जीवन : गौरीलाई दागबत्ती दिएपछि मृत्युदेखि डर लाग्न छाड्यो
नायिका शुभेच्छा थापाको जीवन : ‘लभ’ गर्ने अवसर पाइनँ, १६ वर्षमै बिहे
व्यवसायी तेजबहादुर राईको जीवन : ‘प्राइभेट जेट’ भएको व्यवसायी बन्ने उद्देश्य छ
प्राज्ञ श्रवण मुकारुङको जीवन : श्रीमतीको काखमै मर्न पाऊँ
सांसद डा. मीनेन्द्र रिजालको जीवन : कम्युनिस्ट शासित देश घुम्ने असाध्यै रहर |