मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित
८३ वर्षमा हिँड्दै गरेका नेकपा (मसाल) महामन्त्री मोहनविक्रम सिंह पार्टी संगठनमात्रै होइन, लेखपढमा पनि त्यत्तिकै सक्रिय छन् । संवत् २०१० सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय सिंह सो आन्दोलनका चर्चित व्यक्तित्व हुन् ।
कम्युनिस्ट पार्टीलाई चुनावी पार्टी बनाउन हुँदैन भन्ने मान्यता राख्ने राष्ट्रिय जनमोर्चाको अर्धभूमिगत मोर्चा मसाल महामन्त्री मोहनविक्रम सिंहसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
विशेषतः दालभात मन पर्छ । फापरका रोटी, कफी, दूध र पाउरोटी पनि उत्तिकै मन पर्छ । मधुमेहले समातेकाले मन परेका खानेकुरा खान पाउँदिनँ । कटहर, लौका, फर्सी, घिरौंला मन पर्दैन । खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । पकाउने रुचि कहिल्यै भएन ।
मेरो पोसाक
बाल्यकालमा दौरासुरुवाल लगाएँ । पछि बानी छुट्यो । हिजोआज सर्टपाइन्ट, इस्टकोट लगाउँछु । ‘क्रिम कलर’ को कपडा मन पर्छ । आफन्त, शुभचिन्तकले दिने गरेकाले कपडामा खासै खर्च हुँदैन । ब्रान्डमा ‘कन्सस’ छैन । ह्याट र क्याप कहिल्यै लगाइनँ ।
मेरो फिटनेस
दैनिक डेढ घन्टा ध्यान, आसन र योगा गर्छु । मधुमेह भएकाले खाना बार्दै आएको छु । मन परे पनि मर्निङवाक निस्कन्न । मर्निङवाक निस्केपछि थकाइ लाग्छ । थकाइ लागेपछि लेखपढमा असर गर्छ ।
मेरो अध्ययन
जे लेख्न खोज्छु, त्योसँग सम्बन्धित विषयवस्तु पढ्ने गरेको छु । लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, म्याक्सिम गोर्की र राहुल सांकृत्यायन असाध्यै मन पर्छ । मेरो निजी पुस्तकालयमा झन्डै तीन हजार किताब होलान् । सालिन्दा पाँच/सात हजार किताबमा खर्चन्छु ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नेपालका ६० जिल्ला घुमेको छु । मुलुकबाहेक आठ देश पुगेको छु । घुमेकामध्ये पेरिस असाध्यै मन पर्यो । प्युठानको ओखरकोट त्यत्तिकै प्रिय लाग्छ । ओखरकोट पुग्दा आनन्द लाग्छ । यसैगरी, पोखरा, पाल्पा, काठमाडौंको सुन्दरीजल, ललितपुरको गोदावरी र भक्तपुर पनि रमणीय लाग्छन् ।
लमजुङको घलेगाउँ, दक्षिण अफ्रिका, बेलायत र अमेरिका एकपटक जान पाए हुन्थ्यो भन्ने लागेको छ ।
मेरो फुर्सद
स्वास्थ्यका कारण धेरैजसो समम आराम गर्छु । त्यसैले फुर्सद नै हुन्छ । थकाइ लाग्नसाथ आराम गर्ने गरेको छु । आराम गर्दै गीत÷संगीत सुन्छु । आइप्याडमै चलचित्र हेर्छु । फुर्सद भइहालेमा लेखपढ गरेर बिताउँछु । घरपरिवारलाई समय दिएकै छु ।
मेरो खेलकुद
नखेलेको धेरै भए पनि चेस मन पर्छ । म चेस खेलाडी पनि हुँ । खेल्न लामो समय लाग्ने भएकाले चेस खेल्न छाडेको २५ वर्ष भइसक्यो ।
मेरो मोबाइल
मैले प्रयोग गर्दै आएको मोबाइल सेट कुन ब्रान्डको हो मलाई नै थाहा भएन । यो सेटलाई भारु १० हजार परेको थियो । मोबाइलका एप्लिकेसन्स प्रयोग गर्न कन्जुस्याइँ गर्दिनँ ।
मेरो चलचित्र
हेरे पनि चलचित्रको नाम सम्झना छैन । झन्डै चालीस वर्ष भइसकेको थियो, हलसम्म पुगेर चलचित्र नहेरेको तर हिजो (२०७४ असार ३० गते) मात्रै चलचित्र ‘फागुन २४ गते’ काठमाडौंको जमलमा रहेको विश्वज्योति हलमा हेरें । यो चलचित्रको कथा मैले लेखेको हुँ । टीभीमा पनि चलचित्र हेर्ने गर्छु । हेरेकामध्ये मन परेका चलचित्र र कलाकारको नाम सम्झन सकिनँ ।
मेरो रोग
केही समयअघि ज्वरो आयो । त्यसपछि ग्रान्डी अस्पताल भर्ना भएँ । चेकजाँच गर्दा मुटुको भल्भमा लिकेज भएको, फोक्सोको दुवैपट्टि पानी जमेको, पिसाब र रगतमा समेत समस्या देखियो । विभिन्न समय गरी झन्डै महिना दिन ग्रान्डीमा उपचार गरेपछि अहिले सामान्य बन्दै गएको छ ।
मधुमेहले पनि समातेको छ । स्वास्थ्यमा सचेत छु । सालिन्दा होलबडी चेकअप गर्न बिर्सेको छैन ।
मेरो भाषणशैली
भाषण नगरेको धेरै भइसकेको छ । सार्वजनिक समारोहमा जाँदै जान्न । प्रशिक्षण कार्यक्रममा चाहिँ भाषण गर्नैपर्छ । म कहिल्यै आक्रामक भाषण गर्दिनँ । व्यक्ति र पार्टीको आलोचना गर्ने बानी छैन । सभ्य र शिष्ट भएर आफ्नो विचार प्रस्तुत गर्ने हो । भाषण गर्नअघि तयारी गर्दिनँ ।
मेरो मापसे
मादक पदार्थ अहिलेसम्म खाएको छैन ।
मेरो संगीत
मोबाइल र आइप्याडमा गीत/संगीत बरोबर सुन्छु । गायक/गायिकाको नाम सम्झन नसके पनि कुन्ति मोक्तानको गीत श्रवणीय लाग्छन् । पाल्पा जेल (२०१२) मा रहँदा गीत गाइन्थ्यो । हिजोआजचाहिँ छैन ।
मेरो भूल
पश्चाताप लाग्नेगरी भूल गरेको छैन । जलजलासँग प्रेम गर्दा पार्टीले तीन वर्ष निष्कासित गर्यो ।
मेरो घर
मेरो घर छैन । तीन घडेरी छन् । घर बनाउने सोच भए पनि सकेको छैन । एउटाको २५, अर्कोको ५० हजार र तेस्रो घडेरी डेढ लाख रुपैयाँमा किनेको हुँ । उल्लिखित घडेरी प्युठानको ओखरकोटमा छन् । तर, घर बनाउन सकेको होइन ।
मेरो राशी
मेरो राशी सिंह हो । ग्रहदशा कहिल्यै हेराउँदिनँ । ईश्वर र धर्मप्रति विश्वास छैन ।
मेरो सौन्दर्यचेत
सामान्यतया कपालमा तेल लगाउँछु । केश फुल्दै गएपछि साथीभाइले कालो बनाउन मेहेन्दी लगाउन अनुरोध गरेका थिए । मैले त्यसो गर्न चाहिनँ । अनुहार सुख्खा हुँदा कहिलेकाहीं क्रिम लगाउने गर्छु ।
आफैंले नगरे पनि दुर्गाले प्रयोग गर्दा मलाई पनि पफ्र्युम छर्किदिन्छिन् । बडी मसाजमा रुचि छ । जेलमा रहँदासमेत मसाज गराएको थिएँ ।
मेरो प्रेम
मैले दुई बिहे गरेको हुँ । दुर्गा पौडेलसँग ०५७ मा प्रेमबिहे गरे पनि परिवारसँग सरसल्लाह गरेका थियौं ।
मेरो सपना
नेपाल प्राकृतिक स्रोत साधनले भरिपूर्ण मुलुक हो । त्यसको सही सदुपयोग गर्न पाए मुलुकलाई संसारकै धनी बनाउन सकिन्छ । मुलुक धनी भएपछि चाहेजस्तो विकास गर्न सकिन्छ ।
राजनीतिमा लागेर यो वा त्यो बन्ने सपना देखेको भए म यहाँसम्म आउन सक्दिनथें । गीताको भनाइ छ– कर्म गर फलको आस नगर । म पनि सो भनाइसँग सहमत छु । त्यही भनाइ आत्मसात् गर्दै राजनीतिमा लागेको हुँ ।
प्युठान विकासको अत्यन्तै सम्भावना भएको जिल्ला हो । समग्र जिल्लासहित झिम्रुक गाउँपालिकाअन्तर्गत ओखरकोट विकासका लागि अल्पकालीन र दीर्घकालीन विकासे योजना बनाएका छौं । ती योजना समेटेर पुस्तक नै प्रकाशित गरेको छु । पुस्तकमा धेरै कुरा समेटिएका छन् ।
मेरो मृत्यु
मृत्यु अकाट्य छ । यो अकास्मात् हुन्छ । मृत्युसँग डराउने कामै छैन । मृत्यु सम्झेर चिन्ता गर्नै पर्दैन । मेरो मृत्यु यस्तै होस् भनेर परिकल्पना गर्न व्यर्थ छ ।
तर, श्रीमती दुर्गालाई भनेको छु, ‘सम्भव भएसम्म मेरो शव गाउँमै पुर्याइयोस् ।’
यो जीवनकथा पनि पढ्नुहोस्
प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’
कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्
नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध
अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी