शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

आइतबार, १५ साउन २०७४, १२ : ३६
आइतबार, १५ साउन २०७४

सहसचिव वीरबहादुर राईको मान्यता छ, ‘मुलुक विकसित र समृद्ध भएरमात्रै पुग्दैन ।’ सूचना विभाग महानिर्देशकसमेत रहेका राईले सुझाए, ‘विकाससँगै सामूहिकता, सहभागितामूलक र समृद्ध हुनुपर्छ ।’ समृद्धि र विकास भए पनि सामूहिकता, शान्ति र सौदार्ह भएन भने अनर्थ हुन्छ । विकासका साथसाथै त्यही किसिमको सोच, कार्यशैली, व्यवहार नभएकाले मुलुकको विकास छायाँमा परेको बताउने सूचना विभाग महानिर्देशक वीरबहादुर राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
स्वास्थ्यका कारण माछा, मासु खान्न । तसर्थ, दालभात, तरकारी प्रिय लाग्छन् । चिल्लो, पिरो बढी भएको खानेकुरा बार्ने गरेको छु । खानकै लागि रेष्टुरेन्ट साह्रै कम जान्छु । रेष्टुरेन्ट पुगिहाल्दा फलफूल र जुस र उसिनेका खानेकुरा खान्छु । बिदा र फुर्सदको समय पकाउँछु । पकाउने रुचि छ । 

मेरो पोसाक
पोसाकले सम्बन्धित मानिसको पहिचान झल्कन्छ । सामान्यतः सामाजिक रूपमा मूल्य, मान्यता र मर्यादा परावर्तन गर्ने पोसाक लगाउँछु । दौरासुरुवाल त्यत्तिकै मन पर्छ । वर्षमा एकपटकमात्रै पोसाक किन्दा पनि झन्डै १० हजार खर्च हुन्छ । ‘ब्राउन’, ‘लाइट’, ‘यल्लो’ र ‘ह्वाइट कलर’ का पोसाक मन पर्छन् । म तयारी पोसाकका साथै कपडा किनेरसमेत सिलाउने गर्छु । सरकारी÷सार्वजनिक पदमा प्रयोग गर्ने कपडा किनेर सिलाउँछु । कहिलेकाहीं ह्याट लगाउँछु । अन्य समय क्याप ।

मेरो फिटनेस
झन्डै ३० मिनेटसम्म मर्निङवाक गर्छु । डाइटिङ छैन । बिहान÷बिहान योगासमेत गर्छु । 

मेरो अध्ययन
विशेषतः प्रशासनिक किताब पढ्ने गर्छु । त्योबाहेक कथा पनि पढ्छु । पछिल्लो समय संस्कृति, राजनीतिसँग सम्बन्धित किताब पढ्न जाँगर चलेको छ । प्रशासनसँग सम्बन्धित रहेर किताब लेख्दै छु । घरको एउटा कोठालाई पुस्तकालय बनाएको छु । मासिक रूपमा हजार÷पन्ध्र सय किताबमा खर्च भइरहेकै हुन्छ । 

मेरो घुमफिर
घुमफिरमा रुचि छ । तर, स्वास्थ्यका कारण घुमफिरमा निस्कन सकेको छैन । विभिन्न सरकारी कामका सिलसिलामा ६० बढी जिल्ला पुगेको छु । १५/१६ देश टेकेको छु । घुमेकामध्ये सानो तर सुन्दर सिंगापुर मन पर्यो । जेनेभा सहरले पनि आकर्षित गर्यो ।


सकेसम्म राराताल, खप्तड पुग्न पाए हुन्थ्यो भन्ने रहर छ । 

मेरो फुर्सद
फुर्सद निकाल्ने कुरा हो । म अत्यन्तै कम फुर्सदिलो छु । व्यस्त भए पनि आराम गर्न त मन लाग्छ तर बिदा लिएर आराम गरेको छैन । फुर्सद पाइहालेमा किताब पढ्ने र लेख्ने गर्छु । काठमाडौं उपत्यकावरिपरिका ठाउँ घुम्न निस्कन्छु । बिहान बेलुका घरपरिवारलाई समय दिएको छु । रेष्टुरेन्ट नगएको, फिल्म नहेरेको १०÷१२ वर्ष भइसक्यो । 

मेरो खेलकुद
खेलमध्ये फुटबल मन पर्छ । बक्सिङ, रेस्लिङ खासै मन पर्दैन । फुटबल ‘कलेज लेभल’ सम्म खेलेको थिएँ । नेसनल टिम मन पर्ने नै भयो अन्तर्राष्ट्रियमा चेल्सीको ‘फ्यान’ हुँ । 

मेरो मोबाइल
सामसुङको मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको १३ हजार रुपैयाँ परेको थियो । नबिग्रेसम्म मोबाइल सेट परिवर्तन गर्ने बानी छैन । ‘भिजन प्रब्लम’ ले मोबाइलका ‘एप्लिकेसन’ कमै प्रयोग गर्छु । 

मेरो टीभी
‘भिजन प्रब्लम’ ले दुई वर्ष टीभी हेरिनँ । हिजोआज कहिलेकाहीं हेर्छु । हेर्दा समाचारले प्राथमिकता पाउँछ । विशेषतः बेलुका टीभी हेर्ने साइत जुर्छ । 

मेरो चलचित्र
झन्डै १० वर्षअघि फिल्म हेरेको थिएँ । नाम बिर्सें । सबै कलाकारप्रति उत्तिकै सम्मान छ ।

मेरो रोग
म सानैदेखि रोगी मानिस हुँ । तीन वर्षदेखि ‘भिजन प्रब्लम’ छ । दीर्घरोग छैन । अहिलेसम्म एकपटक ‘होलबडी चेकअप’ गराएको छु । स्वस्थ रहनुका कारण ‘थिङ्किङ एन्ड एक्टिभिटी’ हो । म सधैं सकारात्मक सोच्छु । जुनसुकै काम सक्रियपूर्वक गर्छु । दोस्रो, खानपानमा संवेदनशील छु । म निश्चित खानेकुरामात्रै खान्छु । 

मेरो भाषणशैली
मध्यमखालको भाषण गर्छु जस्तो लाग्छ । कहिलेकाहीं आफूले भन्न खोजेको विषय दोहोर्याउँछु कि भन्ने लाग्छ । तर, रेकर्ड गरेर सुनेको छैन । मैले लख काटेकोमात्रै हुँ । कहिल्यै आक्रामक भाषण गरेको छैन । म विषयवस्तुबारे विश्लेषण गर्ने र सम्बन्धित विषयवस्तु सञ्चार गर्नुपर्नेमा ध्यान दिन्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि खासै तयारी गर्ने बानी छैन ।

मेरो मापसे
बाल्यकालमा कहिलेकाहीं मद्यापान गरेको थिएँ । पछिल्लो समय हल्का किसिमको पेयपदार्थ वर्षमा एक÷दुईपटक खाएँ होला । खाँदा गाउँमा तयार पारिएको र बियरसम्म खाएँ । त्यो पनि वर्षमा एक÷दुईपटकमात्रै । खानैपरे एक गिलास बियरले पुग्छ । 

मेरो संगीत
फुर्सदमा गीत/संगीत सुन्दै आएको छु । सिर्जनशील र राष्ट्रगान सुन्न आनन्द लाग्छ । अञ्जु पन्त, शम्भु राई, सत्यराज आचार्यलगायत गायक÷गायिकाका आवाज कर्णप्रिय लाग्छ । 


मन परेका गीत गुनगुनाउने गर्छु । आठ, नौ, दस कक्षा पढ्दाताका गीत गाउन प्रयास गरें । अभ्यास गर्दा पनि नआएपछि छाडें । 

मेरो भूल
अहिलेसम्म पश्चाताप लाग्नेगरी भूल गरेको छैन । दुईतले स्कुल थियो । त्यतिबेला ६ कक्षामा पढ्थें । माथिल्लो तलादेखि ढोकाबाट नभएर झुन्डिएर झर्दा गुरु सुवास निरौलाको टाउकामा टेक्न पुगें । त्यतिबेला गुरुको कुटाइ खाएको थिएँ । 

मेरो घर
हिजोआज जुन घरमा बस्दै आएको छु, त्यो चार वर्षअघि बनाएको हुँ । घर बनाउँदा पुख्र्यौली र व्यक्तिगत सम्पत्ति परेको थियो । घरको डिजाइन सामान्य छ । 

मेरो राशी
मेरो राशी मीन हो । हिजोआज ग्रहदशा हेराउने गरेको छैन । ग्रहशान्ति गराउने कुरै भएन । हातमा लगाएको मुगाको औंठी हो । ‘गुडलक’ का लागि लगाएको हुँ । कहिलेकाहीं ग्रह नक्षत्रको फलप्रति विश्वास लाग्छ । ग्रह नक्षत्र भनेको विज्ञानसँग सम्बन्धित छन् । तसर्थ, त्यसको धेर÷थोर प्रभाव हुन सक्छ भन्ने लाग्छ । 

मेरो सौन्दर्यचेत 
कपालमा केही लगाउँदिनँ । फेसियल गर्ने बानी छैन । क्रिम पनि लगाउँदिनँ । पफ्र्युम यदाकदा प्रयोग गर्छु । 

मेरो प्रेम
हामीले मागीबिहे गरेका हौं । 

मेरो सपना
विकसित र समृद्ध नेपाल भनेर सबैले परिकल्पना गरेकै हुन्छन् । तर, मैले सामूहिकता, सहभागितामूलक समृद्ध नेपालको परिकल्पना गरेको छु । समृद्धि र विकास छ भने पनि हामीबीच सामूहिकता, सौदार्ह भएन भने अनर्थ हुन्छ । हिजो र आज धेरै विकास भएका छन् । विकासका साथसाथै त्यही किसिमको सोच, कार्यशैली, व्यवहार नभएकाले विकास छायाँमा परेजस्तो लाग्छ ।


तल्लो तहबाट यहाँसम्म आइपुगेको हुँ । निजामतीको अन्तिम लक्ष्य भनेको सचिव नै हो । मुख्य सचिवमा अत्यन्तै कमले अवसर पाउँछन् । भएसम्म र मिलेसम्म सविच बन्ने सपना सबैले देखेकै हुन्छन् । 


आफ्नो जिल्ला इलामबारे नसोचे पनि आफ्नो गाउँठाउँमा केही गर्नुपछै भनेर कल्पनामात्रै होइन, मैले काम गरेरै देखाएको छु । म घरबाट निकै टाढा रहेको माध्यमिक विद्यालय धाउँथें । आठ÷नौ वर्ष नपुगी गाउँका केटाकेटी विद्यालय जान सक्दैनथे । म नौ कक्षामा पढ्दै गर्दा विद्यार्थी आन्दोलन सुरु भएको थियो । विद्यालय लामो समयसम्म बन्द भएपछि गाउँमै विद्यालय स्थापना गर्नुपर्छ भन्ने सोच बनाएँ । पहल गरें । त्यतिबेला मेरो गाउँका सम्भवतः एकजनामात्रै क्याम्पस पढ्थे । नौ कक्षामा पढ्ने पनि ममात्रै थिएँ । अन्ततः विद्यालय स्थापना भयो । बीचमा त्यस्तै उस्तै भए पनि त्यसको १५ वर्षपछि त्यहीं प्राथमिक विद्यालयस्तरको पठनपाठन हुन्छ । अहिले पनि छ ।  


मेरो मृत्यु
मृत्यु अकाट्य छ । अवश्यम्भावी छ । मृत्यसँग डर लाग्दैन । म आठ कक्षामा पढ्थें । प्रत्येक शुक्रवार घर फर्कन्थें । बाटोमा खोला थियो । खोलामा बाढी आएको थियो । खोला तर्ने प्रयास गरे पनि बाढी आएकाले अलि तलसम्म पुर्यायो । त्यसपछि फर्कें । त्यतिबेला मूर्खता गरेर खोला तर्न खोजेको भए मलाई बगाउने थियो ।
मृत्यु अत्यन्तै सहज होस् भन्ने मेरो पनि मान्यता हो । 

यो जीवनकथा पनि पढ्नुहोस्

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

 

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप