सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरिया दिलबहादुर श्रेष्ठको जीवन : पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो

सोमबार, १७ पुस २०७४, १४ : ०९
सोमबार, १७ पुस २०७४

रातोपाटी डटकमले ‘मेरो जीवन’ स्तम्भ सुरु गरेको दुई वर्ष भइसकेको छ । आइतवारे स्तम्भ ‘मेरो जीवन’ सुरु गरेदेखि नै ‘हाई प्रोफाइल’ मा रहेकाको जीवनशैली बुझ्ने प्रयत्न गरियो । पाठकले उनीहरूको जीवनशैली बुझ्नमात्रै पाएनन्, चाख मानीमानी पढेको प्रतिक्रियासमेत दिने गरेका छन् ।

‘हाई प्रोफाइल’ का मानिस सबैका आँखामा पर्छन् । मिडियाले पनि उनीहरूलाई नै पछ्याउँछन् । तर, अपवादबाहेक गरिखाने वर्गप्रति सबैको आँखा पर्छ भन्ने छैन । यसपटक रातोपाटीले काठमाडौंमा भारी बोकेर खाने भरियाको जीवनशैली बुझ्ने प्रयास गरेको छ । १५ वर्षदेखि भारी बोकेर जीविकोपार्जन गर्दै आएका खाल्टे, धादिङका दिलबहादुर श्रेष्ठको जीवनशैली प्रस्तुत गरिएको छ ।

संवत् २०१८ मा जन्मेका श्रेष्ठ काठमाडौंको टेकुमा बस्छन् । कोठाभाडा मासिक १३ सय बुझाउँछन् । उनी सालिन्दा जेठ, असार, साउन र भदौसम्म गाउँमै खेतिकिसान गर्छन् । त्यसपछि काठमाडौं पस्छन् ।

बामगठबन्धनले समाजवाद उन्मुख राज्य व्यवस्था बनाउने भनेका छन् । दिलबहादुर श्रेष्ठले यसको अनभूति गर्न पाउलान् ?

दसैंतिहार मान्न र मंसिरमा धान भित्र्याउन घर पुग्ने भरिया दिलबहादुर श्रेष्ठसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना

खानेकुरा त गाउँकै मीठो । कोदो र मकैको ढिँडो कति मीठो कति । गाउँको मकैभटमास त्यत्तिकै मीठो लाग्छ । काठमाडौंमा बिहान भात, बेलुका पनि भातै खानुपर्छ । अलि धेरै मासु खाइन्छ । भारी बोक्ने भएकाले भोक लागेपछि जे पनि मीठो लाग्दोरहेछ । आजसम्म रेष्टुरेन्ट गएर खाएको छैन । धेरैजसो कोठामै पकाएर खान्छु । एउटा कोठामा तीनजना बसेका छौं । पालोअनुसार खाना पकाउने गर्छौं ।

मेरो पोसाक

घामपानी र जाडोबाट जोगिन कपडा लगाउने हो । मैले लगाएको कपडा तपाईंले देखिरहनुभएको छ । (उनले तीन पत्र कपडा लगाएका रहेछन् । सबैभन्दा भित्र लगाएको गन्जी देखाए । त्यसपछि सर्ट । बाहिर ज्याकेट । अनि पाइन्ट ।) मलाई कालो रङको कपडा मन पर्छ । झट्ट फोहोर–मैला नदेखिने भएकाले कालो रङका कपडा छान्ने गर्छु । मैले लगाउने धेरैजसो कपडा रेडिमेड हुन्छन् । आक्कलझुक्कल कपडा किनेर सिलाउँछु ।

जाडो भएकाले भित्र ढाकाटोपी बाहिर ऊनीको टोपी लगाएको हुँ ।

मेरो फिटनेस

फिटनेस भनेको के हो ? मलाई थाहा छैन । फिटनेसबारे जानकारी गराएपछि उनले भने, ‘गर्दिनँ ।’ भरियाले भारी बोकर हिँडिरहनुपर्छ । त्यही त हो फिटनेस । बिहान बेलुका पेटले मागेजति खाना खान्छु । पेट मारेर कमाएको सम्पत्ति के सम्पत्ति ।

मेरो अध्ययन

मैले पढेको छैन । पढ्न आउँदैन । तर, छोराछोरीलाई पढाएको छु । पढाउँदै छु ।

मेरो घुमफिर

घुमफिर गर्न रहर लाग्छ । काम गर्नेलाई घुम्ने फुर्सद हुँदैन । शनिवार काम नगरे पनि नुहाइधुवाइ र कपडा धुँदैमा ठिक्क । अरू त के भन्ने ललितपुर र भक्तपुरसम्म पुगेको छैन । धादिङ–काठमाडौं गरेकोबाहेक घुम्न निस्केको छैन । कामको सिलसिलामा भारतसम्म पुगेको छु । भारतको दार्जिलिङ र सिक्किममा दुई–तीन वर्ष काम गरेको थिएँ । दार्जिलिङ र सिक्किम असाध्यै मन पर्यो ।

मेरो फुर्सद

शनिवारबाहेक बिहान सात–आठ बजेदेखि बेलुका ६–७ बजेसम्म काममै हुन्छु । थाप्लो र पिठ्यूँ कुच्चिनेगरी भारी बोक्नुपर्छ । भारी बोक्ने काम सजिलो होइन । त्यसो भएपछि थकाइ लाग्ने नै भयो । तर पनि आज त साह्रै थकाइ लाग्यो आराम गरौं भन्ने कहिल्यै लाग्दैन । भारी पाउँदा दौडिहाल्नुपर्छ । नपाउँदा भारी बोक्नेबोक्नेबीच सडकमै ख्यालठट्टा, हाँसिमजाक गर्छौं ।

मेरो खेलकुद

सानोछँदा डन्डिबियो खेलेको थिएँ । अझै बिर्सेको छैन । अरूले फुटबल, भलिबल खेलेको देखेको छु ।

मेरो मोबाइल

नोकियाको मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको चार हजार रुपैयाँ परेको थियो । अहिलेसम्म दुईपटक मोबाइल सेट फेरें । दुवै बिग्रेपछि यो किनेको हुँ । कसैले फोन गर्दा उठाउने र काम पर्दा आफूले गर्नेबाहेक मोबाइलमा उपलब्ध सुविधा प्रयोग गरेको छैन ।

मेरो टेलिभिजन

काठकाडौंको टेकु बस्छु । कोठामा टीभी छैन । भए पनि हेरिँदैनथ्यो होला । दिनभरिको थकाइले टीभी हेर्ने जाँगर के चल्थ्यो होला र । बेलुका आठ नबज्दै सुतिन्छ ।

मेरो चलचित्र

जवानीमण फिल्म हेरेको थिएँ । अहिले त बूढो भइयो हेरेको छैन । हेरेको फिल्मको नाम सम्झना छैन । नायकनायिकाको नाम पनि हेक्का भएन ।

मेरो रोग

अहिलेसम्म सन्च सुबिस्तै छ । दुख्नु पोल्नु भएको छैन । दीर्घरोगले समातेको छैन । अहिलेसम्म होलबडी चेकअप गराएको छैन । कहिलेकाहीं गाउँको हस्पिटल (स्वास्थ्यचौकी) पुगेको छु । कडा परिश्रमले ज्यानलाई दुख्ने, पोल्ने नभएको हुनुपर्छ । पेटले मागेजति खान्छु ।

मेरो कमाइ

खाएर, कोठाभाडा बुझाएर महिनाको २० हजार चोखो बचाउँछु । कोठाभाडा १ हजार ३ सय छ । भारी बोकेर कालीमाटी, डिल्लीबजार, पुरानो बसर्पाक, डिल्लीबजार, फसिकेबसम्म पुग्छु । भारी र दूरी हेरेर पारिश्रमिक पाइन्छ । म ५७ किलो छु । तर, एकपटकमा ८०–९० किलोसम्मको भारी बोक्न सक्छु ।

मेरो मापसे

जाँडरक्सी खाइन्छ । गाउँमा कोदो ‘पिओर’ रक्सी खान्थें । काठमाडौं त्यस्तो पाइँदैन । सायद पाइँदो हो मलाई भेउ नभएको हुन सक्छ । काठमाडौंमा ठर्रा खाने हो । अरू खाने क्षमता छैन । एक बसाइमा एक मानासम्म रक्सी खान्छु । जीवनमा दुई–चारपटक मातिन्जेल रकसी खाएँ होला ।

मेरो संगीत

मेरो रेडियो, टीभी छैन । जाँगर चलेको बेला कहिलेकाहीं मोबाइलमा गीत सुन्छु । लोकगीत सुन्न मन लाग्छ । मन छोएको गीत गुनगुनाउँछु ।

मेरो भूल

सजाय पाउनेगरी गल्ती गरेको छैन । साथीभाइसँग गफगाफ गर्दा अन्जानमा गल्ती भए थाहा छैन । सजाय पाएको भए पो थाहा पाइन्थ्यो ।

मेरो घर

धादिङको खाल्टेमा रहेको मेरो घर संवत् २०५० बनेको हो । ढुंगामाटोले बनेको घरको डिजाइन सामान्य छ । आफ्नै कमाइले बनाएको घर त्यतिबेला ७० हजारमा ठडिएको थियो ।

मेरो राशी

राशी थाहा छैन । दिलबहादुरबाट कुन राशी हुन्छ सर ? पंक्तिकारले थाहा नभएको उत्तर दिए । ग्रहदशा हेराउने र ग्रहशान्ति गराउने काम मबाट भएको छैन । बुवाआमाले गराइदिनुभयो भने थाहा छैन ।

मेरो सौन्दर्यचेत

कपालमा केही लगाउँदिनँ । साबुनले नुहाउँछु त्यति हो । गाउँमा रहँदा पिनाले पनि नुहाइन्थ्यो ।

मेरो प्रेम

०४३ सालमा मागीबिहे गरेको हुँ । मेरा पाँचजना छोराछोरी छन् । कान्छी छोरी पढ्दै छिन् । दुईमध्ये एक छोरोको बिहे भइसक्यो । दुई छोरीको समेत बिहे भइसकेको छ ।

मेरो सपना

मुलुकमा जस्तोसुकै शासन आए पनि मजस्ता (भरिया) को दिन कहिल्यै आएन । ५६ वर्षको भएँ । पञ्चायत, बहुदल र अहिलेको खै कुन शासन पो भन्छ सम्म पनि गरिखानेलाई गरिखानै गाह्रो छ । मजस्ताको के भा’छ र खै । तर पनि धनी र गरिब एकनाश भइदिए हुन्थ्यो भन्ने लाग्छ । सबैले आठ घन्टा काम गर्नैपथ्र्यो । अहिले त गर्नेले गरेको गर्यै छ । मर्ने मरेको मर्यै छ । कमाउनेले अकुत कमाका छन् ।

गाउँ (धादिङको खाल्टे) मा बत्ती, पानी सुविधा छँदै छ । सडक पुगेको छ । धादिङ सदरमुकामबाट बसमा दुई घन्टा यात्रा गरेपछि गाउँ पुगिन्छ । स्वास्थ्यचौकी र विद्यालय भवन बनेकै छन् । गाउँमा खासै समस्या छैन । तर, पैसा कमाउने आधार छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नै खर्चमा घर पुगेर मतदान गरेका उनको मत खेर गएन । निर्वाचनमा जितेका नेताले गाउँमा ‘प्लस टु’ खोल्दिने भा’छन् । गाउँ त साँच्चै रमाइलो छ नि ।

मेरो मृत्यु

मृत्युलाई खै के भन्ने । कोही जिम्लिएर बाँच्नुपर्ने हुन्छ । कोही पुक्लुक्कै मर्छन् । एक दिन मर्नैपर्ने चोला मृत्युदेखि किन डराउनु ? मरेपछि मलामी पाँचजना होऊन् कि सयजना आफूले देखिँदैन । बाँचुन्जेल टन्न खायो । काम गर्यो । रोगाएर बाँच्न नपरोस् । पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो । 

यो जीवनकथा पनि पढ्नुहोस्

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न

 

नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप