केन्द्रीय संस्करण

नायिका शुभेच्छा थापाको जीवन : ‘लभ’ गर्ने अवसर पाइनँ, १६ वर्षमै बिहे

person access_timeभदौ २३, २०७५ chat_bubble_outline0

नायिकामात्रै भनियो भने शुभेच्छा थापाको परिचय अधुरो हुन्छ । नायिका थापा चलचित्र निर्माता पनि हुन् । सन्देशमूलक चलचित्र निर्देशन गर्ने उनको उद्देश्य छ । त्यो चाँडै पूरा गर्ने बताउने नायिका शुभेच्छा थापासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
साधारणतया दालभात, तरकारी र गुन्द्रुक असाध्यै मन पर्छ । पछिल्लो समय शाकाहारी भएकाले माछामासु पकाउन नपरे हुन्थ्योजस्तो लाग्छ । खानाको सोखिन छुइनँ । तसर्थ, खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । त्यसो भन्दैमा रेष्टुरेन्ट जाँदै नजानेचाहिँ होइन । यदाकदा परिवारसँग पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा पिज्जा माग्न बिर्सन्न । पाक कलाबारे राम्रै ज्ञान छ । 

मेरो पोसाक
‘कलरफुल’ कपडा लगाउने गर्छु । सुटिङबाहेक साडी, कुर्तासुरुवाल लगाउँछु । कलाकार भएकाले कपडामा वार्षिक दुई लाख रुपैयाँसम्म खर्च हुन्छ । रातो र सेतो रङका कपडा रोजाइमा पर्छन् । रेडिमेडभन्दा कपडा किनेर सिलाउने बढी हुन्छ । कपडा सिलाउन परेवा वुटिक पुग्छु । ‘ब्रान्डेड’ कपडा ‘कलरफुल’ नहुने भएकाले हेर्दा झालाकझिलिक नै रोजाइमा पर्छन् ।    

मेरो फिटनेस
बिहान सबेरै उठ्छु । पूजाआजा गर्छु । समय अनुकूल हुँदा मर्निङवाक निस्कन्छु । ट्रेडमिलमा दौडन्छु । डाइटिङ भरपूर छ । तौलेर खाना खान्छु । 

मेरो अध्ययन
हिजोआज भागवत् गीता पढ्दै छु । भागवत् गीताले जीवन जिउने कला सिकाउँदोरहेछ । मैले ढिला पढेँजस्तो लागिरहेको छ । कथा र उपन्यास पढ्न जाँगर चल्छ । प्रदीप ज्ञवालीको लेखनशैली लोभलाग्दो छ । मेरो घरमा संकलित किताब ६ सयजति होलान् ।  

मेरो घुमफिर
घुमफिरमा रुचि छ । नेपालका ३५ जिल्ला पुगेकी छु । पाँच देश घुमेकी छु । घरायसी कामले कतिपय अवस्थामा विदेश जाने अवसर त्याग्नुपरेको थियो । घुमेकामध्ये ताप्लेजुङको पाथिभरा, सुर्खेत असाध्यै मनपर्यो । जीवनमा एकपटक पेरिस पुग्ने र सगरमाथा आरोहण गर्ने रहर छ । 

मेरो फुर्सद
फुर्सद निकाल्नुपर्छ । एकप्रकारको दौडधुप छ । दौडधुप भएकाले यसपटक चार महिनाजति सञ्चारमाध्यम र कार्यक्रमबाट टाढा बसें । ‘रेस्ट’ गरें । कतिपय अवस्थामा मोबाइल ‘स्वीचअफ’ गरेकी थिएँ । आफूले आफूलाई ‘रिचार्ज’ गर्न चार महिना सबैसबैबाट टाढा बसें । फुर्सद पाइहालेमा मठमन्दिर पुग्छु । घरपरिवारलाई समय दिन नसकेकाले नै चार महिना आराम गरेकी हुँ । चलचित्र हेर्न नगए पनि घुमफिरमा चाहिँ निस्कन्छौं ।

मेरो खेलकुद
मलाई ब्याडमिन्टन खेल्न रहर लाग्छ । हिजोआज पनि बेलाबखत खेल्छु । फुटबल हेर्न त्यत्तिकै मन पर्छ । रोनाल्डोको ‘फ्यान’ हुँ । तर, क्रिकेटचाहिँ मन पर्दैन । 

मेरो मोबाइल
ओप्पोको मोबाइल सेट प्रयोग गर्दै आएकी छु । मोबाइल सेट ६–६ महिनामा परिवर्तन गर्ने बानी छ । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, भाइबर, वाटस्यापलगायत प्रयोग गर्दै आएकी छु ।  

मेरो टीभी
टेलिभिजनमा समाचार र नेपाली चलचित्रसम्बन्धी कार्यक्रम प्राथमिकतासाथ हेर्ने गरेकी छु । बिहान, बेलुका टेलिभिजन हेर्ने समय जुर्छ । घरमा एलजीको ४२ इन्चको टेलिभिजन छ । 

मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘प्रेमगीत’ हेरेकी थिएँ । छुटेका चलचित्र युट्युबमा हेर्ने गरेकी छु । हेरेका चलचित्रमध्ये ‘कबड्डी–कबड्डी’, ‘पशुपतिप्रसाद’ र ‘अ–अ’ असाध्यै मन पर्यो । अनमोल केसी, करिष्मा मानन्धर, सरोज खनाल, आमिर खानको अभिनय जोडदार लाग्छ ।  

मेरो रोग
अहिलेसम्म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । अहिलेसम्म एकपटक ‘होलबडी चेकअप’ गराएकी छु । व्यस्त भइयो भने पनि स्वस्थ रहन सकिन्छ । खानपानमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । 

मेरो भाषणशैली
कलाकार भएकाले समय–समयमा भाषण गर्नुपर्छ । आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा चित्तबुझ्दो नै पाउँछु । भाषण गर्दा ‘साँच्चै भन्नुपर्दा, भनौं न’ लगायतको थेगो प्रयोग गर्दोरहेछु । कलाकार भएकाले आक्रामक भाषण गर्नु पर्दैन । भाषण गरेकै आधारमा एकपटक विवादमा तानिएकी थिएँ । 
नेटवर्किङसम्बन्धी एक संस्थाले प्रमुख अतिथिका रूपमा निम्त्याएको थियो । बोल्नेक्रममा नेटवर्किङ कम्पनी ‘कमाइखाने भाँडो’ बन्न सक्छ भन्ने पुगें । नेटवर्किङ कम्पनी कमाइ खाने माध्यम बन्न सक्छ भन्न खोजेकी थिएँ । बोल्दाबोल्दै ‘टङ स्लीप’ भयो । ‘टङ स्लीप’ भएपछि तुरुन्तै माफी पनि मागेकी थिएँ । 

मेरो मापसे
दसैं–तिहारमा मादक पदार्थ खाने गर्छु । घरपरिवारसँग बसेर वाइन खाने गर्छु । दुई गिलास वाइनले मात लागिहाल्छ । 

मेरो संगीत
गीत–संगीत सुन्ने गर्छु । नारायण गोपाल, तारादेवी र नयाँपुस्ताका सबैको आवाज कर्णप्रिय लाग्छ । म आफैं पनि गुनगुनाउँछु ।

मेरो भूल
मानिस भएपछि जान–अञ्जानमा गल्ती गर्नु अस्वाभाविक होइन । मैले पनि गरेकी छु । खादा प्रसंगले मबाट एक समुदायलाई गहिरो असर परेको थियो । मैले माफी मागिसकेकी छु । त्यसपछि उहाँहरूको माया पनि पाइसकेकी छु ।  

मेरो घर
पुरानो घर भत्काएर त्यहीं नयाँ घर बनाएको १४ वर्ष भयो । यो घर ससुराबुवाले बनाउनुभएको हो । त्यतिबेला यो घर बनाउँदा ३५ लाख रुपैयाँ खर्च भएको थियो । ससुराबुवाले तीन छोराका लागि तीन फ्ल्याट बनाइदिनुभएको छ । एउटा फ्ल्याटमा पसेपछि बाहिर निस्कन पर्दैन । सबै सुविधा एउटैमा छ । 

आफ्नै कमाइले किनेको घर नयाँबानेश्वरको मिलनचोकमा छ । १० वर्षअघि बनेकै घर किनेका हौं । आठ आना जग्गामा बनेको दुईतले घर श्रीमान् र मेरो कमाइले किनेका हौं । त्यतिबेला एक करोड ३५ लाखमा किनेको त्यो घर हिजोआज ६–७ करोड पर्छ होला ।    

मेरो राशी
मेरो राशी मीन हो । ग्रहदशा बिग्रेको थियो, सुधार हुँदै गएको छ । बेलाबखत ग्रहशान्ति गराउने गरेकी छु । दाहिने हातको कान्छी औंलामा मोतीको औंठी लगाएकी छु । यो लगाउँदा मन चञ्चल कम हुन्छ । दाहिने हातमै मोतीको चुरा लगाएकी छु । देब्रे हातमा ‘ब्ल्याक स्टोन’ लगाएकी छु । घाँटीमा ‘ब्ल्यु स्टोन’को सिक्री लगाएकी छु । कानमा टप र नाकमा नत्थी लगाएकी हुँ । 

मेरो सौन्दर्यचेत
दुई वर्षदेखि ‘ब्ल्याक हेयर’ बनाउने गरेकी छु । फेसियल गर्दिनँ । ‘डे एन्ड नाइट’ क्रिम र फाउन्डेसन प्रयोग गर्छु । पफ्र्युम प्रयोग गर्ने बानी छ । थकाइ लागेको बेला साउना बाथ, स्टीम लिने गरेकी छु । 

मेरो प्रेम
हामीले प्रेमविवाह गरेका थियौं । १४ वर्षमा उहाँसँग भेट भयो । १६ वर्षमै बिहे भयो । त्यसो भएकाले अरूसँग प्रेम गर्ने मौका मिलेन । प्रेमप्रस्ताव पनि उहाँले नै राख्नुभएको हो ।   

मेरो परिवार
परिवारमा तीनजना छौं । श्रीमान् अनिल थापा । म शुभेच्छा थापा । र, छोरी अनुषा थापा । १८ वर्षीया थापा अस्ट्रेलियामा ‘हस्पिटालिटी’ पढ्दै छिन् । श्रीमान्को ‘एक्सपोर्ट, इम्पोर्ट बिजनेस’ छ ।  

मेरो सपना
वैदेशिक रोजगारीमा जानेलाई रोक्न पाए कति जाती हुन्थ्यो । वैदेशिक रोजगारीमा जानेलाई नेपालमै रोजगारी दिन सक्ने अवस्था सिर्जना गर्नुपर्छ । उनीहरूलाई नेपालमै केही गर्न सकिन्छ भनेर सुझाउन सक्न पाए हुन्थ्यो कि भन्ने लागिरहन्छ । हामीले विदेश पुगेर गर्ने दुःख स्वीकार्यौं तर स्वदेशमा गरिने दुःख स्वीकारेनौ कि भन्ने लाग्छ । 
घन्टाका हिसाबले नेपालमा पनि कमाइ हुन्छ भन्ने बुझाउन हामीले सिकाउन सक्नुपर्छ । नेपालमा कृषिकर्मलाई आत्मसात् गरेर राम्रै आर्जन गर्न सकिन्छ भनेर पढाउन, बुझाउन सक्नुपर्छ । राज्यले मजस्ता कलाकारलाई समेत त्यस्तो काम दिए म पनि आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने नै छु ।
म नायिकाबाट निर्माता भएँ । निर्माताबाट चलचित्र लेखिका भएकी छु । अब चलचित्र निर्देशकको भूमिकामा अनुहारिँदै छु । मलाई सन्देशमूलक चलचित्र निर्देशन गर्ने लोभ छ ।    

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । मृत्यु प्रकृतिको नियम हो । मृत्युदेखि डर लाग्दैन । सुन्दरीजल घुम्न जाँदा म चढेको गाडी दुर्घटनामा पर्यो । दुर्घटनामा परेको गाडी रूखको कापमा अड्केकाले बाँचेकी थिएँ । मृत्यु आफूले सोचेजस्तो नहोला तर मेरो मृत्युमा धेरै मलामी आइदिऊन् भन्ने लोभ छ ।  

 

राताेपाटीमा विभिन्न मितिमा प्रकाशित जीवनकथा पढ्नुहोस्

 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ