लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

person access_timeअसोज २९, २०७४ chat_bubble_outline0

गृहमन्त्री जनार्दन शर्माले राजीनामा दिएको चार महिनापछि मिनीसंसद्का रूपमा संसदीय अभ्यासमा रहेका सार्वजनिक लेखा समिति सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित भएका थिए ।

व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समिति पूर्वसभापति उपाध्याय संवत् २०४३ मा अखिल छैटौंमा आबद्ध हुँदै ०४४ मा कपिलवस्तु अध्यक्षको भूमिकामा पुगे ।

पञ्चायतविश्रद्ध आन्दोलन गर्दा ०४५ मा ६ महिना जेल परेका उनी त्यसपछि नेकपा मसाल सदस्य भए । ०५१–०५७ तात्कालिक माओवादी पार्टी गुल्मी–अर्घाखाँची इन्चार्ज, ०५६–०६१ डा. बावुराम भट्टराईको स्वकीय सचिवालयमा काम गरेका उनी ०६१ मा रूपन्देही-नवलपरासी इन्चार्ज हुँदै पार्टीको हेटौंडा महाधिवेशनबाट केन्द्रीय सदस्य भएका हुन् ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित माओवादी केन्द्र सचिवालय सदस्यसमेत रहेका डोरप्रसाद उपाध्यायसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
मलाई रोटी, तरकारी असाध्यै मन पर्छ । तरकारीमा साग भइदिए झन् जाती हुन्थ्यो । मलाई खीर मन पर्दैन । कामविशेषले बाहेक खानकै लागि रेष्टुरेन्ट जान्न । रेष्टुरेन्ट पुगिहाल्दा ‘भेजिटेरियन स्न्याक्स’ रोजाइमा पर्छ । पकाउने रुचि छ । मैले पकाएको खानेकुरा सादा हुन्छ ।

मेरो पोसाक
सामान्यतः सर्ट पाइन्ट लगाउँछु । हिजोआज कोट पनि लगाउनुपर्ने बाध्यता छ । सालिन्दा दुईपटक पोसाक किन्ने गरेको छु । झन्डै आठ÷दस हजार रुपैयाँ खर्च हुन्छ । आकाशे रङका पोसाक मन पर्छ । धेरैजसो कपडा किनेर सिलाउने गरेको छु । सिलाउने निश्चित ठाउँ छैन । ब्रान्डप्रति सचेत छु ।

मेरो फिटनेस
पहिले केही नगरे पनि हिजोआज मर्निङवाक गर्दै आएको छु । उच्च रक्तचाप र मधुमेहले समातेपछि मर्निङवाक गर्न थालेको हुँ । डाइटिङ नगरे पनि खानामा सचेत छु । योगा गर्दिनँ ।

मेरो अध्ययन
गौतम बुद्धबारे लेखिएको किताब पढ्दै छु । राजनीतिकबाहेक इतिहाससम्बन्धी किताब पढ्न जाँगर चल्छ । व्यंग्यात्मक हिसाबले खगेन्द्र संग्रौलाका आलेख पढ्न मन लाग्छ । राजनीतिक आन्दोलनको इतिहास आफ्नो जीवनसँग जोडेर लेख्ने सोच बनाएको छु । लेख्न खोजेको किताबमा आफ्नो विश्लेषण राख्दा उपयुक्त होला कि भन्ने लागेको छ । मेरो निजी पुस्तकालयमा झन्डै चार हजार किताब छन् । किताबमा सालिन्दा १५÷२० हजार खर्च गर्छु ।

मेरो घुमफिर
घुमफिरमा रुचि छ । मौका मिलेसम्म देशभित्रै घुम्न मन पराउँछु । नेपालका झन्डै ५० जिल्ला पुगेको छु भने सात÷आठ देश घुमेको छु । घुमेकामध्ये नेपालका सुदूरपश्चिमका ठाउँ र विदेशमा फिनल्यान्ड राम्रो लाग्यो । जीवनमा एकपटक राराताल र सोलुखुम्बुको नाम्चेबजार पुग्ने धोको छ ।

मेरो फुर्सद
हिजोसम्म व्यस्त थिएँ । अब फुर्सदिलो भएको छु । फुर्सद पाइहालेमा किताब पढेर रमाउँछु । घरपरिवारलाई समय दिन सकेको छैन । जिल्लातिरै कार्यक्षेत्र पर्ने भएकाले अब घरपरिवारलाई समय दिन सकिएला । रेष्टुरेन्ट धेरै कम गए पनि सामाजिक व्यवहारसँग जोडिएका चलचित्र हेर्न परिवारसहित गएको छु ।

मेरो खेलकुद
फुटबलप्रेमी हुँ । एसएलसी पढ्दासम्म फुटबल खेलेको हुँ । सबै खेलाडी र टिमप्रति उत्तिकै सम्मान छ ।

मेरो मोबाइल
सामसुङको मोबाइल सेट प्रयोग गर्दै आएको छु । यो १३ हजार रुपैयाँमा किनेको हुँ । मोबाइलमा फेसबुक, हाम्रो पात्रोलगायत चलाउँछु ।
 

मेरो टीभी
टीभीमा समाचार प्राथमिकतासाथ हेर्छु । टेलिसिरियल र क्वीजसमेत हेर्दै आएको छु । बेलुका खानपिनपछि टीभी हेर्ने साइत जुर्छ । मसँग सामसुङको १४ इन्चको टीभी छ ।

मेरो चलचित्र
पछिल्लोपटक हलसम्म पुगेर ‘छक्कापन्जा २’ हेरेको थिएँ । हेरेकामध्ये ‘बलिदान’, ‘पल’ र ‘जनयुद्ध’ चलचित्र असाध्यै मन पर्यो । अभिनयका हिसाबले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मन पर्छन् । व्यंग्यात्मकमा मनोज गजुरेलको अभिनय दमदार लाग्छ ।
मेरो रोग
पाँच वर्षदेखि रक्तचाप र तीन वर्षदेखि मधुमेहले समातेको छ । तर, दुवैलाई सन्तुलनमा राखेको छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । जतिबेला जे समस्या आउँछ, त्यहीअनुसार ‘चेकअप’ गर्छु । उपचार गराउँछु ।

मेरो भाषणशैली
मेरो भाषणलाई धेरैले डा. बावुराम भट्टराईको शैलीसँग मिल्दोजुल्दो भन्ने गर्छन् । मलाई पनि त्यस्तै लाग्छ । डा. भट्टराईसँग झन्डै ४२ महिना सँगै बसेको हुँ । तसर्थ, त्यसो हुनु अस्वाभाविक होइन ।
मेरो भाषण कहिल्यै आक्रामक हुँदैन । बौद्धिक भन्दा हुन्छ । भाषण गर्नुअघि सामान्य तयारी गर्छु । मेरो भाषण बाहिरीभन्दा आन्तरिक प्रशिक्षणकिसिमको हुन्छ । पंक्तिभित्र दिने भाषण मिठासपूर्ण र रमाइलो हुन्छ तर जनमानसमा दिने भाषण त्यति प्रभावकारी हुँदैन भन्ने साथीहरूको भनाइ छ ।

मेरो मापसे
मापसे गर्दिनँ । सामान्यतया जमघटमा एक÷दुईपटक लिने त छँदै छ । तर, त्यसलाई अपनाइनँ । मैले एक÷दुईपटक रेडलेबल चाखेको छु । दुईभन्दा बढी पेग आजसम्म लिएकै छैन ।

मेरो संगीत
गीत संगीत सुन्छु । सदावहार गीत सुन्न आनन्द लाग्छ । हिन्दी गीत श्रवणीय लाग्छन् । नेपाली सुन्न परे ‘कमेडी टाइप’ का सुन्न मन लाग्छ । गीत सुने पनि गुनगुनाउने बानी छैन ।
 

मेरो भूल
पश्चाताप लाग्नेगरी भूल गरेको सम्झना छैन । तर, सांसद भइसकेपछि गत वर्ष ‘स्पेन काण्ड’ मा मुछिन पर्यो । स्पेन जान भिसाका लागि आवेदन दिएको सही हो । जसले लैजाने भनेको उसले अर्को मानिस ‘एट्याच’ गरेपछि कीर्ते गरेको थाहा भयो । त्यो पनि सञ्चारमाध्यमबाट थाहा पाइयो । हामीजस्तो मानिसले नबुझीकन त्यसो गर्न हुन्नथ्यो भन्ने लाग्यो ।
विद्यालयस्तरमा पढ्दा कहिलेकाहीं गुरुको पिटाइ नखाने कमै होलान् ।
 

मेरो घर
कपिलवस्तुमा रहेको मेरो घर बनिबनाउ किनेको हुँ । ०६५ मा किनेको घर पुख्र्यौली सम्पत्ति बढी परेको छ । आफ्नो कमाइ दुई÷चार लाख परेको हुन सक्छ । घरको स्टाइल एकदमै पुरानो छ । त्यतिबेला घर किन्दा २५ लाखमा किनेको हुँ । पछि ६ लाखमा दुई कोठा थपेको छु ।

मेरो राशी
मेरो राशी कर्कट हो । ग्रहदशा हेराउँदिनँ । तर, रेडियो, पत्रपत्रिका तथा टीभी आएको राशीफल हेर्ने पढ्ने गर्छु । उपाध्याय ब्राह्मण भए पनि अहिलेसम्म मेरो व्रतबन्ध गरेको छैन । बुवाआमाको किरियासमेत गरिनँ । मेरा छोराहरूको पनि व्रतबन्ध गरेको छैन ।
 

मेरो सौन्दर्यचेत
कपाल कालो बनाउन इन्डिका मेहेन्दी लगाउने गर्छु । फेसियलमात्रै होइन अनुहारमा क्रिमसमेत लगाउँदिनँ । पफ्र्युम प्रयोग गरेको छैन ।

मेरो प्रेम
हाम्रो बिहे मागी त हुँदै होइन, यस अर्थमा प्रेम पनि होइन । हामी जनयुद्धमा थियौं । त्यतिबेला होलटाइमरको समस्या थियो । त्यसताका बिहे गर्दा होलटाइमर बच्ने नत्र घरपरिवारले अन्तै बिहे गरिदिन्थे । तसर्थ, पार्टीमा सल्लाह गरेर ०५३ मा बिहे गरेका हौं ।

मेरो सपना
सहज, सरल नेतृत्वसहितको कार्यकारी पद होस् । अर्को समाजमा भएका भ्रष्टाचारजन्य क्रियाकलाप छन्, त्यो कहीं र कतै नभएको मुलुकको भइदिए हुन्थ्यो भन्ने लाग्छ । पदका निम्ति राजनीति गर्ने होइन, यो जिम्मेवारी र आवश्यकताले हुने कुरा हो । अहिले राजनीतिक नेतृत्वबाट आपराधिक कार्य मौलाउने, भ्रष्टाचार बढ्दै गएको छ, त्यसलाई अन्त्य गर्ने शक्तिसहितको ठाउँमा एकपटक पुग्न पाए त्यस्तो प्रवृत्ति नाङ्गेझार पार्न सकिन्थ्यो भन्ने लाग्छ ।

मेरो मृत्यु
मृत्यु स्वाभाविक परिघटना हो । प्रत्येक मृत्यु सामयिक हुन्छन् । मृत्यु स्वाभाविक होस् भन्ने लोभ छ । अझै केही गर्न छ भनेर होला मृत्युसँग डर लाग्छ । जनयुद्धताका तीनपटक मृत्युका नजिकनजिक पुगेर पनि बाँचेको हुँ ।
०५९ मा पहिलोपटक संकटकाल घोषणा भयो । म साथी भेट्न गएको थिएँ । साथीको कोठा दुस्मनले कब्जामा लिएको रहेछ । म छोरासहित साइकलमा त्यहाँ पुगे पनि दुस्मनले कहाँ, केका लागि आएको भनेर सोध्दासोध्दै म घरभेटी भेट्न आएको भनेर ढाँटें । पहिलोपटक छोराका कारणले बाँचें ।
दोस्रोपटक पाल्पाको गोठादीमा घेराबन्दीमा परें । घेराबन्दीमा परे पनि सेनाले नजिकै आएर माओवादी कहाँ छन् भनेर सेनाले सोध्यो । म पनि त्यही पसलमा बसिरहेको थिएँ । उसले मलाई वास्ता गरेन । भाग्ने हतारो गरेको भए जे पनि हुन सक्थ्यो तर म निर्धक्क भएर त्यहीं बसिरहेकाले बचें ।

जनयुद्ध सुरु नहुँदै माघ २२ गते कपिलवस्तुको एक जंगलमा हतियार चलाउने तालिम चलिरहेको थियो । ‘यु’ आकारमा बस्नुपर्ने भए पनि हामी गोलाकारमा बस्यौं । भारतबाट ल्याएको सानो पेस्तोल थियो । पेस्तोलको च्याम्बरभित्र गोली रहे पनि हामीलाई थाहा भएन । पेस्तोल चलाउन, खेलाउन सिकिरहेका थियौं । टोपबहादुर रायमाझीले पेस्तोल चलाउन सिकाउँदै हुनुहुन्थ्यो । त्यही समय साथीले समातिरहेको पेस्तोल पड्कियो । त्यतिबेला मेरो जुँगाको रेखी भर्खर बस्दै थियो । पेस्तोल पड्कँदा जुँगाको रेखी डढेको अनुभूति भयो । त्यतिबेला त्यहाँ रहेकाले म मर्यो भनेर माया मारिसकेका रहेछन् । तर, म रौंरौंले बाँचें । 

यो जीवनकथा पनि पढ्नुहोस्

 

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

 


 

 

 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ