शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

आइतबार, १८ असार २०७४, १२ : ०५
आइतबार, १८ असार २०७४

बाँच्ने शैली सबैको फरक हुन्छ । कृषिविद् मदन राईसमेत अछुतो छैनन् । कृषिविद् राईको बाँच्ने शैली आफ्नै छ । भन्छन्, ‘नि क्यु आत्मसात् गरेर बाँच्न सिके सफलता पाउन सकिन्छ ।’


‘नि क्यु’ भनेको निडर, निरोगी र निष्पक्ष हो । ‘मृत्युसँग नडराऊ, काम बिग्य्रो भने नडराऊ, कसैले केही गर्लान्/भन्लान् कि भनेर नडराऊ,’ उनले सुझाए, ‘निरोगी होऊ । शरीर निरोगी भयो भने जे पनि गर्न सकिन्छ ।’  


संसारमा जे/जति द्वन्द्व चर्केको छ सबै पक्षपातले गर्दा भएको हो । तसर्थ,  सकेसम्म निष्पक्ष बन्ने प्रयास गर्नुपर्छ भन्ने कृषिविद् मदन राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
समग्रमा दालभात, तरकारी मन पर्छ । यसलाई सन्तुलित खाना भन्ने गरेको छु । संसार घुम्दा मैले धेरै खानेकुरा खाएको छु । खानेतत्व आफैं उब्जाउने भएकाले खानेकुराबारे मलाई ज्ञान छ । कार्बोहाइड्रेडले तागत, प्रोटिनले मासु बढाउने, बोसोले हाडजोर्नी चलायमान बनाउने, भिटामिनले रोगसँग लड्ने क्षमता बढाउने र मिनरलले हड्डी बनाउँछ । 

दालभात खान पाए खुसी हुन्छु । गाउँमा रहँदा मकैको थेप्लो र गुन्द्रुक खाँदाखाँदा दिक्क लाग्थ्यो । तर, स्वास्थ्यका लागि त्यो राम्रो रहेछ भन्ने थाहा पाएपछि सोचाइ परिवर्तन भएको छ । खानकै लागि रेष्टुरेन्ट धेरै कम जान्छु । पहिले÷पहिले पोलेको मासु मनपथ्र्यो तर हिजोआजचाहिँ सलाद मन पर्छ । 
श्रीमतीको पाककला असाध्यै भएकाले मैले पकाउन पर्दैन । उनलेजति पकाउन पनि जान्दिनँ । एक्लै हुँदा आफैं पकाउँछु । विदेशमा रहँदा आफैंले पकाउँथें । 

मेरो पोसाक
सफा र सुहाउने कपडा लगाउन रुचाउँछु । मलाई सुट र दौरासुरुवालले असाध्यै सुहाउँछ । कपडा किनेर सिलाउने गरेको छु । रेडिमेड पनि लगाउँदै आएको छु । दस वर्षदेखि कपडा किनेको छैन । दुई छोराले विदेशबाट पठाइदिन्छन् । आफन्त, शुभचिन्तकले पनि उपहारस्वरूप दिन्छन् । 
खान र लगाउन अनावश्यक खर्च गर्दिनँ । ढाकाटोपी र ह्याट लगाउँछु । घामबाट जोगिन प्रिक्याप लगाउने गर्छु । 

मेरो फिटनेस
फिटनेसबारे आफ्नै बुझाइ छ । म छिनछिनमा शरीर चलाउँछु । बिहानको नित्यकर्मपछि शारीरिक अभ्यास गर्छु । अभ्यास गर्दा मुटु र फोक्सो चल्नुपर्छ । प्रायः ४५ मिनेट हिँड्छु । 


डाइटिङ गर्दिनँ । दिनमा तीन/चारपटक खाने गर्छु । एकताका तीन थाल भात र ३५ वटा रोटी खान्थें । डेढ किलो चामलको भात पनि खाएको छु । हिजोआजचाहिँ ‘सलेक्टिभ’ छु । कम्युटरमा काम गर्ने, कार्यालयमा काम गर्ने, बसिराख्नेलेचाहिँ योगा गर्नुपर्छ । अरूले पर्दैन । योगा गर्नैका लागि प्रकृतिले आधा रात बनाएको हो । रात पर्नु भनेको अब तिमी आराम गर भनेको हो । 


मानिसले दैनिक पाँचदेखि १० किलोमिटर हिँड्नुपर्छ । घरमै भए पनि तल÷माथि गर्दा राम्रै हुन्छ । कार्यालयमै रहँदा पनि बेलाबेला त्यसो गरे फलदायी हुन्छ । नत्र कोठामै भए पनि बुरुकबुरुक उफ्रनूस् । 

मेरो अध्ययन
इन्टरनेटमा सबै कुरा छन् । तत्वबारे जानिरहन्छु । तत्वले बनाएको मानिसले के÷के गरिरहेका छन् भनेर पढ्छु । प्रायः समसामयिक गतिविधिबारे इन्टरनेटमा पढ्छु । समाचारपत्र, अनलाइन म्यागेजिन पढ्न छुटाउँदिनँ । चाखलाग्दा विषयका विज्ञान, दर्शन, प्रविधिसँग ‘अपडेट’ रहन्छु । प्रकाशित नयाँ÷नयाँ किताब पढ्न समय व्यवस्थापन गरेकै छु ।
टोल्सटोय, मायो एन्जेला, रवीन्द्र मिश्र, विजयकुमार पाण्डे र खगेन्द्र संग्रौलाको लेखनशैलीमा दम छ । विशेषतः शब्दको माला उन्न जान्ने लेखकको प्रशंसा गर्छु । समस्यासँग सम्बन्धित किताब लेख्ने तयारीमा जुटेको छु । लेख्नका लागि शीर्षक चयन गर्दै छु । 
मसँग १५ हजार किताब थिए होलान् । दुईतिहाइ खोटाङ पठाएँ । एकतिहाइ आफैंसँग छ । किताबमा २० देखि ३० हजार रुपैयाँसम्म खर्चन्छु । 

मेरो घुमफिर
१३ वर्ष हुँदादेखि हिँडेको अहिले पनि हिँडेको हिँड्यै छु । ७२ देश घुमेको छु । नेपालका ७५ जिल्ला पैदल हिँडेको छु । घुमफिर गर्न असाध्यै रुचि छ । मेरो बाध्यता पनि हो । 
संसारभरिका मानिस बस्ने भएकाले मात्रै होइन, त्यहाँको हावापानी, माटो विविधखालको रहेकाले अमेरिका पूर्ण देश हो । अमेरिका संस्कृति र प्रकृतिले पूर्ण देश हो । न्युजिल्यान्ड र अस्ट्रेलिया पुग्ने रहर छ । न्युजिल्यान्डको शैक्षिक र संस्कार असाध्यै राम्रो छ भन्ने सुनेको छु । अर्को वर्ष न्युजिल्यान्ड जाने योजना बनाएको छु । 

मेरो फुर्सद
बोल्नेसम्म फुर्सद छैन । हिजो म जसरी खटें परिवारका लागि, आज अरूका लागि खट्दै छु । ६८ वर्षको उमेरमा पनि १६÷१८ घन्टा खटेकै छु । थाकेको अनुभूति नै हुँदैन । फुर्सद भइहालेमा कामकाजी शिक्षा सिकाएर नेपालीलाई कसरी धनी बनाउन सकिन्छ भने किताब लेख्न सदुपयोग गर्छु । 
दुई छोरा विदेश छन् । समय मिलाएर भेट्न जान्छौं । घुम्न निस्किरहन्छौं । रेष्टुरेन्टको खानेकुरा खानसाथ बिसाउँछ । पाँचतारे होटलमा खाएर फर्केपछि स्वास्थ्य गडबड भइहाल्छ । चलचित्र नहेरेको वर्षौं भइसक्यो । च्यारिटी शोमा निम्ता आउँदा आयोजकको मन राखिदिन पनि जाने गरेको छु । बीएस्सी पढ्दा दैनिकजसो चलचित्र हेरेको थिएँ ।

मेरो खेलकुद
म व्याडमिन्टनको क्याप्टेन हुँ । टेबलटेनिस, बास्केटबल मन पर्छ । भलिबल ठिकै लाग्छ । बीएस्सी पढ्दासम्म व्याडमिन्टनको क्याप्टेन थिएँ । व्याडमिन्टनअन्तर्गत पूर्वाञ्चलको प्रतिनिधित्व गर्थें । मेरो र्याङकिङ आठ÷नौ हो ।
समय भयो भने फुटबल र क्रिकेट हेर्न मन लाग्छ । ब्राजिल र अर्जेन्टिनाका फुटबल खेलाडी प्रिय लाग्छन् । समयाभावले क्रिकेटप्रति चाख घट्दो छ । 

मेरो मोबाइल
आइफोन सिक्स प्रयोग गर्दै आएको छु । यो छोरोले ल्याइदिएका हुन् । अर्को सगरमाथा फाइनान्सले दिएको सामसुङ हो । व्यस्तताले मोबाइलका एप्लिकेसन कमै प्रयोग गर्ने गर्छु । तर पनि इमेल, फेसबुकलगायत प्रयोग गर्छु । 

मेरो टेलिभिजन
टीभी असाध्यै हेर्छु । समाचार, टक शो, धार्मिक कार्यक्रम पनि हेर्छु । धर्म विज्ञानसम्मत छैन । तुलना गर्दै ज्ञान प्राप्त गर्न धार्मिक कार्यक्रम हेर्ने गरेको हुँ । श्रीमती र मेरा लागि फरक टीभी छ । मेरोचाहिँ ३२ इन्चको टीभी होला । 

मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘छक्कापन्जा’ हेरेको थिएँ । बिनायो पनि हेरें । चलचित्र कथा काल्पनिक हुन् । आफ्नै सत्यकथाको तुलनामा काल्पनिक कथा फिका लाग्छ । ‘दोवदन’, ‘सोले’ र आमिर खानका सबै चलचित्र राम्रो लाग्छ । 

मेरो रोग
यो वर्ष ब्रोङकाटिस्टले अलि दुःख दियो । सिंगापुरसम्म पुगेर उपचार गरें । डाइबिटिज छ । ६÷६ महिनामा मुटु, फोक्सो ‘चेकअप’ गराइरहन्छु । खाना र सकारात्मक सोचले मानिसलाई स्वस्थ रहन सघाउँछ । 

मेरो भाषणशैली
मुलुककै राम्रो भाषण गर्नेमध्ये म पनि हुँ । भाषण भनेको शब्दज्ञान हो । विज्ञान, दर्शन, प्रविधि र भाषिक ज्ञान भएकाले मैले भाषण गर्दा सियो खस्दासमेत सुनिन्छ । मुलुकका भाषणवाजको भाषण सुनेको छु । तर, उनीहरूमा विज्ञान, दर्शन र प्रविधिबारे एउटा न एउटा अभाव छ । उनीहरूको भाषण रोचक सुनिन्छ तर ज्ञानवद्र्धक छैन । 
मेरो भाषण वैज्ञानिक हो । त्यतिमात्रै होइन, जीवन र जगत्सँग सम्बन्धित हुन्छ । समय परिस्थिति हेरेर म बौद्धिक र आक्रमक भाषण गर्न सक्छु । 

मेरो मापसे
त्यतिबेला जाँड, रक्सी धेरै खान्थें । नौ वर्षको हुँदा घैंटो रित्याउने मानिस हुँ । शिक्षकले जाँड र रक्सी खाए पिट्छु भनेपछि छाड्दै गएँ । तर, मुस्ताङमा २५ गिलाससम्म रक्सी खाएँ । वर्ष दिन खाएपछि छाडें । सार्वजनिक सभा, समारोहमा हल्का लिने गरेको छु । 

मेरो संगीत
गीत/संगीत सुन्छु । संगीतपारखी हुँ । मैले गीत पनि लेखेको छु । शान्तिराम राईले संगीतबद्ध गरेका छन् । शम्भु राई, खेम गुरुङ र अञ्जु पन्तको आवाज मन पर्छ । 
 

मेरो भूल
राष्ट्र र समाजलाई हानि हुने भूल गरेको छैन । तर, स÷साना भूल अनगिन्ती गरेको छु । यसो गरेको भए यसो हुन्थ्यो होला भन्ने किसिमको भूल गरेको हँु । शिक्षकले सोध्दा नजानेकोबाहेक भूल नगरी सजाय पाएको छैन । 

मेरो घर
बनेकै घर २०/२२ वर्षअघि किनेको हुँ । बुवाबाट पाउने अंश मैले लिँदै लिइनँ । आफ्नै कमाइले घर किनेको हुँ । मुलुकभरि मेरो व्यक्तिगत घर थुप्रै छन् तर ललितपुरको ढोलाहिटीमा रहेको घरको डिजाइन असाध्यै राम्रो छ । मेरो घरमा चारैतिर खुला भएकाले घामको प्रकाश छिर्छ । वास्तुभन्दा घामको प्रकाश छिर्ने घर उत्तम मानिन्छ । 
त्यतिबेला २१ लाखमा घर किनेको थिएँ । 

मेरो राशी
मेरा राशी मलाई थाहा छैन । ग्रहशान्ति गराउँदिनँ । नगर्दा पनि मलाई केही भएको छैन । 

मेरो सौन्दर्यचेत
पहिले/पहिले कपाल कालो बनाउने मेहेन्दी लगाउँथें । अहिले त त्यो पनि छाडें । फेसियल गर्ने बानी छैन । तर, सनक्रिम लगाउने गर्छु । काखी गन्हाउला भनेर पफ्र्युम प्रयोग गर्छु । 

मेरो प्रेम
११ वर्ष पुगेपछि विपरीत लिंगप्रति आकर्षण हुन्थ्यो । तर, १३ वर्षमै बिहे भयो । 

मेरो सपना
समृद्ध नेपाल बनाउन मरिमेटेर लागिपरेको छु । नेपालभन्दा गरिब देश धनी भएको देखेको छु । नेपाललाई समृद्ध बनाउन तन, मन र धनसहित लागिपरेको छु । म नयाँ शक्तिसँग आबद्ध छु । देश बनाउन राजनीतिमा लागेको हुँ । दल र आफू बन्न राजनीतिमा लागेको होइन । दल भनेको साधनमात्रै होइन । काम लागेन भने फेर्न पर्छ । 

मेरो मृत्यु
मृत्यु तत्व रूपान्तरणको शक्ति हो । मानिस विभिन्न तत्वले बनेका हुन् । यो रूपान्तरण भइरहन्छ । चार÷पाँचपटक मृत्युको नजिक पुगेको छु ।
श्रीमतीलाई मेरो मलामी तिमी पनि नजानू भनेको छु । मेरो मलामी झिँगा, काग, गिद्ध, स्याल र कुकुर हुन् । मलाई खाएर उनीहरूको रूप बदलिन्छ । उनीहरू रूपान्तरित हुन्छन् । सकेसम्म मेरो शव गिद्ध, काग, स्याललाई खुवाइयोस् । होइन भने पाँच फिटजतिको खाडल खनेर पुरेर फुल्ने वा फल्ने बिरुवा रोपियोस् । त्यसका लागि १०/२० हजार छुट्याएको छु । म मरेको दिन खुसी मनाउनू भनेर परिवारलाई भनिसकेको छु । । मलामी जानु भनेको सबैभन्दा ठूलो अपराध हो । मानिसको स्वार्थ हो । 
 

यो जीवनकथा पनि पढ्नुहोस्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप