शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद विशाल भट्टराईको जीवन : प्रेमसम्बन्ध रहे पनि विवाह भएन

आइतबार, १३ फागुन २०७४, १३ : ३१
आइतबार, १३ फागुन २०७४

‘राजनीतिमा लागेका मानिस पनि इमानदार हुन्छन् भन्ने देखाउन पाए पुग्छ,’ सांसद विशाल भट्टराईको बुझाइ छ, ‘हामीसँग जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिलगायतका स्रोत–साधन छन् । यसको सही सदुपयोग गर्न सके मुलुक बनिहाल्छ ।’ 

मुलुकमा ठुल्ठूला पूर्वाधार निर्माण गर्न सके लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि मुलुकमा रहेका आन्तरिक स्रोत साधनको अधिकतम सदुपयोग गर्न सकिन्छ भन्ने सांसद विशाल भट्टराईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
सामान्यतः नेपाली खाना दालभात तरकारी नै मन पर्छ । त्यसो भन्दा अन्य खानालाई हेलाँ गरेको भने होइन । घर पुग्दा कोदोको ढिँडो र गुन्द्रुक खान मन पर्छ । खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः रोजाइमा पर्छ । रुचि भए पनि पकाउन पाएको छैन । क्याम्पस पढ्दा १०÷१२ वर्ष आफैंले पकाएकै हो । 

मेरो पोसाक
प्रायः सर्ट–पाइन्ट र सुट लगाउँछु । सांसद भएपछि कोट लगाउन थालेको हुँ । कपडामा न्यूनतम खर्च हुन्छ । उज्यालो रङको कपडा छान्ने गरेको छु । धेरैजसो कपडा किनेर सिलाउने गर्छु । चल्तीभन्दा सामान्य टेलरिङमा कपडा सिलाउँदै आएको छु । कपडाको ‘ब्रान्ड’ बारे सामान्य जानकारी छ । अहिलेसम्म ह्याट, क्याप लगाएको छैन ।   

मेरो फिटनेस
समाचार सुन्दै मर्निङवाक निस्कने बानी छ । योगा गर्ने बानी छैन । डाइटिङ गर्दिनँ ।  

मेरो अध्ययन
हिजोआज वामदेव गौतमको ‘पुनर्निमाण महाअभियान’ पढिरहेको छु । यसअघि लालबावु पण्डितको ‘सिंहदरबार बदल्ने यात्रा’ पढें । बजारमा आएका चल्तीका समसामयिक किताब पढ्न छुटाउँदिनँ ।

साहित्य विधामा कृष्ण धरावासीको उपन्यास पढ्न जाँगर चल्छ । विद्यार्थीकालमा सरुभक्तका उपन्यास पढ्न छुटाइनँ । राजनीतिक लेखकमा मोदनाथ प्रश्रित, प्रदीप नेपाल, प्रदीप ज्ञवालीलगायतलाई पढेको छु । 

मेरा तीन ठाउँमा किताब छन् । ०४६ को जनआन्दोलनताका सुरक्षाकर्मीले पटक–पटक दुःख दिएपछि दाइले अधिकांश किताब जलाउन बाध्यता भयो । अहिले घर (खोटाङको खोटाङ बजार), दिक्तेल बजार र काठमाडौंमा गरी झन्डै पाँच हजार किताब छन् । पुस्तकालय बनाउने सोच बनाएको छु । सालिन्दा २० देखि ५० हजार रुपैयाँसम्मको किताब किन्ने गरेको छु । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । कर्णाली अञ्चलबाहेक मुलुकका ६० जिल्ला पुगेको छु । दक्षिण अफ्रिका, केन्या, जापान र भारत घुमेको छु । घुमेकामध्ये जापान असाध्यै मन पर्यो । स्वदेशमा पोखराले आकर्षित गर्यो । ८३ वर्षीया आमासहित परिवारलाई लिएर मुक्तिनाथ जाने रहर छ । 

मेरो फुर्सद
मेरो सबैभन्दा बढी समय टेलिफोन कुराकानीमा बित्ने गर्छ । खोटाङमा पार्टी नेतृत्व गरेर बसेको, घर–घरमा चिनिएकाले स–साना काममा अधिकांशले टेलिफोन गर्छन् । स–साना कामसमेत पूरा गर्नुपर्छ भन्ने मान्यता छ । तसर्थ, राजनीतिक दौडधुप छ । 

दौडधुप भए पनि मोबाइल ‘स्वीचअफ’ गर्ने बानी छैन तर कतिपय अवस्थामा निश्चित समयमा सक्नैपर्ने काम पूरा गर्न मोबाइल ‘स्वीचअफ’ गर्नुपर्ने बाध्यता हुन्छ । दुईमध्ये स्काई मोबाइलचाहिँ कहिल्यै ‘अफ’ गर्दिनँ । धेरै नै थकाइ लागेको बेला कहिलेकाहीं चल्तीका मोबाइल राति १०–११ बजेपछि ‘अफ’ गर्छु । 

फुर्सद भइहाल्दा घाममा बसेर चिया खाँदै किताब तथा पत्रपत्रिका पढ्छु । यसैगरी, छोराछोरी, साथीभाइसँग हलमै पुगेर चलचित्र हेर्ने गर्छु । घरपरिवारलाई बेवास्ता गरेको छैन । यदाकदा परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र चलचित्र हेर्न जाने गरेको छु । 

मेरो खेलकुद
म खेलाडी होइन तर क्याम्पससम्म खेलमा रुचिसाथ लागेको थिएँ । हिजोआज पनि उद्घाटन गर्न जाँदा एक गेम भलिबल तथा फुटबल खेल्ने गर्छु । केटाकेटीमा डन्डिबियो धेरै खेलेको थिएँ । 

मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । सामसुङ र एमआईको क्रमशः १७ र ३० हजार रुपैयाँ परेको थियो । एमआईचाहिँ निर्वाचनताका साथीले किनिदिएका हुन् । काम लागुन्जेल मोबाइल प्रयोग गर्छु । आफूलाई चाहिने मोबाइलका ‘एप्लिकेसन युज’ गर्ने बानी छ । कहिलेकाहीं गेमसमेत खेल्छु ।  

मेरो टीभी
टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । ख्यातिप्राप्त व्यक्तिको अन्तर्वार्ता हेर्छु । हास्यव्यंग्यसमेत हेर्न जाँगर चल्छ । टेलिभिजन हेर्ने समय बेलुका जुर्छ । घरमा १० वर्षअघि किनेको सामसुङको सानो टीभी छ । दिक्तेलको डेरामा घरभेटीकै टीभी छ । काठमाडौंमा एलजीको २१ इन्चको टीभी छ । यसलाई २० हजार रुपैयाँ परेको थियो । 

मेरो चलचित्र
मैले पछिल्लो समय कबड्डी–कबड्डी हेरेको थिएँ । टीभी र भिसिडीमा चलचित्र हेर्ने गरेको छैन । हेरेकामध्ये बलिदान, माइतीघर, कान्छी, कुसुमेरुमाल र पशुपतिप्रसाद राम्रो लाग्यो । सरोज खनाल, राजेश हमाल, नवल खड्का, दयाहाङ राई र सिर्जना बस्नेतको अभिनय जीवन्त लाग्छ ।

मेरो रोग
मलाई ग्यास्ट्रिक छ । यसले समय–समयमा दुःख दिन्छ । यसबाहेक स्वस्थ छु । अहिलेसम्म पाँचपटक होलबडी चेकअप गराएको छु । हिँडडुल र मिहिनेत गर्ने भएकाले स्वस्थ रहेको हुँ भन्ने मेरो ठम्याइ छ । 

मेरो भाषणशैली
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । आफैंले मूल्याकंन गर्दा आफ्नो भाषणशैली ‘इन्फर्मल टाइप’ को हो भन्ने लाग्छ । भाषणशैलीमा बौद्धिकता भर्नुपर्ने आत्मसमीक्षा गरेको छु । १८ वर्षदेखि निरन्तर खोटाङमा छु, यत्तिका अवधिमा मलाई सुनिरहनु भनेको सामान्य होइन । आकर्षण कायम राख्न पाउँदा गौरवान्वित छु । भाषण गर्दा नजानिँदोपारामा ‘तपाईंको’ भन्ने थेगो प्रयोग गर्दोरहेछु ।
प्रतिपक्षमा रहँदा कहिलेकाहीं आक्रामक भाषण गर्नु अस्वाभाविक होइन । हिजोआज त विकास निर्माणका कुरामात्रै गरिन्छ । भाषण गरेकै आधारमा कहिलेकाहीं विवादमा तानिएको छु । 

मेरो मापसे
मादक पदार्थ खाने गरेको छैन । तर, स्वादचाहिँ थाहा छ । 

मेरो संगीत
गीत–संगीत सुन्न असाध्यै मन पर्छ । नारायणगोपाल, भक्तराज आचार्य, राजेशपायल राई, शिशिर योगी, अरुणा लामा, तारादेवी, मीरा राणा, अञ्जु पन्त, मेलिना राईको आवाज कर्णप्रिय लाग्छ । जनवादी गायकमा रामेश, रायन, मञ्जुल, जीवन शर्मा र मधु गुरुङलाई पनि सुन्ने गरेको छु । नारायणगोपाल र अरुणा लामाका गीत गुनगुनाउँछु । 

मेरो भूल
जानअन्जानमा मानिसबाट गल्ती हुनु अस्वाभाविक होइन । सोचविचार गरेर निर्णय गर्ने बानी भएकाले आजसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । बोल्दा कहिलेकाहीं बिग्रे पनि कामले बिगारेको छैन । 

बाल्यकालमा आहालको डिलमा बसेर भैंसी चराउँदै गर्दा खैनी खाएँ । मात लागेर आहालमा डुबेपछि खैनी खाइनँ । खैनी खाएको त्यो नै पहिलो र अन्तिम भयो । गल्ती नगरी सजाय पाउनु अस्वाभाविक होइन । त्यो ममा पनि लागू हुन्छ ।     

मेरो घर
दुई दाजुहरू मोरङको विराटनगर र काठमाडौंमा बस्छन् । म खोटाङ बजारमा रहेको मूलघरमा बस्दै आएको छु । हामी अहिलेसम्म सगोलमै छौं । अहिलेको घर ०४५ को भूकम्पपछि दाजुले बनाएका हुन् । गोरखा भूकम्पले भत्काएपछि मैले तीन लाख रुपैयाँमा पुनःनिर्माण गरेको हुँ ।  

मेरो राशी
मेरो राशी मिथुन हो । ग्रहदशा हेराउने गरेको छैन । पत्रपत्रिकाको राशीफलचाहिँ हेर्ने गरेको छु । आजसम्म ग्रहशान्ति गराएको छैन । 

मेरो सौन्दर्यचेत
कपालमा सामान्य तेल लगाउँछु । फेसियल गर्ने, अनुहारमा क्रिम लगाउने बानी छैन । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु । ढाड दुखेर अस्पताल रहँदा साउना बसेको थिएँ ।  

मेरो प्रेम
हाम्रो मागीबिहे हो । एक–दुईजनासँग प्रेमसम्बन्ध रहे पनि विवाहमा रूपान्तरित हुन सकेन ।

मेरो सपना
निर्णायक ठाउँमा पुग्न पाए केही गर्न सकिन्थ्यो भन्ने लाग्छ । सर्वप्रथम मुलुकमा ठुल्ठूला पूर्वाधार निर्माण गर्नुपर्छ । त्यसले लाखौंको संख्यामा रोजगारी सिर्जना गर्छ । त्यसका लागि मुलुकमा रहेका आन्तरिक स्रोत–साधनको अधिकतम सदुपयोग गर्न सकिन्छ । हामीसँग मुख्यतः पाँच स्रोत छन् । ती हुन्– जल, जमिन, जंगल, जडीबुटी र जनशक्ति । उल्लिखित स्रोत–साधनको सही सदुपयोग गर्न सके मुलुक बनिहाल्छ । पर्यटन, कृषि  र ऊर्जा विकासका लागि महत्वपूर्ण आधार हुन् ।

म साधारण परिवारबाट आएको व्यक्ति हुँ । काम र मिहिनेतले यहाँसम्म आइपुगेको छु । धेरै माथि पुग्छु भन्ने लागेको छैन । एकपटक मन्त्रीको भूमिका निर्वाह गर्ने रहर छ । राजनीतिमा लागेका मानिस पनि इमानदार हुन्छन् भन्ने देखाउन पाए पुग्छ ।

खोटाङ भौतिक विकासको दृष्टिले पछि परेको छ । हामीले भौतिक पूर्वाधारलाई ध्यान दिन सकेका छैनौं । जिल्लालाई भौतिक पूर्वाधारले सम्पन्न बनाउनसाथ खोटाङ उकासिहाल्छ । हलेसीलाई मात्रै राम्रो बनाउन सके खोटाङलाई उठाउँछ ।   

मेरो मृत्यु
मृत्यु शाश्वत सत्य हो । जीवन लम्ब्याउन र मृत्यु छोट्याउनबाहेक केही गर्न सकिँदैन । यात्रामा निस्कँदा जोगिन खोज्नु भनेको मृत्युसँग डराउनु नै हो । तर, मृत्यु सम्झेर डराइरहन आवश्यक छैन । जीवनमा पटक–पटक मृत्युको नजिक–नजिक पुगेको छु । त्यसमध्ये ०४६ को जनआन्दोलनताका म जुलसमा थिएँ । भौगदौडक्रममा साँघुरो गल्लीमा दुवैतिरबाट सुरक्षाकर्मीले घेरा हाले । पर्खालबाट हाम्फाल्दा ठूलो नालीमा मुन्टो गाडियो । उद्धारका लागि एक मिनेट ढिलो भएको भए ज्यान जान्थ्यो । तत्काल साथीहरूले उद्धार गरे ।  

संवत् ०५९ मा मलाई माओवादी कार्यकर्ताले ४६ दिन अपहरण गरे । त्यतिबेला खोटाङमा झन्डै २४ जना मारिइएका थिए । त्यतिबेला पनि म मृत्युको मुखमै पुगेको थिएँ । माओवादीबाटै नमारिँदा पनि सेना र प्रहरीबाट जे पनि हुन सक्थें । दोहोरो भीडन्तमा पर्ने त्यत्तिकै खतरा थियो ।

काम गर्दागर्दै, हिँडडुल गर्दागर्दै मर्न पाए हुन्थ्यो भन्ने लोभ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप