शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायी तेजबहादुर राईको जीवन : ‘प्राइभेट जेट’ भएको व्यवसायी बन्ने उद्देश्य छ

शनिबार, १६ भदौ २०७५, १० : ५१
शनिबार, १६ भदौ २०७५

‘चीनको नानकिङमा ६३ हेक्टर जमिनमा सुँगुर पालेका छौं,’ होटल याक एन्ड यतीमा भेटिएका व्यवसायी तेजबहादुर राईले सुनाए, ‘३ हजार सुँगुर पालेका छौं । फिस फार्मिङ छ । रूख रोपेका छौं ।’

व्यवसायी राईको हङकङमा २२ वर्षदेखि सेक्युरिटी गोर्खा कम्पनी सञ्चालनमा छ । कम्पनीमा दुई सय ५० जनाले रोजगारी पाएका छन् । कम्पनीले सेक्युरिटी गार्डमात्रै होइन, हङकङका प्रतिष्ठित व्यक्तिको सुरक्षार्थ बडिगार्ड समेत उपलब्ध गराउँदै आएको छ । समाजसेवामा समेत सम्बद्ध उनको अस्ट्रेलिया होटल सञ्चालनमा छ । हङकङमा रहँदा एभरेष्ट दैनिक प्रकाशनमा ल्याएका उनले त्यहाँबाट अलग्गिएपछि अस्ट्रेलियाका अनसिन टीभीमा लगानी गरे । पल्टनमा रहँदा सिभिल इन्जिनियरिङ पढेका भूपू गोरखा सैनिक तथा व्यवसायी तेजबहादुर राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी: 

मेरो खाना

फापरको ढिँडो असाध्यै मन पर्छ । सातामा तीनछाक ढिँडो खाने गर्छु । त्यसबाहेक नेपाली खाना दालभात खान्छु । यो वा त्यो भनेर खानेकुरामा कहिल्यै ‘कम्प्लेन’ गर्दिनँ । यसो भनिरहँदा ‘ड्रागन फुड’ चाहिँ कहिल्यै स्वादिलो लागेन ।

मजस्तो रेष्टुरेन्ट पुगिरहने नेपाली थोरै होलान् । रेष्टुरेन्ट पुगिहाल्दा चिकेन तन्दुरी मगाउन बिर्सन्न । बियरसँग चिकेन तन्दुरी खानुको मज्जा शब्दमा व्यक्त गर्न गाह्रै हुन्छ । राम्रो रेष्टुरेन्ट पुग्दा बँदेलको तावा रोजाइमा पर्छ । 

पाककलाबारे राम्रै ज्ञान छ । नेपाली खाना राम्रै पकाउँछु भनेर मैले पकाएको खानेहरुले भन्ने गर्छन् । 

मेरो पोसाक

दिन, समय र कहाँ जाने हो, त्यसअनुसार कपडा लगाउने गर्छु । ब्लेजर र ट्राउजर लगाउन मन पर्छ । मन नपरे पनि टाइ लगाउनुपर्ने बाध्यता छ । सुट लगाउन असाध्यै मन पर्छ । नेपालमा रहँदा दौरासुरुवाल पनि लगाउँछु । धेरैजसो कपडा रेडिमेड हुन्छन् । मैले लगाउने कपडा ब्रान्डेड हुन्छन् । धेरै ब्रान्डबारे जानकार छु । ब्रान्डको सोखिन हुँ । कपडा सिलाउन परे ललितपुरको कुमारीपाटी जान्छु । 

ह्याट, क्याप त्यति मन पर्दैन । नेपाली टोपी लगाउँछु । गल्फ खेल्दा ‘गल्फ क्याप’ लगाउने गरेको छु ।  

मेरो फिटनेस

स्वस्थ रहन व्यायाम आवश्यक छ । एउटामात्रै व्यायाम गरे शरीरको निश्चित अंगमात्रै सक्रिय रहन्छ । तसर्थ, धेरैप्रकारको व्यायाम गर्छु । म स्वीमिङ गर्छु । निरन्तर ४५ मिनेट स्वीमिङ गर्छु । सातामा तीनपटक गल्फ खेल्छु । ट्रेडमिलमा दौडिन्छु । 

मेरो अध्ययन

स्टीभ जब्सको जीवनी पढिसकें । अब नारदमुनि थुलुङको ‘बिर्सिइएका अनुहार’ नामक किताब पढ्न लागेको छु । बेलाबखत कविता लेख्छु । विद्यालयस्तरमा अध्ययन गर्दा कविता प्रतियोगितामा प्रथम पुरस्कार थापेको अझै बिर्सेको छैन । किताब संकलन गरेको भए थुप्रै हुन्थे तर पढिसकेपछि मेरै स्कुलको पुस्तकालयलाई दिने गरेको छु । 

मेरो घुमफिर

घुमफिरमा असाध्यै रहर छ । जीवनलाई रंगीन बनाउने घुमफिरले सघाउँछ । घुमफिर गर्दा ‘नलेज’ र ‘आइडिया’ पाइन्छ । नेपालका ३२ जिल्ला पुगेको छु । 

अहिलेसम्म ५५ देश घुमेको छु । घुमेकामध्ये नेपालको चितवन र लाङटाङ उपत्यका र विदेशमा माल्दिभ्स असाध्यै मन पर्यो । माल्दिभ्समा एक टापु एक होटल छ । पानी ‘क्रिष्टल क्लियर’ छ । डाइभिङ गर्नेका लागि माल्दिभ्स स्वर्ग मानिन्छ । घुम्न मन लागेजति ठाउँ पुगिसकेको छु । घुमिसकेको छु । 

मेरो फुर्सद

राजनीतिक नेता र व्यवसायीले फुर्सद आफैंले जबरजस्ती निकाल्ने हो । पैसामात्रै सबैथोक होइन । तसर्थ, जति नै व्यस्त भए पनि परिवार, समाज र आफ्ना लागि फुर्सद निकाल्ने गर्छु । थकाइ धेरै लाग्दा मधेस झर्छु । एक–दुई घन्टा मोबाइल ‘स्वीचअफ’ गरेर आराम गर्छु । ‘स्वीचअफ’ गर्दासमेत मोबाइलको घन्टी बजेजस्तो लाग्छ । ‘अन’ गरिहाल्छु । फुर्सद पाइहालेमा आफूलाई जे गर्दा खुसी बनाउन सक्छु, त्यही गर्छु । 
घरपरिवारलाई त्यति धेरै समय दिन सकेको छैन । सय मिटर दौडँदा कतिपय अवस्थामा दायाँबायाँ हेर्न भ्याइँदैन । दायाँबायाँ हेर्न थाले गन्तव्य पुग्न ढिला हुन्छ । त्यतिबेला परिवारलाई सयम दिन सकिँदैन । जतिसुकै दौडधुप भए पनि परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र चलचित्र हेर्ने समय छुट्ट्याउँछु ।   

मेरो खेलकुद

पहिले टेबलटेनिस खेल्न असाध्यै मन पथ्र्यो । हिजोआज गल्फ मन पर्छ । क्रिकेट नबुझ्ने भएकाले हो कि हेर्न मन पर्दैन । फुटबलचाहिँ हेर्न मन पर्छ ।  

मेरो मोबाइल

आइफोन टेन प्रयोग गर्दै आइरहेको छु । यसको एक लाख २० हजार परेको थियो । नयाँ आउनसाथ मोबाइल सेट किन्ने बानी छ । मोबाइलका एप्लिकेसनमध्ये आइक्लाउड, फेसबुकलगायत प्रयोग गर्छु ।

मेरो टेलिभिजन

टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । नेपालीबाहेक दैनिकजसो सीएनएन, बीबीसी र अलजजिरा टेलिभिजनबाट प्रसारित समाचार हेर्ने गरेको छु । समाचारबाहेक हास्यव्यंग्य हेर्दै आएको छु ।

मेरो चलचित्र

पछिल्लोपटक हेरेको नेपाली चलचित्रको नामचाहिँ बिर्सें । त्यो चलचित्रमा विजय लामाले अभिनय गरेका थिए ।  हेरेकामध्ये अंग्रेजीमा टर्मिनेटल, हिन्दीमा रोटी कपडा और मकान र नेपालीमा पशुपतिप्रसाद मन पर्यो । नीर शाह र मिथिला शर्माको अभिनय जीवन्त लाग्छ ।  

मेरो स्वास्थ्य

अहिलेसम्म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । ५० टेकेपछि सालिन्दा ‘होलबडी चेकअप’ गराउँदै आएको छु । आफूलाई स्वस्थ राख्ने हो भने ‘डर्टी माइन्ड क्लीन’ गर्नुपर्छ । सधैं सकारात्मक सोच्नुपर्छ । असाध्यै मिल्ने साथीसँग गफगाफ गर्नुपर्छ । श्रीमान्–श्रीमती असल साथीजस्तो बन्नुपर्छ । यसका साथै व्यायाम र खानपानमा ध्यान दिए स्वस्थ रहन सकिन्छ ।    

मेरो भाषणशैली

व्यवसायी भएपछि भाषण गरिरहनुपर्छ । आफैंले भन्दा पनि सुन्नेले भनेअनुसार राम्रै भाषण गर्दोरहेछु । भाषण गर्दा ताली बज्ने गरेको छ । तार्किक र चाखलाग्दो भाषण गर्ने प्रयास गर्छु । भाषण गर्दा नजानिँदोपाराले ‘चाइने’ भन्ने थेगो प्रयोग गर्दोरहेछु । व्यवसायी भएकाले आक्रामक भाषण गर्न पर्दैन । म बौद्धिक भाषण गर्छु । भाषण गर्नअघि मुख्य–मुख्य कुरा टिपोट गर्छु ।  

मेरो मापसे

‘सोसियल ड्रिङ्क’ गर्छु । मलाई गुणस्तरीय बियर मन पर्छ । ‘हार्ड ड्रिङ्क’ मीठो लाग्दैन । मेरोमा होमबार छ । एक बसाइमा दुई बोतल बियर लिन्छु ।    

मेरो संगीत

गीत–संगीत सुन्छु । म गीत पनि गाउँछु । मैले गाउने दुई–चार गीतमा साथीहरु यति धेरै नाच्छन् कि विश्वास गर्नै गाह्रो हुन्छ । मलाई तृष्णा गुरुङ, पवित्र सुब्बा र नारायणगोपालको आवाज कर्णप्रिय लाग्छ । 

मेरो भूल

जानअञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव हो । खोटाङको पश्चिमी भेगका बासिन्दालाई रम्भुवा बजारबारे जानकारी छ । बुइपाका गुरुङ काकाहरुसँग रम्भुवामा छाप्रेहोटल खोलेका थियौं । बजारमा एक बज्यैले दूध बेच्न ल्याएकी थिइन् । गाउँघरमा कुरुवा सिष्टम हुन्छ । दूध नाप्ने कुरुवाको पिँधमा प्वाल परेको थियो । नाप्दा दूध चुहिन्थ्यो । सात–आठ कुरुवा दूध नाप्दा चुहिएर दुई कुरुवा त घाटा नै भयो । त्यतिबेला ती बज्यैलाई कुरुवा प्वाल परेको रहेछ नभन्दा हिजोआज पनि थकथक लाग्छ ।    

मेरो घर

म बस्दै आएको घर ११ बर्षअघि बनाएको हुँ । आफ्नै पौरखले घर बनाएको थिएँ । घर युरोपियन भिक्टोरियन स्टाइल छ । त्यतिबेला तीन रोपनी जग्गा किन्न र घर बनाउँदा ९ करोड खर्च भएको थियो ।  

मेरो राशी

मेरो राशी तुला हो । कहिलेकाहीं ग्रहदशा हेराउने गरेको छु । ग्रह नक्षेत्रको फलप्रति धेर–थोर विश्वास छ । 

मेरो सौन्दर्य

कपालमा लाइट अबोगाडो वायल प्रयोग गर्छु । फेसियल गर्ने बानी छैन । अनुहारमा क्रिम लगाउँछु । औँसी, पूर्णेमा पफ्र्युम प्रयोग गर्छु । लाजिम्पाटको टिबेट होटलमा साउना बाथ, स्टीम सेवा असाध्यै राम्रो छ । म त्यहाँ जान्छु ।  

मेरो प्रेम

हामीले मागीबिहे गरेका हौं । 

मेरो परिवार

परिवारमा श्रीमान्–श्रीमती, दुई छोरी र एक छोरा छन् । ठूली छोरी हेमा बेलायत बस्छिन् । सानी छोरी संगीता राई हङकङको मेरो व्यवसाय सम्हाल्दै आएकी छन् । छोरा प्रशान्त अस्ट्रेलियाको सिड्नीमा कार्यरत छन् ।

मेरो सपना

व्यवसायीका नाताले नेपाललाई यस्तै बनाउन पाए हुन्थ्यो भन्ने परिकल्पना गर्नु, सपना देख्नु स्वाभाविकै हो । मेरो दृष्टिमा काठमाडौं उपत्यकामा ललितपुरको भैंसेपाटीदेखि काठमाडौंको बूढानीलकण्ठसम्म ब्रिज बनाउनुपर्छ । पूर्व–पश्चिम तीन ठाउँमा कोर बिजिनेस डिस्ट्रिक्ट (सीबीडी) बनाउनुपर्छ । उपत्यकाको मुख्य–मुख्य ठाउँमा फ्लाइओभर हुनुपर्छ । 

मेट्रो रेल त्यत्तिकै आवश्यक छ । नेपालको सन्दर्भमा रेल अतिआवश्यक छ । धेरै ठाउँमा केबलकार सञ्चालनमा ल्याउनुपर्छ । पूर्व–पश्चिम जोड्न चुरेको फेदैफेद तीव्र गतिमा गुड्ने रेल चाहिन्छ । यति भएमा नेपालमा विकासको गति बढ्नेछ । त्यतिमात्रै होइन, नेपाल कृषिका लागि त्यत्तिकै उपयोगी ठाउँ हो ।  

व्यवसायी भएकाले नेपालकै धनाढ्य बन्न सकूँ भन्ने सपना ममा पनि हुन सक्छ । यसैगरी, प्राइभेट जेट किन्न सक्ने क्षमताको व्यवसायी बनू भन्ने ध्येय हुन सक्ला ।

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । मृत्यु जीवनको रूपान्तरित प्रक्रिया हो । त्यसैले मृत्युदेखि डर लाग्दैन । मेरो मृत्यु हुँदा अन्यले दुःख नपाऊन्, भित्रियामात्रै आइदिए पुग्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप