‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

person access_timeअसोज ८, २०७४ chat_bubble_outline0

‘एकै नजरमा माया बस्यो है, लुकीछिपी हेरिदिनाले’ शीर्षाकृत गीत हिजोआज पनि त्यत्तिकै लोकप्रिय मानिन्छ । उमेश पाण्डले गाएको यो गीत उद्योगमन्त्री सुनील थापाले लेखेका हुन् भनेर धेरैलाई थाहा नहुन सक्छ ।

उद्योगमन्त्री थापाले लेखेको ‘सफल तिम्रो त्यो जिन्दगीलाई यो दुःखीको बधाइ छ, परिवर्तन भयौ के कारण तिमी यही नै मेरो सोधाइ छ’ गीत पनि नेपाली संगीतमा सदावहार मानिन्छ । शम्जुजित बाँस्कोटाले संगीत भरेको यो गीत प्रकाश श्रेष्ठले गाएका हुन् । विनोद चौधरीले गाएको ‘माया जीवनको अभिन्न अंग हो लाउनु र लगाउनु आफ्नो आफ्नो ढंग हो’ गीतका गीतकार थापाले झन्डै २० गीत लेखेका छन् ।

दुई वर्षपहिले वाणिज्यमन्त्री भएका मन्त्री थापाको कार्यकाल त्यत्तिकै सफल रह्यो । मन्त्री भएको १८ महिनामा आयल निगमलाई ऋणमुक्त गरे । प्रतिलिटर १३७ रुपैयाँको पेट्रोल ९९ मा झारे । कर्णालीमा पञ्चायतदेखि चामलको राजनीति हुन्थ्यो । सालिन्दा संसद्मा बहस हुन्थ्यो । पहिल्यै योजना बनाएर चामल पठाइएकाले त्यतिबेला संसद्मा चामलको बहस नभएको बताउने उद्योगमन्त्री सुनील थापासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
साँच्चै भन्नुहुन्छ भने मलाई दालभात, गुन्द्रुक र गोलभेंडाको अचार असाध्यै मन पर्छ । विदेशीमा इटालियन खाना मन पर्छ । बिहेपछि साथीभाइसँग रेष्टुरेन्ट जाने, खाने गर्थें । २५ वर्ष संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगमा काम गर्दा जंगलमा भएँ । त्यतिबेला रेष्टुरेन्ट जाने कुरै भएन । बिदामा नेपाल फर्कंदा भने जान्थें । हिजोआजचाहिँ रेष्टुरेन्ट यति धेरै भए कुन राम्रो, कुन नराम्रो । कहाँ जाने, कहाँ नजाने भएको छ ।

कुन प्रकृतिको रेष्टुरेन्ट पुगिन्छ, त्यसअनुसार स्न्याक्स रोजाइमा पर्छ । पकाउने रुचि असाध्यै छ । घरमा कसैलाई खान बोलाउँदा माछा पकाउने काम मैले पाउँछु । 

मेरो पोसाक
सांसद र मन्त्री भएपछि सिंहदरबार, कार्यालयीय काम र नेपालको प्रतिनिधित्व गर्ने ठाउँमा दौरासुरुवाल लगाउने गर्छु । विदेश जाँदा पनि दौरासुरुवाल नै लगाउँछु । त्यसबाहेक सर्टपाइन्ट लगाउँछु । 

पोसाकमा त्यति धेरै खर्च हुँदैन । तीन/चार जोर दौरासुरुवाल, ६/७ वटा पाइन्ट र टी–सर्ट भएपछि काफी हुन्छ । संयुक्त राष्ट्रसंघमा काम गर्दा जिन्स पाइन्ट, सर्ट, बुट, टी–सर्ट लगाएको थिएँ । संयुक्त राष्ट्रसंघमा २५ वर्ष काम गर्दा राम्रो पोसाक लगाउनै बिर्सेछु ।

‘पिङ्क’, ‘लाइट ग्रीन’ र ‘ब्ल्याक कलर’ को पोसाक मन पर्छ । प्रायः कपडा किनेर सिलाउँछु । जे लगाउँदा सजिलो लाग्छ, त्यही लगाउँछु । टोपी लगाउँछु । अफ्रिकामा काम गर्दा ह्याट पनि लगाएँ । 

मेरो फिटनेस
काठमाडौंको नक्सालमा रहेको रेज जिमखाना जान्छु । एक घन्टा जिम गर्छु । डाइटिङ नगरे पनि खानामा सचेत छु । भोजमा जाँदा पनि घरमै खाएर जाने गर्छु । बाहिरफेर त्यति खान्न । 

मेरो अध्ययन
कमल थापाबाट पार्टी अलग भएपछि केही पढ्न पाएको छैन । अटोबायोग्राफी पढ्न जाँगर चल्छ । पहिलेपहिले कथा लेख्थें । ६÷७ कथा लेखेको छु । रुचि भएकाले १५/२० गीत लेखेको छु । 

मेरो घर किताबको खानी हो । बुवालाई पनि पढ्ने सोख थियो । उहाँले पुस्तकालय नै बनाउनुभएको छ । हजार÷बाह्र सय किताब होलान् । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । १०÷१५ बाहेकका जिल्ला पुगिसकेको छु । २५ देश घुमेको छु । १२ देशमा काम नै गरेको थिएँ । घुमेकामध्ये स्वीट्जरल्यान्ड, प्राग राम्रो लाग्यो । प्राग समाजवादी देश रहेछ । आन्दोलनपछि ‘एक्स्ट्रिम कम्युनिजम’ आएछ । त्यसपछि ‘डेमोक्रेसी’ आएको रहेछ । प्रागको कम्युनिस्ट संग्राहलय हेर्दा अचम्म लाग्यो । 

मेरो फुर्सद
राजनीतिमा लागेपछि फुर्सद नहुँदोरहेछ । राजनीतिक भागदौड, दौडधुपले थकाइ नलाग्ने कुरै भएन । कहिलेकाहीं त बिदा बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक होइन । फुर्सद पाइहालेमा नातिनातिनीसँग खेल्छु । उनीहरूसँग खेल्दा न भोक लाग्छ न त तिर्खा नै । भएको तनावसमेत भाग्छ । 

पहिले/पहिले दिए पनि हिजोआज परिवारलाई समय दिन सकेको छैन । तर, घरपरिवारसहित रेष्टुरेन्टमा खान, चलचित्र हेर्न हलसम्मै पुग्ने गर्छाैं ।

मेरो खेलकुद
सेन्ट जेभियर्स पढ्दा फुटबल खेल्थें । संवत् २०३६/०३७ तिर भारतको गुजरातमा पढ्दासमेत फुटबल खेलेको थिएँ । क्रिकेट पनि खेलें । 

मेरो मोबाइल
मेरो एउटामात्रै मोबाइल सेट छ । अक्षर ठूलो हुने भएकाले सामसुङ प्रयोग गरेको हुँ । त्यतिबेला ६० हजार रुपैयाँमा किनेको थिएँ । मोबाइलमै समाचार पढ्छु । फेसबुक, ट्वीटर, वाटस्यापलगायत हेर्छु । 

मेरो टीभी
टीभीमा समाचार प्राथमिकतासाथ हेर्छु । टीभी बेलुका हेर्ने साइत जुर्छ । घरमा ४४ इन्चको सोनी टीभी छ । 

मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘सेतो सूर्य’ हलसम्मै पुगेर हेरेको थिएँ । कुसुमेरुमाल, आमालगायत चलचित्र अहिले पनि सम्मmन्छु । फलाना मेरा प्रिय कलाकार हुन् भन्ने कहिल्यै लागेन ।

मेरो रोग
स्वस्थ छु । रोगले समातेको छैन । संयुक्त राष्ट्रसंघमा २५ वर्ष काम गर्दा २५ पटक ‘होलबडी चेकअप’ गरेको थिएँ । जागिर छाडेको पाँच वर्ष भयो । नेपाल फर्केपछि अहिलेसम्म दुईपटक गरेको छु । स्वस्थ रहनुको कारण खानपान नै हो । 

मेरो भाषणशैली
म सकेसम्म छोटो भाषण गर्छु । सकेसम्म आफूले गर्ने भाषण आफैंले लेख्छु । अर्काले लेखेको भाषण उसको बुझाइको हुन्छ । बरु उनीहरूसँग महत्वपूर्ण कुरा कुरा बुँदागत रूपमा लिन्छु । इन्टरनेटमा ‘सर्च’ गर्छु । 

पहिलोपटक मन्त्री हुँदा आफैंले भाषण लेखें । अरूले लेखिदिएको भाषण पढ्नसमेत अप्ठ्यारो हुन्छ । एक लाइन छुट्यो भने अनर्थ हुन्छ । मेरो सबैभन्दा छोटो भाषण पाँच र लामो सातदेखि १० मिनेटको थियो । समय परिस्थिति हेरेर भाषण गर्छु । भाषण गरेकै आधारमा अहिलेसम्म विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्छु ।

मेरो मापसे
पिउँदै पिउँदिन भन्नु झुटो बोल्नु हो । अतिथि सत्कार गर्नेले जे दिन्छ, त्यही खाने हो । एक पेगभन्दा बढी पिउने बानी छैन । 

मेरो संगीत
आफूले लेखेको गीतको तुलनामा अरूले कस्ताकस्ता गीत लेखेका रहेछन् भनेर पनि गीत सुन्छु । गीत लेख्ने अहिलेको ‘ट्रेन्ड’ के रहेछ भनेर जिज्ञासा लाग्छ । 
तारादेवी, नातिकाजी, नारायणगोपाल, ओमविक्रम विष्टका आवाज कर्णप्रिय लाग्छन् । धेरै कम गुनगुनाउँछु । 

मेरो भूल
पश्चाताप लाग्नेगरी भूल गरेजस्तो लाग्दैन । बुवाआमाको इज्जत राख्नुपर्छ भने सानैदेखि आफूलाई सम्हाल्थें । कतिपय अवस्थामा अन्जानमै कसैको मन दुखाएँ होला तर पश्चाप लाग्नेगरी भूल गरेको छैन ।

मेरो घर
पहिले यो घर एकतले थियो । मेरो बिहे (०४२) पछि जगसम्म भत्काएर फेरि बनाइएको हो । खर्च बुवाकै भयो । म त विद्यार्थी नै थिएँ । जर्मनी महिला इन्जिनियरले घरको डिजाइन गरेकी हुन् । युरोपियनको डिजाइनमा वास्तुशास्त्र हुने कुरै भएन । 

त्यतिबेला यो घर १२÷१५ लाखमा बनेको थियो होला । पछि आफैंले पनि घरको नाममा खर्च गरेको थिएँ । वास्तुअनुसार केही फेरबदल पनि गरेको छु । 

मेरो राशी
म मिथुन राशीको हुँ । ग्रहदशा राम्रै होला, भर्खर मन्त्री भएको छु । जन्मदिनको अवसरमा ग्रहशान्ति गराउँछु । हातमा गणेश र जन्मदिनमा पुरोहितले यो लगाउँदा राम्रो हुन्छ भनेपछि यो औंठी लगाएको हुँ । ग्रह नक्षत्रको फलप्रति असाध्यै विश्वास छ ।

मेरो सौन्दर्यचेत
कपालमा केही लगाउँदिनँ । फेसियल गर्दिनँ । अनुहारमा क्रिम पनि लगाउँदिनँ । यदाकदा पफ्र्युम लगाउँछु । आफ्टर सेभ लगाउनसमेत झन्झट लाग्छ । थकाइ लागेको बेला साउना बस्छु । 

मेरो प्रेम
मेरो बिहे प्रेम र मागी दुवै हो । प्रस्ताव मैले नै राखेको हुँ । ससुरालीपट्टिकाले केटा खोजिरहेका थिए । सासुलाई चाहिँ छोराछोरीलाई नेपालमै बिहे गराइदिने रहर थियो । सानीआमाले केटा खोजिरहेका छन्, मैले तिम्रो नाम लिएको छु, जाऊँ हेर्न भन्नुभयो । घुम्न गएको बहानामा भेटघाट भयो । कुराकानी गरियो । अनि बिहे गरियो । 

मेरो सपना
नेपाललाई यस्तै बनाउन पाए हुन्थ्यो भन्ने सपना देखेको छैन । दृष्टिकोण बनाएको छु । 

नेपालमा केहीको अभाव छैन । तर, मुलुकमा जेमा पनि राजनीतिकरण भयो । भागबन्डाको राजनीतिले सतायो । यो प्रवृत्ति हटाउन पाए मुलुक बनाउन समय लाग्दैन । राष्ट्रले दिने र राजनीतिकर्मीले पाउने माथिल्लो निकायमा पुग्ने रहर छ । त्यसको शुभसंकेत पनि देख्छु । मेरो बुवा ०१८ मा उद्योग वाणिज्यमन्त्री हुनुभएको रहेछ । म पनि दुई वर्षअघि वाणिज्यमन्त्री भएँ । अहिले उद्योगमन्त्रीको भूमिकामा छु । 

मेरो मृत्यु
मृत्यु मानवजीवनको अभिन्न पाटो हो । पहिले लागे पनि संयुक्त राष्ट्रसंघमा काम गरेपछि मृत्युसँग डर लाग्न छाड्यो । मृत्यु सम्मानपूर्ण होस् भन्ने जोकोहीको लोभ हुन्छ । 
 

यो जीवनकथा पनि पढ्नुहोस्

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ