सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

आइतबार, ०८ साउन २०७४, १३ : ००
आइतबार, ०८ साउन २०७४

राजनीति उद्योगका रूपमा परिणत हुँदै गएको छ । उनको विमति छ, ‘राजनीतिलाई पेसा बनाउनुहुँदैन ।’ राजनीतिलाई पेसा बनाउन हुँदैन भनेर प्रस्ट रहेका उनी राजनीतिसँगै विभिन्न व्यवसायमा संलग्न छन् । त्यही व्यवसायबाट दुईछाक खान र कार्यकर्ता संरक्षण गर्न दुःख छैन भन्ने काँग्रेस महासमिति सदस्य सुवास पोखरेलसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
विशेषतः दूध, भात र केरा असाध्यै मन पर्छ । सकेसम्म मासु र रक्सी खान नपरे हुन्थ्यो भन्ने लाग्छ । खानकै लागि रेष्टुरेन्ट बाक्लै पुग्छु । सकेसम्म पकाउन नपरे हुन्थ्यो ।

मेरो पोसाक
दौरासुरुवाल र सुट लगाउने गर्छु । एकजोर सुटले १० वर्ष र एकजोर दौरासुरुवालले १५ वर्ष धान्छ । सुट सधैं ठिकठाक राख्नुपर्छ । सिउनभन्दा धुन बढी खर्च हुन्छ । एउटा दौरासुरुवाललाई दुई हजारदेखि दुई हजार पाँच सय पर्छ । एउटा कोटलाई पाँच हजार । तसर्थ, पोसाकमा वार्षिक खर्च सातदेखि १० हजार रुपैयाँसम्म हुन्छ । ‘गोल्डेन’ र ‘ह्वाइट कलर’ का पोसाक मन पर्छ । जुत्ताचाहिँ ब्रान्डेड लगाउँछु । पहाड जाँदा ह्याट लगाउँछु । 

मेरो फिटनेस
पहिले/पहिले प्राणायाम गर्थें । प्रायः बेलुका खाना खान्न । योगा गर्न आनन्द लाग्छ, गर्छु पनि । मर्निङवाक निस्कने बानी छैन । दुर्गममा राजनीति गर्नुलाई नै ट्रेडमिल ठानेको छु । 

मेरो अध्ययन
हिजोआज मोहन शर्माको प्रजातन्त्रवादी समाजवाद पढ्दै छु । दार्शनिक किताब पढ्न जाँगर चल्छ । बीपी कोइराला र म्याक्सिम गोर्की मन पर्छन् । 
मेरो निजी पुस्ताकलयमा १५ सय बढी किताब थिए । माओवादी द्वन्द्वमा जलाइए । अहिले झन्डै तीन सय किताब होलान् । एक लाख पुस्तकसहितको निजी पुस्तकालय बनाउने सोच छ ।  

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । कर्णाली अञ्चलबाहेकका जिल्ला घुमेको छु । सिंगापुर, दुबई र भारत पुगेको छु । घुमेकामध्ये सांस्कृतिक रूपमा भारत मन पर्यो । घुम्ने भन्नाले केलाई हेर्ने ? सभ्यता कि विकास ? विकासका रूपमा हेर्ने हो भने युरोप, अमेरिका सुन्दर छ तर मानव सभ्यता हेर्ने हो भने नेपाल र भारत राम्रो लाग्छ ।   

मेरो फुर्सद
फुर्सद निकाल्नुपर्ने रहेछ । बेफुर्सदी भएपछि कहिलेकाहीं आराम गर्न मन लाग्छ तर मानिस र समयले दिँदैन । फुर्सद पाइहालेमा अध्ययन गर्छु । सुत्छु । तनाव भए सुत्छु, फ्रेस रहे अध्ययन गरेर रमाउँछु । घरपरिवारलाई धेर÷थोर समय दिएको छु । कहिलेकाहीं घरपरिवारसँग घुम्न, रेष्टुरेन्ट र चलचित्र हेर्न हलसम्म जाने गरेको छु ।  

मेरो खेलकुद
सबै मन परे पनि मैले भलिबल र ब्याडमिन्टन खेलेको हुँ । ब्याडमिन्टन हिजोआज पनि खेल्छु । संसारभरिका सबै खेलका नियम बुझेको छु ।  
 

मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोगमा ल्याएको छु । मी भन्ने चाइनिज मोबाइलको ३५ हजार र अर्को सामान्य सेट हो, त्यसको सात सय परेको थियो । हराए बिग्रेपछि मात्रै मोबाइल फेर्ने गरेको छु । फेसबुक, युट्युब बरोबर प्रयोग गर्छु ।

मेरो टीभी
टीभीमा अन्तर्वार्ता हेर्छु । समाचार अनलाइन म्यागेजिनमै पढ्ने गरेको छु । बेलुका आठ बजेपछि टीभी हेर्ने साइत जुर्छ । हिजोआज त मोबाइलमै टीभी हेर्दै आएको छु । दुईमध्ये एउटा पुरानो छ, अर्को सोनीको टीभी छन् । सोनीको साइज ३०/३१ इन्च होला । 

मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘छक्कापन्जा’ हलसम्म पुगेर हेरेको थिएँ । चलचित्र ‘सिन्दुर’, ‘छक्कापन्जा’ र अमिताभ बच्चनको सामाजिक चलचित्र (नाम बिर्सें) स्मरणीय लाग्छन् । महजोडी, करिश्मा मानन्धर, अमिताभ बच्चन, हेमा मालिनी र ऐश्वर्य रायको अभिनय जीवन्त लाग्छ ।   

मेरो रोग
ज्यानलाई बिल्कुल ठिकठाक छ । दीर्घरोगले समातेको छैन । अहिलेसम्म ‘होलबडी चेकअप’ गरेकै छैन । रक्तचाप सन्तुलित छ । जीवनलाई सन्तोष र शान्तिपूर्ण बिताउने प्रयत्न गर्छु । समस्या अन्त्यहीन छ । समस्या आइरहन्छ, समाधान गर्दै जानुपर्छ । आइपरेका समस्या समाधान गर्नु पनि त कला हो ।   

मेरो भाषणशैली
मैले भाषण गर्दा रेकर्ड गर्ने, अटो माग्ने गर्छन् । त्यसैले आफ्नो भाषणशैलीप्रति असन्तुष्ट छैन । समय परिस्थिति हेरेर उत्तेजित, आक्रामक र बौद्धिक भाषण गर्न आउँछ । भाषण गरेकै आधारमा विवादमा नतानिए पनि प्रतिपक्षीले खण्डन गर्ने गर्छन् । भाषण गर्नअघि सामान्य तयारी गर्छु ।  

मेरो मापसे
मादक पदार्थ मन नै नपरे पनि ‘सोसल पार्टी’ मा लिने गरेको छु । खानै पर्दा बढीमा दुई पेगसम्म लिन्छु । 

मेरो संगीत
फुर्सदमा गीत/संगीत सुन्ने गरेको छु । धेरै कलाकारको नाम थाहा छैन । गीत गाउन र नाच्न मन पर्छ ।  

मेरो भूल
आजसम्म पश्चाताप लाग्नेगरी भूल गरेको छैन । म कसैलाई धोका दिन्न । तर, मैले प्रधानाध्यापकलाई पिटेको छु । तपाईंले मलाई नैतिक शिक्षा दिएको होइन, अनैतिक हुँदा नैतिकवान् विद्यार्थीले के गर्छ भन्दा उहाँले आफ्नो गल्ती स्वीकार्नुभयो । अहिले उहाँ शिक्षा आयोग सदस्य हुनुहुन्छ । हिजोआज सम्झँदा त्यसो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ ।  

मेरो घर
अहिलेसम्म मेरो घर छैन । डेरामा बस्दै आएको छु । घर बनाउने सोचेको छु । सर्वप्रथम खार्पा खोटाङमा घर बन्छ । काठमाडौंमा पनि बनाउँछु । सानोतिनो व्यापारमा लागेको छु ।  

मेरो राशी
मेरो राशी वृश्चिक हो । ग्रहदशामा विश्वास छैन । ग्रहशान्ति गराएको छैन । 

मेरो सौन्दर्यचेत 
स्याम्पोले कपालले नुहाउँछु, केही लगाउँदिनँ । फेसियल गर्ने बानी छैन । क्रिम र पफ्र्युम प्रयोग गर्दिनँ । होटलमा बस्दा कहिलेकाहीं साउना बस्छु ।   
 

मेरो प्रेम
मैले मागीबिहे गरेको हुँ । बिहेअघि कसैलाई एकतर्फी प्रेम गरेको थिएँ । उनी हिँडिन् । फेरि भेट भएन ।  

मेरो सपना
मैले नेपालीपनको नेपाल परिकल्पना गरेको छु । भएका नदीनालामा ‘हाइ ड्याम’ बनाउने । एकातिर पानी बग्छ, अर्कोतिर समुद्रजस्तो बन्छ । त्यसका डाँडाडाँडामा पुराना घरका साथै पर्यटकीय घर बनाइन्छन् । त्यहाँ संसारभरिका मानिस आउँछन् । कला, संस्कृति र प्राकृतिक सम्पदाको प्रचुर दोहन गरेर मुलुककै नमुना खोटाङ बनाउने सोच बनाएको छु । 


पहिले/पहिले त प्रधानमन्त्री हुन्छु कि जस्तो लागेको थियो, हिजोआज त्यस्तो महत्वाकांक्षा छैन । म २८ वर्षमा खोटाङ पार्टी सभापति भएँ । ३५ वर्षको उमेरमा संविधानसभा सदस्यको टिकट पाएँ । हिजोआज कुनै पोजिसनमा छैन । तसर्थ, त्यो त हुन सकिन्न कि जस्तो लाग्छ । अवसर पाए हुन नसक्ने के छ र भन्ने लाग्नु अस्वाभाविक होइन । 


खोटाङ जनजाति बाहुल्य जिल्ला हो । हामी जनजाति संस्कृतिबाट पुलकित/आलोकित छौं । हलेसीदेखि दूधकोसी, सुनकोसी र पर्यटकीय स्थललाई विकास गर्ने, भौतिक पूर्वाधारले पूर्ण बनाउने, गरिबका छोराछोरीले समेत टाइसुट लगाएर विद्यालय जान सक्ने, सबैलाई भाषामा  दक्ष बनाउने, प्रशासन र सुशासन व्यवस्थित भएको जिल्लामा मेरै पालामा बनाउने प्रयत्नरत छु ।    


मेरो मृत्यु
मृत्यु स्वाभाविक हो । मृत्युदेखि डर लाग्दैन । मृत्यु भनेको शवयात्रा हो । मलामी जानु भनेको शान्तियात्रामा सहभागी हुनु हो । मरिसकेपछि यो वा त्यो होस् भन्ने छैन । म कर्तव्यमा सचेत छु ।  

यो जीवनकथा पनि पढ्नुहोस्

 

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

 

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

 

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप