गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो
गोर्खा भूतपूर्व सैनिक संघ गेसो संवत् २०४७ देखि आन्दोलित छ । यत्तिका अवधिमा गेसोका कतिपय माग पूरा भएका छन् । बाँकी माग पूरा गराउन आन्दोलित संघको नेतृत्वदायी भूमिकामा कृष्णकुमार राई छन् । राईले विभिन्न समूह विभाजित भएर आन्दोलन गरिरहेकालाई एकत्रित गरेर आन्दोलन बुलन्द बनाउँदै लगेका छन् ।
गेसोसँग सम्बन्धित कामविशेषले नेपालमा रहेका गोर्खा भूतपूर्व सैनिक संघ अध्यक्ष कृष्णकुमार राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
दालभात, गुन्द्रुक, गोलभेंडाको अचारसहित सुकेको खुर्सानी र माछा अत्यन्तै मन पर्छ । सकेसम्म ढिँडो खान नपरे हुन्थ्यो भन्ने लाग्छ । खानमा सोख छैन । तर, साथीभाइसँग बसेर खान अप्ठ्यारो पनि छैन । खानलाई कार्यक्रम बनाएरै रेष्टुरेन्ट जाने बानी छैन । रेष्टुरेन्ट पुगिहाल्दा तारेको माछा र मिल्क कफी भए काफी हुन्छ । आफूलाई पकाएर खान अल्छी लाग्दैन ।
मेरो पोसाक
आफूलाई सुहाउने भएकाले कालो पाइन्ट, कालै सुट, ‘ग्रे’ र ‘स्काइ ब्लु’ सर्ट लगाउँदै आएको छु । पोसाकमा खासै खर्च हुँदैन । किन्दा ब्रान्डेड तर थोरै किन्छु । पोसाक ‘रेडिमेड’ हुन्छन् । एकताका ढाकोटोपी लगाएको थिएँ ।
मेरो फिटनेस
दैनिक बिहान वा बेलुका एक घन्टा हिँड्छु । खानामा सचेत छु । आफूलाई सहज हुने तरिकाले खान्छु । योगा गर्दिनँ ।
मेरो अध्ययन
स्व. जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ पढिरहेको छु । घिमिरेको किताब सकेर डा. सुरेन्द्र केसीले लेखेको ‘गोर्खा भर्ती, कथा, व्यथा र आन्दोलन’ शीर्षाकृत किताब पढ्नेछु । ज्ञानबद्र्धक, राजनीतिक र आफ्नो विचार विकसित बनाउन सकिने किसिमका किताब पढ्न जाँगर चल्छ ।
झलक सुवेदीको लेखन असाध्यै मन पर्छ । मैले जानीनजानी आफ्नै तरिकाले आफ्नो जीवनयात्राबारे लेख्दै आएको छु । मेरो घरको निजी पुस्तकालयमा ६०÷७० किताब होलान् । म छानेर किताब किन्छु । पढ्छु ।
मेरो घुमफिर
योजना बनाएर घुम्दिनँ । झन्डै ५५ जिल्ला पुगिसकेको छु । झन्डै १२ देश घुमेको छु । घुमेकामध्ये जर्मनी र मेक्सिको मन पर्यो । जीवनमा एकपटक चीनको ग्रेटवाल पुग्न मन लागेको छ । सिंगापुर पनि जान मन छ ।
मेरो फुर्सद
२४/२५ वर्षदेखि निरन्तर गोर्खा आन्दोलनमा छु । गोर्खा भूतपूर्व सैनिक संघ गेसो अध्यक्षको भूमिकामा रहेकाले धेर÷थोर व्यस्त छु । हिजो नेतृत्वको दोस्रो तहमा थिएँ । आज नेतृत्वदायी भूमिकामा रहेकाले संघले थालेको आन्दोलनको चिन्तन मननमै छु ।
फुर्सद भइहालेमा आफ्नै ढंगको लेखपढमा बित्छ । परिवारलाई समय दिने प्रयत्नरत छु । तर, समय दिन सकेको छैन । चलचित्र नहेरे पनि कहिलेकाहीं रेष्टुरेन्ट गएर परिवारसहित खान मन पर्छ ।
मेरो खेलकुद
मलाई बास्केटबल असाध्यै मन पर्छ । सैनिकजीवनमा बास्केटबल खेलेको हुँ । खेल्न नजाने पनि फुटबल हेर्न मन लाग्छ । मेनचेस्टर युनाइटेड मलाई मन पर्ने क्लब हो ।
मेरो मोबाइल
आइफोन सिक्स प्रयोगमा ल्याएको छु । यो सेट छोराले उपहार दिएका हुन् । मोबाइलका एप्लिकेसन्समध्ये फेसबुक, भाइबर, इमेल÷इन्टरनेट प्रयोग गर्छु ।
मेरो टीभी
नेपाल रहँदा टीभीमा समाचार हेर्छु । त्यसपछि रेस्लिङ हेर्न मन पर्छ । टीभी हेर्ने समय निश्चित छैन । बेलायतमा पनि त्यस्तै हो । नेपालमा सामसुङ २५ इन्चको टीभी छ ।
मेरो चलचित्र
मैले जीवनमा ‘कुसुमेरुमाल’ र ‘मनको बाँध’ हेरें । पछिल्लोपटक संवत् २०३९ मा ‘कुसुमेरुमाल’ हेरेको हुँ । त्यसपछि चलचित्र हेरेको छैन । त्यतिबेला हलसम्म पुगेर चलचित्र हेरेको हुँ ।
नेपाली नायक/नायिकामा श्रीकृष्ण श्रेष्ठ, सरोज खनाल र गौरी मल्ल मन पर्छ ।
मेरो रोग
ढाडको समस्या छ । सकेसम्म सालिन्दा ‘होलबडी चेकअप’ गराउने प्रयास गर्छु । खानपान र रहनसहनमा ध्यान दिने हो भने स्वस्थ रहन सकिन्छ ।
मेरो भाषणशैली
आफूले भाषणमार्फत दिन खोजेको सन्देश प्रस्टसँग राख्न सक्छु । सुन्नेले पनि त्यसै भन्दै आएका छन् । कतिपयले भने राजनीतिक अध्ययन बढाउन सुझाएका छन् । पहिलेपहिले ‘अनि÷अनि’ भन्ने थेगो प्रयोग गर्थें । गेसो कानुनी सल्लाहकार युवराज संग्रौलाले सुझाएपछि छाडें । परिस्थिति हेरेर भाषण गर्न सक्छु ।
मेरो मापसे
पहिले बियर खान्थें । हिजोआज छैन । ढाडमा समस्या आएपछि चिकित्सकको सल्लाहमा छाडेको हुँ । त्यतिबेला दुई बोतलसम्म बियर खान्थें । हङकङमा रहँदा भातीजाँड (छ्याङ) मातिन्जेल खाएको थिएँ ।
मेरो संगीत
समय अनुकूल हुँदा गीत÷संगीत सुन्छ । गायक आनन्द कार्कीको आवाज कर्णप्रिय लाग्छ । आफू भने कहिल्यै गुनगुनाउँदिनँ ।
मेरो भूल
मानिस हो जान÷अन्जानमा गल्ती गर्न सकिन्छ । जानेर नगरे पनि अन्जानमा गल्ती गरेकोसम्म मलाई थाहा छैन ।
मेरो घर
ललितपुरमा रहेको मेरो घर ०४७ बाट सुरु गरेर ०५३ मा सकिएको थियो । विशुद्ध आफ्नै कमाइले घर ठडिएको हो । घरको डिजाइन सामान्य छ । वास्तुशास्त्र हेराएरै घर बनाएको हुँ । मूल्य राम्रो पाए पनि घर बेच्दा दशा लाग्छ भनेपछि बेचिनँ । घर बनाउन झन्डै ३५ लाख रुपैयाँमा लागेको थियो ।
मेरो राशी
मेरो राशी मिथुन हो । ग्रहदशा राम्रो छ । श्रीमतीको अनुरोधमा ग्रहशान्ति गराउँछु । कतै जाँदा तिथिमिति हेर्छु । हेराउँछु ।
मेरो सौन्दर्यचेत
कपालमा तेल लगाउँछु । फेसियल कहिल्यै गरेको छैन । अनुहारमा क्रिम लगाउँदिनँ । पफ्र्युम भने प्रयोग गर्छु ।
मेरो प्रेम
मैले मागीबिहे गरेको हुँ । आमाले हेरिदिनुभएको दुलहीसँग बिहे गरें । मैले १६ वर्षमा बिहे गरेको हुँ ।
मेरो सपना
मुलुक समृद्ध बनाउन सिष्टम बसाउन सक्नुपर्छ । त्यसका लागि इच्छाशक्तिचाहिँ चाहिँदोरहेछ । सिष्टम बसाउन सके मुलुकलाई समृद्धशाली बनाउन समय लाग्दैन । आफूलाई त्यहाँसम्म पुर्याउँछु भने महत्वाकांक्षा छैन । तर, मैले नेतृत्व गरिरहेको गोर्खा आन्दोलन निष्कर्षमा पुर्याउन पाए हुन्थ्यो भन्ने लोभ छ । सिष्टममा गए मुलुकका सबै गाउँठाउँ पछि पर्दैनथ्यो ।
मेरो मृत्यु
जीवनको विश्राम नै मृत्यु हो । पहिले लागे पनि हिजोआज मृत्युसँग डर लाग्दैन । आमाले भन्नुहुन्थ्यो, ‘पुरानो पात झर्दै जानुपर्छ । अनि मात्रै नयाँ पलाउँछ ।’ आमाको भनाइसँग सहमत छु । आमाको निधनपछि भने मृत्युसँग डर लाग्नै छाड्यो । सहज तरिकाले मर्न पाइयोस् भन्ने लोभ सबैमा हुँदोरहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड