अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

person access_timeअसार ११, २०७४ chat_bubble_outline0
SHARES

‘अमेरिकाको ‘ग्रीनकार्ड’ प्रस्ताव आउँदासमेत लिइनँ,’ उनले भने, ‘परराष्ट्रको जागिरले विदेशमै बसौंला भन्ने रहर त्यति भएन ।’ उनी लामो समयदेखि कूटनीतिक जिम्मेवारी सम्हाल्दै विदेशमा छन् । 


नेपाल सरकारले दुई वर्षअघि अमेरिकाका लागि नेपाली वाणिज्य दूतावास स्थापना गरेको हो । कृष्णकुमार सुवेदी अर्थात् साहित्यिक नाम कृसु क्षेत्रीस्थापनाकालदेखि न्युयोर्कको वाणिज्यदूतमा कार्यरत छन् । 


साहित्यका विभिन्न विधामा कलम चलाउने क्षेत्रीले राष्ट्रिय कविता महोत्सव २०५७ मा प्रथम, युवा वर्ष मोती पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय युवा प्रतिभा पुरस्कार, ललिता काव्य पुरस्कारलगायत दर्जनौं राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् । उनको बोधिसत्वको मृत्युउत्सव, अद्र्धमूदित आँखाहरू, आगोको मूच्र्छना, रगतको दरबारलगायत दर्जन कृति प्रकाशित छन् । नेपाली वाणिज्य दूतावास, न्युयोर्क वाणिज्यदूत कृसु क्षेत्रीसँग रातोपाटीको मेरो जीवनका लागिदीपेन्द्र राईले गरेको कुराकानी :


मेरो खाना
दालभात, रायो साग र चिकेन मःमः असाध्यै मन पर्छ । भान्छामा बैगुनको तरकारी नपाकिदिए हुन्थ्यो भन्ने लाग्छ । सातामा एकपटक परिवारसहित खानकै लागि रेष्टुरेन्ट पुग्ने बानी छ । रेष्टुरेन्ट पुगेपछि चिकेन चिल्ली माग्न बिर्सन्न । श्रीमतीलाई भान्छाको काममा सघाउँदै आएको छु । 


मेरो पोसाक


प्रायः औपचारिक पोसाक लगाउने गरेको छु । दौरासुरुवाल पनि बाक्लै लगाउँछु । पोसाकमा राम्रै खर्च हुन्छ । नीलो सुटमा सेतो सर्ट, रातो वा नीलो टाई रोजाइमा पर्छ । आकाशे नीलो वा ‘क्रिम कलर’ को दौरासुरुवाल लगाउँछु । 


शरीरमा ‘फिट’ नहुने भएकाले तयारीभन्दा कपडा किनेर सिलाउने गरेको छु । नेपालमा रहँदा काठमाडौंको न्युरोडमा रहेको एभिस टेलरिङमा कपडा सिलाउँथें । ब्रान्डप्रति सचेत छु । मार्स एन्ड स्पेन्सरका कपडा, क्लार्कको जुत्ता, प्राडा र रेबनको चस्मा मन पर्छ । दौरासुरुवाल लगाउँदा नेपाली ढाकाटोपी लगाउने गरेको छु । 

मेरो फिटनेश


मर्निङवाक नियमित गर्छु । जिमखानाको ट्रेडमिलमा दौडनुका साथै केही समय शारीरिक अभ्यास गर्ने गर्छु । खानाको सोखिन भएकाले डाइटिङ गर्दिनँ । योगा गर्न अल्छी लाग्छ । नेपालमा आफ्नै घरमा ट्रेडमिल छ । यहाँ (अमेरिकामा) अपार्टमेन्टमा पनि छ । 


मेरो अध्ययन
विवेककुमार शाहद्वारा लिखित ‘मैले देखेको दरबार’ अध्ययन गरिरहेको छु । विशेषगरी ऐतिहासिक किताब र ‘बायोग्राफी’ पनि पढ्न जाँगर चल्छ । स्वदेशी लेखकमा बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, मोहन कोइराला र विदेशीमा टोल्सटाय, गोर्की, सेक्सपियर, ओ हेनरी, हेनरी किसिन्जर मन पर्छन् ।


हिजोआज केही लेख्न सकेको छैन । लेखिसकेका गीत रेकर्डिङ हुँदै छन् भने पुराना कविताको संकलन प्रकाशन गर्ने तयारीमा छु । मेरो निजी पुस्तकालयमा रहेका किताब गनिसाध्य छैन । झापामा स्थापित पुस्तकालयलाई सालिन्दा चार÷पाँच सय किताब उपहारस्वरूप पठाउँछु । कुल आम्दानीको एकचौथाइ खर्च पुस्तक र पत्रपत्रिकामै हुन्छ । 


मेरो घुमफिर


घुमफिर गर्न असाध्यै मन पर्छ । नेपालका ५१ पुगेको छु । विभिन्न शीर्षकमा ३२ देश टेकेको, घुमेको छु । घुमेकामध्ये पोखरा मन पर्यो । स्वीट्जरल्यान्ड, पेरिस, रोम, लन्डन, अमेरिकाका नायग्रा फल्स, जापानको हिरोसिमा त्यत्तिकै मन पर्यो । 


एकपटक अफ्रिकाको जंगल सफारी गर्ने रहर छ । 


मेरो फुर्सद


फुर्सद भन्ने नै हुँदैन । फरक कर्मचारीका रूपमा जनतासँगको सेवा र सामुदायिक गतिविधिमै समय बित्ने गरेको छ । अमेरिका आएपछि परिवारलाई एक दिन समय दिन सकिरहेको छैन । कामले थाके पनि बिदा लिएर आराम गरौंला भन्ने सोच हराउँदै गएको छ । धेरै वर्षदेखि मेरो बिदा खेर गइरहेको छ । 


फुर्सद साह्रै कम हुने व्यक्तिमा परेको छु । फुर्सद हुनेबित्तिकै परिवार र पढ्न समय छुट्ट्याउँछु । समय दिन नसकेकोमा परिवारको गुनासो सुन्न परेकै छ । परिवारसाथ घुम्न, रेस्टुरेन्टमा खान र चलचित्र हेर्न जाने गर्छु । परिवार फकाउन त्यति त गर्नैपर्यो । 


मेरो खेलकुद


फुटबल असाध्यै मन पर्छ । तासचाहिँ पटक्कै मन पर्दैन । सधैं हारे पनि विद्यालयस्तरसम्म फुटबल खेलेको थिएँ । स्वदेशीमा त्रिभुवन क्लब र झापा क्लब मन पर्छ भने विदेशीमा चेल्सी, मेनचेस्टर युनाइटेडको पक्षपाती हुँ । क्रिकेटमा अस्टे«लिया ।


मेरो मोबाइल 


आइफोन सेभेन प्लस प्रयोग गदै आएको छु । यसको युएस डलर एक हजार ५० परेको थियो । आइफोन परिवर्तन हुनासाथ किन्ने गरेको छु । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, इमेल, मेसेन्जर, इन्ट्राग्राम, ह्वाट्स एप, वीच्याट र स्काइप चलाउने गर्छु ।


मेरो टेलिभिजन 


टीभीमा विशेषगरी समाचार, टक शो, वाइल्डलाइफ, गीतसंगीत र कमेडी प्रोग्राम हेर्ने गर्छु । 


टीभी हेर्ने साइत बेलुका जुर्छ । नेपालमा सोनीको ५५ इन्चको टीभी छ भने अमेरिकाको त भन्नै परेन । 


मेरो चलचित्र


पछिल्लोपटक किङ अथर र बाहुबली हेरेको थिएँ । टीभी र भिसिडीमा फिल्म हेर्ने गरे पनि कहिलेकाहीं हलसम्म पुगेर फिल्म हेर्ने गरेको छु । हेरेकामध्ये नेपालीमा सम्झना, वासुदेव, पशुपतिप्रसाद, हिन्दीमा थ्री इडियट्स, ब्ल्याक, मदर इन्डिया र इंग्लिसमा टाइटानिक, जुरासिक पार्क, द गड फादर असाध्यै मन पर्यो ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाह र सुनील पोखरेलको अभिनय प्रशंसनीय छ । विदेशीमा दिलीपकुमार, अमरिश पुरी, अमिताभ बच्चन र अमिर खानको अभिनय बुलन्द छ ।


मेरो रोग 


ज्यानलाई सन्चै छ । दीर्घ रोगले समातेको छैन । सालिन्दा दुईपटक ‘होलबडी चेकअप’ गराउँदै आएको छु । रक्तचाप सामान्य छ ।


मेरो भाषणशैली


सबैले प्रखर वक्ता भन्ने गरेका छन् । भाषण गर्दा थेगो प्रयोग गर्ने बानी छैन । परिस्थिति हेरेर आक्रामक र बौद्धिक भाषण गर्ने ममा कला छ । भाषण गरेकै आधारमा धेरैपटक विवादमा परेको छु । भाषण गर्नअघि तयारी गर्ने बानी छैन ।


मेरो मापसे 


आजसम्म मादकपदार्थ पिएको छैन । घरमा होम बारचाहिँ छ ।


मेरो संगीत


संगीत सुन्न असाध्यै मन पर्छ । नारायण गोपाल, अरूणा लामा, तारादेवी, प्रेमध्वज प्रधान, उदितनारायण झा, कुन्ती मोक्तान र रामकृष्ण ढकालका गीत कर्णप्रिय लाग्छ । 


मोहमद रफी, किशोर कुमार, मुकेश, एल्भिस प्रिस्ले, माइकल ज्याक्सन, लता मंगेसकर, आशा भोस्ले, ह्वीट्नी हस्टनलाई समेत सुन्दै आएको छु ।


कभी कभी मेरे दिलमे, हे कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, कहीं दूर जब दिन ढल जाए शीर्षाकृत गीत हिजोआज पनि गुनगुनाउने गर्छु । म पनि राम्रै बाथरुम सिंगर हुँ ।


मेरो भूल


जिन्दगीमा धेरै भूल गरेको छु । पश्चाताप लाग्ने र सजाय पाउनेगरी भूल गरेको सम्झना छैन । तर, स्कुल छाडेर भाग्दा मास्टरले धेरैपटक थप्पड हानेका छन् । कहिलेकाहीं भूल नगरी पनि सजाय पाइँदोरहेछ । मेरो मिल्ने साथी ओमले स्कुलबाट फर्कंदा अर्काको मकैबारीको मकै चोरेर भाग्यो तर मकैधनीले मलाई पिट्नसम्म पिटे । 


उमेरले म कक्षामा सबैभन्दा सानो थिएँ । मेरो साथीले सीता नाम गरेकी साथीको कपाल तानेर भाग्यो । सीताले एक्कासि मेरो कपाल लुछी । हातमा चिमोटर घाउसमेत बनाइदिइन् । अप्रत्यासित घटेको घटनाले म निरुत्तर भएँ । तर, निर्दोष भएकाले सिकायत गरें । सरले छानबिन गरेपछि मेरो साथी दोषी ठहरियो । त्यसपछि सीताले मलाई तीन÷चारपटक माफी मागी । त्यतिमात्रै होइन, प्रेमपत्रसमेत पठाइन् । उनले पठाएको प्रेमपत्र मैले सबै साथीलाई देखाइदिएँ । त्यही कारण पढिरहेको स्कुल छाडेर सीता अर्कै स्कुल सरी । भूल नगरी पिटाइ खाएको भनेर बदलामा बेइज्जत गरेकोमा मैले आत्मालोचना किन गरिनछु भनेर अहिले पनि थकथकी लाग्छ । 


म कक्षाको मनिटर हुँदा भूलवश शिवु नामकी मिल्ने केटी साथीलाई लठ्ठीले पिटें । मैले आत्मालोचना गरे पनि सम्बन्ध सुध्रन सकेन । 


मेरो घर 


आफ्नै कमाइ र पुख्र्यौली सम्पत्तिबाट २०६५ मा घर बनाएको हुँ । घरको डिजाइन ‘बंगला टाइप’ को छ । वास्तुशास्त्रअनुसार घर ठीक छ कि छैन आफैंलाई थाहा छैन । घर बनाउँदा धेरै खर्च लागेको थियो । 


राशी
मेरो राशी मिथुन हो । ग्रहदशा बलियो छ । राजग्रह भएकाले जीवनकालमा दुईपटक गाडीमा झन्डा फर्फराउने ग्रह छ भनेर ज्योतिषीले भनेका छन् । यस्ता कुरामा विश्वासचाहिँ गर्दिनँ । आफैंले नगरे पनि आमाले ग्रहशान्ति गराइदिनुहुन्छ । 


हेराएर नभए पनि श्रीमतीको करले सामाजिक जमघटमा हीरा, रुवि र नीलमको औंठी लगाउने गर्छु । ग्रह र नक्षत्रको फलप्रति विश्वास छँदै छैन । 

मेरो सौन्दर्यचेत


कपालमा केही लगाउँदिनँ । कहिलेकाहीं श्रीमतीसँग पार्लर जाँदा फेसियल गर्न बाध्य बनाउँछिन् । अनुहारमा इलिमिस क्रिम लगाउने गर्छु । च्यानल ब्ल्यु डी च्यानलको पफ्र्युम प्रयोग गर्छु । यदाकदा साउना बाथ, स्टीम बस्ने र बडी मसाज गराउँछु । 


मेरो प्रेम


स्कुले जीवनमा पढाइतिर ध्यान दिँदा प्रेम गर्नपट्टि लागिएन । ‘कलेज लाइफ’ को रुमानी उमेरमा छिमेकीसँग प्रेम गरियो । त्यो चर्चायोग्य भएन । मागीबिहेपछि श्रीमतीसँग निरन्तर प्रेममा छु । 


कलेजको रुमानी ‘लाइफ’ मा प्रेम रहे पनि उनले अर्कैसँग बिहे गरिन् । त्यसपछि ‘च्याप्टर क्लोज्ड’ । 


मेरो सपना 


नेपाललाई सभ्य, सुसंस्कृत अनि कानुनी राज्यसहितको समृद्ध मुलुक बनाउन पाए हुन्थ्यो भन्ने लाग्ने नै भयो । आफ्नो सालनाल गाडिएको झापा आफैंमा शिक्षित, सभ्य र सुसंस्कृत छ । विकसित बनाउन विभिन्न दलसम्बद्ध राजनीतिक नेता लागिपरेकै छन् । जन्मेको गाउँठाउँका लागि केही गर्ने सोचेको छु । अवकाशपछि आफ्नै ठाउँमा बसौंला, केही गरौंला भन्ने सोच छ । 


उहिले अमेरिकाको ‘ग्रीनकार्ड’ प्रस्ताव आउँदासमेत लिइनँ । परराष्ट्रको जागिरले विदेशमै बसौंला भन्ने रहर त्यति भएन । 


मेरो मृत्यु 


मृत्यु शाश्वत सत्य हो । तर पनि मृत्युसँग असाध्यै डर लाग्छ । बंगलादेशमा एकपटक सघन उपचारताका ४८ घन्टा होश नआउँदा चिकित्सकले नै माया मारेका थिए । तर, चमत्कार नै भयो । फर्किएँ । 


मृत्यु पीडादायी नहोस् । परिवारका सबै सक्षम भएको देखेर, लेख्दालेख्दै परमात्मामा लीन हुन पाइयोस् । 

यो जीवनकथा पनि पढ्नुहोस्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ