सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : संसदका दुवै सदनको अधिवेशन अन्त्य, अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय

सोमबार, ३२ साउन २०७८, २१ : २७
सोमबार, ३२ साउन २०७८

आज २०७८ साउन ३२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा संसदका दुवै सदनको अधिवेशन अन्त्य, प्रदेश २ को प्रदेश प्रमुख फेरियो, अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय, तालिबानको नियन्त्रणपछि अफगानिस्तानको अवस्था, प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच आरोप–प्रत्यारोप, कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन, अझै केही दिन मन्त्रिपरिषद विस्तार नहुने लगायत छन् ।

१. संसदका दुवै सदनको अधिवेशन अन्त्य
सरकारले अचानक संसद अधिवेशन अन्त्य गरेको छ । संघीय संसदका दुवै सदनको अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संसद अधिवेशन अन्त्य गरेकी हुन् । सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक साउन ३ गते बसेको थियो । यसबीचमा प्रतिनिधिसभाको अधिवेशन २९ दिन चल्यो भने उक्त अवधिभित्र ९ दिनमा १० वटा बैठक बसेको छ ।

​२. प्रदेश २ को प्रदेश प्रमुख फेरियो, झालाई हटाएर हरिशंकर मिश्रको नियुक्ति
सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । प्रदेश प्रमुख राजेश झा अहिराजलाई हटाएर सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदले राष्ट्रपति समक्ष प्रदेश २ का प्रदेश प्रमुख झाको बर्खास्तगी र मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परिवर्तन गरेकी हुन् ।

३. अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय
सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र सकुशल उद्धार गर्ने निर्णय गरेको हो । यसैबीच अफगानिस्तानको समेत जिम्मेवारी पाएको दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा अहिलेसम्म नेपालीलाई कुनै खतरा नदेखिएको जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानका सन्दर्भमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । बैठकमा एमालेका सांसद गोकुल बास्कोटाले अफगानिस्तानमा उथलपुथल भइसक्दासमेत नेपाल सरकार बेखबरजस्तो देखिएको भन्दै रुलिङको माग गरेका थिए । अन्य सांसदहरुले समेत अफगानिस्तान प्रकरणमा सरकारले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्ने र नेपालीको उद्धारका लागि तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए । 

४. अफगानिस्तानमा पछिल्लो २४ घण्टा के के भयो ?
अफगानिस्तानको राजधानी काबुललाई आइतबार तालिबानले नियन्त्रणमा लिएसँगै अन्योल बढेको छ । मुलुकलाई कसरी नेतृत्व गर्ने, सर्वसाधारणमा व्याप्त भय र अविश्वासको अवस्थालाई कसरी निर्मूल पार्ने भन्ने सन्दर्भमा तालिबानका नेताहरु विभिन्न योजना बनाइरहेका छन् भने सोमबार काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ । उक्त विमानस्थलमा गोलीसमेत चलेको छ र केही मानिस हताहत भएका छन् । 

५. प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच आरोप–प्रत्यारोपदेखि चुनौतीसम्म
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले विभिन्न विषय उठान गरेका छन् । खासगरी सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले विभिन्न विषयमा आरोप–प्रत्यारोपदेखि चुनौती दिनेसम्मका अभिव्यक्ति दिएका छन् । सत्ता साझेदार दल जसपा नेपालका सांसद प्रदीप यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रतिपक्षी दललाई सचेत गराए । प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान सरकारलाई ‘माप्रशे’ संज्ञा दिँदै सरकारले एमालेलाई फुटाउने रणनीति बनाएको आरोप लगाए । सत्ता पक्षका सांसद मोहनप्रसाद पाण्डेले आवश्यक परे लोकतान्त्रिक शक्ति र लोकतन्त्रवादीहरुको रक्षाका लागि सरकारले अध्यादेशसमेत ल्याउनुपर्ने बताए । सांसद रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय गलत रहेको भन्दै पूर्ववर्ती सरकारको उक्त निर्णय खारेज गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपालको क्षेत्रफलका बारेमा सही तथ्याङ्क प्रस्तुत गर्न सरकारसँग माग गरे । सांसद रङ्गमती शाहीले केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’ संज्ञा दिँदै ओली सरकारका पालामा भएका अनियमितताको फेहरिस्त सुनाइन् ।

६. विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेवले सर्वोच्चमा दिए रिट निवेदन
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा थमौती गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । उनले सो पदमा कुलमान घिसिङको नियुक्ति बदर गरि पाउन मागसमेत गरेका छन् । सरकारले केही दिनअघि शाक्यलाई ऊर्जा आयोगमा लगेर कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

७. मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले अझै केही दिन पूर्णता नपाउने भएको छ । सत्ता पक्षका दलहरु आन्तरिक बैठकमा व्यस्त रहेका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो । जसपा नेपालको केन्द्रीय समिति बैठक भदौ १ र २ गतेका लागि आह्वान भइसकेको छ । उक्त बैठकअघि मन्त्रिपरिषद विस्तार नहुने भएको हो ।

८. काँग्रेसका युवा नेताहरु सरकारले राम्रो काम नगर्ने हो कि भन्ने चिन्तामा
नेपाली काँग्रेसका संस्थापन पक्ष र इतर पक्षका युवा नेताहरुले सोमबार सामुहिक बैठकमार्फत समसामयिक विषयमा छलफल गरेका छन् । उनीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेन भने युवा नेताहरुको भविष्य बर्बाद हुनेमा चिन्तासमेत गरे । 

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदको जन्मदाता नै ठान्ने सत्ता पक्षको भ्रम तोडिएको टिप्पणी गरेका छन् । एक महिनासम्म सदन चल्दा कुनै विधेयक पास गर्न नसकेको, न कुनै अध्यादेशमाथि नै छलफल हुन सकेको भन्दै उनले संसदको जन्मदाता नै हुँ भन्नेहरुले जनतामा छरेको भ्रम तोडिएको बताए ।


१०. कोरोना भाइरसबाट थप तीन हजार ४५१ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप तीन हजार ४५१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४५८ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव गरे पनि अन्ततः त्यसबारे कुनै प्रक्रिया नै अघि नबढाइ प्रदेशसभा अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । 

जसपाको आधिकारिकता सम्बन्धमा निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने ठहर गरेको हो ।

कोरोना संक्रमण दर बढिरहेको समयमा साउनको अन्तिम सोमबार हिन्दु धर्मावलम्बीहरुले जनस्वास्थ्यका मापदण्ड र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको परवाह नै नगरी शिवालयहरुमा पूजा अर्चना गरेका छन् ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण आइतबार ओरालो लागेको नेप्से परिसूचक अर्थमन्त्री जनार्दन शर्माको चासोपछि सोमबार केही सुधार देखिएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप