बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानबाट नेपालीको उद्धार गर्न के–के हुँदैछ ?

राजदूत आचार्य भन्छन् – नेपाली नागरिकहरु सुरक्षित छन्
सोमबार, ३२ साउन २०७८, १८ : २१
सोमबार, ३२ साउन २०७८

अफगानिस्तानको राजधानी काबुललाई तालिवानले कब्जा गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षालाई लिएर नेपालमा चिन्ता बढेको छ । एक सातादेखि नै नेपालीको उद्धार गर्न दबाव आए पनि नेपाल सरकारले आइतबार मात्रै नेपालीलाई उद्धार गर्न समिति गठन गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा गृह, अर्थ, श्रम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।

समितिलाई दिइएको कार्यभारमा अफगानिस्तानमा रहेका नेपालीहरुको लगत संकलन गर्ने, तत्काल आउन चाहनेहरुको तथ्यांक संकलन गरी फारम भराउने र तत्काल उद्धार गरेरै ल्याउनुपर्ने भए ल्याउने गरी काम गर्न निर्देशन दिइएको थियो । समिति गठन भएलगत्तै समितिले अनलाइन पोर्टलमा फारम उपलब्ध गराउँदै फारम भर्न आग्रह गरेको थियो ।

समितिका संयोजक हरिशचन्द्र घिमिरेका अनुसार पहिलो चरणमा अफगानिस्तानमा रहेका नेपालीहरुको लगत संकलनको काम भइरहेको छ । हाल अफगानिस्तानमा औपचारिकरुपमा १ हजार ५ सयको हाराहारीमा नेपालीहरु रहेको खुलेको छ ।

त्यसैगरी श्रम स्वीकृति नलिई अफगानिस्तान पुगेका नेपालीहरुको पनि संख्या रहेको भन्दै अफगानिस्तानमा हाल कति नेपालीहरु रहेका छन् भन्ने बारे कुनै जानकारी नभएको घिमिरेले बताए ।

आइतबारबाटै काम सुरु गरेको समितिले सोमबार अपरान्ह ४ बजेसम्ममा अनलाइनबाट फारम भरेर उद्धार हुन चाहनेको सङ्ख्या १ सयको हाराहारीमा छ । उनीहरु मात्रै नभएर त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षितरुपमा नेपाल फर्काउनका लागि समितिले काम गरिरहेको घिमिरेले बताए ।

समितिका संयोजक घिमिरेका अनुसार परराष्ट्र मन्त्रालय र समितिमा अफगानिस्तानबाट पनि लगातार फोन आइरहेको र उनीहरुले आफूहरु सुरक्षित रहेको जानकारी दिएको बताए ।

सबै नेपाली सुरक्षित छन् : समिति

अफगानिस्तानमा रहेका अधिकांश नेपाली नागरिकहरु त्यहाँ रहेका दूतावास, कम्पनी तथा अन्य नियोगहरूमा सुरक्षा गार्डको रुपमा कार्यरत छन् ।  जुन स्थानमा काम गर्ने हो, सोही कम्पनीले उनीहरुलाई सुरक्षितरुपमा राखेको जानकारी आएको र उनीहरुलाई सुरक्षितरुपमा नेपाल पठाउन कम्पनीहरुले पहल गरिरहेको घिमिरेले बताए ।

सम्बन्धित कम्पनीलाई नै नेपाल फर्काइदिन आग्रह

यतिबेला नेपाल सरकार र उद्धार गर्न गठित समितिले पनि अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने व्यवस्था गरिदिन काम गरिरहेकै संस्था वा कम्पनीहरुलाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका कम्पनीहरुले पनि नेपालीहरुलाई सुरक्षितरुपमा नेपाल ल्याउन पहल गरिरहेको र कम्पनी स्वयंले नेपाल ल्याइदिने बताएका छन् । तर, तत्कालै काबुलमा जहाज उतारेर उनीहरुलाई उद्धार गर्न सक्ने अवस्था भने नभएको उनीहरुले परराष्ट्रलाई पत्र पठाएका छन् ।

भारतमा रहेको नेपाली दूतावासले नै यतिबेला अफगानिस्तान पनि हेर्ने गरेको छ । यसअघि पाकिस्तानस्थित दूतावासले हेर्ने गरेको अफगानिस्तान अहिले दिल्लीस्थित नेपाली दूतावासले हेर्ने गरेको र उद्धारका लागि दिल्लीस्थित दूतावासले नै काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


नेपालीलाई कुनै खतरा छैन : राजदूत आचार्य

अफगानिस्तान हेर्ने दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीबारे जानकारी दिन आग्रह गरेको छ । अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यलाई सम्पर्क गर्दा उनले अहिलेसम्म स्थिति नबिग्रिएको बताए ।

अफगानिस्तानमा रहेका नेपालीहरु अहिलेसम्म (सोमबार १६ : ४०) सुरक्षित रहेको भन्दै उनीहरुबारे थप जानकारी लिइरहेको र उनीहरुको सुरक्षा तथा उद्धारमा आफूहरु चिन्तित रहेको आचार्यले बताए ।

राजदूत आचार्यले रातोपाटीसँग भने, ‘अहिलेसम्मको अवस्था राम्रो नै छ । नेपाली नागरिकहरु सुरक्षित नै रहेका छन् । उनीहरुलाई कुनै पनि खतरा छैन । उनीहरु संगठितरुपले सुरक्षित स्थानमा नै रहेको जानकारी आएको छ । अहिलेसम्मको स्थिति भन्नुपर्दा केही खतरा छैन ।’

तर, सशस्त्र युद्धबाट नै सत्ता परिवर्तन भएको भन्दै आगामी अवस्थाबारे अहिले नै केही भन्न नसकिने आचार्यले बताए । उनले भने, ‘अस्तिसम्म काबुल सुरक्षित रहेको भन्ने जानकारी आएको थियो । अमेरिकी र युरोपियन राष्ट्रहरुले पनि काबुल सुरक्षित रहेको बताइरहेका थिए । तर, हिजो एक्कासी काबुल कब्जा भएको जानकारी आयो ।’

राजदूत आचार्यले अगाडि भने, ‘छोटो समयमै काबुल कब्जा भएको कारण पर्याप्त गृहकार्य गर्नसमेत पाइएन । यदि हामीसँग केही समय हुन्थ्यो भने पहिले नै उनीहरुलाई उद्धार गर्न पनि सक्थ्यौँ । तर, अहिले त त्यहाँ जहाज जान सक्ने अवस्था पनि छैन भन्ने सुनेका छौँ । त्यसकारण पहिलो चरणमा उनीहरुलाई सुरक्षित स्थानमा राख्ने र त्यसपछि उद्धार गर्ने हाम्रो तयारी छ ।’

भारतस्थित नेपाली राजदूत आचार्यले अफगानिस्तानका विभिन्न कूटनीतिक तथा अन्तर्राष्ट्रिय नियोगमा काम गर्ने केही नेपालीहरुलाई ती कम्पनीहरुले उद्धार गरी कतार पुराएको सूचना आएको आचार्यले बताएका छन् । अहिले औपचारिकरुपमा अफगानिस्तान पुगेका नेपालीहरुको सम्बन्धमा रोजगारदाता कम्पनीलाई नै सुरक्षितरुपमा नेपाल ल्याउने व्यवस्था गरिदिन वा सुरक्षित स्थानमा राखिदिन आग्रह गरेको राजदूत आचार्यले बताए ।

राजदूत आचार्यका अनुसार कतारमा करिब १ हजार ५०० को हाराहारीमा नेपालीहरु औपचारिकरुपमा रोजगारीका लागि त्यहाँ पुगेका छन् । श्रम स्वीकृति नलिई अनौपचारिक रुपमा पनि केही नेपालीहरु अफगानिस्तान पुगेको जानकारी आएको र त्यसमध्ये करिब ३० जना सम्पर्कमा आएको राजदूत आचार्यले बताए । उनीहरुलाई पनि उद्धार गर्ने तयारी भइरहेको आचार्यले बताए ।

अफगानिस्तानमा रहेका नेपालीमध्ये अधिकांश नेपालीहरु काबुलमा रहेको भन्दै अनौपचारिक माध्यमबाट गएका केही नेपाली भने काबुलभन्दा बाहिर पनि हुनसक्ने आचार्यले बताए । अहिले सूचना संकलनको काम भइरहेको भन्दै उनीहरुलाई पनि सुरक्षित राख्न कुटनीतिक पहल भइरहेको आचार्यले बताए ।


नेपालीलाई खतरा नहोला भन्ने आशा

राजदूत आचार्य नेपाल युद्ध पक्ष राष्ट्र नभएको कारण नेपाली नागरिकलाई अन्य देशका नागरिकभन्दा कम खतरा रहेको बताउँछन् । उनले भने, ‘नेपाली नागरिकहरु त दूतावास, कुटनीतिक नियोग वा कम्पनीहरूमा सेक्युरिटी गार्डका रुपमा मात्रै गएका हुन् ।

नेपाल युद्ध पक्ष राष्ट्र नभएको र अफगानिस्तानको सरकारलाई पनि नसघाएको कारण उनीहरुमाथि खतराको सम्भावना अन्य देशका नागरिकलाई भन्दा कम भएको आचार्यले बताए । तर, त्यहाँको स्थितिबारे अहिले नै केही भन्न नसकिने भन्दै पहिलो चरणमा उनीहरुलाई सुरक्षित राख्नु नै आफ्नो उद्देश्य भएको राजदूत आचार्यले बताए ।


अफगानिस्तानमा रहेका नेपालीबारे जानकारी दिन दूतावासको आग्रह

राजदूत आचार्यले अफगानिस्तानमा रहेका नेपालीबारे जानकारी दिन नेपालस्थित परिवारका सदस्यहरुलाई आग्रह गरेका छन् । औपचारिक माध्यमभन्दा बाहिरबाट पनि नेपाली नागरिकहरु अफगानिस्तान पुगेको भन्ने जानकारी आएको कारण त्यहाँ कुन शहरमा कुन कम्पनीमा उनीहरु काम गरिरहेका छन्, परिवारसँग कुराकानी भएको छ कि छैन ? वा कहिले कुराकानी भएको थियो ? उनीहरुको सम्पर्क नम्बर आदि उपलब्ध गराइदिन पनि राजदूत आचार्यले आग्रह गरेका छन् ।

उनीहरुबारे जानकारी पाउनेबित्तिकै उनीहरुको खोजी तथा उद्धारका लागि पहल गर्ने भन्दै उनीहरुको स्थितिबारे जानकारी दिन नेपालमा रहेका आफन्त तथा साथीभाइसँग राजदूत आचार्यले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप