मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रवादीहरुलाई जोगाउन आवश्यक परे अध्यादेश पनि ल्याउनुपर्छ : सांसद पाण्डे

सोमबार, ३२ साउन २०७८, १५ : ३१
सोमबार, ३२ साउन २०७८

प्रतिनिधिसभा सदस्य मोहनप्रसाद पाण्डेले लोकतन्त्रवादीहरुलाई जोगाउनका लागि आवश्यक परेमा सरकारले अध्यादेश पनि ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सरकारले संसदको जारी अधिवेशन अन्त्य गर्न लागेको समाचार प्रकाशमा आइरहेको अवस्थामा उनले लोकतान्त्रिक शक्तिहरूलाई जोगाउन, लोकतन्त्रको पक्षमा लागेका राजनीतिकर्मीहरूलाई संरक्षण गर्न आवश्यक परेमा सरकारले अध्यादेश ल्याउन सक्ने प्रस्ट पारे ।

‘संविधानअनुसार पाँच वर्षका लागि आवधिक निर्वाचन हुन्छ,’ उनले भने, ‘जनादेशको घाँटी निमोठ्न थालेपछि हामीले परमादेश खोजेका हौं, मागेका हौं । त्यही परमादेशको आधारमा संसद जीवन्त भएको छ ।’

घाँटी निमोठेको जनादेशमा प्राण भर्ने काम परमादेशबाट भएको भन्दै उनले वर्तमान सरकार जनादेश र परमादेश दुवैको नतिजा भएको बताए ।

उनले प्रमुख प्रतिपक्ष नेकपा एमालेतिर लक्षित गर्दै भने, ‘तपाईहरुसँग प्रचण्ड हुँदा ठिक, माधव नेपाल हुँदा ठिक । तपाईहरुसँगै नहुँदा बेठीक !’

उनले वर्तमान सरकार लोकतान्त्रिक भएकैले हरेक पार्टीमा हुने दमन, लोकतन्त्रविरोधीहरुलाई निस्तेज पार्न चाहेको पनि बताए ।

उनले भने, ‘हरेक पार्टीमा लोकतन्त्रका पक्षमा लडेका साथीहरु, राजनीतिकर्मीहरु, माननीयजीहरुलाई संरक्षण र साथ दिनका लागि यो सरकारले जे गर्नुपर्छ, त्यो गर्छ ।’

उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको चर्चा गर्दै आफूले ल्याउँदा ठिक र अरुले ल्याउँदा बेठीक भन्न नमिल्ने तर्क गरे । ‘तपाईहरुले अध्यादेश ल्याउँदा ठिक हुने, यो सरकारले ल्याउँदा बेठीक हुन्छ ?’ उनले भने, ‘तपाईहरुले आफ्नै पार्टीभित्र अत्याचार गर्नुभयो, दमन गर्नुभयो, आज त्यो दमन विस्फोट भएको छ ।’

लोकतान्त्रिक प्रक्रिया र विधिलाई जोगाउने सवालमा आवश्यक परेमा सरकारले अध्यादेश ल्याउन सक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप