आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा पछिल्लो २४ घण्टामा तीव्र रुपमा कसरी फेरियो स्थिति ?

सोमबार, ३२ साउन २०७८, १२ : ४२
सोमबार, ३२ साउन २०७८

अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिने निर्णय पछि तालिबानले तीव्र रुपमा खुट्टा पसार्दै केही हप्ताभित्र देशको राजधानी काबुलमाथि कब्जा जमाएको छ । 

त्यसपछि राष्ट्रपति असरफ गनी देश छोडेर भागेका छन् र तालिबानले २० वर्षको प्रतीक्षापछि आफू सत्ताको निकै नजिक भएको बताएको छ । तालिबानले यहाँ एकपछि अर्को गर्दै सहरमा कब्जा जमाएको छ । थुप्रै सहरका गभर्नरले तालिबान समक्ष आफैं आत्मसमर्पण गरेका छन् तसर्थ कुनै संघर्ष गर्नुपरेन । 

यसैबीच थुप्रै देशले काबुलस्थित आफ्ना दूतावासबाट आफ्ना कूटनीतिज्ञ र नागरिकलाई निकाल्ने कोसिसमा तीव्रता दिइरहेका छन् । राजधानीमा आपत विपद्को माहोल देखिएको छ र मानिसहरु छिटोभन्दा छिटो देश छोडेर भाग्ने कोसिस गरिरहेका छन् । 

अफगानिस्तानमा हालसम्म के के भयो, त्यसमाथि नजर राखौंः

– अफगानिस्तानको विषयमा चौतर्फी आलोचनाले घेरिएका अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले राजीनामाको माग गरेका छन् । ट्रम्पले भने, ‘यदि म राष्ट्रपति भएको भए त्यहाँबाट अमेरिका निकै भिन्न र अत्यधिक सफलतापूर्वक निस्कने थियो ।’

यस्तै, बाइडेन प्रशासनले उनीमाथि जवाफी हमला गर्दै अमेरिका र तालिबानबीच ट्रम्पको कार्यकालमा नै सम्झौता भएको बतायो । 

– अफगानिस्तानबाट भागेपछि राष्ट्रपति असरफ गनीले सोसल मिडियामा एउटा बयान जारी गर्दै देशमा रक्तपात रोक्नका लागि आफूले यस्तो कदम उठाएको बताए । 

– अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले एक भिडियो फेसबुकमा जारी गर्दै आफ्नो प्रशंसकसँग आफू काबुलमा नै हुने बताए । अमेरिकाको देशमा सैन्य अभियानपछि सन् २००१ मा करजाई देशका नेता बनेका थिए । 

– काबुल अन्तरराष्ट्रिय हवाई अड्डामा पनि सबै व्यावसायिक उडान निलम्बित गरियो । त्यहाँबाट सैन्य विमानको सञ्चालनको अनुमति दिइएको छ । 

– यसअघि तालिबानले आफूले काबुलमा राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिएको  छ । यसको केही घण्टापछि अल जजिराले एउटा भिडियो जारी गर्यो जसमा तालिबान लडाकू राष्ट्रपति भवनभित्र देखिए । तालिबानले उसले काबुलका थुप्रै जिल्ला केन्द्रमा आफ्नो पहुँच बनाएको  र त्यसमध्ये ११ लाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । 

– अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले अफगानिस्तानस्थित आफ्नो दूतावास काबुल एयरपोर्टमा सिफ्ट गरेको छ । दूतावासको भवनमा राखिएको झण्डा पनि निकालेर विमानस्थलमा पुर्याइएको छ । पछि यसलाई अफगानिस्तानबाट हटाइनेछ । 

– आइतबार अबेर राति अफगानिस्तानका राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छोडेका थिए । अर्कोतर्फ तालिबानले एक बयान जारी गर्दै आफ्ना लडाकू आधिकारिक रुपमा काबुलको इलाकामा प्रवेश गरिरहेको र कार्यालयलाई कब्जामा लिएको जानकारी जारी गर्यो । तालिबानको कब्जामा आएपछि र अफगान राष्ट्रपतिले देश छोडेपछि त्यहाँ थुप्रै स्थानमा गोलीको आवाज सुनियो । 

– आइतबार अफगानिस्तानमा तीव्र रुपमा परिवर्तित घटनाक्रमका बीच ब्रिटेन सरकारले अफगानिस्तानका विद्यार्थीको सेवनिङ छात्रवृत्ति  रोकको र अर्को महिनादेखि बेलायतमा छात्रवृत्तिमा पढ्न जान लागेका विद्यार्थी अब प्रवेश गर्न नपाउने बताएको  छ । यद्यपि, यसको केही घण्टापछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यस्ता अफगान विद्यार्थीको मद्दतका लागि उनीहरुलाई भिसा दिने कोसिस गरिने बताएका छन् । सरकारको यो निर्णयको असर ३५ अफगान विद्यार्थीमा पर्नेछ, जसमध्ये लगभग आधा महिला छन् । 

– तालिबानले काबुलको बाहिरी इलाकामा रहेको बगराम एयरफिल्ड र जेललाई कब्जामा लिएको दाबी गर्यो । यसै सैन्य हवाई अड्डाबाट अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्ष चलेको युद्धलाई सञ्चालित गरेको थियो । 

   
– अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिरजकवालले टोलो न्यूजलाई दिएको एक बयानमा सत्ताको हस्तान्तरण शान्तिपूर्ण तरिकाले हुने र अन्तरिम सरकार बन्ने जानकारी दिए । उनले काबुलमा हमला नहुने बताए । 

– ताजा रिपोर्टका अनुसार तालिबानले कुनै विशेष प्रतिरोधबिना बामियान प्रान्तमा पनि कब्जा गरेको छ । तालिबानले २० वर्ष अघिदेखि यहाँ रहेको बुद्धको प्रसिद्ध मूर्तिलाई बारुदले उडाइदिएको थियो । 

– अफगानिस्तानकी महिला सांसद फरजाना कोचाईले बीबीसीसँगको कुराकानीमा मानिसहरु राजधानी काबुल छोडेर भाग्ने कोसिस गरिरहेको तर भाग्नका लागि ठाउँ नै नभएको बताएकी छिन् । उनले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘तालिबानका नियन्त्रणमा आउने इलाकामा महिला काममा जान बन्द गरेका छन् । उनीहरु स्कुल वा अफिस गइरहेका छैनन् । ’

– अफगानिस्तानमा तीव्र रुपमा परिवर्तित घटनाक्रमलाई हेर्दै अमेरिकाले आफ्ना नागरिकको सुरक्षाका लागि अतिरिक्त जवान काबुल पठाएको छ । अर्कोतर्फ अमेरिका आफ्ना नागरिक र दूतावासका कर्मचारीलाई पनि काबुलबाट निकाल्न तीव्र रुपमा निकाल्ने काममा जुटेको छ । 

– आइतबार अफगानिस्तानको राजधानी काबुलबाट केही घण्टा टाढामा रहेको जलालाबाद सहरमा कब्जा गरेपछि तालिबानका लडाकू काबुलको बाहिरी इलाकासम्म पुगे । यसको एक दिन अघि तालिबानले मजार–ए–सरिफ सहरमा कब्जा गरेको थियो । 

– त्यसपछि तालिबानले अफगान सरकारसँग शान्तिपूर्ण सत्ता हस्तान्तरणको विषयमा कुराकानी जारी रहेको र कुराकानी जारी भएसम्म आफ्ना लडाकू राजधानीमा प्रवेश नगर्ने बतायो । तालिबानको तर्फबाट जारी गरिएको आधिकारिक बयानमा काबुल एक घना जनसंख्या भएको सहरी इलाका भएको जहाँ नागरिक जानसंख्यालाई खतरा हुनसक्ने बतायो । 

– यतिबेला अफगान राष्ट्रपति असरफ घानीले आफ्नो ट्विटर ह्यान्डलमा एउटा सन्देश पोस्ट गर्दै नागरिकलाई राजधानीमा स्थिति नियन्त्रणमा भएको विश्वास दिलाए । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप