आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बारको वार–चोलेन्द्रलाई अवरोध, ओलीको भिडियो सन्देश

शुक्रबार, २६ कात्तिक २०७८, २१ : २०
शुक्रबार, २६ कात्तिक २०७८

आज मिति २०७८ साल कात्तिक महिनाको २६ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ  ।

१. बारको वार, चोलेन्द्रलाई अवरोध

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतको मुल गेटमै धर्ना दिएको छ । सो क्रममा केहीबेर तनावको अवस्था समेत सिर्जना भएको थियो । वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेश गर्न नदिने रणनीति अख्तियार गरेको भएपनि जबरा ‘चोरबाटो प्रयोग गर्दै अदालत प्रवेश गरेका थिए ।

२. ओलीको भिडियो सन्देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर १० गते सुरु हुने एमालेको दशौं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि उच्च समझदारीमार्फत छनोट गर्न आव्हान गरेका छन् । महाधिवेशन प्रतिनिधि छनोट गर्ने अघिल्लो दिन शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारी समेत भएको भन्दै सोही विधि प्रयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेका हुन् । आजै एमालेले महाधिवेशनको लोगो पनि सार्वजनिक गरेको छ ।

३. माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो । माओवादीले पार्टी पंक्तिमा आजै सर्कुलर पनि जारी गरेको छ ।

४ विप्लव र वैद्य माओवादीमा फर्किने प्रचण्डको विश्वास

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले टुक्रिएर गएका सबै माओवादी शक्ति पुनः एक हुनु पर्ने बताएका छन् । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त पनि गरेका छन् ।

​५. फाइजर–बायोएनटेक खोप सञ्चालन हुँदै

सरकारले १२ वर्ष भन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने कोरोनाविरुद्धको फाइजर – बायोएनटेक खोप अभियान सञ्चालन गर्ने भएको छ ।  यस खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध गराइनेछ ।

६. आयल निगमविरुद्ध संयुक्त विद्यार्थी संगठन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।

शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन् ।

​७. देउवालाई छानबिन प्रतिवेदन हस्तान्तरण

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । 

​८ कोरोना संक्रमित आज कति थपिए ?

पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ। 

​९. रामचन्द्रका दुई विकल्प

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठकमा दुई विकल्प अघि सारेका छन् । पहिलो विकल्पमा उनले इतर समूहबाट पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी प्रस्तुत गर्ने नेताहरु आपसमा मिले आफू सहयोग गर्न तयार रहेको बताएका छन् । तर दाबेदारहरु आपसमा नमिले भने आफू अघि बढ्ने प्रस्ताव अघि सारेको बैठकमा सहभागी केन्द्रीय सदस्य गगन थापाले रातोपाटीलाई जानकारी दिए ।

१०. यो पनि..

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ता बारेको रिपोर्ट प्रस्तुत भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको सो बैठकमा महासचिव डा वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय भएको छ ।

​राष्ट्रिय जनगणना २०७८ को लागि गणकहरू बिहीबारदेखि घरदैलोमा गई तथ्याङ्क सङ्कलन गरिरहेका छन् । तथ्याङ्कको फारममा गणकहरुले नीलो मसीले भर्नुपर्ने प्रावधान भए पनि सिसा कलमको प्रयोग भएको पाइएको छ ।

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्यता करिब ९० हजार पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको छ ।

सल्यानका एक जना जनप्रतिनिधिले आफूविरुद्ध सामाजिक सञ्जालमा लेखेकै कारण स्थानीय युवालाई सेवा प्रतिबन्धमा रोक लगाएका छन् । यस्तो प्रतिबन्ध लगाउने बागचौर नगरपालिका–४ का वडाअध्यक्ष प्रेमबहादुर पुन हुन् ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप