शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानन्यायाधीश अब काशी जानुस् : बार महासचिव पौडेल

शुक्रबार, २६ कात्तिक २०७८, १४ : ५५
शुक्रबार, २६ कात्तिक २०७८

नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीशले अब सर्वोच्च छाडेर काशी जानुपर्ने बताएका छन् । प्रधानन्यायाधीश न्यायपालिकाको घरमुली भएको कारण परिवारका सदस्यले असहयोग गरेका कारण सबै कुरा छाडेर तीर्थाटनमा जानुपर्ने बताएका हुन् । 

शुक्रबार रातोपाटीसँगको विशेष कुराकानीमा बारका महासचिव पौडेलले न्यायपालिकाको नेतृत्व गर्ने सबै मौका प्रधानन्यायाधीशले गुमाइसकेको भन्दै उनी नैतिक रुपमा पतन भएको कारण राजीनामा दिएर विदा हुनुपर्ने बताए ।

उनले भने ‘हुन त हाम्रो नजरमा उहाँले सबै नैतिकता गुमाइसक्नुभएको छ । तर उहाँलाई अझैपनि आफ्नो नैतिकता बाँकी छ भन्ने लाग्छ भने उहाँले राजीनामा दिनैपर्छ र विदा हुनुपर्छ । प्रधानन्यायाधीश भनेको न्यायपालिकाको घरमुली हो । जब घरमुलीको व्यवहारप्रति परिवारका सदस्यहरुले प्रश्न उठाए र एक्लो बनाए भने हाम्रो समाजमा मानिसहरु सबै कुरा त्यागेर काशी, वनारस वा देवघाटतिर जान्छन् । अहिले प्रधानन्यायाधीशप्रति पनि सबैको विश्वास टुटेको छ । त्यसकारण उहाँ अब सबै कुरा छाडेर काशीतिर जानु नै उत्तम हुन्छ ।’

प्रधानन्यायाधीशको बहिर्गमन नै न्युनतम बिन्दु

नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीशको बहिर्गमन नै आन्दोलनको न्युनतम बिन्दु रहेको बताए ।

उनले भने, ‘हामी आन्दोलनमा होमिएको न्यायपालिका शुद्धीकरणका लागि हो । अदालतमा सेटिङ र भ्रष्टाचार बढ्नुमा उहाँकै हात छ । आफू अनुकूलका न्यायाधीशलाई पेसी तोक्ने, आफूले चाहेको जस्तो आदेश वा फैसला दिने र विचौलियाको प्रयोग गरेर न्यायपालिकालाई धराशयी बनाउने काम उहाँले गर्नुभयो । त्यसैलाई रोक्न भनेर हामीले माननीय न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायपालिका सुधारका लागि प्रतिवेदन बनायौँ र कार्यन्वयनका लागि पहल गर्न भन्यौँ । तर उहाँले त त्यो प्रतिवेदन कार्यन्वयन गर्न सक्दिन भन्नुभयो । यसबाट के कुरा बुझिन्छ भने उहाँ न्यायपालिका शुद्धीकरणका लागि प्रतिबद्ध हुनुहुन्न् । त्यसकारण न्यायपालिका शुद्धीकरणका लागि उहाँको बहिर्गमन अपरिहार्य नै छ । त्यो नै न्युनतम बिन्दु हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप