शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाद्वारा ७६ जिल्लाको नेतृत्व चयन, भक्तपुरमा नेतालाई कार्यकर्ताले थुने (नामावलीसहित)

शुक्रबार, २६ कात्तिक २०७८, १३ : ४४
शुक्रबार, २६ कात्तिक २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लाको नेतृत्व चयन सकेको छ । भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभाग सदस्य जनकराज पाठकले रातोपाटीलाई जानकारी दिए ।

राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोमा भक्तपुरमा भने कमल थापा र पशुपति शमशेर राणा–डा प्रकाशचन्द्र लोहनी पक्षबीच भागबण्डा मिल्न नसक्दा तनावको अवस्था सिर्जना भएको हो ।

भक्तपुरमा वडा तहको अधिवेशन भएपनि क्षेत्र र जिल्लामा अधिवेशन हुन नसकेको राप्रपाले जनाएको छ । पार्टी केन्द्रले दिएको समयसीमा अधिवेशन हुन नसकेपछि अब के हुने भन्नेमा अन्योलता कायमै रहेको छ । यसबारे केन्द्रीय अध्यक्षहरूबीच नै विवाद रहेकाले भक्तपुरको हकमा के हुने भन्नेबारे निर्णय हुन नसकेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

के हो भक्तपुरको विवाद ?

तत्कालीन राप्रपा र राप्रपा संयुक्त मिलेर राप्रपा गठन भएको हो । पार्टी एकता भएसँगै राप्रपाले देशभरका संगठन समायोजनलाई तिव्रता दियो । सोअनुसार भक्तपुरमा भने समायोजनको क्रममा विवाद रहँदै आयो । राप्रपा एकताअघि रामशरण लामिछाने राप्रपा संयुक्तको अध्यक्ष थिए भने कमल थापा निकट राप्रपाको अध्यक्ष माधव खत्री थिए ।

यी दुईमध्ये लामिछाने वरिष्ठ भएको बताइएको छ । तर,  समायोजन गर्ने क्रममा उनीहरुले एकले अर्कालाई नछाड्दा समस्या भएको हो । पछिल्लो समय अधिवेशन गर्नकै लागि राप्रपा केन्द्रले रामशरणलाई अध्यक्ष दिने र माधव खत्रीलाई निर्वाचन कमिटीको प्रमुख दिने निर्णय गर्यो ।  तर उनीहरुले चित्त बुझाएनन् भने अधिवेशनको प्रक्रियामा जाँदा दुबैले उम्मेदवारी दर्ता गर्ने अवस्था आइलाग्यो भने दुई पक्षका कार्यकर्ताबीच हात हालाहालको अवस्था आएको एक नेताले रातोपाटीलाई बताए ।

विवाद उग्र बन्दै गएपछि समाधानका लागि केन्द्रले केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा, निमित्त प्रमुख राजेन्द्र गुरुङलाई खटाए पनि समस्या ज्यूँकात्यूँ बनेको उनको भनाइ छ । बरु विवाद मिलाउन गएका उनीहरुलाई असन्तुष्ट कार्यकर्ताले दुई नेतालाई बाहिरबाट ताल्चै लगाएर कोठामा थुनिदिएको उनले बताए ।

यस्तै विवाद मिलाउन केन्द्रीय निर्वाचन समितिका सदस्य झनक प्याकुरेल र रोशन कार्कीलाई पर्यवेक्षकको रुपमा खटाएर फेरि पहल गरियो । जति गर्दा पनि समस्या समाधान नभएपछि भक्तपुरले महाधिवेशनमा भाग लिन नपाउने अवस्था निम्तिने देखिएको छ ।

अधिवेशनको बाँकी प्रक्रियामा सामान्य हेरफेर

यसैबीच राप्रपाले सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिएको छ । सो अवधिभित्र सदस्यता शुल्क नबुझाउनेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

यस्तै बिहीबार बसेको अध्यक्षत्रयको बैठकले कार्तिक २९ भित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउने, सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध मंसिर १ र २ गते भित्र गर्ने भएको छ ।

 यसअघि केन्द्रीय निर्वाचन समितिले कार्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय गरेको थियो । यसैगरी सक्रिय सदस्यको दावी विरोध कार्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको थियो ।

 यस्तै बैठकले सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव मंसिर ३,४ र ५ गते गर्ने निर्णय पनि गरेको छ । यसअघि मंसिर १, २ र ३  गते गर्ने निर्णय भएको थियो । राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप