गणकबाट राष्ट्रिय जनगणनामा सिसाकलमको प्रयोग !

राष्ट्रिय जनगणना २०७८ को लागि गणकहरू बिहीबारदेखि घरदैलोमा गई तथ्याङ्क सङ्कलन गरिरहेका छन् । तथ्याङ्कको फारममा गणकहरुले नीलो मसीले भर्नुपर्ने प्रावधान भए पनि सिसाकलमको प्रयोग भएको पाइएको छ ।
थारू आयोगका सदस्य भोलाराम चौधरीका अनुसार अनुगमनको क्रममा शुक्रबार बिहान ९ बजे सुनसरीको दुहबी नगरपालिका–२, थारू टोलमा उनको टोली पुग्दा सिसाकलमले फारम भरेको पाइयो । सदस्य चौधरी भन्छन्, ‘सिसाकलमको प्रयोग गर्दै फारम भर्ने गणकसँग परिचय गर्दा सुजिता माझी रहेको थाहा भयो । उनलाई सचेत गराएलगत्तै डटपेनको प्रयोग गरिन् ।’
सिसाकलमको प्रयोगले गणकले पछि आफूखुशी फारममा फेरबदल गर्ने खतरा रहन्छ । सदस्य चौधरीले अगाडि भने, ‘यस्तो गल्ती अरू ठाउँमा गर्दैनन् भने भन्न सकिन्न । त्यसैले हाम्रो घरमा आउने गणकहरूबाट सबै सचेत बन्नुपर्छ । सिसाकलमले फारम भर्ने कार्यको विरोध गर्नुपर्छ ।’
सदस्य चौधरीले आफूले जिल्ला निर्वाचन कार्यालय, सुनसरीका पदाधिकारी, प्रमुख जिल्ला अधिकारीलगायतलाई फोन गरी सिसाकलमको प्रयोग गरी गणकहरुबाट गलत काम भैरहेको बारे जानकारी गराएको रातोपाटीलाई बताए ।