आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

आफू निकटको बैठकमा रामचन्द्रले अघि सारे दुई विकल्प

शुक्रबार, २६ कात्तिक २०७८, २० : ५८
शुक्रबार, २६ कात्तिक २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठकमा दुई विकल्प अघि सारेका छन् । पहिलो विकल्पमा उनले इतर समूहबाट पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी प्रस्तुत गर्ने नेताहरु आपसमा मिले आफू सहयोग गर्न तयार रहेको बताएका छन् । तर दाबेदारहरु आपसमा नमिले भने आफू अघि बढ्ने प्रस्ताव अघि सारेको बैठकमा सहभागी केन्द्रीय सदस्य गगन थापाले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार बैठकको सुरुमै पौडेलले महाधिवेशनमा इतर पक्ष मिलेर जानुको विकल्प नरहेको भन्दै सभापतिको दाबेदारहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र कृष्ण सिटौला आपसमा मिल्नुपर्ने धारणा राखेका थिए । यी चार नेता आपसमा मिलेर साझा उम्मेदवार तयार गर्न सक्ने अवस्था बनेमा आफू नेतृत्वको दौडबाट पछि हटेर सहयोग गर्न तयार रहेको पौडेलको भनाइ थियो । तर चार नेता आपसमा नमिलेको अवस्थामा आफूले परिस्थिति सहज बनाएर आफै अघि बढ्ने उनको धारणा थियो । 

उनले भने,  तपाईँहरू मिल्न र मिलाउन पनि सक्नुहुन्छ भने मलाई मिलाउने जिम्मा दिनुस् । सबैलाई मिलाएर म नै नेतृत्व गर्नेगरी अघि बढ्छु ।’ पौडेलको उक्त प्रस्तावमा अरु नेताहरुले केही जवाफ फर्काएनन् । यस्तै आजको बैठकमा सहभागी नहुने नेता प्रकाशमान सिंहको सन्दर्भमा पनि छलफल भएको थापाले बताए । बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । 

उनीहरुले सबैलाई टीममा राख्न सकिएन भने त्यस्तो अवस्थामा शेरबहादुर देउवालाई रोक्न कसैले नसक्ने धारणा राखे । बैठकपछि महामन्त्री शशांक कोइरालाले पनि इतर पक्ष एकजुट भएर महाधिवेशनमा होमिनुपर्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप