आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

'काँग्रेसमा पुस्तान्तरण आवश्यक छ, जुनसुकै जिम्मेवारी लिन तयार छु’

शुक्रबार, २६ कात्तिक २०७८, ०७ : ३५
शुक्रबार, २६ कात्तिक २०७८

करिब तीन दशक लामो विद्यार्थी राजनीतिपछि नैनसिंह महर काँग्रेसको केन्द्रीय राजनीतिमा ‘इन्ट्री’ गर्ने तयारीमा छन् । विसं. २०४७ देखि  ०७५ सम्म नेविसंघमा रहँदा महरको पोजिसन ‘भर्टिकल’ रुपमा माथि चढेको देखिन्छ । पार्टीको राजनीतिमा अब उनको यात्रा कस्तो होला, अहिल्यै भन्न सकिँदैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा निवासी महर विसं.२०४७ मा १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भएका थिए । २१ वर्षको उमेरमा नेविसंघ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्ष भए । २०५६ मा जिल्ला अध्यक्ष बने । ०५४ मा पार्टीको डडेलधुरा प्रचार विभाग उपप्रमुखका रूपमा काम गरे ।

महर २०५७ मा नेविसंघको केन्द्रीय सदस्य बने । ०६४ मा उपाध्यक्ष निर्वाचत भए । र, २०७३ सालको ११ औं महाधिवेशनबाट नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए ।​ नेविसंघबाट ०७५ माघमा राजीनामा दिएपछि महर अहिले खासै कार्यकारी भूमिकामा छैनन् । उनी ‘स्कूल अफ डेमोक्रेसी’ को अध्यक्षसमेत हुन् ।

त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक (एलएलबी) गरेका महरले पार्टीमा बौद्धिक र जुझारु युवा नेताको छवि बनाएका छन् । उनी अब आगामी महाधिवेशनमा सहमहामन्त्री र चुनावमा कैलालीबाट प्रतिनिधिसभा सदस्यमा भिड्ने गृहकार्यमा छन् ।  

नेपाली काँग्रेसका युवा नेता महरसँग रातोपाटीले काँग्रेसको १४ औं महाधिवेशनका सन्दर्भ र समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गरेको छ :

काँग्रेसले करिब दुई वर्ष लामो क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । अब मंसिर २४–२६ मै महाधिवेशन हुने निश्चित भएको हो ?

लामो रस्साकस्सीका बाबजुद हामी एउटा टुंगोमा पुगेका छौं । नेपाली काँग्रेसले सबै जिल्लामा क्रियाशील सदस्यता छानविन प्रक्रिया मंगलबार टुंग्याएको छ । महाधिवेशन २४–२६ गतेबाट एक दिन पनि सार्ने प्रयत्न गरौं भने आसन्न राष्ट्रियसभा चुनावका लागि दल दर्तामा हामीलाई समस्या पर्ने छ । नेपालको संविधान र काँग्रेसको विधानलाई सम्मान गर्न हाम्रो बाध्यतामक अवस्था छ । अब काँग्रेस महाधिवेशन तोकिएको मितिमा हुनेमा कुनै शंका छैन ।

राष्ट्रिय सभा र उपनिर्वाचनमा दल दर्ताका लागि पनि निर्धारित मितिमा महाधिवेशन गर्ने कुरामा नेतृत्व गम्भीर छ कि छैन ? महाधिवेशन हुन त नेतृत्व गम्भीर बन्नुपर्छ होला नि ?

 यो विषयमा नेतृत्व जानकार छ । पछिल्लो पटक निर्वाचन आयोगले काँग्रेसको केन्द्रीय नेतृत्वलाई अब योभन्दा बाहिर जाने अवस्था छैन भनेर सचेत गराएको छ । अब नेपाली काँग्रेस महाधिवेशन उन्मुख भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिमा रहेका १२७ जना नेतालाई आफ्नो पद र प्रतिष्ठा बर्गरार रहन्छ कि रहँदैन भन्ने चिन्ता देखिन्थ्यो । त्यस कारण पनि महाधिवेशन यहाँसम्म आइपुगेको मलाई लाग्छ । अब त्यो पनि समाप्त भइसक्यो । अब महाधिवेशन सार्ने कुराललाई उचारण गर्ने सक्ने अवस्था छैन । किनभने संविधान, पार्टी विधान र नेकपा एमालेको महाधिवेशन प्रक्रिया अगाडि बढिरहेका देखेर लाजगाज पनि काँग्रेस महाधिवेशन हुने भयो । त्यसकारण अब काँग्रेसको महाधिवेशन तोकिएको मितिमा हुन्छ ।

तर, एमाले अध्यक्ष केपी ओलीले त काँग्रेस महाधिवेशन गर्न नसक्ने गरी बूढो भयो भइसकेको टिप्पणी गरेका थिए । यस्तै अवस्था हो त ?

वड इज गोल्ड भन्ने कुरा उहाँलाई थाहा छ ।  उहाँको शासन कालमा नेपाली जनताले पीडादायी अनुभूति ब्यहोरेका छन् । कसको हातमा नरिवल भनेजस्तै नेपाली जनताले स्मरण गर्ने व्यक्ति केपी ओली हुन् । दुई तिहाइ भएको पार्टी र सरकार तहस–नहस गरेर आज डमरु बजाउने चटकी कुरा गर्दै हुनुहुन्छ । उहाँको कुरामा कुनै दम छैन ।

काँग्रेस महाधिवेशनमा आगामी नीतिबारे खुब चर्चा हुन्छ । १४ औं महाधिवेशनले बिपी कोइराला कालिनमा नीतिमा केही परिमार्जन गर्छ ?

बीपीको विचारलाई गाइडलाइन मानेर २००७ सालमा उठाइएका हाम्रा विषयवस्तुलाई परिस्कृत गरी कार्यान्वयमा लैजानुपर्ने अवस्था आएको छ । हामीले अहिले थप ब्याख्या र परिमार्जन गरौं भन्यौं भने हाम्रो हैसियतका नेताहरुको कुरालाई सबैले स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने प्रश्न छ । तर अब बीपी विचारको समय सापेक्ष कार्यान्वयन भने जरुरत छ । २००७ सालमा एक हल गोरु, दूध दिने गाई, गोरेटो बाटो, सानो अस्पताल र विद्यालयको कल्पना बीपीले गर्नुभयो । तर, यतिबेला एलन मस्कले मंगल ग्रहमा बसाइँ सार्छु भन्ने कल्पना गरिरहेका बेला हामी पुरातन अवस्थामै रहनुपर्छ भन्ने होइन । संसारसँग चुनौतीको सामना गर्न सक्ने नेपाल बनाउनुपर्ने चुनौती छ । यो भनेका बीपी विचारको समय सापेक्ष सान्दर्भिक कार्यान्वयनको आवश्यकता हो ।

१४ औं महाधिवेशनमा पार्टी नेतृत्वमा दोहोरिने र नयाँ आउन खोजेका नेताहरुबाट बीपीको विचारलाई समय सापेक्ष कार्यान्वयनमा लैजान सम्भव छ त ?

काँग्रेसमा नीति र दस्तावेज बनाउने कमिटी एउटा बनाउने र सभापति अर्का चुनिने आजसम्मको हाम्रो अवस्था हो । जसको नीति उसकै नेतृत्व भन्ने कुराको कार्यान्वयन नेपाली काँग्रेसमा हुन सकेको छैन । विचारको छलफल कम भएको हामीलाई पनि अनुभूति भइरहेको छ ।

बीपी कोइरालाले प्रधानमन्त्री भएपछि ‘हरेक जनताको पारिवारिक अवस्था १५ वर्षभित्रै मेरो जस्तै बनाउँछु भनेर प्रतिवद्धता जनाउनुभएको थियो । आज कुनै पनि प्रधानमन्त्रीले त्यो भन्न सक्छ ? बीपी कोइरालाको त्यो भाषण आज पनि सान्दर्भिक छ । त्यसैले नेतृत्वमा दृढ इच्छाशक्ति भएर विगतमा आफूले गर्न नसकेका काम गर्ने ठूलो साहसका साथ आए सभापतिका दाबेदार नेताबाटै पनि बिपी विचारलाई समय सापेक्ष कार्यान्वयन गर्न सम्भव छ ।

काँग्रेसमा उठिरहेको पुस्तान्तरण र रुपान्तरणको कुरालाई कसरी लिनुभएको छ ?

यी दुवै कुरा काँग्रेसमा आवश्यक छ ठान्छु म । तर, युवाहरु परिस्कृत हुन जरुरी छ । पुरानो पुस्ताले आफ्ना गल्ती कमजोरीलाई सच्याउनुपर्ने बाध्यात्मक अवस्था छ । १४ औं महाधिवेशनमा काँग्रेसको तीन पुस्ताको उपस्थिति देखाउँछ जस्तो मलाई लाग्छ । पालिका स्तरमा भएको अधिवेशनले समिश्रणको सुन्दरता देखाएको छ ।

वर्तमान सभापति शेरबहादुर देउवा वा उहाँकै पुस्ता फेरि पनि नेतृत्वमा आउँछ भन्न खोज्नुभएको हो ?

उहाँको समकालीन भन्दा बाहिरका नेताहरुले जबरजस्त दावा प्रस्तुत गरिसकेको अहिलेसम्म पनि त्यति भरपर्दो अवस्था छैन । अर्को कुरा, वर्तमान सभापतिले नेपाली काँग्रेसको विधानलाई ख्याल आफ्नो भिजन अनुसार केही काम गर्न बाँकी छन् भन्दै दोस्रो पटक सभापति हुने इच्छा जाहेर गर्नुभएको छ । त्यसलाई अनुमोदन गर्ने नेपाली काँग्रेसमा लामो समयदेखिको परम्परा छ ।

युवा नेता मध्ये कल्याण गुरुङले मात्र सभापतिमा दावा गर्नु भएको छ । तर, युवाहरु एकीकृत छैनन् । सबै युवाको ताकत एक ठाउँमा लगाएको भए काँग्रेसमा युवा पुस्ताको नेतृत्व नआउने होइन । आउन सक्थ्यो होला । तर, हामी पनि कता–कता समूह र गुट–उपगुटमा विभक्त छौं । युवा नेतृत्व आउन नसक्नुको बाधक नै यही गुट उपगुट हो । त्यसैले काँग्रेसका ४५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिलाई ‘मेरो नेता यो हो, यसले मेरो नेतृत्व गर्यो भने देश र काँग्रेसलाई ठीक ठाउँमा लैजान सक्छ’ जसले विश्वास दिलाउन सक्छ, उही सभापति हुने हो ।

तपाईले वर्तमान सभापतिको पक्षमा कुरा गरेको देखियो । तर, उहाँ १३ औं महाधिवेशनबाट नेतृत्वमा आएपछि काँग्रेसप्रति जनतामा आशा र भरोसा टुटेको भन्ने छ । उहाँलाई किन अनुमोदन गर्ने ? किन दोहोर्याउने भन्ने जबरजस्त प्रश्न उठेको छ नि ?

सात तहको चुनावबाट खारिएर आएका महाधिवेशन प्रतिनिधिहरुले कसलाई चुन्छन् भन्ने कुरा अरुले भन्दैमा, मैले भन्दैमा, कसैले लेख्दैमा नहुने विषय हो । त्यो महाधिवेशनको हललाई के लाग्छ भन्ने कुरा मुख्य हो । त्यो हलले सभापति बन्नका लागि केही गुण र मापदण्ड पनि हेर्छ होला । मैले सभापतिको फेबर गरेको भन्नुभयो, मैले नेपाली काँग्रेसको परम्परा यस्तो छ भनेको हो । जुन नेताले त्यो हललाई कन्भिन्स गर्यो, त्यो नै नेतृत्वमा पुग्ने हो ।

१४ औं महाधिवेशनमा तपाईको तयारी के छ ? तपाईले १४ औं महाधिवेशनलाई आफ्नो राजनीतिक करियरका रुपमा कसरी लिनुभएको छ ?

मैले संक्रमणकालका रुपमा लिएको छु । नेपाल विद्यार्थी संघको २५–३० वर्षको राजनीतिबाट अब पार्टी राजनीतिमा औपचारिक पार्टी राजनीतिमा इन्ट्री गर्ने तयारीमा छु । ०४६ सालमा आफू पढ्ने स्कुलको म इकाइ सभापति थिएँ । आदरणीय शेरबहादुर देउवा, एनपी साउद, तारणिदत्त चटौत लगायत सुदूरपश्चिमका नेताहरुले भाषण गरेको दिन मैले नोविसंघको इकाई अध्यक्षका रुपमा सम्बोधन गरेको कुरा अहिले पनि मेरो मानसपटलमा ताजै छ । त्यो दिनदेखि आजका दिनसम्म निरन्तररुपमा काँग्रेसको विभिन्न तह र तप्कामा इमान्दारिका साथ काम गरिरहेको छु । ४७ वर्षको यो उमेरमा केही देश र काँग्रेसबारे एउटा सोच बनाएर बसेको छु ।

देशमा राजनीतिले के गर्नुपथ्र्यो ? पार्टीभित्र राजनीति कस्तो हुनुपथ्र्यो ? अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति कस्तो हुनुपथ्र्यो भनेर केही सिक्ने मौका पनि पाएको छु । उमेर र अनुभवले पनि पार्टीका जुनसुकै जिम्मेवारी प्राप्त गरे पनि त्यसलाई निर्वाह गर्न सक्ने एउटा क्षमता आफूसँग संगालेर बसेको छु । महाधिवेशनको तयारीको कुरा गर्दा कोरोना महामारीका बाबजुद ७७ वटै जिल्लामा घुमेर साथीहरुका बीचमा छलफल गरेको छु । साथीहरुबाट एकखाले साथ र समर्थन पाएको छु । फेरि एक राउण्ड घुम्ने तयारीमा छु । सचिवालयले पनि काम गरिरहेको छ । म आफंै पनि १८ घण्टा काम गरेर काँग्रेसको महाधिवेशनमै केन्द्रित छु । राजनीति जनताकै लागि हुनुपर्छ भन्ने अन्तक्रिया सुरु गरेको छु । केही एजेण्डाहरुका साथ अगाडि बढिरहेको छु ।

तपाईको उम्मेदवारीलाई काँग्रेसका महाधिवेशन प्रतिनिधिले किन अनुमोदन गर्ने ? तपाईंका एजेण्डाहरु के के हुन् ?

लोकतन्त्रको संस्थागत विकास नै नेपाली काँग्रेसको १४ औं महाधिवेशनको पहिलो एजेण्डा बन्नुपर्छ । मेरो पनि पहिलो एजेण्डा त्यही हो । किनभने, तत्कालीन नेकपा सरकारमा लोकतन्त्रका आधारभूत कुरामाथि धावा बोल्ने काम भयो । लोकतान्त्रिक पद्दतिको संस्थागत विकास नै पहिलो कुरा हो । यस्तै, मैले एउटा नारा अगाडि सारेको छु – ‘१४ औं महाधिवेशनको कार्यभार, सशक्त काँग्रेस र बहुमतको सरकार’ ।

काँग्रेसमा सशक्तता चाहियो । नेतृत्व चाहिने नैतिकता, आचरण र व्यवहार सबै कुरामा काँग्रेसलाई बलियो बनाउने र जनताबाट अनुमोदित भएर बहुमतको सरकार बनाउने हाम्रो आगामी कार्यभार हो । यस्तै  ‘शिक्षा स्वास्थ्य, यातायाता र सञ्चार, गुणस्तरीयका चार आधार’ भनेर एउटा विषय उठाएको छु ।

सडकमा हुँदा यी विषय प्रयाः सबैले उठाउने गरेको पाइन्छ । तर कार्यान्वयनमा लैजान सकिरहेको अवस्था छैन । यही विषय हाम्रो जस्तो मुलुकमा कति सम्भव छ ?

मेरो नेतृत्वको संयुक्त विद्यार्थी आन्दोलनले शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ भनेर कबुल गर्दा अहिले नेपालका सबै राजनीतिक दलका घोषणापत्रमा यो कुरा समेटिएको पाइन्छ । यहाँले कार्यान्वयनको विषय उठाउनुभयो । यी विषयको ग्यारेन्टी नेपालकै संविधानले गरेको छ ।

अर्कोतर्फ लोककल्याणकारी राज्यका लागि शिक्षा र स्वास्थ्य खतरनाक कुरा हो । शिक्षा र स्वास्थ्यको राज्यले जिम्मेवारी नदिँदा भ्रष्टचार पनि त्यसैका लागि भएको छ । छोराछोरी पढाउन वा उपचार गर्न करोडौं रुपैयाँ सञ्चिती गर्नुपर्ने अवस्था आयो । त्यसैले जनताभन्दा बाहिर गएर किन राजनीति गर्ने ? राजनीति सीमित नेता र सार्वजनिक पद धारण गरेका लागि मात्रै हो भने जनतासँगको सामीप्य खै त ? राजनीतिले जनतालाई प्रमुख विषय बनाउनुपर्छ । अब जनताले कुनै मान्छे एक वर्षमै अरबपति कसरी भयो भनेर प्रश्न गर्नुपर्छ ।

जिम्मेवारीमा नपुग्दासम्म सबै नेताहरुले तपाईंकै जस्ता कुरा नगरेका होइन् । तर, उनीहरु जिम्मेवारी वा पदमा पुगेपछि आफंैले उठाएका कुराहरु कार्यान्वयन गर्ने कुरामा उदासीन भएको लुकेको छैन । तपाईं पनि त्यस्तो गर्नुहुन्न भन्ने के ग्यारेन्टी छ ?

चम्किने सबै वस्तु सुन नै हुन् भन्ने कल्पना गर्नु मिथ्या हुन्छ । तर, नेपालको राजनीतिमा सबै कुरा सम्भव छ भन्ने ठानेर अगाडि बढ्नुपर्छ । आफूले उठान गरेका मुद्दा कार्यान्वयन गर्ने कुरा सम्भव देख्छु ।

नेपालको राजनीतिमा कुनै दिन कार्यकारी तहमा पुगेपछि मेरो मूल मुद्दा नै शिक्षा र स्वास्थ्य हुने छ । शिक्षा र स्वास्थ्य मन्त्री भएर मात्र यो काम सम्भव छैन । यसका लागि फस्ट म्यान नै हुनुपर्छ । किनभने यसपटक मैले उठाउने १४ औं महाधिवेशनका १४ औं एजेण्डा राखेका छु । जो सभापति हुन्छ, उसले ४ वर्षका लागि आफ्नो कार्ययोजना महाधिवेशनको मैदानमा पेस गर्नुपर्छ ।

कार्यकर्ता जसको कार्ययोजना पास गर्छन्, उसले सोहीअनुसार ४ वर्ष पार्टी चलाउने काम गर्नुपर्छ । पार्टी विधान छ, कार्यक्रम छ । तर, कार्यान्वयन नभइरहेको छैन । कार्यान्वयनको कुरा आन्तर पार्टीभित्रै पूर्ण लागू गर्नुपर्छ । काँग्रेसले जनता लक्षित राजनीतिमा जोड दिनुपर्छ । मेरो राजनीति पनि जनता लक्षित नै हुन्छ ।

तपाईं नैतिकवान राजनीतिको कुरामा जोड दिनुहुन्छ । मुलुकको वर्तमान परिस्थितिमा नैतिकताको खडेरी देखिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

तपाईंले भनेजस्तो सर्वोच्च अदालतको नैटंकी हेर्नुभयो भने नैतिकताको अभाव देखिन्छ । सर्वोच्चमा आएका न्यायाधीश कतै न कतै राजनीतिक भागबण्डाबाट आएका छन् । न राजनीति दल त्यसबारे निर्णय लिन सकेको अवस्था छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप