मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

माओवादीले बढायो राष्ट्रिय सम्मेलन प्रतिनिधि, नेताहरुको जिम्मेवारी पनि हेरफेर

निर्वाचन गर्न यस्तो छ निर्देशन
शुक्रबार, २६ कात्तिक २०७८, १९ : ५७
शुक्रबार, २६ कात्तिक २०७८

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । माओवादीले यसअघि राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरुबाट ६०० प्रतिनिधि सहभागी हुने निर्णय गरेकोमा हालै सम्पन्न स्थायी कमिटी बैठकबाट संख्या बढाएर ८०० कायम गरेको हो । सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा अझै थपिन सक्ने एक नेताले जानकारी दिए । माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कात्तिक २३ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार शुक्रबार प्रदेशहरुबाट ८०० प्रतिनिधिको सहभागिता हुनेसहितको ११ बुँदे सर्कुलर पार्टीका प्रदेश समितिका इन्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई पठाएको ती नेताको भनाइ छ । 

सर्कुलर अनुसार नेता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय कार्यालयमा प्राप्त निवेदन अध्ययन गर्नेदेखि दलीय समन्वय समितिमा पार्टीको तर्फबाट प्रचण्डसँगै पठाउनेसम्मका निर्णय गरिएको छ । 

यसैगरी अमेरिकी सहायताको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे पनि माओवादी केन्द्रले प्रष्ट धारणा राखेको छ । यसअघि एमसीसी सम्झौता संशोधन गरेर मात्रै सहायता परिचालनका काम अघि बढाउनुपर्ने सो पार्टीका नेताहरूले बताउँदै आएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउन आफू माओवादी केन्द्रका अध्यक्ष दाहालले संयुक्त रूपमा अमेरिकालाई पत्र पठाएको उल्लेख गरेपछि सो पार्टी थप विवादमा परेको थियो । 

​तर, स्थायी समिति बैठकले एमसीसी यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको छ । परिपत्रमा उल्लेखित ११औँ बुँदामा लेखिएको छ, ‘एमसीसीका सम्बन्धमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय भएको छ ।’

कार्यविभाजन हेरफेर
स्थायी समिति बैठकमार्फत माओवादी केन्द्रले विभिन्न जिम्मेवारीमा रहेका नेता÷कार्यकर्ताको जिम्मेवारी पनि हेरफेर गरेको छ । बागमती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाललाई सहइन्चार्ज र अध्यक्ष दुवै जिम्मेवारी प्रदान गरेको छ ।

पार्टी प्रवेश गरेका र जिम्मेवारी नपाएकाहरूलाई व्यवस्थापन गर्न र उनीहरू आवद्ध रहने केन्द्रीय निकायतथा विभागहरुको टुङ्गो लगाउने जिम्मा पनि अध्यक्ष प्रचण्ड, स्थायी समिति सदस्य नाराणकाजी श्रेष्ठ र श्रीराम ढकाललाई दिने निर्णय भएको परिपत्रमा उल्लेख छ । 

अध्यक्ष प्रचण्डकै सचिवालयमा रहेका नेता÷कार्यकर्ताहरूको जिम्मेवारी पनि हेरफेर गरिएको छ । स्थायी समिति बैठकले २०६० सालदेखि प्रमुख स्वकीय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्ज जिम्मेवारी तोकेको छ । प्रेस संयोजक विष्णु सापकोटालाई पनि प्रेस सेन्टरमा रहेको उनको यथावत् जिम्मेवारीमा फर्काएको छ । 

निर्वाचन गर्न यस्तो निर्देशन
माओवादी केन्द्रले वडादेखि राष्ट्रिय सम्मेलनसम्मका निर्वाचन सम्पन्न गर्न पनि विभिन्न निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि बन्ने वडा समितिमा ५ पदाधिकारी चयन गर्ने र पालिका र प्रदेश समितिमा ७ सदस्यीय पदाधिकारी चयन गर्ने प्रस्ताव गरिएकोमा आज भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । 

 जिल्ला समन्वय समितिमा सम्बन्धित पालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र सचिव पदेन सदस्यको रुपमा रहने व्यवस्था मिलाउने र जिल्ला समन्वय समितिमा १०५ मनोनित गर्ने व्यवस्था मिलाउन पनि सो पार्टीले निर्देश गरेको छ । 

यसैगरी वडा सम्मेलन सम्पन्न गर्न ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था यथावत् राखिएको छ ।  तर हिमाली भूभाग र अन्य विशेष परिस्थिति उत्पन्न भएमा २१ प्रतिशत सदस्यको उपस्थितिमा भएको सम्मेलनलाई पनि माओवादी केन्द्रले मान्यता दिने भएको छ । थप निर्णय गर्ने अधिकार प्रदेश समितिलाई दिइने सो पार्टीले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप