हैजा फैलिएको महिना दिनपछि बल्ल खोप ल्याउँदै सरकार
गत असोज १८ देखि कपिलवस्तुमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ । महामारी फैलिएको एक महिनापछि बल्ल सरकारले हैजाविरुद्धको खोप ल्याउन लागेको छ । सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत प्राप्त गरेसँगै हैजाको खोप ल्याउन लागेको हो । यूनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठनमार्फत् खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेले प्रभावित क्षेत्रका २ लाख ५२ हजार जनालाई हैजा रोगविरुद्धको खोप दिने योजना रहेको जानकारी दिए । उनले भने, ‘हैजाविरुद्धको खोप नोभेम्बर १४ अर्थात् कार्तिक २८ सम्म नेपाल आइपुग्ने जानकारी पाएका छौं । खोप आएको एक सातामै प्रभावित क्षेत्रमा खोप दिन सुरु गर्नेछौं ।’
यो खोप एक वर्षमाथिका हैजा प्रभावित क्षेत्रका जनतालाई लगाइने उनले जनाए । हैजाविरुद्धको खोप दुई मात्रा दिइने बताइएको छ । हैजाविरुद्धको खोप विश्व स्वास्थ्य संगठनसँग मात्रै हुने भएकाले प्रक्रिया पुर्याएर नेपालले प्राप्ति गर्न समय लागेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । यस अघि पनि २०७२ सालको भूकम्पलगत्तै हैजा प्रभावित क्षेत्रमा खोप दिइएको थियो ।
हैजा पूर्ण रुपमा नियन्त्रणमा आएन
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार एक महिनाको अवधिमा कपिलवस्तुका विभिन्न अस्पतालमा १५ सय ५८ जनाले हैजा रोगको उपचार गराएका छन् । हाल कपिलवस्तु जिल्लामा सातजना हैजाका बिरामी उपचाररत छन् । स्वास्थ्य कार्यालयका प्रमुख पाण्डे भन्छन्, ‘विगतको तुलनामा सरकारी अस्पतालमा बिरामी कम आएका छन्, यसले गत साताको तुलनामा हैजा नियन्त्रणमा आएजस्तो देखिएको छ । तर, गाउँ गाउँमा अनि अन्य प्राइभेट अस्पताल, क्लिनिकमा हैजाका बिरामी फाट्टफुट्ट देखिइरहेका छन् ।’
कपिलवस्तुको चार नगरपालिका कृष्णनगर, महाराजगञ्ज, शिवराज तथा विजय नगरपालिका र यशोधारा गाउँपालिका, हैजा रोग बढी प्रभावित क्षेत्र हुन् । कपिलवस्तुमा हैजा प्रदूषित खानेपानीबाट फैलिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पाण्डे बताउँछन् । ‘खानेपानी प्रदूषित हुँदा झाडापखाला र बान्ताबाट धेरैजना प्रभावित भए,’ उनले भने, ‘पाँच पालिकामा हैजा फैलियो । तर, कुन क्षेत्रबाट फैलियो भनेर यकिन नभएपनि खानेपानीबाट नै हैजा फैलिएको प्रमाणित भयो ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनी भन्छन्, ‘नेपालमा शुद्ध खानेपानी व्यवस्थापन छैन, त्यसमा पनि काठमाडौं उपत्यकाजस्ता मुख्य शहर हैजाको उच्च जोखिममा छन् ।’ कोभिड–१९ फैलिएसँगै सबै ध्यान उतै गयो, अन्य महामारीजन्य सरुवा रोगबारे जनचेतना फैलाउन सम्बन्धित निकायको ध्यान नपुगेको उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा हैजाबाट ज्यान गुमाउनेको संख्या ९० प्रतिशतमा झार्ने प्रतिबद्धता जनाएको छ । तर, नेपालमा भने सुरक्षित खानेपानी र सरसफाइको प्रणालीमा ध्यान नदिँदा हैजाजन्य महामारी देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण