बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमसीसीबारे अनुत्तरित २७ प्रश्न, एमाले छाड्नेहरुप्रति ओलीको कटाक्ष

संखुवासभामा एकै परिवारका ६ सदस्यको हत्या
सोमबार, २१ भदौ २०७८, २० : ४५
सोमबार, २१ भदौ २०७८

आज २०७८ भदौ २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा एमसीसीबारे अनुत्तरित २७ प्रश्न : सम्झौताका बुँदा होला त परिमार्जन ?, ओलीको कटाक्ष : एमाले छाड्नेहरु लोभीपापी, सरकार ‘अलि दिनको पाहुना’, काठमाडौंमा असोज १ देखि विद्यालय खुल्ने, मुसलधारे वर्षापछि काठमाडौंमै बाढी, संखुवासभामा एकै परिवारका ६ सदस्यको हत्या, प्रदेश २ र सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी बन्यो एमालेभन्दा ठूलो दल, अर्थमन्त्री र गभर्नरबीचको वार्ताले सेयर बजार ‘बाउन्स ब्याक’ लगायत छन् । 

१. एमसीसीबारे अनुत्तरित २७ प्रश्न : सम्झौताका बुँदा होला त परिमार्जन ?


अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का बारेमा एकाएक बहस चुलिएको छ । सत्तारुढ गठबन्धनबीच नै मतैक्य हुन नसकेको अवस्थामा सरकारले एमसीसी सम्झौतालाई सदनमा पेस गर्ने तयारी गरिरहेको भन्दै केही दलले आपत्ति जनाइरहेका छन् । केहीले सम्झौताका बुँदा परिमार्जन गर्न सुझाव दिइरहेका छन् । यही सेरोफेरोमा एमसीसीका दुई जना प्रतिनिधि नेपाल आउँदैछन्, जसलाई कतिपयले एमसीसी परिमार्जन गर्ने अमेरिकी संकेतका रुपमा पनि हेरिरहेका छन् । एमसीसीबारे नेपालको राजनीतिक धरातलमा केही यस्ता प्रश्न छन्, जसको प्रस्ट उत्तर पाउन सकिएको छैन । यिनै अनुत्तरित कतिपय प्रश्नले गर्दा नेपालमा एमसीसीका बारेमा पछिल्लो समय बहस चुलिएको हो । 

२. ओलीको कटाक्ष : एमाले छाड्नेहरु लोभीपापी, सरकार ‘अलिक दिनको पाहुना’ 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर जानेहरू लोभीपापी भएको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारप्रति पनि कटाक्ष गरे । उनले यो सरकार १५ महिनापछि खोज्दा पनि नभेटिने बताए । उनले वर्तमान सरकारलाई ‘अलिक दिनको पाहुना’ संज्ञा दिए । 

३. काठमाडौंमा असोज १ देखि विद्यालय खुल्ने
काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोलिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगर शिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले असोज १ देखि भौतिक उपस्थितिमै विद्यालयका पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।  

४. मुसलधारे वर्षापछि काठमाडौंमै बाढी
सोमबार रातिको मुसलधारे वर्षाले बिहानै काठमाडौंका विभिन्न स्थानमा बाढीले जनजीवन प्रभावित तुल्याएको छ । खासगरी बागमती नदी उर्लिँदा आसपासका बस्ती डुबानमा परेको हो ।

५. संखुवासभामा एकै परिवारका ६ सदस्यको हत्या
संखुवासभामा एकै परिवारका ६ सदस्यको हत्या भएको छ । परिवारका सबै सदस्य गुमाएका ९३ वर्षीय बृद्ध भने सकुशल छन् । घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन भएको छ । हत्या कसले र किन गरेको हो भन्ने खुल्न सकेको छैन । 

६. प्रदेश २ र सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी बन्यो एमालेभन्दा ठुलो दल
नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा एमालेको तुलनामा शक्तिशाली देखिएको छ । दुवै प्रदेशको प्रदेशसभामा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी ठुलो दल बनेको हो । तर सात प्रदेशमध्ये गण्डकी प्रदेशमा भने प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका एकजना पनि सदस्य नहुने देखिएको छ । गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर नदेखिने भएको हो । 

७. अर्थमन्त्री र गभर्नरबीचको वार्ताले सेयर बजार ‘बाउन्स ब्याक’
एक साता यता निरन्तर ओरालो लागेको सेयर बजार सोमबार ‘बाउन्स ब्याक’ भएको छ । १६१.९४ अंकले बाउन्स ब्याक हुँदा नेप्से परिसूचक २९८०.७८ अंक कायम भएको हो । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएलगत्तै त्यसको प्रभाव बजारमा देखिएको हो ।

८. संवैधानिक इजलासको सुनुवाई रोक्न नमिल्ने तर्कसहित प्रधानन्यायाधीशलाई निवेदन
अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र सोको आधारमा भएका नियुक्ति बदर सम्बन्धी मुद्दाहरूको सुनुवाइ अविलम्ब सुरु गर्ने व्यवस्था गर्न माग गर्दै प्रधानन्यायाधीशलाई निवेदन पेस गरेका छन् । एक न्यायाधीशको इजलासबाट संवैधानिक इजलासको सुनुवाइ रोक्न नमिल्ने बताउँदै उनले सो निवेदन पेस गरेका हुन् ।

९. निजामती कर्मचारीलाई कोरोनाविरुद्धको खोप
निजामती कर्मचारीहरूले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन् । निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।

१०. एक हजार ८९७ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप एक हजार ८९७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ७४३ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
नेपाली काँग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

ललितपुरस्थित नख्खु कारागारका कैदीबन्दीले उठाएका समस्या छानविन गर्न र आन्तरिक सुधारका लागि सुझाव दिन समिति गठन गरिएको छ । कारागार ब्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

दुई लाख घुस रकमसहित काठमाडौं महानगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो । 

सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप