शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

घरका बाघ, बनका स्याल भन्दै सरकारप्रति ओलीको कटाक्ष : यो भन्दा नालायकी के हुन्छ ?

सोमबार, २१ भदौ २०७८, १० : ००
सोमबार, २१ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न नसकेको जिकिर गरेका छन् । सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले 
नेपाली नागरिक मारिँदा पनि सरकार चुइक्क बोल्न नसकेको बताएका हुन् । उनले नेपाली भूमिमा दशौँ हेलिकोप्टरहरू उडिरहेको तर सरकार बेखवर हुने गरेको भन्दै कटाक्ष गरे । 

ओलीले जयसिंह धामी प्रकरण र त्यस क्षेत्रमा भारतीय हेलिकोप्टर उडेको प्रशंक निकाल्दै सरकार जनता र देशप्रति जिम्मेवार नबनेको बताए ।

‘भारत थाहा छैन भन्छ, नेपाल सरकारले थाहा दिन सक्दैन ? नागरिक मारिदा चुइक्क बोल्न सक्दैन ? अनि यहाँ सडकमा लाठी लगाउन खोज्छ युवालाई’, ओलीले भने, ‘यस्तालाई भन्छन् घरका बाघ, बनका स्याल ।’

उनले सरकारको यो भन्दा नालायकी के हुन्छ ? भन्दै प्रश्न गरे । एउटा पार्टीको सरकार भए त बोल्न सकेन भनेर चित्त बुझाउन सकिने भन्दै पाँच पाँच वटा पार्टी हुँदा पनि बोल्न नसक्नु अचम्म भएको बताए । उनले यहाँ आफ्नो नेतृत्वको सरकारका पालामा ठुलाठुला धाकधक्कु लाउनेहरु कता गए भन्दै प्रश्न समेत गरे ।

‘मास्क फुत्त फालेर, आफैले टाँसेको टेप, फिल्मी स्टाइलमा बोल्न पाइन्छ भन्थे–म अहिले तिनीहरुलाई सोध्न चाहान्छु, देश र राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइदैन ?’, ओलीले भने,‘अश्लिल छाडा बोलेको छ, तमासा गरेको छ । अनि अहिले किन भन्न सक्दैनन् अपराधका हिस्सेदारहरुले गरेको अपराध ?’

ओलीले नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोजेपनि जनता एमालेप्रति आकर्षित भइरहेको पनि बताए । ‘नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोज्छन् । सरकारबाट एमाले हटेको छ तर जनता एमालेमा पसेको छ’, ओलीको भनाइ छ । उनले एमाले सरकारमा हुनु र नहुनुमा जनतालाई केही फरक नभएको भन्दै ‘फरक देशलाई पर्ने’ बताए । ‘फरक देशलाई पर्छ, विकासमा पर्छ, राष्ट्रियताको कुरामा फरक पर्छ तर जनताको भरोसामा फरक नपर्ने’ बताए ।

उनले देउवा नेतृत्वको सरकारले एमालेलाई गाली गरेर जिविकोपार्जन गरिरहेको पनि आरोप लगाए।

‘सरकार बनाउन नसक्ने, एमालेलाई सत्तोसराप गरेर जिविका चलाउने, देश बनाउन नसक्ने, सार्वभौम सत्ताको रक्षा गर्न सक्छु नभन्ने,देशको भुभागमा दशौं हेलिकोप्टर आएर घुम्छन् कारण केहो ? किन हो यस्तो गरेको सोध्न पनि नसक्ने ? , अनि उहाँहरुले कसरी प्रशंसा पाउनुहुन्छ ?’ओलीको प्रश्न छ ।  

ओलीले पार्टी सरकारबाट हटेपनि जनताको भरोसा एमालेमै रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप